होमस्टेले फेरिएको जीवन

होमस्टेले फेरिएको जीवन

कृष्ण गिरी
नवलपरासी, चैत १२–नवलपरासीको डण्डा चोकबाट ८ किमि भित्र छ बाघखोर गाँउ । अग्याैली बाघखोरको २३ घरमा सञ्चालित छ अमलटारी मध्यवती हामेस्टे ।
यहाँका अधिकांश महिलाहरुको काँधमा छ, होमस्टे सञ्चालन गर्ने जिम्मेवारी । कारण धेरैजसो युवाहरु वैदेशिक रोजगारीमा छन् ।
पहिला खेतबारीमा काम तथा त्यत्तिकै समय खेर फाले दिन बिताउने महिलालाई अहिले भ्याइनभ्याई छ । अझँ भनौं होमस्टे सञ्चालनको तीन वर्षको बीचमा उनीहरु आत्मनिर्भर बन्न सफल भएका छन् ।

होमस्टे सञ्चालिका मिना चौधरी भन्छिन् ‘मसंग एक कट्टा जमिन थियो । त्यसको उब्जनीले खान पुग्दैन थियो । अर्काको अधिया कमाएर गुजरा गथ्र्याै । तर अहिले खानलाउन र छोराछोरी पढाउनको कुनै समस्या छैन । मासिक २० देखि ३० हजार कमाइ हुन्छ ।’
पहिला अर्काको खेतमा मजदुरी देखि अदियामा जमिन कमाउने यो गाँउ अहिले आत्मनिर्भर बनेको छ । भूगोल त्यहि । समाज त्यहि । भएको छ त सोचमा परिवर्तन । नयाँ तरिकाले बाँच्ने बाटो अगाँलेका छन् । अहिले न अर्कोको अधिया कमाउनु पर्छ नत काम खोज्न कतै जानु पर्छ ।

अर्की हुन होमस्टे संचालक जानकी महतो । उनका श्रीमान र छोरा विदेश छन् । तर उनले घरमा होमस्टे संचालन गरेकी छन् । उनी भन्छिन्‘ पहिला खानलाउनको दुःख थियो । के गर्ने के गर्ने हुन्थ्यो । अहिले खानलाउन घर खर्चको दुःख छैन । छोराछोरी पढाउनको दुःख छैन ।’
छोराछोरी पढाएका छन् । महिलाहरु सबैले आफ्नो परम्परागत सांस्कृतिक रितिरिवाज जानेका छन् । पाहुनालाई खाना खुवाइ सकेपछि होमस्टेको कार्यालय रहेको भवनमा कल्चर प्रोग्राम हुन्छ । यहाँ हरेक घरबाट एक अथवा दुई जना महिला पुरुष जान्छन् ।

करिब साढे आठ बजेबाट सुरुहुने कल्चर प्रोग्राम दश बजे सम्म चल्नछ । यसमा थारुहरुका डेम्म्रा नाच , झुमा, गेलेनी, जोगेडा, झर्रा, लठ्ठी नाच र अन्त्यमा पाहुनालाई रिमिक्समा नचाउने गरेको मिना चौधरी बताउँछिन् ।

यहाँ अहिले दैनिक ७० देखि १०० जनासम्म पाहुना आउने गरेको बताउँछन् मध्यवती होमस्टे कावासोतीका सचिव धनिराम गुरौ । उनका हरेक होमस्टेमा चार जना पाहुना राखिन्छ । चार जना पाहुना राखेबाफत सुतेको एक हजार र खाना र विहानको नास्ता खुवाएर बाह्र सय लिने गरिएको छ । यहाँ आएका पाहुनालाई घरायसी अग्र्यानिक खाना खुआउने गरेको मिना चौधरी बताउँछिन् ।
नास्तामा चिचर,डिकरी,आलु ,चटनी पाईन्छ । घोगी अडर गरेमा पाइने होमस्टे संचालक धनमाया महतो बताउँछिन ।

होमस्टेमा आएका पाहुनाहरु कुन होमस्टेमा बस्ने भनेर समितिले निर्णय गर्छ । हिसाब किताब पनि समितिमा नै हुन्छ । हरेक महिनामा यहाँका होमस्टेको हिसाब हुने गरेको सचिव गुरौ बताउछन् ।
हामेस्टे बनाउन करिब तीन लाख खर्च भएको छ । ५० हजार तराई भूपरिधि कार्यक्रम(ताल)ले अनुदान दिएको थियो । अन्य खर्च भने स्थानीयले ऋणसापट गरी जोडेका थिए ।

२०७० साल जेठ ५ गतेबाट यहाँका होमस्टे संचालनमा आएको हो । । त्यो दिन विश्व बन्यजन्तुको २० औ बार्षिक उत्सव थियो । त्यो दिन यीनै होमस्टेमा बार्षिक उत्सव मनायर सुरुवात भएको हो । त्यो दिनबाट यहाँका होमस्टे संचालकहरुले पछाडि फर्केर हेर्नु परेको छैन ।

यहाँ आन्तरिक पर्यटकमात्र होइन पछिल्लो समयमा विदेशी पर्यटक पनि आउन थालेको जानकी चौधरी बताउँछिन् ।
पहिला कुरा गरेर दिन विताउने यहाँका महिलाहरुलाई अहिले फुर्सद नै छैन । उनीहरुको दिन चर्या टाइम टेवल अनुसार चल्छ । कति बेला पाहुनालाई खाना खुवाउने । कति बेला नास्ता खुवाउने । कति बेला सरसफाइ गर्ने ।
यहाँ प्रवेश गेटबाट लहरै २३ वटा होमस्टे छन् । यी होमस्टेहरु नंम्बर अनुसार छन् । १ देखि २३ नं सम्म । चिटिक्कको टिनको जस्ताले छाएको दुई कोठे भवन । अट्याच बाथरुम भएको । बाहिबाट हेर्दा पनि सुन्दर लाग्छन् यी घरहरु ।
यहाँका कयौ युवाहरु वैदेशिक रोजगारमा छन् । तर घरमा भएका महिलाहरुले होमस्टे राम्ररी संचालन गरेका छन् ।
यहाँका अन्य सुविधाहरु
१ हात्ती सफारी
२ नारायणीमा बोटिङ
३ थारु परिकार
४ चरा अवलोकन
५ जीप सफारी
६ थारु सांस्कृतिक कार्यक्रम
७ आदिवासी संग्रालय अवलोकन
८ बयल गाडा सफारी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल