पर्यटनको प्रचुर सम्भावना छ तर पूर्वाधार छैन

  |   कमल खत्री

पर्यटनको प्रचुर सम्भावना छ तर पूर्वाधार छैन

म्याग्दी,-अग्ला र मनोरम हिमशृङ्खला, जैविक विविधतायुक्त भौगोलिक बनावट, परम्परागत कला र मौलिक संस्कृति म्याग्दीको पर्यटन विकासका आधारहरू हुन् ।

यसका साथै ऐतिहासिक र पुरातात्तिक महत्व बोकेका धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटन, ठूला नदी म्याग्दी र कालीगण्डकीमा ¥याफ्टिङ र अग्ला झरनामा साहसिक क्यानोइङको समेत उक्तिकै सम्भावना बोकेको छ, म्याग्दीले ।

अहिले अन्नपूर्ण फेरो र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएका उत्तरी राम्चे, शिख, घार, नारच्याङ, भुरुङ तातोपानी लगायतका गाविसमा रहेका पर्यटकीयस्थल र राउन्ड धौलागिरि पदमार्गमा भ्रमणका लागि पर्यटक केही मात्रामा भित्रने गरेका छन् । तर जिल्लाभित्र प्रचुर पर्यटन सम्भावना बोकेका अन्य गन्तव्य भने ओझेलमा परेका छन् ।

Myagdi-dhorpatanनिकै चर्चामा रहेर पनि धौलागिरि आइसफल पदमार्ग, बरञ्जाको झाँक्रेपानी, कुहूँ, झीँ र पात्लेखेत गाविसको सीमा क्षेत्र समेटिएको टोड्के धुरी, दरबाङ बिम र पाखापानी गाविसमा पर्ने मालिका धुरी, लुलाङको जलजलाको लेक, गुर्जाघाट, राखु र बेग क्षेत्रमा समेटिएको रुइसे, प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी कुण्ड, रुप्से झरना, अन्ध गल्छि, खयरबराही ताल, निष्कोट ताल लगायतका स्थानमा पर्यटक आगमन हुन सकिरहेको छैन ।

त्यस्तै, मुक्तिनाथको प्रवेशद्वारका रूपमा गलेश्वरधामसँगै माहारानीथान, मालिका धुरी लगायतका क्षेत्रमा धार्मिक पर्यटक बढ्न थाले पनि रावणको जन्म भएको ऐतिहासिक ठाउँ पछै क्षेत्र, प्राचीन इतिहासको मुख्य अवशेषका रूपमा रहेको जगन्नाथ मन्दिर, ऐतिहासिक धार्मिकस्थल कुइनेमङ्गलेको रिखार क्षेत्र, भकिम्लिको स्वर्गाश्रम लगायतका महत्वपूर्ण धार्मिकस्थलको प्रचार–प्रसार नहुँदा सोचेअनुरुप धार्मिक पर्यटन विकास हुन नसकेको सरोकार राख्ने निकायहरू बताउँछन् ।

जिल्लाभित्र थुप्रै पर्यटकीय सम्पदा रहे पनि आन्तरिक व्यवस्थापन नहुनु, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रिय हुनु, होमस्टे सञ्चालनमा नआउनु, प्रचार–प्रसार नहुनु, पर्यटक सूचना केन्द्र नबन्नु, सुरक्षा चुनौती रहनु लगायतका कारण म्याग्दीमा पर्यटन विकासका सम्भावना उजागर हुन नसकेको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्य बताउँछन् । धौलागिरि हिमाल, गुर्जा हिमाललगायत अन्नपूर्ण हिमालको प्रथम आधार शिविरसमेत म्याग्दीमै पर्छ ।

पर्यटन विकासको अथाह सम्भावना भएर पनि अहिलेसम्म यस क्षेत्रको विकासले दु्रत गति लिन नसक्नु विडम्बना भएको टोड्के क्षेत्र विकास कोषका सदस्यसमेत रहेका बेनीका होटल व्यवसायी बाबुराम आचार्यले बताए । “हामीले जिल्लामा भएको सम्भावनालाई समेत बाहिर ल्याउन सकेका छैनाँै, सम्भावनाको उजागर गर्ने र अत्यावश्यक पूर्वाधार मात्रै तयार गर्न सकिए जिल्लामा वार्षिक रूपमा हजारौँ पर्यटक घुमाउन सकिन्छ,” उनले भने ।

जिल्लाको पर्यटन विकासका लागि विभिन्न सङ्घसंस्था गठन भए पनि कुनै संस्थाले पनि नेतृत्वदायी तवरले पर्यटन गतिविधि सञ्चालन गर्न नसक्नु र सरोकारवालाबीच आपसी समन्वय नहुनु मुख्य समस्या रहेको उनको भनाइ छ । जिल्लाको घोडेपानी, खोप्रालेक, नागी, तातोपानी, राउन्ड धौलागिरि लगायतका क्षेत्रमा वार्षिक २० हजारभन्दा बढी पर्यटक भित्रने गरे पनि अहिलेसम्म जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका निम्ति जानकारीमूलक पुस्तिकासमेत बनाएको भेटिँदैन ।

कालीपुलमा जिविसको लगानीमा पर्यटक सूचना केन्द्र भवन निर्माण गर्न सुरु भए पनि पूर्णता पाउन सकेको छैन । जिल्लाको कुन–कुन स्थानमा पर्यटकीय क्षेत्र छन् ? तिनको विशेषता के छ ? भम्रणका लागि खर्चनुपर्ने समय कति हो ? यी विषयका सूचना तथा जानकारी उपलब्ध गराउन नसकेसम्म पर्यटन विकासले गति लिन नसक्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव शाक्यले बताए ।

हाल मुलुककै एक मात्रै ढोरपाटन सिकार आरक्षले म्याग्दी राउन्ड धौलागिरि पदमार्गसँगै साहसिक पदयात्रा ‘गुरिल्ला ट्रेक’ र अन्नपूर्ण फेरोको केही भाग समेटेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा समेत यसलाई चिनिन्छ । जिल्लाको पर्यटन विकासका लागि कुनै पनि पहल नभएको भने पक्कै पनि होइन । पर्यटन रोयल्टीबाट आउने रकम जिल्ला विकास समितिले हरेक वर्ष पूर्वाधार निर्माणमा खर्चिने गरेको छ ।

त्यसका साथै गाविस, जिविस, नगरपालिका, पर्यटन कार्यालय र मन्त्रालयबाट समेत पदमार्ग विश्रामस्थल, ऐतिहासिक सम्पदाको जीर्णोद्धार लगायतका कार्यमा लगानी हँुदै आए पनि त्यो पर्याप्त देखिँदैन ।

जिल्लालाई ‘टुरिजम हब’का रूपमा विकास गर्ने लक्ष्यसहित जिविसले दुई वर्षअगाडि पर्यटन गुरुयोजनासमेत निर्माण गरेको छ । तर पर्यटकीयस्थलमा बास बस्ने होटल, व्यवस्थित पदमार्ग, सञ्चार सुविधाजस्ता अत्यावश्यक पूर्वाधार र सुविधाको अभाव तथा आवश्यक प्रचारप्रसार नभएकाले पर्यटक आउन नसकेको सरोकार राख्ने निकायहरू बताउँछन् ।

हिमशृङ्खला र रमणीय स्थलको दृश्यावलोकन र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको म्याग्दीमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र पूर्वाधारको अभावका साथसाथै जनस्तरमा चेतनाको अभाव चुनौतीका रूपमा रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल