वनमा हुने आगलागीमा कमी

वनमा हुने आगलागीमा कमी

काठमाडौँ, १५ वैशाख । वनमा हुने आगलागीका घटना गत वर्षको तुलनामा यस वर्ष कमी आएको छ । मानिसबाट हुने हेलचेक्र्याईं र गर्मीसँगै आउने हावाहुरीका कारण गत वर्ष धेरै ठाउँमा लागेको भएपनि यस वर्ष भने कमी आएको वन विभागले जनाएको छ ।

विभागका उपसचिव मोहनराज काफ्लेले यस वर्ष सिन्धुली, उदयपुर, अर्घाखाँची, तेह्रथुम, बाँके बर्दियालगायत जिल्लाका एकहजार पाँचसय हेक्टर वनमा आगलागी भएको उनले बताए । उनले भने, “यो वर्ष समयमा पानी परेका कारण वनमा आगलागीको घटनामा कमी आएको हो ।”

उपसचिव काफ्लेले गत वर्ष तीनलाख ५० हजार हेक्टर वनमा आगलागी भएको बताए । आगलागी भएका वनमध्ये सामुदायिक र साझेदारी वन धेरै छन् । उनले यस वर्ष चैतको पहिलो हप्ता नै डढेलो नियन्त्रणसम्बन्धी सप्ताह मनाएको कारण पनि वनमा थोरै आगलागी भएको स्पष्ट पारे।

कुल आगलागी हुनेमध्ये ८३ प्रतिशत चैत र वैशाखमा हुने गरेको विभागले जनाएको छ । यो वर्ष वन आगलागीमा मानवीय क्षति भने भएको छैन । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल