म्याग्दीका दलहरु उम्मेदवार तोक्ने गृहकार्यमा

म्याग्दीका दलहरु उम्मेदवार तोक्ने गृहकार्यमा

म्याग्दी, ४ वैशाख । वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले क्रियाशीलता बढाएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित राप्रपालगायतका राजनीतिक दलले जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा चुनाव प्रचार अभियानलाई तीव्रता दिएका हुन् ।

चुनावी अभियानलाई प्रभावकारी बनाउन दलहरुले नयाँ स्थानीय तहअनुसारको जनवर्गीय र भ्रातृ सङ्गठनहरुको गठन, पुनर्गठनसँगै कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको देखिन्छ । निर्वाचन आउन एक महिना पनि बाँकी नरहेकाले यहाँका दलहरुले निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उठाउने उम्मेदवारहरुको टुङ्गो लगाउने कसरतमा जुटेका छन् ।

लामो समयपछि स्थानीय चुनाव हुन लागेका कारण पनि हरेकजसो दलबाट उम्मेदवार बन्नेको सङ्ख्या बढी छ । म्याग्दीका दलहरुले निर्वाचन प्रचार अभियानलाई प्रभावकारी बनाउन वैशाखको पहिलो साताभित्रै उम्मेदवारको टुङ्गो लगाइसक्ने तयारी गरिरहेका छन् ।

नेका म्याग्दीले गाउँ कमिटी र नगर कमिटीलाई योग्य उम्मेदवारको छनोट गरी सूची पेस गर्न निर्देशन दिएको जिल्ला सचिव क्याप्टेन मीनबहादुर कार्कीले जानकारी दिनुभयो । नेका म्याग्दीले उम्मेदवार छनोट गर्दा स्वच्छ छवि भएको, नयाँ संरचनामा काम गर्न सक्ने क्षमतावान् र अग्रज नेताहरुको भावना बुझ्ने व्यक्तिलाई उम्मेदवार बनाउने जनाएको छ ।

एमालेले वैशाख ७ गतेभित्रै गाउँपालिका, वडा र नगरपालिकाका उम्मेदवारको टुङ्गो लगाउने गरी उम्मेदवार छनोटको गृहकार्यलाई तीव्र बनाएको छ । “केही वडाबाट सर्वसम्मत रुपमा अध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाइसकिएको छ, सकभर सर्वसम्मत रुपमै उम्मेदवारको टुङ्गो लगाउने कसरत गरेका छौँ” – एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले भन्नुभयो ।

एमालेले ज्येष्ठता, लोकप्रियता, सामाजिक कार्यमा पोख्त र आर्थिक तथा नैतिक आचरण राम्रो भएका व्यक्तिलाई उम्मेदवार बनाउने आधार बनाएको जनाएको छ । यता माओवादी केन्द्रले नयाँ संरचनामा नेतृत्व वहन गर्न सक्ने र विकासलाई गति दिने क्षमतावान् व्यक्तिलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्न आफू मातहतको नगर, गाउँपालिका र वडा कमिटीलाई निर्देशन दिएको छ ।

“आन्दोलनबाट प्राप्त सङ्घीयता, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता, दलित, महिला, जनजातिका अधिकारलाई संरक्षण गर्दै समृद्धिको दिशातर्फ स्थानीय तहलाई डो¥याउन सक्ने व्यक्तिलाई नै प्राथमिकता दिएका छाँै” – माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले भन्नुभयो । उहाँका अनुसार युवालाई प्राथमिकता दिएर उम्मेदवार बनाउने तयारी भएको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा २३७ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । बहत्तरवटा मतदानस्थल रहेको म्याग्दीमा ३७ हजार ६७२ महिला, ३३ हजार ७६० पुरुष र एकजना तेस्रोलिङ्गी गरी ७१ हजार ४६३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल