सात महिनापछि घर फर्किन थाले भोट क्षेत्रका बासिन्दा

सात महिनापछि घर फर्किन थाले भोट क्षेत्रका बासिन्दा

दुनै (डोल्पा), बैशाख ११– जाडो मौसमको सुरुवातीसँगै जाडो छल्न बेसी झरेका भोट क्षेत्रका स्थानीयहरु धमाधम घर फर्कन थालेका छन् ।
गर्मीयामको सुरु भएसँगै झन्डै सात महिनाको अस्थायी बसाइपछि उनीहरु पुरानै थात थलो फर्किन लागेका हुन् ।

प्रत्येक बर्ष उपल्लो डोल्पाका स्थानीयहरु कात्तिक पहिलो सातादेखि मंसिर पहिलो साता भित्रै पशुचौपायासहित घरमा ताल्चा लगाएर परिवार सहित तल्लो डोल्पा झर्ने गर्दछन् ।

“कार्तिक पहिलो हप्ताबाटै उपल्लो डोल्पामा भारी हिमपात हुनेगर्दछ, हिमपातसँगै बढ्दो जाडोले हिँउदे बसाँई एकदमै कष्टकर हुने भएकाले प्रत्येक वर्ष गाउँ नै शून्य पारेर उपल्लो डोल्पालीहरु वेशी झर्ने गर्दछौं” शे–फोक्सुन्डो गाँउपालिकास्थित फोक्सुन्डोका स्थानीय निमा लामाले भने ।

यस समय हुनेखानेहरु जाडो कटाउन राजधानी काठमाडौं जाने तथा आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणहरु तल्लो डोल्पाको दुनै, त्रिपुराकोट ,पहाड लगायतका स्थानहरुमा अस्थायी बास खडा गरेर बस्ने लामाले बताउँछन् । ‘अव गर्मी समय सुरु भयो, उपल्लो भेगमा समेत जाडो हटेर तातो बढेसंगै स्थानीयको दैनिकी समेत सहजहुने भएकाले घर फर्कन थालेका छौँ’ – लामाले भने ।

जाडो छल्न झरेको समयमा सिपवाला महिलाहरुले फुर्सदको समयको उपयोग गर्दै राडी पाखी, झोला लगायतका घरेलु उत्पादनहरु निर्माण गरी विक्री वितरण गरेर आयआर्जन गर्ने गरेको लामाको भनाई छ । पुरुषले भने उपल्लो डोल्पाबाट ल्याईएको जीम्बुलाई मकै, खुर्सानी, चामल लगायतका खाद्यवस्तुसँग साटेर चौँरीलाई बोकाएर घर लैजाने गर्दछन् ।

उपल्लो डोल्पामा फापर, उवा, आलुबाहेक मकै, खुर्सानी, कोदो लगायतका खाद्य बस्तुहरुको उत्पादन नहुने भएकाले पनि तल्लो डोल्पाबाटै लैजाने गरेको उनीहरुको भनाई छ । डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा छार्का, मुकोट, साल्दाङ्, भिजेर धो, तिन्जे, फोक्सुन्डो लगायतका विकट तथा अत्याधिक जाडो हुने बस्तीहरु पर्दछन् । जाडोको समयमा बिद्यालय,स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र लगायतका सम्पुर्ण सरकारी कार्यालयहरु समेत बन्द हुने गर्दछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल