गुरिल्ला पदमार्गलाई फन्को मार्दा

गुरिल्ला पदमार्गलाई फन्को मार्दा

धनीराम शर्मा (ऋतुविचार)

काँक्रेविहारदेखि शान्तिगाउँ जेलबाङको यात्राको कार्यतालिका बनेपछि आत्मीय साथी गजेन्द्र बोहरासँग मिनी लुम्बिनी काँक्रेविहारबाट शान्तिको सन्देश लिएर शान्तिगाउँ जेलबाङसम्मको यात्रामा निस्क्यौँ ।

चैत १ मा दाङ नेपालगञ्ज हुँदै २ गते पर्यटन पत्रकार सङ्घ सुर्खेत र ४ गते रुकुमको अधिवेशन सम्पन्न गर्ने केही औपचारिक कार्यक्रम थिए । सुर्खेत सङ्घका साथीहरुको संयोजनमा काँक्रेविहारको अध्ययन अवलोकनपछि सन्देश लिएर हामी भेरी नदीको किनारै किनार सल्यान हुँदै जाजरकोटको कुदुमा पुग्यौँ,, कुदुलाई बिदाइ गर्दै भेरी नदीको झोलुङ्गे पुलसँगको अङ्कमालमा चौरजहारी पुग्यौँ । चैत ३ गते भेरी नदीको किनारैकिनार मुसिकोट पुग्यौँ । यात्रामा भेरीको कञ्चन जल समुद्र भेट्न दौडिरहेको थियो । भेरी जलाधारको मनोरम दृश्यलाई अवलोकन गर्दै थोत्रो बसमा हामी कोचिएका थियौँ । बाटो निकै डरलाग्दो थियो, सम्भावनाका मनोविश्लेषण गर्दै करिब ६ घण्टापछि मुसिकोट पुग्यौँ ।

चैत ४ गते गुरिल्ला पदमार्गको तेस्रो रुटको अन्तिम विन्दु मुुसिकोटबाट हाम्रो यात्रा रुकुमकोट तर्फ हानियो । पश्चिम नेपालको उत्कृष्ट पदमार्ग हुन सक्ने सम्भावनालाई उजागर गर्न हाम्रो कलम र क्यामेराहरु धेरै वर्षदेखि क्रियाशील छन् । आर्थिक समृद्धिका लागि निरन्तर हजारौँ शब्द र हजार घण्टा दृश्य छायाङ्कन गरेका हाम्रो क्यामेराले यस वर्ष पनि गुरिल्ला पदमार्गको प्रवद्र्धनमा राज्यको भूमिका खोज्दै दूरदराज पुगेको हो । यस क्षेत्र प्रकृति र संस्कृतिसँगै ऐतिहासिक राजनीतिक घटनाक्रमको उच्चतम स्थल हो । दश वर्षै द्वन्द्वले थिलथिलो पारेको समाजको समृद्धिको सपना देखाउने र यसलाई विपनामा बदल्ने एउटा आधार हो । पर्या, सांस्कृतिक र युद्ध पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावनालाई देश दुनियाँसम्म पुर्याउने सिलसिलामा नयाँ शृङ्खलामा हामी यता हानिएका हौँ, खोज तथा व्यवसायिक पत्रकारिताको सामाजिक उत्तरदायित्वले दूरदराजको सम्भावना कोट्याउने र राज्यलाई निगरानी गर्ने हाम्रो मुख्य ध्ययको अर्काे शृङ्खला गुरिल्ला पदमार्गको स्थलगत न्युज रिर्पाेटिङ नै थियो ।

२०५६ चैत ५ गते तत्कालीन माओवादी छापामारद्वारा आक्रमण भएको स्थान रुकुमकोट पुग्यौ, रुकुमकोटको सुन्दर बस्ती, शान्त र सुन्दर कमल तालको मनोरम दृश्यलाई नयन र क्यामेरामा कैद गर्दै हाम्रो गन्तव्य काँक्री लुकुमतर्फ मोडियो । गुरिल्ला पदमार्गलाई फन्को मार्ने योजना मुताविक हामी मुसिकोट रुकुमकोट हुँदै निस्किएका थियौँ । तत्कालीन विद्रोही माओवादी छापामारद्वारा मुख्य फौजी कारबाही भएका क्षेत्रलाई समेटेर सन २०१२ मा गुरिल्ला पदमार्गको रेखाङ्कन गरिएको हो । विशेषगरी बेनी आक्रमणको घटनालाई जोडेर छापामारहरुको सुरक्षित आश्रय स्थल, तालिम क्षेत्र र सुरक्षित बाटाहरु नै गुरिल्ला पदमार्ग नामले जोडिएको छ । बेनीदेखि निसिलढोर ढोरपाटन लुकुम, खबाङबगर, तकसेरा हुकाम मैकोट, लालपाटन, छिपखोाल र स्यार्पुलेक हुँदै मुसिकोट पुगिन्छ भने काँक्रीबाट रुकुमकोट हँुदै मुसिकोट र अर्काे लुकुम, महत, थबाङ, जलजला, सुकलबाङ र जेलबाङ हुँदै सुलिचौरमा आएर टुङ्गिने गर्दछ । बेनीबाट आरम्भ हुने पदमार्ग तीनवटा रुटमा १४ दिन १९ दिन र २७ दिनको यात्रा गर्न सकिने छ । हाम्रो यस पटक दुई रुटमा फन्को मार्ने तालिका थियो ।

मुसिकोटबाट घोर्खानी आइपुग्दा सिस्ने हिमालले हामीलाई सेता दाँत देखाएर स्वागत गरिरहेको थियो । पूर्वी रुकुमका मगर बस्तीका ताँतीहरु निकै सुन्दर देखिन्थे । समृद्ध भविष्यको कल्पनासँगै उनीहरुका दैनिकी चलिरहेका थिए । दशकयता रुकुमले गरेको विकास प्रगति र प्रकृतिको वैभवता निकै रहर लाग्दा देखिन्थे ।

जनार्दनको जिल्ला भएर पनि होला जताततै बाटाहरु खोलिएका थिए । गाउँहरु माइक्रोमय भएका थिए । पहाड नै छेडेर पूर्व–पश्चिम लम्किएको मध्य पहाडी लोकमार्गले नेपालीको भविष्यको दिशानिर्देश गर्दैथियो । गाडी खसे चोक्टो पनि नभेटिने जोखिमपूर्ण भीर पहरा काटेर मध्यपहाडी लोकमार्ग भेरी नदीलाई जिस्क्याउँदै कमल दहसँग स्पर्श गरिरहेको थियो । हामी विकास, प्रकृति र संस्कृतिको सङ्गम स्थलहरुको तन, मन र क्यामेराले चुम्बन गरिरहेका थियौँ । यात्रा कठिन थियो तर सुन्दर सपनाका थोपाहरुले मनका अन्तरङ्गमा स्पर्श गरिरहेका थिए । गाउँ बस्तीमा अझै समस्या र अप्ठ्याराहरु देखिन्थे तर भौतिक जीवनहरु केही कठिन । देखिए पनि भविष्यको सपना निकै बलवान देखिन्थे । सिस्नेको काखमा रहेका मनोरम बस्तीहरु डरलाग्दा पहाड र खोँचमा सुन्दर सपनाहरुसँग अँकमाल गरिरहेका थिए । विगतको कहाली लाग्दो दिनलाई भुल्दै उनीहरु आगन्तुकहरुको न्यानो स्वागत गर्ने हतारमा थिए । ग्रामीण पर्यटन आधार होमस्टेको केही अभ्यास गर्दै गुरिल्ला पदमार्गलाई आर्थिक समृद्धिको आधार बन्न सकोस् भन्ने उनीहरुको चाहाना र कामनाहरु गुराँसले रङ्गीन बनेका भीमकाय पहाडमा ठोक्किरहेका थिए ।

चैत ५ गतेको करिब दिउँसोको ३ बजिसकेको थियो । गाउँगाउँमा चुनावी रन्कोका दृश्यहरु पनि खुबै देखिए । त्यही माहोलमा माओवादीका पूर्व सैन्य कमान्डर प्रतीक पनि भेटिए । उनीलगायत स्थानीयसँगको थोरै भलाकुसारीपछि हामी रुकुमकोटको मैदाने हुँदै करिब २ घण्टाको अनवरत यात्राले बेलुका मोराबाङको सिसाघाराीमा रात भेटाउन पुग्यौँ । सिसाघारीमा प्रतीक्षा दिदीको न्यानो स्वागतले रात बित्यो । दिदीसँग बिदाइ गर्दै हामी बिहानै लुकुम हानियाँै । सम्भावनाका दृश्यहरु कैद गर्दै करिब ५ घण्टाको पैदल यात्राले लुकुम पुगियो । लुकुम पुगेपछि स्थानीयको न्यानो स्वागतले हाम्रो छाती फुलेर चौडा भएको थियो । लुकुमका अगुवा रुजीधन घर्ती मगर, गमनबहादुर घर्तीलगायतका अगुवाहरुसँग पदमार्गको विषयमा संवाद गर्यौ, बेनी आक्रमणको बेला पासाङ नेतृत्वको माओवादी छापामार लुकुममा ४ महिने सैन्य तालिम सञ्चालन गरेका रहेछन् । फौजी कारबाही र विकासको हिसाबले निकै महत्व राख्ने लुकुम मगर संस्कृतिको उद्गम थलो पनि रहेछ । करिब ३ सय घरधुरी रहेको लुकुममा होमस्टे सञ्चालन गर्न सकिने स्थानीयहरुले सुनाए ।

चैत ६ गतेको दिउँसोको करिब ४ बजिसकेको थियो । लुकुमबाट महत फर्कनु थियो । मौसम अत्यन्तै प्रतिकुल थियो । भूमे लेक, चौरी लेकहरु हिउँले छोपिएका थिए । चिसो अचाक्ली थियो, ट्रेकिङमा निस्किएका हामीसँग लजिस्टिक सामाग्री पर्याप्त पनि थिएनन् । तैपनि कठ्याङ्ग्रिने चिसोसँग निहँु खोज्दै पानी पानी महततिर पाइलो सोझियो । काँक्री फर्कदा करिब साढे सात भइसकेको थियो । प्रतिकूल मौसम, अन्धार बन्दै गएको निर्मम रातमा महततिर पाइला चले । बाटो अप्ठ्यारो नभए पनि मौसम र समय धेरै घर्किसकेको थियो । मोबाइलको पिलपिले उज्यालोमा लठ्ठीको साहारले महत पुग्नु नै थियो । लठ्ठी र चाउचाउको भरमा करिब ९ बजे महत पुगियो । चिसो अनि भोकले लखतरान परेका हामीलाई महतमा बास खोज्न सजिलो थिएन । तैपनि करिब ३ बस्ती रहेको महत प्रहरी चौकीका इन्चार्ज मोहन नेपालीसँगको कुराकानीले ढ्याप्ली होटेलमा बासको निधो भयो । अनुनयविननयको प्रयासपछि रात गुजार्ने अलिखित सम्झौता भयो होटेल सञ्चालक गङ्गा बूढासँग, अन्तमा कोच्चकाच्च गरेर भए पनि चिसो रात काट्ने मेसोमा गङ्गाजी पनि सहमत भइन् ।

चैत७ मा महत थबाङको यात्रा थियो । अघिल्लो दिनको कडा हिँडाइले थाकेका हामी बिहान अबेर उठेछौँ । गुरिल्ला पदमार्गको तेस्रो रुटको मध्य खण्डमा पर्ने महतमा बुद्धको मूर्ति स्थापना गरिएको रहेछ । युद्ध क्षेत्रमा बुद्धको ठूलो कदको मूर्ति गाउँका बीचमा स्थापना गरी युद्धको त्रासदीबाट शान्तिको सन्देश दिन प्रयास गरिएको स्थानीय अगुवा जोखनबहादुर पुनले सुनाए । शान्तिको सन्देश लिएर हामी ऐतिहासिक गाउँ थबाङ हानियौँ । करिब ४ घण्टाको निरन्तर पैदलयात्राले करिब ४ बजेतिर ऐतिहासिक गाउँ थबाङ आइपुग्यौँ । लाल झण्डाले सिँगारिएको थबाङ वास्तवमै क्रान्तिको किल्ला एनान जस्तै देखिएको थियो । भर्खरै सम्पन्न विप्लव माओवादी अधिवेशनको झल्को दिइरहेको थियो । करिब ५ सय घरधुरी कम्युनिज्म र कम्युनिटीले सिङ्गो बनेको थबाङको छायाङ्कनमा जुट्यौँ ।

चैत ८ गते बिहानै स्थानीय अगुवा रेशमबहादुर शाहको सम्पर्कमा थबाङको दशकपछिको विकास र प्रगतिको विषयमा संवाद गरियो । स्थानीय अगुवा गिरिस पुन, अमित घर्ती र विराट झाँक्रीलगायतका स्थानीयसँगको गहन संवादपछि हामी बेलुकी जनवादी विद्यालयको अध्ययन गर्दै राँचीबाङस्थित जनकम्युनको जर्जर अवस्थाको अध्ययन गर्न हानियौँ । कम्युनमा अग्रज पत्रकार मौसम रोकाको आमा रामसरी रोका मात्र हुनुहुँदो रहेछ, उहाँसँगको छोटो संवाद सकेर हामी रात्रि बासको खोजीमा लाग्यौँ । सौभाग्यले राँचीबाङमै कर्मबहादुर पुन दाइको सम्पर्कमा ढिँडो सिस्नो स्वादसँगै आतिथ्यताले रात बित्यो ।

चैत ९ गते बिहानै दाइको सहयोगमा हामी चालाबाङ आइपुग्यौँ । चालाबाङ युद्ध स्थल पनि हो । स्याउ बगैँचाले चर्चित मानिने चालाबाङबाट हामी जलजलासँग स्पर्श गर्ने सपना लिएर उकालो लाग्यौँ । सम्पूर्ण यात्राको सबैभन्दा कठिन र चुनौती पूर्ण तीन घण्टा लामो हिउँसँगको पाँैठेजोरी नै रह्यो । बाटोको अलमलका कारण हामी गुरिल्लापदमार्गको मूल मार्गबाट छुट्टिएछौँ । जसका कारण ३ घण्टाको उकालो र ३ घण्टा लामो हिउँसँगको लडाइँ लड्नु पर्यो । लजिस्टिकविहीन यात्रामा निस्किएका हामी जलजलाको भीर पखेरामा फसेपछि सबैभन्दा दुःख भोग्न पर्नेभयो । जब तीन घण्टाको उकालोपछि जलजलाको उत्तर–पूर्वको नेटाबाट प्रवेश गर्ने गोरेटोमा पुग्यौँ । त्यहीबाट हामीलाई चिसो भीर अन्कन्टार जङ्गलसँग जुध्न परेको थियो । प्रारम्भमा हिउँसँग खेल्न पाउँदा हामी निकै हौसिएका थियौँ । साथी गजेन्द्रले फोटो सेसन गर्दै जिन्दगीमा हिउँसँग स्पर्श गर्न पाएको भन्दै अन्कन्टार डरलाग्दो चिसो भीर पखेरामा सङ्गीतमा गुन्गुनाउन थाल्नुभयो । त्यसमा पनि मैले पनि साथ दिए फोटो सेशनको बजार सुरु भयो । तर हाम्रो खुशी करिब एक घण्टा पनि नबित्दै त्रासदीमा बदलिँदै जान थाल्यो । हिउँहिउँले ढाकिएको पहाडको सिरानबाट जलजला पुग्ने सानो गोरेटोबाट हामी प्रवेश गरेका रहेछौँ । सुरुमा पृय लागेको गोरेटोमा मानव पाइला एक डोब त थियो, अरु धेरै पाइलाहरु जङ्गली जनावरको भेटिएका थिए ।

अत्यन्तै डरलाग्दो वातावरण बन्दै गएको थियो । जलजलाको आसपासमा छिनछिनमै फेरिने मौसमको फेरबदल अनि हिमपातको सङ्केत घन्टौँ काटेर नसकिने गोरेटोको हिउँमा हामीलाई परिसान हुँदै गयो । सामान्य जुत्ता चप्पल अनि करिब दुई फुट गहिरो हिउँको रास अनकन्टार जङ्गलमा हामी सकिनसकि पाइलो बढायौँ । पाँच मिनेट हिउँ काट्दा बिसाउन पर्ने हुँदै गयो । खुट्टा हिउँले चाउरिन थाले सबै शरीर जमेजस्तो हुँदै गयो । पीडाले आँखाका डिलमा आँसु आइपुगेका थिए । हाम्रो संवादको शृङ्खला बन्दजस्तै भएको थियो । पेटमा चाउचाउका धर्साबाहेक अरु केही थिएनन् । हिउँले चुसेर ज्यान लखतरान बन्दै गयो । पानी प्यासपछि हिउँले प्यास मेटाउँदै गर्दा आधा बाटो आइपुग्दा हामीसँग डरको आँसु र आफन्तको यादबाहेक सबै हराउँदै थिए । ट्रेकिङको यात्रामा सही सूचना र बन्दोबस्तको अभावको बाबजुद् हामीसँग सङ्कट झेल्दै पाइलो बढाउनुको विकल्प थिएन्, हिउँ काट्दा चिप्लिए मृत्युसँग अँगालो मार्नु शिवाय अरु केही थिएन । हामीसँग भएको तागत र साहस कमजोर बन्दै थियो । तैपनि दक्षिण हेर्दा डर लाग्दो पहाड उत्तर हेर्दा सिस्ने, धवालागिरी निलगिरीहरुले फिस्स दाँत देखाइरहेका थिए । मनोरम हिमशृङ्खलाका ताँतीले मनमा केही सुन्दरताको सास प्रवाह गरिरहेको भान हुन्थ्यो तर कठिन र मृत्यु नजिकको भीर पहराको हिउँको थुप्रो कटाउनु हाम्रा लागि कालसँग निहुँ खोजेजस्तै थियो ।

तीन घण्टाको हिउँसँगको पौँठेजोरीपछि जलजलाको पूर्वीनेटामा पुग्यौँ । अलिक न्यानो घाम लागेको रहेछ, तैपनि छिनभरमा बादलले ढाक्दा हामी चिसोले कठङ्यग्रिँदै जलजला क्षेत्रमा पुग्यौँ ।

करिब ३५ सय मिटर उचाइमा पुगेर होला अक्सिजनको कमी भएको महसुस हुन थाल्यो । खाली पेट हाइ अल्टिच्युटका कारण शरीर थरथर काप्दै गयो । जलजलाबाट केही दुृश्य कैद गर्दै हामी धरमपानीको दृश्य कैद गर्न उकालो लाग्यौँ । उत्तरतर्फ सिस्ने धवलागिरी हिमशृङ्खलाले हामीलाई सेता दाँत देखाएर जिस्क्याउँदै थिए । चारैतिर घनाजङ्गलमा हिउँले ढपक्कै ढाकेको थियो । जलजलाको घाँसे मैदानमा केही हिउँ पग्लिसकेको थियो हिउँ छल्दै हामी धरमपानीतिर लाग्दै गयौँ । उकालो लाग्दै गर्दा शरीर गल्दै थियो । धरमपानीको छेँडा काटेर हामी जान सक्ने झनै अवस्था थिएन त्यहाँ त झनै हिउँको थुप्रो थियो, जुन जिन्दगीका लागि अन्तिम विन्दु भएको हाम्रो निष्कर्ष थियो ।

कठिन यात्राको समीक्षा गर्दै हामी शान्तिगाउँ जेलबाङतिरको पदमार्गतर्फ लाग्यौँ । पदमार्गको आसपासमा पनि हिउँ जमेको थियो । अनकन्टार जङ्गल मानवरहित दुनियाँ तर प्रकृतिको अदभूत कला, भोक प्यास थकाइको बाढीको बीचमा हामी सुकलबाङतर्फ हानियौँ । सुकलबाङको यात्रामा पनि हिउँले बाटो थुनेको थियो । जताततै हिउँको थुप्रोले हामीलाई त्रासदी दिँदै थियो । साथी गजेन्द्रले सुकलबाङको यात्रा स्थगित गरी जलजला धरमशालामा रात कटाउने प्रस्ताव गर्नुभयो तर हामीसँग कुनै लजिस्टिक थिएन, न त खानेकुरा नै । जसले गर्दा जलजलाबाट बाहिरिनुको विकल्पै थिएन ।

साथीको आग्रहलाई जोरजबस्त सुकलबाङ हुँदै जेलबाङ पुग्न आग्रह गरे । केही क्षणमा हामी एकअर्कासँग बोल्न सक्ने अवस्थामा थिएनौँ तर मानवरहित दुनियाँमा एकले अर्काेको भरोसामा यात्रा पूरा गर्नु नै थियो । केही समयको निचोडपछि हामी फेरि हिउँको थुप्रोमै चिप्लेटी खेल्दै जलजलाबाट जेलबाङ हानियौँ । पेटमा चाउचाउको धर्सा विलाइसकेको थियो । पानीको नाममा जलजलामा खनिएको कुण्डको पानीबाहेक हामीसँग केही थिएन । तैपनि लड्दै भिड्दै शान्तिगाउँ पुग्नुको विकल्प थिएन । भीर पहरा छेड्दै हामी करिब ४ घण्टाको लामो यात्राबाट सुकलबाङ पुग्यौँ ।

सुकबाङ पुग्दा एक जना गोठाल्नी दिदी भेटिन् जो जलजलाको यात्रामा भेटिएका पहिलो मानिस उनै थिइन् । उनीलाई देख्दा हामी भोक र प्यास बिर्सेर खुशीले रम्न थाल्यौँ र करिब डेढ घण्टाको यात्रापछि जेलबाङ पुगियो, अनकन्टार रात भीरैभीरको गोरेटो काट्दै ठूलो गाउँ पुग्यौ । करिब ९ बजे ठूलोगाउँ पुगियो, करिब ४ सय घरधुरी भएको शान्तिगाउँ जेलबाङमा युद्धको बेला रोल्पाको हान्निङको भिडन्तमा गोली लागेर घाइते हुनु भएकी सुकमाया बुढाको घरमा रात काटी अर्काे दिन दश गते दश वर्षपछि बदलिएको शान्तिगाउँको छायाङ्कन गरी हामी सुलिचौर झर्यौँ । त्यसै दिन सुलिचौरबाट दाङ झरियो, यसरी दश दिनको कार्यतालिकामा गुरिल्ला पदमार्गको फन्को मारियो ।

अन्त्यमा प्रकृति, संस्कृति र युद्ध सम्पदाले समृद्ध गुरिल्लापदमार्गको आसपासको क्षेत्रको विकास गर्न राज्यले पर्यटन पूर्वाधार, पर्यटन शिक्षाको क्षेत्रमा लगानी गर्न सके पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने हाम्रो यात्राको निष्कर्ष रहेको छ । प्रकृतिसँगको कठोर यात्रा होउन चाहे समुदायको न्यानो स्वागतले हामीजस्ता खोजी व्यवसायिक पत्रकारहरुलाई यस यात्राले थप ज्ञान उपलब्ध गराएको छ भन्ने हाम्रो बुझाइ हो ।

सामान्य जुत्ता चप्पलसँग दुई फुट गहिरो हिउँको रास अनकन्टार जङ्गलमा हामी सकिनसकी पाइलो बढायौँ । पाँच मिनेट हिउँ काट्दा शरीर लखतरान हुँदै गयो । खुट्टा हिउँले चाउरिन थाले, सबै शरीर जम्लाजस्तै हुँदै गयो, पेटमा चाउचाउको धर्साबाहेक अरु केही थिएन् । हिउँले चुसेर ज्यान लगलग काँपिरहेको थियो । प्यासले च्यापेपछि हिउँले प्यास मेटाउँदै पाइला अघि बड्दै गए । करिब आधा बाटोमा आइपुग्दा हामीसँग डरको आँसु र आफन्तको यादभन्दा सिवाय केही थिएन । ट्रेकिङको यात्रामा सही सूचना र बन्दोबस्तको अभावको बाबजुद् हामीसँग सङ्कट झेल्दै पाइलो बढाउनुको विकल्प थिएन । हिउँ काट्दा चिप्लिए मृत्युसँग अँगालो मार्नुको शिवाय अरु केही थिएन ।

गुरिल्ला पदमार्ग पश्चिम नेपालको उत्कृष्ट मार्ग बन्न सक्छ, यद्यपि राज्यले सही नीति र योजना लागू गर्न सके युद्धले थिलथिलो भएका समुदायको जीवन सुधार गर्न गतिलो आधार बन्न सक्नेछ । तसर्थ गुरिल्ला पदमार्गको व्यावसायीकरण गर्न राज्यले लगानी गरी दिगो आर्थिक विकासको ढोका खोल्न अब ढिला गर्न हुँदैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल