विश्वका खतरनाक ठाउँ जहाँ प्रकृतिले लिनसक्छ तपाईंको ज्यान

विश्वका खतरनाक ठाउँ जहाँ प्रकृतिले लिनसक्छ तपाईंको ज्यान

हामी सबै मौसमको चपेटामा परेका छौँ । चाहे त्यो झरीमा रुझेको होस् या चर्को घामले डढेको होस् । तर, विश्वमा यस्ता ठाउँहरु पनि छन् जहाँ प्रकृति योभन्दा पनि निर्दयी बन्ने गर्छ र हाम्रो ज्यान लिन पनि पछि पर्दैन । खतरनाक आँधेवेरीदेखि ज्वालमुखी विस्फोटनसम्म, हामीलाई त्यहाँ खतरा रहिरहन्छ । विश्वमा भएका यस्ता खतरनाक क्षेत्रहरु मध्ये हामीलाई सबैभन्दा चुनौतीपूर्ण कुन छ त ?

यो पत्ता लगाउन हामी यसलाई पृथ्वीका चार तत्वहरुमा विभाजन गर्नेछौँ ।

जल
पानी हाम्रो जीवनका जति आवश्यक छ, यो हाम्रो लागि त्यतिनै खतरायुक्त पनि छ । किनभने हामी पानीमा बाँच्न सक्दैनौँ । हामीले डुंगा, नाउ वा जहाज नबनाएका पनि हैनौँ तर, इन्टरनेसनल मेरिटाइम अर्गनाइजेसनले सन् २०१२ मा जारी गरेको रिपोर्टमा समुद्रमा त्यो वर्ष मात्र १ हजार ५१ जनाले ज्यान गुमाएका थिए ।

भूगर्भको अवस्था अनुसार केही ठाउँहरुमा पानी अन्य ठाउँहरुको तुलनामा खतरनाक हुने गर्छन् । उदाहरणका लागि नर्वेमा रहेको साल्टस्ट्राउमेन स्ट्रेटमा विश्वकै सबैभन्दा तीव्र पानीको धार पाइन्छ । तर, विश्वकै सबैभन्दा शक्तिशाली भुमरी भएको यो क्षेत्रबारे यति धेरै अध्ययन भएको छ कि अब त्यहाँबारे जानकारको नेतृत्वमा पर्यटकले रबरले बनेको डुंगामा समेत त्यसलाई सजिलै पार गर्न सक्छन् ।

पानीमै भन्दा पनि जमिनमा यो बढी खतरनाक हुने गर्दछ । विशेष गरेर तटीय क्षेत्रमा बसिरहेकाहरुका लागि पानीको डुबान ठूलो जोखिमको रुपमा रहेको छ ।

हिन्द महासागरमा रहेको माल्दिभ्स, जो स–साना टापुहरुले बनेको छ, लाई ‘द एफिमेरल आयलस्’ पनि भनिन्छ, किनभने यो बढ्दो समुद्री सतहबाट हुने डुबानको खतरामा रहेको छ । जलवायु परिवर्तनको कारण यो जोखिम हरेक वर्ष बढीरहेको छ । सुनामी वा आँधीका दौरान एक्कासी समुद्री सतह बढ्दा यो खतरा झनै बढेर जान्छ ।

सुनामी भन्नाले पानीको सतहमा आकस्मिक परिवर्तन भन्ने बुझिन्छ जसले समुद्रमा ठूलाठूला छालहरु बन्ने गर्छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार विश्वका सुनामीहरुमध्ये अधिकांश, लगभग ७१ प्रतिशत, प्रशान्त महासागरमा हुनेगर्छ । तर, भूकम्पका दौरान यो जुन पनि क्षेत्रमा आउन सक्ने युनेस्कोमा सुनामी युनिटका प्रमुख रहेका थोरकिल्न आरुप बताउँछन् ।

अहिले भने सुनामीको कहरबाट जोगिन पूर्वसूचना दिने व्यवस्था गरिएको छ । तर, प्रविधिमा पहुँच नभएका केही क्षेत्रमा यो पूर्वसूचना सुनामी आउनभन्दा २० मिनेट अगाडी मात्र दिइने गरिन्छ । जसले गर्दा अहिले पनि सुनामीले धेरैको ज्यान लिने गरेका छन् ।

सन् २००४ मा इन्डोनेसियाको सुमात्रा नजिकै गएको शक्तिशाली भूकम्पका कारण सृजना भएको सबैभन्दा विध्वंशक सुनामीका कारण १५ देशहरुमा २ लाख ८० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

यो संख्या आफैमा ठूलो छ । तर, नदीहरुमा आउने बाढीहरुबाट योभन्दा पनि धेरै संख्यामा मानिसहरुले प्रत्येक वर्ष ज्यान गुमाउने गरेका छन् । सन् १९३१ मा चीनको याङ्त्जे नदीमा आएको भीषण बाढीबाट लाखौँले ज्यान गुमाएको बताइन्छ । तर, आधिकारीक तथ्यांकमा भने हताहतीको संख्या कम रहेको देखाइएको छ । त्यो वर्ष त्यस क्षेत्रमा धेरै हिमपात भएको थियो भने त्यसपछि अप्रत्यासितरुपमा ठूलो वर्षा हुँदा अहिलेसम्मकै ठूलो प्राकृतिक विपदा त्यहाँ घटेको थियो ।

आज पनि चीनका ठूला नदीहरुको छेउमा लाखौँ जनसंख्या बसोबास गर्ने गरेका छन् । जलवायु परिवर्तनका कारण बद्लिँदो मौसमले गर्दा यी क्षेत्रका मानिसहरु निकै ठूलो जोखिममा रहेका छन् ।

वायु

विश्वका धेरै ‘हत्यारा ताल’ हरु अफ्रिकामा पाइन्छ । तर, त्यहाँ चिन्ता गर्नुपर्ने उनीहरुको पानी भने होइन । क्यामरुनमा रहेको न्याओस ताल र डेमोक्राटिक रिपब्लिक अफ कङ्गो र रुवान्डाको सीमा रहेको किभु तालमा अदृश्य खतरा रहेको छ । यी तालहरु धेरै ज्वालामुखी विस्फोट हुने क्षेत्रमा रहेका छन् । जहाँ जमिनमूनीबाट कार्वोन डायोअक्साड निस्कने गर्छन् ।


‘लिम्निक’ विस्फोटनका दौरान तालको फेदबाट कार्वोन्डायोअक्साइड निक्केर बादल बन्ने गर्छ । यो ग्यास हावाभन्दा भारी हुने हुँदा बादल आकाशमा नपुगेर जमिनको सतह छेउमा आइपुग्छ । यसो गर्दा उक्त बादलले त्यहाँ रहेको अक्सिजनलाई धपाउँछ । जसले गर्दा अक्सिजन नपाएर धेरैले निस्सासिएर ज्यान गुमाउने गर्छन् । सन् १९८० ताका भएको दुईवटा यस्तै विस्फोटले क्यामरुनमा १७ सय मानिस तथा ३५ सयभन्दा बढी जनावारहरुले ज्यान गुमाएका थिए ।

त्यस घटना पछि भने विशेषज्ञहरुले तालको मुनी रहेका त्यस्ता ग्यासहरुलाई पाइप र सिफोनको मद्दतले निकाल्ने उपायहरु अपनाइरहेका छन् । किभु तालको फेदमा त झन् मिथेन ग्यास पनि पाइएको थियो । अहिले त्यहाँ रहेको ग्यासलाई प्रयोग गरेर लाखौँ जनताका लागि विद्युत उत्पादन गर्ने परियोजना शुरु भइसकेको छ ।

तर, हाम्रो लागि विषालु ग्यासमात्र खतरायुक्त हुँदैन । हावा तीव्र गतिमा चल्ने हो भने त्यो पनि हाम्रो लागि त्यतिनै खतरा हुनेगर्छ । अन्टार्टिकामा रहेको केप डेनिसनलाई विश्वकै सबैभन्दा तीव्र गतिमा हावा चल्ने ठाउँ भनेर चिनिन्छ । तर, त्यहाँ मानिसहरु भने बस्दैनन् ।

भूमध्य रेखा छेउछाउमा रहेको समुद्री क्षेत्रमा वायुमण्डलको चापमा आउने परिवर्तनका कारण समुद्री आँधी, चक्रवत आदि आउने गर्छन् ।

यस्ता, क्यारेबियनमा रहेको टापु हाइटी निकै संवेदनशील क्षेत्रमा रहेको छ । हाइटी समुद्री आँधीको बाटोमा मात्र पर्दैन, यो एक गरिब राष्ट्र पनि हुँदा त्यसबाट बच्ने उपायहरु त्यहाँका मानिसहरुसँग छैन । त्यसमाथि मानिसहरुले बाढी आउन सक्ने नदीको तटहरुमा बस्ती बसाएका छन् । गरिब राष्ट्र भएका कारण उनीहरुसँग बाढीबारे पूर्व सूचना दिने प्रविधि छैन । त्यही भएर समुद्री आँधीका कारण त्यहाँ धेरैले ज्यान गुमाउने गरेका छन् ।

जमर्नीको सुटुटगार्ट विश्वविद्यालयमा प्राकृति विपदाबारे विशेषज्ञ जार्न विर्कमानका अनुसार समुद्री आँधीहरु निकै खतरनाक हुन्छन् किनभने उनीहरुबारे सजिलै पुर्वानुमान गर्न सकिँदैन । ‘समुद्री आँधी थोरै आउने वा आउँदै नआउने क्षेत्रमा पनि कहिलेकाहीँ आउने गर्छ । त्यस्ता क्षेत्रका मानिसहरुले यसबारे तयार हुँदैनन् र कसरी आफूलाई सुरक्षित राख्ने भन्ने बारेमा पनि जानकार हुँदैनन् । त्यही भएर त्यस्ता क्षेत्रका मानिसहरु बढी जोखिममा रहन्छन्,’ विर्कमान भन्छन् ।

विर्कमान हरेक वर्ष संयुक्त राष्ट्रसंघ विश्व विद्यालयले प्रकाशन गर्ने वल्र्ड रिस्क रिपोर्ट तयार गर्ने टोलीको सदस्य पनि हुन् । उक्त रिपोर्टमा प्राकृतिक विपदाबाट खतरामा रहेका देशहरुको सूची पनि समावेश हुन्छ ।

सन् २०१६ मा यो रिपोर्टमा भानुआटु टापु शीर्ष स्थानमा रहेको थियो । रिपोर्टका अनुसार यो टापुको एक तिहाई जनसंख्या हरेक वर्ष प्राकृतिक विपदाको चपेटामा पर्ने गरेका छन् । सन् २०१५ मा भानुआटु केही हप्ताको अन्तरालमा भूकम्प, ज्वालामुखी विस्फोटन र समुद्री आँधीको चपेटामा परेको थियो । त्यतिबेला ११ जनाले ज्यान गुमाएका थिए । त्यहाँको संरचना यस्ता प्राकृतिक विपदाबाट बच्नका लागि तयार गरिएको हुँदा भानुआटुमा मर्नेहरुको संख्या निकै कम रहेको छ । यता, सन् १९७० मा बंगलादेशमा आएको भोला आँधीमा परी ५ लाख जनाले ज्यान गुमाएका थिए ।

जमिन

हाम्रो पृथ्वीको जमिन विभन्न प्लेटहरु मिलेर बनेको छ, जुन चलायमान पनि छ । उनीहरु एकअर्कामाथि ठोक्किरहेका हुन्छन् र चढिरहेका हुन्छन् । जब त्यो शक्ति बाहिरन्छ, पृथ्वीको सतहमा भूकम्प जाने गर्छ ।

सन् १५५६ मा चीनको साङ्छी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ८ लाखभन्दा धेरैले ज्यान गुमाएका थिए । भूकम्पको कारण सुनामी पनि आउने हुँदा विश्वकै खतरनाक प्राकृतिक विपदामा यसले बाढीलाई पनि टक्कर दिने गर्छ ।

प्यासिफिक प्लेट र नर्थ अमेरिक प्लेट चलायमान रहेको सान आन्द्रेस फल्ट अमेरिकाको क्यालिफोर्निया सहरमा रहेको छ । त्यही भएर हलिवुडले यसैमा आधारित रहेर सान आन्द्रेस नामक चलचित्र समेत बनाएको थियो । तर, भूकम्पको जोखिममा रहेका लस एन्जलिस र टोक्यो जस्ता सहरहरुमा भूकम्प प्रतिरोधी भवनहरु बनाइएका छन् । जसले गर्दा भूकम्प गए पनि त्यहाँ थोरैले मात्र ज्यान गुमाउने गरेका छन् । तर, विश्वका ८१ प्रतिशत ठूला भूकम्पहरु जाने प्यासिफक रिङ्ग अफ फायरमा रहेका सबै देशहरुले भने यस्ता संरचनाहरु तयार गर्न सक्दैनन् । सन् २०१५ मा प्रकाशित न्याचुरल हजार्ड रिस्क एट्लासमा प्राकृतिक विपदाको जोखिममा रहेका विश्वमा १० शहरहरुमध्ये ८ वटा फिलिपिन्समा रहेका छन् । रिङ् आफ फायरमा रहनुको साथै यो समुद्री आँधीको क्षेत्रमा पनि रहेको छ ।

आगो

प्लेटहरु एक आपसमा ठोक्किँदा भूकम्प आउँछ भने उनीहरु एक आपसबाट टाढिँदा त्यो खाली ठाउँ भर्न जमिनमुनी रहेको तातो माग्मा पृथ्वीको सतहमा आउने गर्छ । यसलाई हामी ज्वालामुखी विस्फोटन भन्छौँ ।

विश्वकै सबैभन्दा निर्दयी स्थान भनेर चिनिने इथोपियाको डानाकिल डिप्रेसन तीनवटा यस्ता प्लेटहरुको मिलनविन्दु रहेको स्थानमा अवस्थित छ । त्यही भएर त्यहाँ धेरै ज्वालामुखीहरु विस्फोट हुने गर्छन् ।

त्यहाँको वार्षिक औसत तापक्रम ३४.४ डिग्री सेल्सियस रहेको छ । यो विश्वकै सबैभन्दा गर्मी ठाउँहरु मध्येमा पर्दछ । त्यसमा पनि निकै कम पानी गर्ने र ज्वालामुखीले चिरा परेको जमिन र नुनको खानीले गर्दा त्यहाँ जीवनयापन गर्न निकै कठिन छ । तर, अफर जातीका लागि भने यो नै घर हो ।

वास्तवमा मानिसहरुले यस्तै अस्थिर भौगर्भिक स्थानहरुमा बसोवास गर्दै आएका छन् । उदाहरणका लागि पोम्पे सहरलाई नै लिऔँ । माउन्ट भेसुभियसमा भएको ज्वालामुखी विस्फोट हुँदा इटालीको यो प्राचिन सहर तातो लाभाको तल पुरिएको थियो । अहिले पनि धेरै सहरहरु ज्वालामुखी नजिकै बसालिएको छ । जस्तै, नापेल्स सहर माउन्ट भेसुभियसबाट मात्र ६ माइलको दुरीमा रहेको छ भने मेक्सिको सिटी पोपो काटेपेटल ज्वालामुखीबाट ४३ माइल टाढामात्र रहेको छ ।

सन् २०१५ मा प्रकाशित ग्लोबल भोल्कानो मोडल नेटवर्कमा प्रकाशित एक अध्ययन रिपोर्टमा पछिल्ला ४ सय वर्षमा ज्वालामुखीको प्रत्यक्ष चपेटामा परेर २ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । यो टोलीले ज्वालामुखीको सबैभन्दा धेरै जोखिममा रहेको देशमा इन्डोनेसियालाई राखेको थियो ।

सन् १८१५ मा सुमबावा टापुमा माउन्ट टामबोरा विस्फोट हुँदा ७० हजारले ज्यान गुमाएका थिए । जसले गर्दा त्यो वर्षमा उत्तरी गोलार्दमा गर्मी मौसम नै देख्न पाइएन । ज्वलामुखी विस्फोटनका कारण अस्थायीरुपमा मौसम नै बदलिएको थियो । जसले गर्दा भएको भोकमारी र रोगका कारण अझै धेरैले ज्यान गुमाए ।

सन् २०१० मा मात्र माउन्ट मेरापी विस्फोट हुँदा ३५० भन्दा बढीले ज्यान गुमाएका थिए । धेरैलाई विस्फोट अघि नै सुरक्षित स्थानमा सारिसकिएको हुँदा ठूलो हताहती हुन पाएन ।

तातो लाभा मात्र नभएर तातो मौसम पनि मानिसहरुका लागि त्यतिनै खतराको रुपमा रहेको छ । सन् २००३ मा तातो हावा र गर्मीका कारण युरोपमा ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

बिबिसी अर्थबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल