जीवित अभिभावकका टुहुरा सन्तान

जीवित अभिभावकका टुहुरा सन्तान
  • रमेश भट्टराई ‘सहृदयी’

कुखुराले चारो खोज्छ, आफ्नो पेट भोकै भए पनि चल्लाका लागि अर्पिन्छ । शत्रुरुपी बिरालो या कुकुरसँग सन्तान रक्षाका निम्ति आफ्नै ज्यानलाई दाउ थापेर झम्टिन पुग्छ । पशु प्राणी या त सारा सृष्टिमै आमाको माया सन्तानका लागि कति अमूल्य हुँदो रहेछ । कति दर्बिलो छ, ममताको आदर्श ।मातृदेवो भवः अथवा आमा देवता समान हुन्छिन् । वेद, शास्त्र, पुराणमा आमाको महत्तामा रोचक तथा कारूणिक मर्म स्पर्शहरू प्रस्तुत छन् । मातृ हृदयको कोमलता त प्राकृतिक शक्ति नै लाग्छ । मातातीर्थ औँशी (आमाको मुख हेर्ने दिन) मा आमाप्रतिको श्रद्धा र स्मरण गरिन्छ । ‘पितृ देवो भवः’ अर्थात् बुबालाई देवता सरह मान । नौ महिना कोखमा राखेर अनेक पीडा र वेदनालाई आमाले भोगेकी हुन्छिन् । प्रशव वेदनासँग जीवन मृत्युको दोसाँधमा आमाले सन्तानलाई जन्म दिन्छिन् । गरिबीको रापमा पिल्सिएकी आमा छिन् भने अभावका सोपानसँग सन्तानकै विकासार्थ जुध्छिन् । जाडो–गर्मी, भोक–तिर्खा, रोग–शोकबाट बचाउँदै देखभाल गरेर हुर्काउँछिन् । टट्टी–पिसाब सोहोर्दै तातेताते गरेर बढाउँछिन् । तुलनात्मक हिसाबमा बाबाभन्दा आमाको योगदानकै कारणले होला मातृवात्सल्यलाई शिरोधार्य गरेर सन्तानले जीवनका गोरेटाहरूलाई चलाउँछ, आमा नभए जोसँग गाँसिएको छ ममताको तार उसैको सहारामा जिउँछ– मानिस । आमाबाबाको आशीर्वचन नै सन्ततिका प्रगति पथ बन्छन् । एउटा जीवनको प्रारम्भसँग ठूलो हिस्सा गाँसिँदो रहेछ ।

बालकको पहिलो शिक्षालय घरपरिवार नै हो । हरेक सुन्दर परिवारले सुन्दर र सभ्य संस्कारद्वारा पवित्र समाज बसाएको हुँदो रहेछ । तर, आजको युगीन परिवेशमा हामी पृथक् ढङ्ग–ढाँचाबाट दौडिन थालेछौँ । समाजमा विज्ञान प्रविधिको विकास भएसँगै आवश्यकता र अवसरसँग प्रतिस्पर्धाको होड चल्दो रहेछ । आज मानिसमा खान लाउनभन्दा अरुसामु महान् बन्ने ध्याउन्नको संस्कार हाबी बन्दै गएको छ । मानिसमा हिजो गाँस, बास र कपासले पुग्थ्यो तर अहिले प्राविधिक विकाससँगै आवश्यकताका सूचीमा थुप्रै अत्याधुनिक साधन जोडिएका हुन्छन् । बाध्यताले, अवसरले या चाहनाले विदेशिनुपरेको छ– घरगृहस्थ छोडेर । विदेशमा श्रीमान् कमाउने यता श्रीमती परपुरुषसँग अनैतिक सम्बन्ध गाँस्ने मात्र नभई श्रीमान्को पसिनालाई सखाप पार्ने व्यवहारले समाज दिनानुदिन कुरुप र कलङ्कित पीडामा धराशायी बन्दै छ । सामाजिक सञ्जालको दुरुपयोग गर्ने क्रमसँगै बढेका यस्ता जटिलतामा सचेत र सभ्य संस्कारमा जिउने व्यक्ति अवश्य मुछिन चाहँदैन । परिवारकै खुशीका लागि परदेशको भूमिमा श्रम बेच्नु परेको हुन्छ तर यता परिवारले मर्यादा तोडेपछि सम्बन्धविच्छेदको विकल्प नबन्दो रहेछ । सन्तानलाई पढाउने नामसँग सहरमुखी बन्दै जाँदा यस्ता घटनाले अड्डा जमाएको महसुस विद्यालयतिर सुन्न पाइन्छन् । वैदेशिक रोजगारको बाध्यताले परिवार, घरबार, संस्कार अनि बाल तथा मानव अधिकार नै विक्षिप्त बनिरहेको हुन्छ । मेलमिलापभन्दा हिंसात्मक प्रवृत्तिले समाज विद्रुप छ । वैदेशिक रोजगारका कारण मात्रै सम्बन्ध विच्छेद हुने गरेका जटिल समस्याले समाज र कैयौँ परिवार लठिबद्र बन्दै गएको महसुस हुन्छ । मानिसले सुख त खोज्यो तर खुशी हुन सकेन । काखको बालक जीवित बाबाआमाको व्यवहार र कुप्रवृत्तिका कारण टुहुरो बनिरहेको हुन्छ । आज आधुनिकताको नाममा आफ्नो भाषा, भेष, पर्व र कतिपय वैज्ञानिक तथा उपयोगी संस्कारसमेत पतन भइरहेका छन् । रूढीवादको संज्ञा दिएर हामीले अत्याधुनिकताको सदुपयोगभन्दा अन्धानुकरण गर्दै आफ्नै पहिचानलाई समेत बिर्सिँदै गइरहेका छौँ ।
यौनपिपासु चरित्रले बच्चाले आफ्नो पहिचान नै गुमाउनुपर्दो रहेछ । मानिसमा नैतिक ज्ञान र आदर्श अनुशासनका कुराहरू दिनानुदिन ह्रास भइरहेका छन् । प्रेममा विचलन बढेको छ । पाश्चात्य अन्धानुकृत प्रेमकै कारण अशान्त भावना जागृत बन्दै छ । चेतनाभन्दा अनुशासनहीन चरित्रले समाजमा प्रेम र जीवनको सुख विद्रुप बन्दै छ । आपसी सम्बन्धमै विश्वास घटिरहेको छ । बाल मनोविज्ञानमा यसको असरसँगै शैक्षिक विकासमा समेत धक्का पुर्याएको बुझ्न सकिन्छ । जति आधुनिकताको विकास हुँदै छ त्यति यो विकृति मौलाउँदै छ– चोकमा, सहरमा, बस्तीहरूमा । कोही आमाबाबा सन्तानको लोभानीपापानीको सिकार बन्छन्, उपेक्षित बन्छन्, सन्तान दमन र प्रेमको अभावबाट मनोरोगी बन्छन् । बाल अधिकार हनन र हृदयविदारक प्रहार आज सडकमा मात्र हैन घर, समाज, चोकभित्र दिनानुदिन भइरहेका छन्– हिजोभन्दा अलिक फरक ढङ्गले समेत । आमा एकातिर, बाबा अर्कातिर अनि बच्चाले कसरी जिउने ? प्रश्न उठ्छ– आज यो जटिल समस्याको सिकार भएका बच्चाको अधिकारलाई कानुनले के गर्दै छ त ? त्यो कलिलो क्रन्दनले संयुक्त अभिभावकत्वलाई कसरी महसुस गर्न पाउँछ ! एकातिर अधिकारका नाममा हाम्रो संस्कृति र सामाजिक न्याय नै कलङ्कित भएको छ । ‘बाबाले घरमा अर्की आमा ल्याउँछन् । पहिलो परिवार काउछो बन्छ । बिस्तारै आमा पनि अर्कोसँग जान्छिन् अनि त्यो बच्चा धर्तीमै जीवित आमा बाबाको टुहुरो सन्तान बन्दो रहेछ ।’ त्यसपछि त्यो बालक शारीरिक, मानसिक हिंसा र दुव्र्यवहारको सिकार बन्दै जान्छ ।
अझ बाबाले ल्याएकी अर्की आमाको आडमा बाँचेको झर्के र बोझिलो सन्तानको दिनचर्या मनोवैज्ञानिक रूपमा उमेर बढेसँगै साह्रै पीडाप्रद हुँदो रहेछ । आमासँगको तार जन्मपूर्वकै अवस्थाबाट गाँसिएकाले होला बाबाले अर्की आमालाई भिœयाउँदाभन्दा पनि बढी आमाले छोडेर अर्कैसँग गइदिँदा सन्तानको जीवन बढी धराशायी बन्दो रहेछ । कतिपय बच्चालाई आमाले पालनपोषण गरिरहँदा बाबाले फकाएर आपूmसँग तान्न खोज्दा रहेछन् । कति आमा अर्कैसँग गएपछि सन्तानलाई सँगै लैजाने होड चल्दो रहेछ । सन्तानले बाबाआमाको संयुक्त स्नेह खोजिरहँदा उल्टो अचानोमा बच्चा पर्दो रहेछ । सन्ततिले जन्मदिने आमा र जन्माउने बाबालाई कसरी तुलोमा जोखेर हेर्ने ? अन्ततः उसको पहिचानमै सङ्कट उत्पन्न हुँदो रहेछ । छोराछोरीले कसको सहारामा बाँच्ने ? भवितव्य परे त चित्त बुझाउने बाटो बन्ने रहेछ तर दुःखमा रूँदा आखिर आमा कसलाई भन्ने ? या त सुखमा खुसी कोसँग बाँढ्ने ? बजारमा चक्लेट देख्दा कोसँग लाडे स्वरमा किनिमाग्ने या नपाए लडीबुडी गरेर किनिदिन आग्रह गर्ने ? बाटामा अरुका बाबाआमाले आफ्ना छोराछोरीलाई हातमा डोर्याएको देख्दा त्यो बच्चाको मन कस्तो होला ?’ सन्तान छोराछोरी भएको जान्दाजान्दै सौता बनेका घटनामा पुरुषलाई मात्र कसरी दोषी भन्ने ? फेरि अर्कोतर्पm हेर्दा विदेशिएका श्रीमान् या श्रीमतीले लामो समयको यौनेच्छा अपूर्तिका कारण यस्ता ठूला गल्ति गर्नपुग्दा रहेछन् । या त अपर्याप्त यौनेच्छा वा अन्य कमजोरीका कारण यस्ता घटनाले समाजलाई दुर्गन्धित पार्दा रहेछन् । यसको अचानोमा त्यै निर्दोष बाल हृदय तड्पिँदो रहेछ ।
जुन औँलामा विष लाग्छ, त्यै झर्छ । नैतिक आदर्शको दृढतामा भए ममतामा विचलन हुने प्रश्नै उठ्दैन । आपैmँ सचेत आमाबाबामा भने सन्तान प्रेम र आदर्श आचरण नै सफल जीवनको द्योतक बनिरहेकै हुन्छ । कर्तव्य या बाध्यता सम्झेर बच्चालाई होस्टलमा राखिएका हुन्छन् । आमासँग बसेकी, आमाले विद्यालयको शुल्क तिरेर पढाएकी छोरीलाई बाबासँग भेट्न नदिनु भनिरहँदा विद्यालयमा बाबा आएर भेट्न चाहन्छन्, प्रशासनलाई समेत अप्ठ्यारोमा पाछ ।
दिनभरि ठेलामा तरकारी बेचेर होस् वा सडकको छेउमा धुवाँ र धुलोसँग मितेरी गाँसेर नाङ्लोमा अलिकति सामान फिँजाएको कमाइले होस्, सन्तानलाई राम्रो शिक्षा प्रदान गर्ने कुरामा आमाबाबा कति तल्लीन हुन्छन् । विदेशको मरूभूमिको तातो रापमा पिल्सिएर होस् या त सन्तानको भलाइ नै सबै ठानेर दिनरात मिहिनेतमा घोटिइरहँदा रहेछन् । के गाउँ के सहरका यस्ता तमाम आमा बाबालाई हेरिरहँदा अर्कातिर ती यौनभोगी आमा या बाबाको चरित्र पतनको सजाय निर्दोष बालकको कलिलो मस्तिष्कले पाउँदो रहेछ । आमाबाबालाई भगवान् मान्नुपर्छ भनी सिकाइँदै आएको यस्तो परिवेशलाई अब त्यो सन्तानले कसरी स्विकार गर्ने ?
सामान्य बुझाइमा विवाहित छोरीको थर परिवर्तित हुने गर्छ । सन्तानको थर बाबाको थरबाट निर्धारित हुने परम्परित नियम छ । यद्यपि आमाले बाबासँग सम्बन्ध तोडेपछि श्रीमानको थर फेरेर आफ्नो माइती या आफ्नो दोस्रो श्रीमान्को थर राख्छिन् । आमा अन्यायमा हुँदा झनै गाह्रो रहेछ । अर्कोतिर आमाले बाबासँग सम्बन्धविच्छेद गरी मावलीको थर राखिएको व्यक्तिले भोलि कोसँग अंश माग्ने । नागरिकता मावलीको थरबाट बन्ने भो । भवितव्य या दुर्घटनाको पीडाभन्दा बच्चालाई जीवित आमाबाबाले खोसेका आड र काख हृदयविदारक बन्दो रहेछ । ममता टुटाइएको या पितृत्व खोसिएका अर्थात् दुवैले आआफ्नो स्वार्थमा लिप्त भएर कोही आफन्तका आडमा छोडेर घर बसाएका होऊन्, यसको सिकार त बच्चै बन्ने रहेछ । आमासँग बसे बाबाप्रति र बाबासँग भए आमाप्रति बच्चाको मस्तिष्कमा विरोधी भाव उत्पन्न गराउने कसरतसमेत चलाइँदो रहेछ । समग्रमा आमाबाबाको कमजोरी र महत्वाकाङ्क्षाले निर्दोष सन्तानको भविष्य सङ्कटमा पर्दो रहेछ । कति दूधे बालकका ममता चुँडिइरहेका छन् त कति चरित्रहीनताका कारण जीवित भएकै बाबाको पितृत्व भाव खोसिएको छ । कति सन्तानमा आमाबाबाको कमजोरी र सूक्ष्म चाहनाको अचानोमा परेर मनोवैज्ञानिक असर पर्दो रहेछ । आखिर मानवीय आदर्शलाई नै प्रहार गरिरहँदा ती निर्दोष कलिला सन्ततिका जीवनमा बगिरहेको रोदन अश्रु सामान्य पक्कै लाग्दैन । तिनले यो जीवनमा कसरी अभिभावकत्वलाई महसुस गर्न पाउने ?
Email: [email protected]

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल