पत्रकार सचित राईलाई रत्न वाङ्मय पुरस्कार

पत्रकार सचित राईलाई रत्न वाङ्मय पुरस्कार

काठमाडौं, १० वैशाख – सहिद रत्नकुमार बान्तवा वाङ्मय पुरस्कार पहिलो पटक लेखक तथा पत्रकार सचित राईलाई प्रदान गरिएको छ । ‘आँखा’ विकास पत्रिकाद्वारा सहिद बान्तवाको नाममा स्थापित पुरस्कार अनुसन्धानमूलक कृति ‘माङखिम’का लागि पत्रकार राईलाई नगद ५ हजार १ रुपैयाँका साथै ताम्रपत्रसहित प्रदान गरिएको हो ।
राजधानीमा शनिबार पाँचथर स्रष्टा मञ्चसँग संयुक्त रूपमा आयोजित कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक डा. देवी क्षेत्री दुलालले कौशिला थापा र लीलादेवी दुलालको स्मृतिमा सहिद रत्नको नाममा वाङ्मय पुरस्कार स्थापना गरेको जानकारी गराए ।
रत्न–बम स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका डा. दुलालले भने, “सहिद रत्नले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानलाई अनुसन्धानमूलक कृति ‘माङखिम’मार्फत उजागर गरिदिनुभएकोमा इलाम जिल्ला माङ्सेबुङ गाउँपालिका (साविक बाँझो गाउँ विकास समिति वडा नम्बर ६)का युवा स्रष्टा तथा पत्रकार राईलाई पुरस्कृत गरिएको छ ।”पत्रकार राईका ‘माङखिम’सहित कविता संग्रह ‘अर्को भ्रम’लगायत कृति प्रकाशित छन् ।
पत्रकार राईले नेपाली समाजमा उनको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको उल्लेख गर्दै पुरस्कारले थप जिम्मेवारीबोध गराएको बताए । ‘माङखिम’मा रत्नसहित २००७ सालको क्रान्तिका कमान्डर रामप्रसाद राई, महिला आन्दोलनका अगुवा सरस्वती राई, राष्ट्रिय विभूति फाल्गुनन्ददेखि जोसमनी सन्त परम्पराका अगुवा शशिधर, सन्त ज्ञानदिलदासलगायत व्यक्ति तथा विषयका फरक पाटो समेट्ने प्रयत्न गरेको उनको भनाइ थियो ।
कार्यक्रममा पाँचथरका स्रष्टा गुरुङ रामप्रकाश समथिङले लेखेका २२ वटा औपन्यासिक कृति सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल