जसलाई कृषिले चिनायो : दाम र नाम दुवै कमाउने यी हुन् सफल कृषि उद्यमी

जसलाई कृषिले चिनायो : दाम र नाम दुवै कमाउने यी हुन् सफल कृषि उद्यमी

तेजेन्द्र के.सी.

रुपनदेही, चैत २५– रुपन्देही जिल्लाको बुटवलस्थित मिलनचोकको तीनकुनेमा सीपी शर्माको ठूलो घर छ । पुख्र्यौली सम्पत्ति पनि प्रशस्तै छ । शर्मा कुनै ठूलो उद्योग या अन्य प्रतिष्ठित काम गरेर बस्न पनि सक्थे । तर उनी अस्ट्रिच नामको चरा पाल्नतिर लागेका छन् । बिहानदेखि रातिसम्म उक्त चराको रेखदेखमै उनको समय बित्ने गरेको छ, केही वर्षयता ।

नेपालमै नभएको अस्ट्रिच चराको व्यावसायिक खेती गर्ने शर्मालाई सुरुमा चिनेजानेकाहरुले मुर्खको संज्ञा पनि नदिएका होइनन् । कसैले नपालेको र नदेखेको चारा पाल्न करोडौँ खर्च गरेको देख्दा उनीमाथि प्रश्न उठ्नु स्वभाविक पनि थियो ।


तर उनी अरुको कुरा सुन्ने र निर्णय आफ्नो गर्ने गर्थे । त्यही स्वभाव, लगनशीलता र हिम्मतकै कारण आज स्वदेश तथा विदेशमा समेत परिचित बनेका छन् सीपी । ‘आम्दानी पनि राम्रै छ, त्योभन्दा धेरै नाम चलेको छ ।’ अस्ट्रिचको नाम आउनसाथ सीपी शर्माको नामा जोडिएकोमा उनी खुशी नहुने कुरै भएन । ‘अस्ट्रिच र सीपी एक अर्कोका पर्ययावाची भइसकेको छ’ उनले सुरुमै सुनाए ।

‘अस्ट्रिच नेपाल प्रालि’ खोलेर व्यावसायिक रुपमै पाल्न सुरु गरेका हुन् शर्माले । ‘लगानी एक अर्ब पुगेको छ, रुपन्देहीको गंगोलियाबाट सुरु गरिएको अस्ट्रिच पालन व्यवसाय हाल तीन स्थानमा विस्तार भइसकेको छ ।’ उनले कुराकानीका क्रममा बेलिविस्तार लगाए, ‘२०६५ सालबाट मुलुकमै पहिलो पटक गंगोलियमा अस्ट्रिचको व्यावसायिक पालन सुरु गरेँ’ प्रालि अन्र्तगत हाल रुपन्देहीको गंगोलिया, सूर्यपुरा र दाङको बेलझुण्डीमा अस्ट्रिच फार्म सञ्चालनमा छन् । गंगोलियामा २२ बिगाहा क्षेत्रमा फार्म फैलिएको छ भने सूर्यपुरामा ७० तथा दाङमा १६२ बिगाहाको फर्म छ । सबै ठाउँमा गरेर एक अर्बभन्दा बढी लागनी गरेको उनले सुनाए ।


शर्मा भन्छन् ‘अस्ट्रिचको मासुले बजार लिँदै गएको छ, निर्यातसमेत हुन्छ, तब राज्यले पनि यसको महत्व बुझ्नेछ ।’

त्यसो त अस्ट्रिच पालन गर्न त्यति सहज भने छैन । एउटा बयस्क अस्ट्रिचले दिनमा ५ किलोसम्म अर्थात् २ सय ५० देखि ३ सय रुपियाँसम्मको दाना र घाँस खान्छ ।

९ देखि १४ महिनाको अस्ट्रिच १ क्विन्टलसम्मको हुन्छ, तर व्यावसायिक रुपमा १४ महिनासम्मको अस्ट्रिच उपयुक्त मानिन्छ । ३ वर्षदेखि अण्डा पार्न उपयुक्त हुने यो चराको अण्डा ९ सयदेखि २७ सय ग्रामसम्मको हुने उनको अनुभवले देखाएको छ ।

आफू मात्र होइन, उनको कम्पनीमा ६० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । नयाँ अवधारणा र ठूलो लगानीमा सञ्चालन गरिएकाले यो फार्म मुलुकमै चर्चित पनि छ । फार्म हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । रुपन्देहीसहित विभिन्न जिल्ला तथा विदेशबाट समेत दैनिक एक सयभन्दा बढी मानिसहरु फर्म अवलोकनका लागि आउने गरेका छन् ।

सुरुमा सरकारी निकाय र बैङ्कहरुलाई चरा पालनका विषयमा बुझाउन कठिन परेको उनको अनुभव छ । अस्ट्रिच फर्म र्हेनका लागि टिकट काट्ने अनिवार्य व्यवस्था गरेको छ उनको कम्पनीले । टिकटबाट आएको रकम सामाजिक कार्यमा खर्च गरिने शर्माको भनाइ छ ।

सबैभन्दा ठूलो गाईफर्म,जहाँ मन्त्रीदेखि किसानको लर्को

सीपी शर्मा मात्र होइन, रुपन्देही जिल्लामा कृषि कर्ममा लागेर नाम कमाएका शशी पौडेलको नाम पनि अगाडि आउँछ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका टिकुलीगढमा २० बिघा क्षेत्रफलमा लुम्बिनी एग्रो प्रडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालिका नामबाट पौडेलले गाई फार्म सञ्चालन गरेका छन् । नेपालमा सबैभन्दा धेरै गाईपालन गरेका पौडेलेको फर्म हो यो । जहाँ विभिन्न जातका गाई छन् । गाईको दूध मेसिनबाट दुहिन्छ । स्थायी शिक्षकको जागिर र पेट्रोलपम्पको मालिक भएर पनि रमाउन नसकेपछि ती सबै व्यवसायलाई छाडेर अमेरिका हामफालेका थिए पौडेल । तर अमेरिका पुगेको एक महिना पुग्न नपाउँदै आफ्नै जन्मभूमि फर्किए उनी । आफ्नै माटोमा सुन फलाउनु पर्छ भन्ने धारणा बोकेर देश फर्केपछि गाई पाल्न थालेको उनले बताए ।

पौडेल भन्छन्– ‘नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि वा पशुपालन परम्परावादी र निर्वाहमुखी मात्र भयो । अव व्यावसायीकरण बनाउनुपर्छ ।’ जसलाई व्यावहारमा उतारेर सबैको नमुना बन्ने काम गरेको दाबी छ पौडेलको ।

हुन पनि कृषि सहकारी, कृषक समूह, कृषि अध्ययन संस्थानका विद्यार्थी तथा प्राध्यापकहरुका लागि पनि पौडेलको फार्म पुस्तकालय जस्तै बनेको छ ।

उनलेको योगदानलाई कदर गर्दै ०६७ मा राष्ट्रपतिबाट विकास रत्नपुरस्कार प्राप्त गरे पोडेलले । त्यस्तै ०६८ सालमा विश्व बैङ्कबाट नवीकरणीय ऊर्जा क्षेत्रमा छनोट भई उपविजेता समेत बने उनी ।

जसको फर्म अवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष के.पी. ओली, नयाँ शक्तिका बाबुराम भट्टराई, एमालेकै झलनाथ खनाल, बामदेव गौतम, नेता हृदयश त्रिपाठी, काङ्ग्रेस नेता रामशरण महत, शेखर कोइराला, सुजता कोइराला आइसकेका छन् । उनीहरु कोही मन्त्री भएको बेलामा त केही नभएका बेलामा आएर हेरेका हुन् । दलका नेताहरुको त कुरै छाडौँ शशी भन्छन् ‘मेरो फर्म कसले हेर्योभन्दा पनि कसले हेरेन भन्ने लिस्ट तयार पार्नुपर्छ ।’


उनलाई अमेरिका बसेका या शिक्षक भएका भए कमैले चिन्ने थिए । अहिले मिडियादेखि धरै जनाको आँखा आफूमा परेकोमा दङ्ग नहुने कुरै भएन ।

माछा ह्याचरीले मण्डल प्रख्यात

शर्मा र पौडेलसँगै रुपन्देहीका अर्का सफल कृषि उद्यमी हुन् रामेश्वर मण्डल । माछा पालन व्यवसायबाट नाम र सम्मान पाएका छन् उनले । रुपन्देही तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढका रामेश्वर मण्डल वि.स.२०७० सालमा देशभरका उत्कृष्ट माछा ह्याचरी किसानका रुपमा राष्ट्रपति पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढमा नमुना व्यावसायिक माछा ह्याचरी स्थापना गरेका छन् मण्डलले । रुपन्देहीको छयिया माछाको लागि हव मान्निछ । ह्याचरी कम भएको बेला उनको व्यपार फस्टाएको छ ।


वर्षमा उनले करिब १२ करोड रुपियाँको माछा ह्याचरी गर्दछन् भने करिब २५ देखि ३० लाखवटा माछा फिङ्गरिङ गर्ने गर्दछन् ।

ह्याचरीमा उत्पादन भएका माछापूर्वमा बारा र पश्चिममा कञ्चनपुरसम्म जाने गर्दछ । २ करोड लागनीबाट काम सुरु गरेका उनको कारोबार नेपालका अधिकांश जिल्लामा हुन्छ । माछा पालन गर्न रुपन्देही आउने जोसुकै उनको माछा ह्याचरीबाटै काम सुरु गर्छन् ।

वि.स. २०५७ सालमा निजी जग्गा भाडामा लिएर व्यावसायिक माछा ह्याचरी स्थापना गरेका मण्डलले हाल ७ प्रजातिका माछाका बच्चा उत्पादन गर्दै आएका छन् । दुई बिघा १० कठ्ठा एक स्थानमा र अर्को स्थानमा ५ बिघा क्षेत्रफल जग्गा माछाको ह्याचरी बिक्रीबाट नै किनेका छन् उनले ।

मण्डलले ५ बिघा क्षेत्रफलमा २१ वटा माछापोखरी निर्माण गरिसकेका छन् । फरक काम गर्ने हेतुले माछाको ह्याचरी स्थापना गरेको बताउँछन् उनी । भन्छन्– ‘खाने माछा सबैले पालेका छन् । तर माछाको बच्चा उत्पादन भने कमैले मात्र गरेका छन्, त्यसकारण माछाको ह्याचरी स्थापना गरेको हुँ ।’

‘सिल्भर कार्प, कमन, बिग्रेड, नैनी, रहुँ, ढाकुर ७ प्रजातिका भुराहरुमा सबै कार्प जातका माछा उत्पादन गरेको छु । सबै खर्च कटाएर वार्षिक १ करोड बराबरको आम्दानी हुने गरेको छ ।’ मण्डलले सुनाए । माछा पालनका लागि सरकारले पछिल्लो समय किसानलाई सहयोग पनि गरेको छ । पोखरी खन्दा अनुदान, तालिम लगायत प्राविधिक सहयोग पाएको बताए । उनले भने ‘यसका लागि सोच चाहिन्छ, अनि व्यावसायिक योजनाहरु चाहिन्छ । साहस र निरन्तरता अनि लगानी भए कृषि पेशाबाटै मानिस सर्वत्र चिनिन्छ ।’

भाडाको जग्गामा व्यावासायिक तरकारी, यादवको लाखौँ आम्दानी

‘आफ्नो जग्गा छैन, खै कसरी खेतीपाती गर्ने, अर्कोको जग्गामा गरेर कति दिनलाई होला र ?’ भन्नेहरुका लागि रुपन्देहीको सुर्यपुरा गाविस–९ कुट्टाभाटाका किसान नारदमुनी यादवले गतिलो जवाफ दिएका छन् ।


४६ वर्षीय किसान यादवले ५२ बिघा क्षेत्रफलमा जग्गा भाडामा लिएर व्यावसायिक खेती गरेका छन् । २१ वर्षसम्म सूर्यपुरा गाविसमा ग्रामीण पशु स्वाथ्य कार्यकर्ताको काम गरेका उनलाई आफ्नो जग्गा नभए पनि भाडामा जग्गा लिएर भए पनि व्यावसायिक खेती गर्नुपर्दछ भन्ने सोचले कृषि पेशातर्फ मोडिएको बताउँछन् ।

५ वर्ष पहिला हसनापुर माध्यमिक विद्यालयको नाममा खाली रहेको बाँजो जग्गालाई उनले भाडामा लिएर काम सुरु गरेका थिए । ३ वटा प्लटमा उनले ४६ विघा क्षेत्रफल रहेको खेतको बगर, अर्को छुटै स्थानमा १० बिघा र २ बिघा क्षेत्रफल आँपको बगैचासमेत लिएका छन् ।


यसरी जग्गा भाडामा लिएबापत किसान यादवले ४७ बिघाको क्षेत्रफलको वार्षिक १ लाख ३३ हजार, अन्य १० बिघाको १ लाख २० हजार र आँप बगैँचाको १ लाख रुपियाँ भाडा हसनापुर माविलाई बुझाउँदै आएका छन् ।

प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले भाडासमेत वृद्धि गर्दै जानेगरी सम्झौता भएको छ । ४६ बिघा क्षेफलमा एकीकृत आरम्भ कृषि फाम खोलेका उनले २ वटा अस्ट्रिच कन्ट्रयाक्ट फर्मसमेत खोलेका छन् ।

यही फर्मबाट केही वर्ष पहिला एक गैरसरकारी संस्थाले उनलाई केही दिन भारत भ्रमणमा समेत लग्यो । उनी भन्छन् ‘भारतका ती ठाउँहरु हेरेर नेपालमा पनि केही गर्नुपर्छ भन्ने अठोट लिएर यहाँ सुरु गरेको हुँ ।’ मासिक १ लाखदेखि १ लाख ६० हजार आम्दानी सबै खर्च कटाएर बचत गरेको उनी बताउँछन् ।

त्यसो त त्यति धेरै आम्दानी गर्न करिब १ करोड लगानी गरेका छन् उनले । वि.स.२०६९ पुस २२ गते एकीकृत आरम्भ कृषि फर्म खोलेका उनले त्यसअघि बदाम र तर्बुजासमेत बिक्री गरेका थिए । व्यवसाय विस्तारका क्रममा उनले अहिले १५ कठ्ठा क्षेत्रफलमा ३ वटा पोखरी निर्माण गरी माछा पालनसमेत गरेका छन् । ‘राष्ट्रपति उत्कृष्ट कृषि सम्मान २०७१’ बाट पुरस्कृत भएका यादवले समयमै किसानलाई मल, बीउ र अनुदान उपलब्ध हुन नसक्दा समस्या भएको गुनासो भने गर्न छाडेनन् ।

पुरानो इलेक्ट्रिसियन अहिले कृषि फर्मबाट पुरस्कृत

बुटवलदेखि २० किलोमिटरको दूरीमा रहेको मैनहियामा अयोध्या थारुको कामधेनु पशु फर्म छ । करिब २ करोडको लागनीमा यो फर्म सञ्चालन गर्ने थारुको भित्री कथा भने अर्कै छ । २०५७ सालमा इलेक्ट्रिसियनको जागिर छाडेर गाई पालन सुरु थिए थारुले । उनलाई संस्थानको इलेक्ट्रिसियनको सेवा सुविधा राम्रै लागेको थियो । तर, उनले कृषि प्रधान मुलकमा कृषिबाटै केही गर्ने योजना बनाएर कृषि फर्म दर्ता गरे । उनको कामधेनु पशु फर्ममा अहिले एक सय १५ वटा गाई छन् । गोठको लगानी जमिनबाहेक दुई करोड पुगेको छ । ‘कारोबार बुटवल, भैरहवा हुँदै भारतसम्म पुग्ने गरेको छ ।’ १६ जनालाई प्रत्यक्ष रोजगरी दिएको छु ।’ थारु जस्तै ठूलो लगानीमा व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्या जिल्लामा बढ्दै गएको छ । जिल्ला पशु सेवा कार्यालय रूपन्देहीका अनुसार जिल्लामा एक करोडभन्दा बढी लगानीमा सञ्चालन भएका पशु फर्मको सङ्ख्या १ दर्जन पुगेको छ ।

आफ्नै जग्गामा फर्म सञ्चालन गरेका थारुले दूधबाट बन्ने परिकार बनाउन ठूलो परियोजना सञ्चालन गर्ने तयारी गरेका छन् । उनलाई प्रोत्हसान गर्न मन्त्रीदेखि नेताहरु पनि पुग्ने गरेका मात्रै छैनन् विभिन्न संस्थाहरुले उनलाई पटक पटक पुरस्कृतसमेत गरिसकेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल