विवाह नभएकी देवी खयर भारानी : भाकल गर्नेको ताँती

  |   सन्तोष गौतम

विवाह नभएकी देवी खयर भारानी : भाकल गर्नेको ताँती

khar varani (4)

उत्तरी म्याग्दीको शिख गाविस–६ पाउद्वार गाउँको शिर तथा अन्नपूर्ण हिमालको फेदीमा खयर भारानी ताल रहेको छ । तालको छेवैमा खयर भारानी देवीको मन्दिर छ । समुद्री सतहदेखि चार हजार चार सय ३० मिटरको उचाइमा रहेको खयर भारानी क्षेत्र निकै मनमोहक छ । ताल नांगा पहाड र हिमालले घेरिएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि माछापुच्छ्रे, मनास्लुलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । हिमालमा हिउँ बगेको (आइसफल) दृश्य यति मनमोहक लाग्छ कि मानौँ, अप्सराहरु चिप्लेटी खेलिरहेका छन् । तालमा वरपरका हिमालका छाया दन्त लहरझैँ देखिन्छन् । बिहानीमा मौसम सफा भएका बेला वरपरका भिरालो भुगोलको हरियाली सुन्दर देखिन्छ ।
खयर भारानी मन्दिरमा वर्षको एकपटक जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ । त्यस दिन यहाँ भक्तजनको घुइँचो नै लाग्छ । यस क्षेत्रमा परापूर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किंवदन्ती छ ।

khar varani (3)

किंवदन्ती भन्छ, ‘बाराही माईका नौ बहिनीमध्ये जेठी बहिनी खयर भारानी हुन् । पोखरा फेवातालबीचकी बाराही देवी माइली बहिनी हुन् । त्यस्तै, राम्चेकी नांगी बाराही, शिखकी कान्छी बाराही, हिस्तानकी प्यारी बाराही पनि खयरकै बहिनीहरु हुन् ।’
खयर बाराही देवीको पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । जनै पूर्णिमाको दिन म्याग्दीका विभिन्न ठाउँका भक्तजन यहाँ पुग्ने गर्छन् । साथै, राजधानी काठमाडौं, कास्की, चितवन, रुपन्देही, पर्वत, बागलुङ लगायत जिल्लाबाट समेत भक्तजन पुग्ने गरेका छन् ।
भक्तजनले आफ्नो चाहना–मनोकांक्षा पुजारीलाई भन्ने गर्छन् । पुजारीले ‘हे देवी भक्तको मनोकांक्षा पुर्याइदिनू’ भन्दै तालबाट हिलो माटो, ढुंगा आदि झिकेर भक्तजनलाई दिने गर्छन् । खयर बाराही ताल र मन्दिरमा नरिवल र भेडाका साँडले पूजा गर्ने परम्परा छ । प्रसादका लागि भेटी चढाई धजा लिने गरिन्छ ।
यसपालिको जनै पूर्णिमाको दिन पंक्तिकार खयर भारानी क्षेत्र पुगेको थियो । थुप्रै भक्तजनको घुइँचो थियो । भक्तजनहरु अनेका मनोकांक्षा लिएर आएका थिए । सन्तान लाभ, शिक्षामा सफलता, वैदेशिक यात्रा, जागिर पाऊँ भनेर भाकल गर्नेहरू पनि भेटिए ।
भेटिएका धेरैजसो भक्तजनले यो पंक्तिकारलाई आफूले गरेको मनोकामना पूरा भएको सुनाए । तीमध्ये एक हुन्, बेगका याम गर्बुजा । गर्बुजाले एक वर्षअघि खयर भारानीको दर्शन गरेर वैदेशिक रोजगारीका लागि अमेरिका जान सुरु गरेको प्रक्रिया सफल होस् भनेर भाकल गरेका रहेछन् । एक वर्षको अवधिमा अमेरिका यात्रा सफल भएपछि भाकल फर्काउन उनी खयर भारानी पुगेका थिए । उनी भन्छन्, ‘९ भदौमा काठमाडौं विमानस्थल ओर्लिएको हुँ । घरमा आफन्तलाई पनि भेटेको छैन । खयर भारानीले भाकल पूरा गरिदिएकाले पहिले यता आएँ ।’

khar varani (2)
खयर भारानीमा पुग्न सदरमुकाम बेनी नजिकैको पाउद्धार गाउँदेखि दुई दिन उकालो पदयात्रा गर्नुपर्छ । पाउद्धारदेखि हिँडेर पहिलो दिनको बास बस्नलाई खोप्रा डाँडा पुगिन्छ । खोप्रामा सामुदायिक लज छन् ।
त्यहाँ खान र बस्नको सुविधा छ । खोप्रा तीन हजार ६ सय ६० मिटरको उचाइमा रहेको छ । खयर भारानी खोप्रा लेकबाट एक हजार मिटर उचाईमा रहेकाले हिमाली क्षेत्रको उकालो हिँड्नुपर्छ । बीचमा होटल तथा होमस्टेको व्यवस्था पनि छैन ।
टेन्ट र स्लिपिङ ब्याग लिएर जानुपर्ने हुन्छ । क्याम्पिङ गरेर पनि बस्न सकिन्छ । टेन्ट भयो भने खोप्रा भन्दा माथिको यात्रा र बसाई केही सहज तथा व्यवस्थित हुन सक्छ । खोप्राबाट हिँडेर अर्को दिनको बास बस्न खयरखोला पुग्न सकिन्छ ।
चिसो र लेकाली क्षेत्र भएकाले हिँड्न कठिन हुन्छ । विश्राम गर्दै हिँड्नुपर्छ । लेक लाग्ने र बिरामी हुन सक्ने भएकाले पहिले नै सावधानी अपनाउनुपर्छ । औषधिको व्यवस्था गर्नुपर्छ । खयरखोलामा भेडीगोठ र पुराना सत्तलमा बास बस्नुपर्ने हुन्छ । पाउद्धारमा बालबिकास केन्द्र सञ्चालनका लागि पलास्टिकका दुई वटा आश्रयस्थल बनाइएको छ । धेरै मानिसको चाप हुँदा भक्तजनको बासस्थानमा समस्या हुने गर्छ । बालशिक्षाका लागि आयस्रोत जुटाउन गाउँलेले त्यहाँको भेडागोठमै खाना, खाजा खुवाउने व्यवस्था गरेका हुन्छन् । यद्यपि पदयात्री आफैँले पनि तयारी खाजा, खानाको व्यवस्था गर्दा राम्रो हुन्छ । न्यानो कपडा छुटाउनै हुँदैन ।
खयरखोलामा बास बसेर जनैपूर्णिमाको दिन राति २ बजेदेखि नै खयर भारानी जानका लागि भक्तजनको चहलपहल सुरु हुन्छ । बली चढाउने भेडाका साँड र बोका लिएर भक्तजन खयर भारानीदेखि केही तल रहेको धोती खोलामा राति नै पुगिसकेका हुन्छन् । उकालो बाटोमा लाइट बालेर हिँडेका भक्तजनको ताँती जुनकिरीझैँ देखिन्छन् ।
भदौमा यहाँको यात्रा निकै रोमाञ्चक हुने रहेछ । कुहिरो र बादलसँग लुकामारी गर्दै हिँडेको अनुभूति हुन्छ । वरपरका हिमशृंखला, हरियाली पाखा, विभिन्न प्रजातिका रंगीविरंगी फूल, झुन्डझुन्डमा देखिने भेडाका बथान, आकाशमा देखिने सफा सेतो बादल, एकान्त ठाउँबाट स्वच्छ हावामा स्पर्श गर्दै उडेका पक्षी देख्दा मनै प्रफुल्ल हुन्छ ।
खयर भारानीको दर्शनका लागि ताल परिसरमा छुट्टै थानको निर्माण गरिएको छ । त्यहाँ पहिले ढुंगामा पूजा हुन्थ्यो । ०४८ सालतिर भेडा गोठालाले पूजा गर्ने थान बनाएका थिए । ०६९ सालमा खयर भारानी थान पुनर्निर्माण तथा व्यवस्थापन समिति पाउद्धार बन्यो । जसले चन्दा उठाएर थानलाई व्यवस्थित बनाएपछि अहिले पूजाआजा गर्न सहज भएको छ । तलाउमा जयस्थिति मल्लको पालाका सिक्का ििन भेटिने गरेको स्थानीय बताउँछन् । यसैले यहाँ धेरै वर्ष पहिलेदेखि पूजाआजा हुने गरेको अनुमान लगाउन सकिन्छ ।
खयर भारानी अहिलेसम्म सञ्चार माध्यम र अन्य ठाउँमा खयर बाराही भनेर चिनिएको थियो । तर, स्थानीयले ‘खयर भारानी’ भन्दा रहेछन् । ताल परिसरमा मन्दिर नभएर थान मात्र रहेछ । खयर भारानीको संरक्षण र विकासमा सक्रिय रहँदै आएका बेलायती सैनिकका भूपू ल्याप्टेन राजु पुनका अनुसार पुरुष जलदेवतालाई बराह, महिला जलदेवतालाई बाराही भन्ने गरिए पनि खयर अविवाहित देवी भएकाले भारानी भन्ने गरिएको हो ।

khar varani (1)
ताल परिसरमा बनाइएको पूजास्थल मन्दिर नभएर ‘थान’ भएको स्थानीयले बताए । देवी देवता रहने स्थानलाई स्थानीय बालीचालीमा ‘थान’ भनिन्छ । स्थानीयका अनुसार पुजारीको व्यवस्था गरेर दैनिक पूजाआजा हुने ठाउँलाई मन्दिर भनिने र एक दिनमात्र पूजा हुने भएकाले थान भनिन्छ । खयर थान र तालभन्दा केही तल अर्को थान पनि छ ।
खयर भारानीको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकासका लागि शिख पाउद्धार गाउँका बासिन्दाहरू सक्रिय बनेका छन् । खयरभारानी थान पुनर्निर्माण तथा व्यवस्थापन समितिमार्फत विभिन्न ठाउँमा जोखिमयुक्त र अप्ठेरो बाटो मर्मत र निर्माण गर्ने काम भइरहेको छ । दिवंगत आफन्तको स्मृतिमा पदमार्ग निर्माण गर्ने चलन नमुनायोग्य छ । पदमार्गसँगै चौतारी बनाउने र त्यहाँ लागत उल्लेख गरेको देखिन्छ ।
उकालो र चिप्लो तथा भीरको बाटो भएकाले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ढुंगासहितको सिँढी राख्ने गरिएको छ । खयर भारानीको भेटी पाउद्धार मावि सञ्चालन र गाउँको विकास निर्माणमा प्रयोग भएको व्यवस्थापन समितिका पदाधिकारी बताउँछन् । पदमार्ग र व्यवस्थित आश्रयस्थलको व्यवस्था हुन सकेमा खयर भारानी म्याग्दीको महत्त्वपूर्ण तीर्थस्थलको रुपमा विकास हुने प्रशस्त सम्भावना छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल