इन्जुरी समयमा मेस्सीको गोलको मद्दतले क्लासिकोमा बार्सिलोना विजयी

इन्जुरी समयमा मेस्सीको गोलको मद्दतले क्लासिकोमा बार्सिलोना विजयी

म्याड्रिड, वैशाख ११ – लियोनेल मेस्सीले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोनाले १० खेलाडीमा सिमित रियल म्याड्रिडलाई पराजित गर्दै ला लिगाको उपाधि होड पुनः खुला गरेको छ ।

यसअघिका ६ एल क्लासिकोमा गोल गर्न असमर्थ रहेका मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा दुई गोल गर्दै उनले बार्सिलोनाका लागि ५ सयौँ गोल पनि पूरा गरेका छन् ।

उनी ला लिगामा एल क्लासिकोका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

जीतसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लेको छ । रियल र बार्सिलोनाको समान ७५ अंक भए पनि हेड टु हेड आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लेको हो ।

यद्यपि, रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।

रियलले आफ्ना बाँकी खेलहरु जिते लिग उपाधि हात पार्न सक्नेछ । तर, अंक बराबर भए बार्सिलोना हेड टु हेड आधारमा च्याम्पियन बन्ने छ ।

आइतबार राती रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो ।

खेलको २८ औँ मिनेटमा गोल गर्दै कासिमेरोले रियललाई अग्रता दिलाएका थिए ।

तर, लियोनेल मेस्सीले ५ मिनेट पछि नै उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफमा दुवै टोलीले एकपछि अर्को आक्रमण गरेपनि दुवै गोल किपरले उत्कृष्ट बचाउ गरेका थिए ।

७३ औँ मिनेटमा भने डि एरिया बाहिरबाट गरेको प्रहार इभान र्याकिटिचले जाली चुमाउँदै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

त्यसको केही मिनेटपछि नै मेस्सीलाई फल हानेपछि कप्तान सर्जियो रामोशले रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो ।

खेलको ८२ औँ मिनेटमा प्रशिक्षक जिनेदिन जिदानले करिम बेन्जेमाको स्थानमा हामेज रोड्रिग्वेजलाई मैदानमा पठाए ।

त्यसको केही मिनेटमा नै उनले बराबरी गोल गरे ।

बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी समयको अन्तिम समयमा मेस्सीले गोल गर्दै बर्नेबाउमा म्याड्रिडका समर्थकहरुलाई स्तब्ध बनाए ।

चोटमुक्त भएर आज खेलमा फर्किएका गेराथ बेल पहिलो हाफमा नै पुनः घाइते हुँदै मैदान छाड्नुपरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल