चौध नयाँ किर्तिमान राख्दै सकियो भारत्तोलन प्रतियोगिता

१४ पुस  |   रासस

चौध नयाँ किर्तिमान राख्दै सकियो भारत्तोलन प्रतियोगिता

सप्तरी । सप्तरीमा सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ ।

सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना प्रथम र नेपाल प्रहरी दोस्रो भएका छन् । ६ स्वर्ण, ८ रजत र १ कास्यसहित १५ पदक जितेर नेपाली सेना प्रथम भएको छ भने ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेर नेपाल प्रहरी दोस्रो भएका छन् ।

यसैगरी २ स्वर्ण, २ रजतसहित ४ पदक ल्याएर पूर्वाञ्चल विकास क्षेत्र तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै मध्यपश्चिमाञ्चलले १ स्वर्ण र ३ कास्यसहित ४ पदक ल्याएर चौथो र १ रजत र ४ कास्य गरी ५ पदक ल्याएर सुदूरपश्चिमाञ्चलले पाचौँ स्थान पाएको छ । मध्यमाञ्चलले १ रजत र २ कास्य तथा पश्चिमाञ्चलले २ कास्य ल्याएका छन् ।

भारत्तोलन प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको अर्को विभागीय टोली सशस्त्र प्रहरीले भने कुनै पनि पदक ल्याउन सकेन । प्रतियोगिताका क्रममा विभिन्न तौल समूहमा गरी १४ वटा नयाँ कीर्तिमान कायम भएको भारत्तोलन सङ्घका केन्द्रीय सचिव तिलकबहादुर राउतले जानकारी दिए ।

प्रतियोगिताको अन्तिम दिन आज सम्पन्न पुरुषतर्फ १०५ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २१४ केजी भार उठाएर स्वर्ण पदक जितेका छन् । सो तौल समूहमा नेपाल प्रहरीकै विपेन्द्र महर्जनले २१३ केजी उठाएर रजत तथा मध्यमाञ्चलका मो.अस्ताकि हुसैनले १९७ केजी उचालेर कास्य पदक जितेका छन् ।

यस्तै पुरुषतर्फको प्लस १०५ केजी तौल समूहमा नेपाली सेनाका पुकार गुरुङले २५९ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । सन् २०१५ मा सम्पन्न एसियन च्याम्पियनसिपमा स्न्याचतर्फ १२३ केजी उचालेर बनाएको आफ्नै रेकर्ड विस्थापित गरी उनले नयाँ रेकर्ड बनाएका हुन् ।

उनले आजको खेलमा स्न्याचतर्फ १२४, क्लिन एन्ड जर्कतर्फ १३५ केजी उठाएका थिए । सोही तौल समूहमा मध्यमाञ्चलका राजीव महर्जनले २०३ केजी उचालेर रजत तथा सुदूरपश्चिमाञ्चलका सुभाष उपाध्यायले २०० केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।

कुल १५ स्वर्णका लागि भएको प्रतियोगितामा जम्मा १२३ खेलाडीले सहभागिता जनाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल