राष्ट्रप्रेमका नाममा उदन्डता

राष्ट्रप्रेमका नाममा उदन्डता

खेमराज दाहाल

लामो समयदेखि नेपाली राजनीतिमा एक प्रकारको भ्रमित राष्ट्रवादको प्रचार सुरु भएको छ । विपक्षीको खरो विरोध र आलोचना गर्दै आफूलाई मात्र राष्ट्रियताको सवालमा संवेदनशील भएको देखाउने प्रवृत्तिले नेपालको राष्ट्रवादको परिचय नै अलग हुनपुगेको छ । अलग अलग कालखण्डमा अलग अलग राजनीतिक धारले यसै गरी आफूलाई राष्ट्रवादी बनाउने खोजे । राणा शासन कालमा राणाहरुले जननायक बीपी कोइरालालाई राष्ट्रद्रोहीको आरोप लगाए र आफू राष्ट्रवादी भएको भ्रम छरे ।

राजाको पालामा सबै राजावादीहरु मात्र राष्ट्रवादी भय अरु सबै राष्ट्रघाति भए । अघिल्लो संविधान सभामा माधव नेपाल प्रधानमन्त्री बन्दै गर्दा नेकपा माओवादीले नेकपा एमालेलाई भारत परस्त देख्यो र आफूलाई मात्र राष्ट्रवादी भएको भ्रम छर्यो । अहिलेको सरकारलाई एमालेले त्यसैगरी भारत परस्त देखाउँदै कठपुतली सरकार भएको भन्दै आफूलाई मात्र राष्ट्रवादी भएको भ्रम छरेको छ । तर विडम्बना यी सबै कालखण्डमा सबैले आफूलाई राष्ट्रवादीको भ्रम छर्न खोजेको भय पनि कोही राष्ट्रप्रेमी भएर आएनन् ।

अतिवादको राजनीतिले मधेसवादी दलका लागि आफू मात्र मधेसका लागि बाँकी सबै मधेस विरोधी । एमालेका लागि एमालेबाहेक बाँकी सबै राष्ट्र विरोधी भएको मनोविज्ञान छ । देशको राजनीतिक स्थिति संवेदनशील छ । माघ ७ गतेभित्र राज्यका तीनवटै निकायको चुनाव गरी संविधान कार्यान्वयन गर्नै पर्ने संवैधानिक जटिलता छ । तर यहाँ एकथरी संविधान संशोधन नभए चुनाव हुनै नदिने र अर्काथरी संविधान संशोधन हुनै नदिने अतिवादी सोचले देशलाई एकतामा हैन विखण्डनतिर धकेल्न सक्छ । त्यसैले अतिवादी चिन्तन छाडेर एक्लो राष्ट्रवादी चिन्तन छाडेर राष्ट्रप्रेममा जान जरुरी छ ।

मधेस आन्दोलन गरिरहेका मधेसी दल या लिम्बुवान र खम्बुवानका लागि आवाज उठाइरहेका जनताको आवज या थरुहट भनी चिच्याइरहेका जनताको आवज यी सबैलाई अराष्ट्रवादी देख्नु छिमेकी मुलुकबाट परिचालित देख्नु अतिवादी अतिसङ्क्रीर्ण सोच हो । जो अहिले एमालेले बोकेको छ ।

समय र कालखण्डसँगै देखिएका उदण्डतासहितका राष्ट्रवाद सधैँ मेटिएर गयका छन् । राणाहरुको राष्ट्रवाद नेपाली काङ्ग्रेसको विनम्रताले उखेलेर फालिदियो । यस्तै राजाहरुको उदण्डतालाई पनि जनताको विनम्रताले विस्थापित गरी दियो । माओवादीको उदण्डतालाई पनि नेपाली काङ्ग्रेसको विनम्रताले शान्ति र सम्झौता गरी विनम्र गरिदियो । अब एमाले र मधेसी दलको उग्रराष्ट्रवादको उदण्डतालाई काङ्ग्रेसले बुद्धिमताका साथ विनम्रताका साथ दुई अलग मनोविज्ञानलाई चिरेर विनम्रताको बीउ रोप्ने छ । ठूलो ठूलो स्वरले कराउनु मात्र राष्ट्रवाद मानिदै गर्दा नेपाली काङ्ग्रेसले जस्तो कि समाजमा दुई झगडियाको ठूलो स्वरका बीच सानो स्वरले बुद्धिजीवीले उनीहरुको झगडालाई शान्त पार्छ । त्यसै अनुरुप नेपाली काङ्ग्रेसले सानो स्वरले एमाले र मधेसवादीलाई विनम्रतामा विश्वास दिलाउने प्रयास गरिरहेको छ । त्यो सानो स्वर अहिले सुनियको छैन । जब सुनिने छ, फेरि देशमा विनम्रताको जित भई उदण्ड राष्ट्रवादको पर्दाफास हुनेछ ।

अहिलेको सन्दर्भमा संविधान सभाबाट संविधान जारी भएकै दिनदेखि मुलुकको तराई मधेसमा असन्तुष्टि रहँदै आएको छ । यसै क्रममा विभिन्न हिंसात्मक घटनामा ५ दर्जनभन्दा बढी निर्दोष जनताले सहादत प्राप्त गरे । यस अवस्थामा मधेसमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका राजनीतिक शक्तिलाई पनि केही हदसम्म समन्वय गरी समेट्नुपर्ने अवस्थामा अहिलेको महान राष्ट्रवादले ती आन्दोलन गरिरहेका जनतालाई भारतीय देख्छ र तिनीहरूलाई अराष्ट्रिय तत्व देख्छ । दिनानुदिन भारतको हेपाहा प्रबृत्ति सही बसेका ती जनतालाई दोस्रो दर्जाको नागरिक देख्छ ।

यी सबै जनता नेपाली हुन् र यिनीहरुको पनि उत्तिकै हक अधिकार छ भनेर समन्वय गरी ती जनतालाई पनि संविधानको अपनत्व गराई सँगै लिएर जाने पहललाई अहिलेको उग्रराष्ट्रवादको मनोविज्ञानले भारतको निर्देशन, भारतको हात देख्छ । सीमाङ्कन हेरफेरको विषयलाई लिएर केही गर्ने खोज्यो भने अहिलेको केपी ओलि राष्ट्रवादी मनोविज्ञानले नेपालको तराई मधेस जति भाग सबै भारतले लान लागेको र अन्य जोजो समन्वय गर्ने पार्टीहरु छन् । ती सबैलाई देश बेच्न लागेको आरोप लगाउँछन् र ती मधेसमा बस्ने जनतालाई सधैँ दोस्रो दर्जामा राखेका छन् ।

केपी ओली राष्ट्रवादले सिक्किममा लगाएको टोपीलाई पनि नेपाली देख्छ तर मधेसमा लगाएको धोतीलाई भारतको बिहार लगाएको देख्छ । यस किसिमको प्रवृत्तिले मधेसमा बस्ने नेपालीलाई दोस्रो दर्जाको जस्तो बनाएको छ । संविधान २०७३ ले मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाएको छ । तर मधेसी मुलको नेतृत्व गरिरहेका नेताहरु जनताको भन्दा आफ्नो राजनीतिक यात्राको राम्रो सेल्फलेन्डिङ खोजिरहेका छन् र मधेसी जनतालाई संविधानले अधिकारी सम्पन्न नबनाएको भ्रम छर्दै आफ्नो राजनीतिक यात्रालाई सहज बनाउँदै छन् । यस्तो अवस्थामा एमालेको उदण्दताले मधेसी जनताको भ्रममा अरु शङ्का उत्पन्न गराएको छ । त्यसैले मधेसी र एमालेबीचको उदण्डतालाई चिर्दै त्यहाँ विनम्रताको बीउ रोप्न जरुरी छ ।

अहङ्कारको बिरुवामा विनाशको फल लाग्न सक्छ । त्यसैले अहङ्कार छाडेर नम्र भएर ती मेधेसमा आवाज उठाइरहेका राजनीतिक शक्ति र पूर्वमा खम्बुवान र लिम्बुवानको आवाज उठाइरहेका राजनीतिक शक्तिलाई एकै ठाउँ गाँसेर लान सके मात्र राष्ट्रवाद बलियो हुन्छ, राष्ट्रप्रेम उजागर हुन्छ । त्यसैले उदण्डता अहंकारको राजनीति छाडी आजैदेखि विनम्रताको राजनीतिमा लागौँ एक्लै राष्ट्रवादी हुने कोसिस छाडौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल