दोस्रो चरणको चुनावमा बाजी मार्ने पार्टी

दोस्रो चरणको चुनावमा बाजी मार्ने पार्टी

अमरदीप मोक्तान

जेठ ३१ गते हुने दोस्रो चरणको गाउँपालिका र नगरपालिका चुनावको तयारी चरम उत्कर्षमा छ । तराई मधेसका बहुसङ्ख्यक मतदाता लोकतन्त्रको महापर्वरुपी चुनावमा भाग लिन आतुर छन् । दोस्रो चरणको चुनावमा सहभागी हुन मधेसी दलद्वारा प्रस्तावित गरिएको मागमध्ये स्थानीय तह थप्ने मागका विषयमा सरकारले २२ वटा स्थानीय तह थप्ने निर्णयपछि तराई मधेसमा चुनाव हुने वातावरण बनेको छ ।

नेपाल लोकतान्त्रिक पार्टी (गच्छदार) र सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव ) ले प्रथम चरणको चुनावमा सहभागी भएर केही गाउँपालिका र वडामा विजय हासिल गरेका छन् । उनीहरुले दोस्रो चरणको चुनावमा भाग लिने स्पष्ट छ तर महन्थ ठाकुर, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टीले माग पूरा गर्नका लागि लिएको अडानले चुनाव नहोला भन्ने शङ्का थियो । तर सरकारद्वारा स्थानीय तह थप्ने निर्णयले त्यो बाधा पनि हटेको छ । समग्रमा भन्नुपर्दा कुनै अप्रिय घटन नभए दोस्रो चरणको चुनाव हुने लगभग सहमति बनिसकेको छ ।

प्रथम चरणको चुनावमा एमाले अग्रपङ्क्तिमा देखिए पनि एमालेको राजनीतिक भविष्यका लागि त्यो परिणाम सन्तोषप्रद होइन । यो कुरा एमालेले पनि स्वीकार गरेको छ । प्रथम चरणको चुनावमा एमालेले जति राम्रो परिणामको आशा गरेको थियो, त्यो परिणाम आएन । प्रथम चरणको चुनावमा तेस्रो भए पनि वास्तवमा लाभको स्थितिमा माओवादी नै देखियो । दोस्रो चरणको नगरपालिका रगाउँपालिका चुनाव परिणामले नेपालका ठूला राजनीतिक पार्टीको भाग्यको फैसला गर्नेछ । दोस्रो चरणको चुनाव किन महत्वपूर्ण छ भने दोस्रो चरणको चुनाव हुने भनिए को प्रदेश १ र ७ मा एमाले र काङ्ग्रेस बलियो स्थितिमा छन् भने २ र ५ मा यिनीहरु केही कमजोर छन् । यी प्रदेशमा नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तराई, मधेसको भूभागमा मजबुत स्थितिमा छन् ।

दोस्रो चरणको चुनावमा जातीय समीकरणको कुरा गर्दा पहाडी (क्षेत्री, बाहुन, आदिवासी), मधेसी, थारु, मुसलमान, दलित मतदाता निर्णायक हुने छन् । कुन पार्टीले उल्लेखित मतदातालाई आफ्नो पक्षमा ल्याउन र कतिसम्म रिझाउन सक्ने हुन् त्यो हेर्न बाँकी छ । दोस्रो चरणको चुनावमा काङ्ग्रेस, एमाले, माओवादीलाई चुनौती दिने नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टीमध्ये नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक बनावट क्षेत्री, बाहुन, आदिवासी, थारु, मुसलमान, दलितलाई सम्मानजनक स्थानमा स्थापित गरेको हुनाले र गच्छदार स्वयम् पनि थारु आदिवासी भएको हुनाले सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको अपेक्षा मजबुत स्थितिमा देखिएको छ ।

दोस्रो चरणको चुनाव हुने भनिएको प्रदेशहरुको जनसङ्ख्या तथ्याङ्कमा प्रथममा पहाडी क्षेत्री बाहुन पर्दछन भने दोस्रोमा थारुलगाएत पहाडी आदिवासी दोस्रोमा पर्दछन् । त्यस्तै तेस्रो, चौथो, पाँचौमा क्रमशः मधेसी, मुसलमान र दलित पर्दछन् । दोस्रो चरणको नगरपालिका र गाउँपालिका चुनावमा जतिसुकै विश्लेषण गरिए पनि उल्लेखित चुनावमा जातीय जनसङ्ख्या र समीकरणले महत्वपूर्ण खेल खेल्ने छ । अधिकांश क्षेत्री, बाहुनको मत एमाले, काङ्ग्रेस र माओवादी बाँडिने छन् भने अधिकांश थारु लगाएतका आदिवासी र केही प्रतिशत मुसलमान, दलितका मत नेपाल लोकतान्त्रिक पार्टी (गच्छदार) मा जाने, सङ्घीय समाजवादी फोरम का अध्यक्ष उपेन्द्र यादव भएको हुनाले अधिकांश यादव मतदाता आकर्षित हुने छन् । साथै केही पहाडी आदिवासी, मुसलमान, दलित मत पनि आकर्षित हुने छन् । राष्ट्रिय जनता पार्टीको पक्षमा तराई मधेसका अधिकांश मधेसी सवर्ण, बनियाँ र केही मुसलमान, दलित, यादव मतदाताको मत आकर्षित हुने छ ।

विजयकुमार गच्छदार, उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका नेता मोर्चा बनाएर चुनाव लड्ने चर्चा सुनिएको छ । दोस्रो चरणको चुनावअघि नेपाल लोकतान्त्रिक फोरम (गच्छदार) सङ्घीय समाजवादी फोरम (उपेन्द्र यादव) र राष्ट्रिय जनता पार्टीले कार्यगत एकता, मोर्चा अथवा गठबन्धन बनाएर चुनावमा सहभागी भए निसन्देह काङ्ग्रेस, एमाले, माओवादी जस्तै नेपालको राजनीतिमा उदयीमान शक्तिका रुपमा स्थापित हुने छन् । गाउँपालिका र नगरपालिका चुनावलगत्तै हुने प्रदेश तथा केन्द्रको चुनावमा काङ्ग्रेस, एमाले, माओवादीका लागि ठूलो चुनौती सावित हुने छन् ।

दोस्रो चरणको चुनावमा नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा मोर्चा अथवा गठबन्धन नभएको अवस्थामा साङ्गठनिक संरचना र जातीय समीकरण अनुसार उल्लेखित तीन पार्टीमध्ये नेपाल लोकतान्त्रिक फोरमले राम्रो प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । यसोदा कुमारी लामा नेतृत्वको दलित जनजाति पार्टी नेपाल, शिवलाल थापा मगर नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र गोपाल दहित नेतृत्वको थरुहट तराई पार्टी र विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको एकीकरणपछि नयाँ नामकरण र नयाँ संरचनासहित निर्माण भएको ‘नेपाल लोकतान्त्रिक फोरम’ जातीय समिकरण अनुसार मजबुत बनेको छ । यसोदाकुमारी लामा २ नम्बर प्रदेशको भएको र २ नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्म थारु आदिवासीपछि तामाङ समुदायको बाहुल्य रहेको छ । त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा ५ नम्बर प्रदेशको भएको र नवलपरासीदेखि बर्दियासम्ममा थारुपछि मगर समुदायको बाहुल्य रहेको छ । आदिवासी समुदाय रहेको र गोपाल दहित नेतृत्वको पार्टी थरुहट तराई पार्टीको नवलपरासीदेखि कैलाली कञ्चनपुरसम्म थारु समुदायको राम्रो पहुँच र प्रभाव भएकाले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम दोस्रो चरणको चुनावमा आफ्नो बलबुतामा तराई मधेसको ठूलो राजनीतिक शक्ति बन्न सक्ने सम्भावना छ ।

दोस्रो चरणको चुनावमा काङ्ग्रेस, एमाले, माओवादीले तराई–मधेसका थारुलगायतका आदिवासी, मधेसी, मुसलमान, दलित र उपेक्षित वर्गलाई आफ्नो पक्षमा मतदान गराउन कस्तो प्रकारको रणनीति अपनाउने हुन् हेर्न बाँकी छ । दोस्रो चरणको चुनाव त्यति सजिलो छैन, मतदाताहरु कति सचेत एवं सजग छन्, त्यो प्रथम चरणको चुनावले देखाइसकेको छ । मतदाताहरु एमाले, काङ्ग्रेस माओवादीलगायतका पार्टीका भोट बैङ्क बन्नुभन्दा पनि असल र उपेक्षितको पक्षमा मतदान गर्न उत्सुक छन् । अन्त्यमा के भन्न सकिन्छ भने दोस्रो चरणको चुनाव राष्ट्रिय पार्टीको पदवी भिरेका एमाले, काङ्ग्रेस, माओवादीका लागि फलामको चिउरा सावित हुने देखिन्छ ।
डाडा खर्क, दोलखा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल