विद्यालय शिक्षाबाटै वञ्चित चेपाङ : भोकभोकै सुत्नुपर्ने बाध्यता

११ वैशाख  |   रासस

विद्यालय शिक्षाबाटै वञ्चित चेपाङ : भोकभोकै सुत्नुपर्ने बाध्यता

गोरखा, ११ वैशाख – नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै देशभर भर्ना अभियान सञ्चालन भइरहेका छन् । शिक्षाबाट बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको घेरामा ल्याउन सरकारले भर्ना अभियान गर्दै आएको छ ।

तर गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक–७ छतिवनगैराका चेपाङ बालक विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय टाढा भएर होइन, के खाने ? के लगाउने ? भन्ने मुख्य समस्याले गाँजेपछि बालबालिका विद्यालय पढ्न जान सकेका छैनन् । चेपाङ बालबालिकाको दिनचर्या खेल्ने, गोठालो जाने र अर्काको काम गर्दैमा बितेको छ ।

भोकभोकै सुत्नुपर्ने बाध्यता
छतिवनगैराका विशाल, कुमार, प्रेम चेपाङ विद्यालय पढ्न जाने उमेरका छन् । घर नजिकै प्रजाज्योति प्राथमिक विद्यालय र शिव निम्न माध्यामिक विद्यालय छ । तर, उनीहरु दिनभर खेलेरै समय बिताउँछन् । खान, लाउनकै समस्याले छोराहरु पढाउन नसकेको बाबु डन्डु चेपाङले दुखेसो गरे । मेला गएको दिन घरमा चुलो बल्छ नभए भोकभोकै सुत्नुपर्ने बाध्यता डन्डुको घरमा छ ।

ढुङ्गा, माटो र काठको जोडाइले बनेको घर भूकम्पले चिराचिरा बनाए पनि निजी आवास पुनःनिर्माणमा चेपाङ परिवारले अनुदान रकम पाएनन् । जनता आवास कार्यक्रममार्फत चार वर्ष अघि सरकारले जस्तापाताले छाएको एक तले घर बनाइदिएको थियो । सोही घर भूकम्पपछि धराप बनेको छ । घरभित्र खानेकुरा, लत्ताकपडा केही छैनन् । पानी भर्ने बाल्टी, खाना पकाउने कसौडी, खाने थालबाहेक भान्सामा अन्य भाँडाकुँडा छैनन् ।

जग्गा पनि छैन, श्रीमती अन्यत्रै
डन्डुको नाममा जग्गा छैन । दाजुभाइको नाउँमा रहेको एक रोपनी जग्गामध्ये एउटा घडेरी कान्छीआमा जुनकिरीलाई दिए डन्डुले । बाँकी रहेको पखेराको छेउबाटै मोटरबाटो खनिएको छ । भिरालो पखेरामाथि डन्डुको झुप्रो घर छ । डन्डुका दुई छोरा कुमार र विशाल हुन् । काखे छोरो विशाललाई छाडेर श्रीमती अन्यत्रै बिहे गरी हिँडेपछि डन्डुले छोराहरु हुर्काए ।

सम्पत्तिको नाउँमा एउटा थोत्रो रेडियो र गाई
डन्डुले भने, “काम गरेको दिन खान पाइन्छ । काम नपाएको दिन भोकभोकै सुत्छौँ ।” कान्छा छोरा विशाल डन्डुको साथी हो । जेठो छोरा कुमार छिमेकीको घरमा डेक (टिभी) हेर्न पाइने भएकाले उत्तै रमाउँछ । खानेपानी लिन १५ मिनेट टाढाको खोलामा धाउनुपर्छ । करेसाबारी बाँझै छ । डन्डुको घरमा सम्पत्तिको नाउँमा एउटा थोत्रो रेडियो र गाई छ । “मेला गएर ल्याएको दुई, तीन सय रुपैयाँले चामल किन्ने कि, भुटुनमसला किन्ने कि, नुन किन्ने कि के–के किन्ने ?” डण्डुले गुनासो गर्दै भने, “बिरामी परेको दिन आफू त भोकै पर्छु पर्छु, छोराहरु समेत भोकभोकै हुन्छ ।” स्थानीय शिक्षक अनुप चेपाङले भर्ना हुने तर नियमित विद्यालय नजाँदा चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताए।

करिब ६०० घरपरिवार
गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङलगायत गाउँमा करिब ६०० घरपरिवार चेपाङको बस्ती छ । जनता आवास कार्यक्रममार्फत बर्सेनि सरकारले चेपाङ परिवारलाई घर बनाउँदै आएको छ । झुप्रोमा बस्दै आएका चेपाङ घरमा बस्न पाएका छन् तर, उनीहरुको जीविकोपार्जनमा सुधार ल्याउने खालका सहयोगी कार्यक्रम सरकारी तवरबाटै हुन सकेको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल