डियर सुप्रिमो ! होलेरीलाई रुवाएर हिन्दुस्तान हसाउनै पर्ने ? 

-  |   नरेन्द्र चुदाली

डियर सुप्रिमो ! होलेरीलाई रुवाएर हिन्दुस्तान हसाउनै पर्ने ? 

सरकारले मधेस समस्या समाधानको नाममा प्रदेश ५ का पहाडी जिल्लालाई टुक्र्याएर प्रदेश ४ मा राखेपछि अहिले प्रदेश ५ का पहाडी लगायत तराईका जिल्लामा समेत आन्दोलन चर्किरहेको छ । संविधान जारी भएलगत्तै भारतीय आडमा देशलाई नाकाबन्दीको कठोर सजाय भोग्न बाध्य पारेका मधेसवादी दलहरुले उठाएका माग सम्बोधनको निम्ति भन्दै पाहाडका रोल्पा, रुकुम, प्युठान, पाल्पा गुल्मी अर्घाखाँचीलाई प्रदेश ४ मा गाभिएको छ । यो कदम अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै यसको चौतर्फी विरोध भएको छ ।
पहिलो कुरा त हाम्रा यी परिवर्तनहरु समृद्धिको पहिलो खुड्किलाका रुपमा हुन् । यसमा टेकेर हामीले हिमाल, पहाड, तराई मधेसलाई सामाथ्र्य, पहिचान, साधनस्रोत र विविधताका मापदण्डलाई आधार मानेर सङ्घीय राज्यहरुको निर्माण गर्ने हो । जसबाट प्रत्येक सङ्घीय राज्यका जनतामा प्रशासनिक सुगमतादेखि आर्थिक समृद्धिको रुपरेखा कोरिन सकोस । तर अहिलेको संशोधन प्रस्तावमा गरिएको सीमाङकन कुन मापदण्डका आधारमा गरिएको हो त्यसको कुनै आधार छैन् । जसबाट सम्बन्धित प्रदेशका जनताहरुलाई प्रशासकीयदेखि अन्य आर्थिक सामाजिक र सांस्कृतिक दृष्टिले धेरै कठिनाइ पर्ने देखिएको छ ।
मधेसमा समस्या छ भनेर आन्दोलन चलेको महिनौँ बितिसक्यो । के मधेसवादी दलहरुले मधेसमा देखेको समस्या मधेससँग पाहाड जोडिएर बस्नुमा हो ? होइन भने किन मिलेर बसेका प्रदेश ५ का जिल्लाहरुलाई टुक्र्याउनै पर्ने बाध्यता आइपर्यो ? मधेसवादी दलहरु मधेसी जनताको समृद्धिका लागि लडेका हुन् या सीमा छुट्याएर आफ्नो अभीष्ट पूरा गर्न ? प्रश्न गम्भीर छ । पहाडबाट मधेसलाई अगल गर्नु अग्रगमन हो भन्ने तर्क कहाँको आयातीत शब्द हो ? पाहाड तराई अलग गरेर हामी कस्तो किसिमको समृद्धिको परिकल्पना गरिरहेका छौँ ?
हामी लोकतन्त्रको उच्चतम प्रकृयामा छौँ । माओवादीले पुरानो राज्यसत्ताले जनताको अधिकार खोस्यो भनेर स्वायत्त आत्मनिर्णयको अधिकारका लागि भन्दै त्यी रोल्पाली माइला र साइँलाहरुलाई जनयुद्धको बाटोमा सँगै सहयात्रा गर्न आग्रह गर्यो । त्यसअनुरुप कैयौँ रोल्पा र रुकुमका जनताहरु गणतन्त्र प्राप्तिका लागि प्रचण्डले नेतृत्व गरेको बाटोमा सँगै सहयात्रा गर्न तयार भए । आज देशमा गणतन्त्र आउनुको पछाडि माओवादी आन्दोलन र ती रोल्पा रुकुमका मगर दाइहरुको भूमिकालाई कम आँकलन गर्नु अन्याय हुन्छ ।
शान्ति प्रक्रिया पछाडि प्रचण्ड त्यी आफ्ना पुराना इतिहासप्रति कति उत्तरदायी भए या भएनन् त्यो इतिहासले नै पुष्टि गर्छ । तर विडम्बना आज प्रचण्ड कामरेडले सुझबुझपूर्ण निर्णय गर्न नसक्दा रोल्पा रुकुम लगायत प्रदेश ५ का पाहाडमा रहेका जनताहरु दुखित हुनुपरेको छ । सबै किसिमबाट मिलेर बसेका पाहाड तराईका जनताको सम्बन्ध जबरजस्ती विच्छेद गर्ने काम भएको छ । सीमाङ्कन अत्यन्तै अव्यावहारिक ढङ्गले गरिँदा त्यी जिल्लाहरुका जनता सुगमता र सहजताको हिसाबले झनै पछाडि जाने देखिएको छ । वस्तममा भन्ने हो भने रुकुम, रोल्पा, प्युठान छानो हो भने दाङ बाके बर्दिया आगन हो । यता अर्घाखाची, गुल्मी, पाल्पाले कपिलवस्तु रुपन्देही र नवलपरासीलाई आफ्नो अभिन्न अङ्ग मानेको छ । रोल्पा रुकुमका जनतालाई सुगमताका हिसाबले दाङ उपयुक्त केन्द्र रहन्छ तर अबको संरचनाले रोल्पालीलाई आँखै अगाडिको दाङलाई क्रस गरेर दाङ कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, तनहुँ हुँदै पोखरा कनेक्सन हुनुपरेको छ । के यो वैज्ञानिक विभाजन हो ?
यो देशमा आत्मनिर्णयको अधिकारका कुरा सिकाउने गुरुबाट नै त्यहाँका जनताको आत्मनिर्णयको अधिकार कब्जा भएको छ । रोल्पा रुकुममा गएर गुन्द्रुक खाँदै आत्मनिर्णयसहितको गणतन्त्रका लागि होलेरिमा बन्दुक पड्काउन सिकाउने प्रचण्डबाट आज तिनै जनताको अधिकार कब्जा गरी त्यहाँका जनताको आगनमा तारबार लगाइएको छ । यहाँभन्दा विडम्बना अरु के हुन सक्छ ? रोल्पा रुकुम गुल्मी अर्घाखाँचीका जनतालाई कहाँ सहज हुन्छ ? त्यहाँको भौगोलिकता अनुसार कस्तो प्रदेश उपयुक्त हुन्छ भन्ने कुराको ज्ञान सर्लाहीका राजेन्द्र महतोहरुलाई हुन्छ कि त्यहाँका माइला साइँलाहरुलाई हुन्छ ? यो कस्तो लोकतन्त्र हो प्रचण्डज्यू ? रोल्पा रुकुमका जनता कहाँ बस्ने भन्ने निणर्य त्यहीँकै जनताले गर्ने कि काठमाडौँमा बसेर राजेन्द्र महतो र महन्त ठाकुरले गर्ने ? यसको जबाफ तपाईंले दिनै पर्छ । यहाँ सत्तापक्षमा शेरबहादुरहरु पनि छन् । तर जतिबेला तपाईं बन्दुक उठाउँदै हुनुहुन्थ्यो त्यतिबेला तपाईंले भन्ने गरेका सामन्ती शेरबाहादुरहरु नै थिए । त्यसकारण शेरबहादुर भन्दा जिम्मेवार तपाईं हुने कि नहुने ?
पहाडको रामे र तराईको रामविलास सँगै मिलेर बस्छौँ भन्दा तपाईंहरुलाई केको आपत्ति । आज प्रदेश ५ का जनता चाहे ती तराई मधेसका हुन् यात पाहाडका हामी सँगै बस्छौँ भनेर संशोधन प्रस्तावविरुद्धमा सडकमा उत्रिएका छन् । आखिर त्यहाँका जनतालाई नै त्यो प्रस्ताव चित्त बुझेको छैन भने किन यो संशोधन प्रस्ताव अगाडि बढाइदै छ ? कसको निर्देशनमा काम गरिँदै छ?
तपाईंहरुले मधेस र पाहाडको सम्बन्ध विच्छेद गर्ने गरी गरेको संशोधन प्रस्तावमा पहाड, हिमाल, तराई मधेस कतैका पनि जनता खुशी छैनन् । केवल खुशी छ त भारत । मधेस र पाहाडलाई छुट्ट्याएर सीमाङ्न गर्दा भारतले किन रातारात खुशी व्याक्त गर्नुपर्यो ? हामीले यसलाई रहस्यमय किन नमान्ने ? हाम्रा निर्णयहरु राष्ट्रिय स्वार्थअनुरुप हुनु जरुरी छ । आज होलेरी रुँदा भारत खुसी छ । प्रश्न के छ भने देशमा असन्तुष्टी जारी रहँदा भारतले संशोधनमा सहमति जनाएको नाममा यो प्रस्ताव अगाडि बढाइयो भने तपाईंहरुको राजनीति देश र जनताका लागि कि अन्तैका लागि ? जनतालाई जवाफ दिनै पर्छ ।
आज मधेस र पाहाडमा ठूलो विखण्डनको बीउ रोप्न खोजिँदै छ । सदियौँदेखि मिलेर सद्भावपूर्ण तरिकाले बसेका जनतालाई अधिकारको नाममा कित्ताकट गर्न बाध्य पारिँदै छ ? साम्प्रदायिकताको बीजारोपण गरिँदै छ । मधेसमा पाहडविनाको राज्य चाहिन्छ भनेर उफ्रनेहरु तराई मधेसका जनतालाई गएर सोधे हुन्छ कि उनीहरु पाहाडविनाको मधेसमा बस्न चाहान्छन कि पाहाडसँगै मिलेर बस्न चाहान्छन् ? आम तराईका जनताहरुको चाहना हिमाल पाहड र तराई सँगै मिलेर बस्नुपर्छ भन्नेमा छ होइन भने एक मधेस एक प्रदेशको रटान लगाउँदै हिँड्ने मधेसकेन्द्रित दलहरुको चुनावमा बहुमत आउनुपर्थ्यो। त्यहाँका जनतालाई मधेसवादी दलहरुले उठाएका एजेन्डा मन नपरेरै उनीहरुलाई पराजित गरेका हुन् भन्न किन मिल्दैन ?
सत्य के हो भने मधेसमा वास्तविक असन्तुष्टी कुनै पनि हालतमा छैन । त्यहाँ नियोजित रुपमा असन्तुष्टीको सिर्जना गर्न खोजिएको छ । मधेसको माहौल विगारेर देशमा द्वन्द्व बढाउन ठूलै चलखेल भइरहेको छ । त्यसमा हाम्रा नेताहरु प्रयोग हुनु दुखद छ । त्यहाँका जनताको माग आर्थिक समृद्धि, चेतना, कुरीति र विभिन्न प्रथाहरुको अन्त्य भई विकसित सामाज निर्माण हो भन्ने चाहाना हो । अब हाम्रा प्रयासहरु मधेसको समृद्धिमा केन्द्रित हुनै पर्छ । त्यो अबको एउटा पक्रिया पनि हो । यसमा सरकार तथा मूल राजनीतिक नेतृत्वले ध्यान दिनै पर्छ । तर त्यहाँको गरिबी र पछौटेपनाको ब्यापार गरेर देशलाई बन्धकी राख्न खोज्नेहरुलाई समयमै पहिचान गर्नु आवस्यक छ ।
हमीले राजनीतिक परिवर्तनको एउटा अध्याय पार गरिसकेका छौँ । अब ती परिवर्तका रक्षा गर्न आर्थिक समृद्धि र जनताहरुको सशक्तीकरण आवस्यक छ । जसका लागि हामीलाई नेपाली माटो सुहाउँदो पुनः संरचनाको खाँचो छ । जसका लागि हिमाल पाहड र तराईसहितको जैविक विविधता युक्त प्रदेशको खाका कोर्नु जरुरी छ । जहाँ स्रोतसाधनको उचित बाँडफाँडका साथै विविधतायुक्त सामाज, संस्कृति र पहिचान स्थापना हुन सकोस् । राष्ट्रिय स्वाधीनता र अखण्डतमा कुनै किसिमको आँच नआओस् । पहाड मधेसको सिमाना काटेर देश समृद्ध र जनताको अधिकार रक्षा हुन्छ भन्नु विखण्डनकारी सोचको उपज हो । हाम्रा समुदाय बीचको एकता उनीहरुको सामूहिक अपनत्वबाट मात्र सम्भव छ । न कि जातीयताको आधारमा प्रदेश बाढेर होइन । यस संशोधनले त्यी प्रदेशमा समृद्धि र विकास होइन कि द्वन्द्व र सुरक्षा खतरा बढाउने निश्चित छ । सवाल यो मात्र हो, हिमाल, पहाड, तराई मधेस जहाँसुकैका नागरिकले आफूहरु राज्यबाट अपहेलित भएको महसुस गर्न नपरोस् । त्यसैले हाम्रो राष्ट्रियतलाई दरिलो पार्नेगरी सीमाङ्कन गर्नु आवस्यक छ । तर कोही कसै विदेशीको चाहानामा होइन ।
यदि नेपालको राजनीतिक केन्द्रमा भारतीय रणनीतिको प्रभाव छैन भनेर भनियो । त्यो तथ्यलाई बङ्ग्याउने असफल प्रयास मात्र हुनेछ । किनभने नेपालमा हरेक राजनीतिक क्षेत्रमा भारतले आफ्नो माइक्रोम्यानेजमेन्ट गरिरहेको कुरा तीतो यथार्थ हो । यस्तो हुनमा नेपालप्रतिको भारतीय हेपाहा प्रवृत्ति त छँदै छ । त्यसभन्दा पनि बढी नेपालका राजनीतिक दलहरुको भारतप्रतिको बफदारिता र अवसरवादी चरित्र जिम्मेवार छ । सायद दल र तिनको नेतृत्वमा अवसरवादी प्रवृत्तिको घेरामा पर्दैनथे भने भारतले नेपालप्रति गर्ने व्यवहार सुझबुझपूर्ण हुन्थ्यो । आफूलाई विश्वकै ठूलो लोकतान्त्रिक मुलक भन्न रुचाउने भारतले हाम्रो स्वतन्त्रता, निर्णय अधिकार र सार्वभौमिकतामा ठाडो प्रहार गर्नु लोकतन्त्रकै धज्जी उढाउनु सरह हो । नेपाललाई सधैँ अस्थिर बनाएर आफ्नो अभीष्ट पूरा गर्ने भारतको चाहनामा हरेक पटक कुनै न कुनै दलहरु भारतको हनुमान बनेकै हुन्छन् । कुनै कालखण्डमा कुनै दल हनुमान बन्न मानेनन् भने भारतलाई अर्को हनुमान खोज्न कुनै गाह्रो कुरा बन्ने गरेको छैन । किनभने भारतीय चाहाना पूरा गर्नका लागि यहाँ एकसे एक राजनीतिक पात्रहरु तयार हुने गरका छन् । यी कुरा तीता र नमिठा छन् तर विडम्बना हामी स्वीकार्न बाध्य छौँ । के हामी आफ्नो निर्णय गर्न आफै सक्षम छैनौ र ? क्युबाका फिडेल क्यास्ट्रोबाट केही सिक्ने कि ?
प्रिय प्रचण्डज्यू यो खबरदारीलाई कृपया अन्यथा नबुझिदिनु होला भन्ने मेरो आग्रह हो । किनभने देशलाई हाँक्ने र देशले आशा गरेको एउटा नेताले बाटो बिराउन खोज्दा जनताको तर्फबाट मैले खबरदारी गरिन भने म अपराधी हुन्छु । सायद एउटा परिवर्तका लागि कटिबद्ध युवा हुनुको नाताले तपाईंलाई यति भन्ने अधिकार पनि राख्छु भन्ने मैले बुझेको छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल