खाँचो छ मृत्यु संस्कारमा परिमार्जनको

-  |   मुरारी ढुङ्गेल

खाँचो छ मृत्यु संस्कारमा परिमार्जनको

पारिवारको कुनै सदस्यको मृत्यु भएपछि परिवारजनले काजकिरिया गर्ने संस्कार प्रायः सबै मानव समुदायमा छ । हम्रो हिन्दू समुदायमा पनि मृत्यु संस्कार गर्ने कार्य परापूर्वकालबाट नै हुँदै आएको छ । तर पहिलेको तुलनामा अहिले धेरै नै सरल र सहज हुँदै आएको छ । सामान्य अर्थमा मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राका लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।

हाम्रो संस्कारमा शवलाई प्रायः घाटमा पुर्याई मृतकको छोरा वा परिवारका कुनै सदस्यले दागबत्ति दिँदै सदगत गर्दछ । आफ्नो जातीय, धार्मिक परम्परा र आस्थाअनुसार मृत्यु संस्कार गरिने चलन ठाउँ र जातजाति अनुसार फरक छन् । हाम्रो समाजमा आफ्नै समुदाय र आफ्नै सांस्कृतिक प्रचलनअनुसार काजकिरिया गर्ने परम्परा छ । यो संस्कार कुनै समुदायमा खुकुलो छ भने कुनै समुदायमा अति कठोर देखिन्छ । केही समुदायले अचेल काजकिरियामा लचकता अपनाउन थालेका छन् ।

किरिया कर्मको अवधिमा १३ दिनसम्म जति कष्ट खेप्दै चोखोनितो र शुद्ध रहन सक्यो मृतक उति सजिलै स्वर्ग जाने बाटो सहज हुन्छ, सन्तानलाई धर्म मिल्छ भन्ने धार्मिक तथा सामाजिक विश्वास छ । किरियापुत्रीले दिनहुँ नुहाइ धुवाइ गरी घाँस, परालमा राडी ओछ्याएर, राडी नै ओडेर सुत्नुपर्ने, शरीरमा सेतो लँगौटी र खाडीको बर्को ओडी पुसमाघको जाडो भए पनि कटाउनुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागती मात्र खाएर बस्नुपर्ने चलन छ । किरिया अवधिभर कसैलाई नछोई धागो बेरेर कोरो बनाइएको भुइँमा सुत्नुपर्छ । दिनको एक पटक एक छाक निस्तो भात खाई मृतकको नाउँमा पायस पकाई पिण्ड दिने प्रचलन सदियौँदेखि हिन्दू संस्कारमा चल्दै आएको छ ।

१३औं दिनमा चलनअनुसार गाईको पुच्छर समाइ किरिया बार्ने परिवारजनले ब्राह्मणलाई शय्या दान गरेपछि मात्र मृतकको १३औं दिनको कर्म सकिएको मानिन्छ । मृतकका परिवारमा एक वर्षसम्म शोकमा रहेको पहिचान स्वरुप सेता लुगा मात्र लगाई चोखोनितो खाने गरिन्छ । मानिसको मृत्यु भएको घरमा एक वर्षसम्म जुठो बार्ने चलन अझसम्म छ । जुठो बार्नु भनेको मृतकको घरमा पूजापाठ नगरिने, चाडबाड नमनाइने, कुनै प्रकारका उत्सव उमङ्गमा परिवारका सदस्य सरिक नहुने, रगतको नातागोताभित्र बिहेब्रतवन्ध जस्ता शुभ कर्म गर्न नमिल्ने आदि हुन् । एक वर्षपछि वार्षिकीमा पूजाआजा गरी जुठो फुकाइन्छ, जुठो परेको घर चोख्याउने चलन छ ।

पूर्वी नेपालको किराँत लिम्बू जातिहरुमा लोग्ने मानिसको निधन भए चार दिनसम्म र स्वास्नी मानिसको निधन भए तीन दिनसम्म जुठो बारे पुग्छ । त्यहीँका ब्राह्मण, क्षेत्रीभन्दा फरक प्रचलन जुठोको अन्तिम दिन लिम्बूहरूको सगुनमा मासु र जाँडरक्सी अनिवार्य हुनैपर्छ । अशौच बार्ने विषयमा पनि अन्य जातिभन्दा जनजाति र आदिवासीहरुमा भिन्नता देखिन्छ । त्यहाँका आदिवासी राजवंशी–ताजपुरियामा किरिया बारेको व्यक्ति हाटबजार घुमेर धेरै व्यक्ति हेर्यो भने मृतक स्वर्ग जान्छ भन्ने धार्मिक विश्वास छ । उनीहरुको मृतकको छोरा सबै भाइ किरिया बस्नु नपर्ने चलन छ । कुनै एक भाइ किरियामा बसे हुन्छ । एउटै बाबुआमाका छोरा अरु भाइले खासै चोखोनितो बस्नु पर्दैन ।

काठमाडौं वरपरभन्दा मोसफलका जिल्लामा अझ पनि काजकिरिया गर्ने प्रचलनमा खासै परिमार्जन भएको पाइँदैन । सायद समाज विकास भएकै कारण हुन सक्छ, त्यहाँको चलनभन्दा काठमाडौंको चलनमा केही सुधार भएको पाइन्छ । काठमाडौंमा सुधारिएको सभ्यतासँगै किरिया क्रममा पनि परिस्कृत भई केही खुकुलो हुँदै गएको छ । किरियापुत्रीले फलफूल लगायतका सुख्खा खानेकुरा पनि खान मिल्ने चलन काठमाडौं हुँदै गाउँतिर भित्रिन थालेको छ । मृतकको लास बोक्दै घाटसम्म महिला पनि मलाम जाने चलन पूर्वी जिल्ला हुँदै पश्चिमतिर सर्दै गएको छ ।

नेपालको राजधानीलगायतको मध्य क्षेत्रका जिल्लाहरुमा महिला मलामी जान वञ्चित थिए । त्यसमा अहिले छिटफुट सुधार आएको छ । आजभोलि १३ दिन क्षेत्रबास बस्ने जुन पुरानो प्रचलन छ त्यसमा पनि कसैले सात दिन कसैले पाँच दिन गर्ने चलनको बहस हुन थालेको छ । यदाकदा यसको प्रगोग हुनु यसको परिवर्तित रुप हो ।

परिवारमा सदस्यको मृत्युु वियोगमा छट्पटिएको व्यक्ति माथि नै शुद्ध अनि चोखोनितोको नाउँमा थोपरिएका यी कष्टप्रति खुलेर आवाज उठ्न सकेको पाइँदैन । यदि धर्मसंस्कार विरोधीको आरोप नलाग्ने हो भने यस्ता परिमार्जन गर्नै पर्ने विषयमा बोलिने आवाजहरु पक्कै पनि धेरै हुनसक्थे । तर हामीलाई सामाजिक धार्मिक जङ्जिरले बाधेको तीतो यतार्थथाका कारण कति सुधारिनुपर्ने विकृति विसङ्गति पनि परिमार्जन हुन सकिरहेको छैन । अझै पनि पुराना पुस्तामा यो परिवर्तनको यथार्थ चिर्नसक्ने इच्छा एवं क्षमता नहुन सक्छ तर तिनै पुस्ताका सन्ततिले गलत कुराको विरोध गर्दै सही कुरालाई सहजताका साथ स्वीकारी अवलम्बन गर्न थालेपछि नेपाली समाजमा प्रचलित विविध संस्कारभित्रका विकृति विसङ्गति विस्तारै सुध्रिँदै गएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल