निन्दा गरेर हिंसा रोकिँदैन

निन्दा गरेर हिंसा रोकिँदैन

वीरेन्द्र कटुवाल

‘परिवर्तनको निम्ति के हिंसा जरुरी थियो ? अथवा हिंसा र प्रतिहिंसालाई पर राखेर परिवर्तन ल्याउन सकिन्थ्यो कि सकिँदैन थियो ?’ नेपालमा भएको जनयुद्धलाई लक्षित गरेर सोधिने यो प्रश्न बारम्बार उठ्ने गर्छ ।

यो विषय सामाजिक चासो र बहसको बिषय बन्नुपर्ने थियो । बन्यो र बन्दै छ । मेरो विचारमा बहसलाई हिजो भएका हिंसात्मक युद्धहरू जरुरी थिए कि थिएनन् ? यही उपलब्धि हासिल गर्नको निम्ति त्यत्रो ठूलो विनासकारी हिंसा गर्न जरुरी थियो कि थिएन ? भन्ने विषयमा मात्रै सीमित गरिनु हुँदैन ।

विश्वको इतिहासले के देखाउँछ भने एउटा हिंसाको डर देखाएर अर्को हिंसालाई रोक्न सकिएको छैन । हिंसाका विभिन्न रूप र कारणहरू हुन्छन् । शान्ति र सम्मृद्धि रुचाउने मान्छेले हिंसालाई घृणा र निन्दा गर्न जानेर मात्रै हुँदैन । किनभने निन्दा र घृणा पनि हिंसाको एउटा कारण बन्नसक्छ । त्यसो भएको हुनाले विगतमा भएका आन्दोलन र क्रान्तिको निन्दा र भत्र्सना शान्ति र समृद्धिको निम्ति प्रथामिक काम होइन ।

इतिहासका विभिन्न कालखण्डमा मानवता नै डगमगाउँने खालका शोषण, दमन, अन्याय, अत्यचारका विरुद्ध युद्ध, क्रान्ति र प्रतिक्रान्तिहरू भएका छन् । तथ्याङ्कशास्त्रीहरू के अनुमान गर्छन् भने दोस्रो विश्वयुद्धमा मानवीय क्षति मात्रै पृथ्वीको कुल जनसङ्ख्याको तीन प्रतिशत थियो । त्यसको अतिरिक्त इजरायलका यहुदीहरूले भोगेको जस्तो, शारीरिक तथा मानसिक यातनाको त लेखाजोखै छैन ।

यी हिंसालाई विशुद्ध मानव भएर हेर्ने हो भने कुनै पनि अर्थमा आवश्यक र जरुरी लाग्दैनन् । फेरि हिंसा नै पहिलो र अन्तिम पनि थिएनन् । यसभन्दा अगाडि पनि हृदयविधारक धेरै मानवीय क्षतिका हिंसात्मक घटनाहरू भएका थिए । त्यसपछि पनि भइराखेका छन् । सत्य त के छ भने हिजोका ती दर्दनाक हिंसाका घटनाले भविष्यमा हुने दर्दनाक हिंसालाई रोक्न सकेनन् ?

हिजोको हिंसाको त्रास बाँडेर भविष्यमा हुने हिंसात्मक आन्दोलन र युद्ध रोक्न सकिन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सही नहुन सक्छ । हिंसा मानवीय संवेदनाकै उपज भएको हुनेले मानव रहुन्जेल यसको समूल अन्त्य सम्भवछैन । तर यसको न्यूनीकरण भने सम्भव छ ।
विगतमा भएका हिंसात्मक आन्दोलन र क्रान्तिलाई ठीक र बेठीक लगाएर मात्रै मुलुक शान्तिपूर्ण समृद्धिको दिशामा अघि नबड्ने रहेछ । त्यसैले भविष्यमा हुने सम्भावित हिंसालाई पनि बहसको विषय बनाइनुपर्छ । किनभने अहिलेको यो उपलब्धिले विगतमा भएका हिंसात्मक आन्दोलन र क्रान्तिहरू नै अन्तिम थिए भन्ने पुष्टि गर्दैन ।

भविष्यमा त्यस्ता हिंसात्मक आन्दोलन र क्रान्तिहरू नहोस् भन्ने चहाने हो भने हिजो भएका हिंसाका कारण र रूपहरूलाई चिन्न र बुझ्न सक्नुपर्छ । राजनीतिक गतिविधिलाई जनताको अधिकतम् हितको अधीनस्थ गर्न सक्नुपर्छ । त्यसो गर्न सकियो भने मात्रै भविष्यमा हुनसक्ने सम्भावित हिंसात्मक आन्दोलन र क्रान्तिलाई न्यूनीकरण गर्न सकिएला ।

मान्छेले संविधान र कानुन हेरेर आन्दोलन या क्रान्तिमा उत्रिने होइन । कतिपय सन्दर्भमा भइरहेका संवैधानिक र कानुनी व्यावस्था नै हिंसात्मक ओन्दोलनका कारण बनेका छन । उदाहरणको रूपमा २०४६ सालको जन आन्दोलन होस् या माओवादी जनयुद्ध हुनुको एउटा कारण हो । तात्कालीन कानुनी र संवैधानिक व्यवस्था नै आन्दोलन र हिंसात्मक क्रान्तिको कारण बनेको थियो ।

विश्वको इतिहास हेर्दा ब्रिटिस साम्राज्य विरुद्धको अमेरिकनहरूले गरेको मुक्तियुद्ध पनि ब्रिटिसहरूले अमेरिकी राज्यहरूमाथि बलजफ्ती लादेको विभेदपूर्ण नीतिनियम थिए । जस्तो– अधिक कर असुली, अन्य मुलुकसित हुने स्वतन्त्र व्यापारमा बन्देज जस्ता कडा कानुनी प्रावधान नै मुख्यकारण थिए ।

भविष्यमा हुनसक्ने हिंसात्मक आन्दोलनहरूलाई न्यूनीकरण गरेर मुलुक र राष्ट्रलाई सम्मृद्धितिर लिएर जाने हो भने इतिहासबाट पाठ सिक्न जरुरी छ । त्यसको निम्ति प्रथमिक काम भनेको हिजो भएका आन्दोलन र क्रन्तिहरूको धरातलीय यथार्थतामा आधारभूत परिवर्तन आएको छ कि छैन ? ती आन्दोलनले उठाएका आधारभूत मुद्दाहरू सम्बोधन भए कि भएनन् ? भन्ने विषयलाई केन्द्रमा राखेर बहस, छलफल गर्नुपर्छ । पूरा भएका छैनन् भने पुरा गर्ने अभियानमा जुट्नुपर्छ ।

कानुन र संविधानमा अमान्य, विभेदकारी र भेदभावपूर्ण प्रावधानहरू छन् भने त्यसलाई संशोधन गरेर भए पनि कमसेकम स्वीकार्य बनाउन आवश्यक हुन्छ । यो किन जरुरी छ, भने धरातलीय यथार्थतामा परिवर्तन आएको छैन । मागहरू सम्बोधन भएका छैनन् भने त्यही धरातल र तीनै मागको जगमा नयाँ आन्दोलन र क्रान्तिहरू जन्मिने सम्भावना रहन्छ । यस्ता विषयलाई नजरअन्दाज गरियो भने समृद्धिका सपनाहरू हुरीले उडाउँन सक्छन् । बेलैमा सम्बोधन गर्न सकिएन भने विभेदमा पारिएका मान्छेहरूको निम्ति हिंसा अनिवार्य बन्न सक्छ ।
वर्तमान पार्टी र कर्मचारीतन्त्रको प्रवृत्ति र चरित्र हेर्दा नेपालमा आधारभूतमा केही परिवर्तन भएको छ भन्ने लाग्दैन । लोकतान्त्रिक गणतन्त्रको स्थापनाको उद्देश्य राजाहरूलाई नागारजुन दरबारमा सार्ने र त्यसको ठाउँमा तीन पार्टीको डिक्टेटरसिप स्थापना गर्ने भन्ने पटक्कै थिएन ।

पार्टीहरूले आफ्नो प्रवृत्ति र चरित्र नबदल्ने, संवैधानिक निकायहरूलाई लोकतान्त्रिक विधि र प्रकृयाअनुसार चल्न नदिने, स्वतन्त्र न्यायपलिकामाथि ठाडो हस्तक्षेप गर्ने, भ्रष्टाचारलाई संस्थागत गर्ने, राज्यका सेवा र सुविधाहरूको खरिद बिक्री गर्ने, स्वस्थ्य, शिक्षा र सुरक्षा जस्तो जनताको जनजीविकाको आधारभूत विषयलाई व्यापारिक वस्तु बनाउनेजस्ता परिवर्तनले पुरानै मागहरूको जगमा नयाँ आन्दोलन र क्रान्ति हुने सम्भावना बढेर जान्छ ।

जनआन्दोलनलाई गोरुगाडामा स्वर्ग हिँडेको देख्ने मान्छे गणतन्त्र नेपालको नेतृत्व तहमा पुगेका छन् । आन्दोलनलाई दमन गर्ने मान्छे राजन्त्र चाहिन्छ भन्दै गणतन्त्र नेपालको गृहमन्त्री बनेका छन्, त्यो पनि जनयुद्धको कमान्डरको नेतृत्वमा । यसलाई विगतमा भएको आन्दोलनको मर्म र भावनाको सम्मान गरेको मान्नै सकिँदैन ।

उनीहरू त्यो आन्दोलनले परिकल्पना गरेको समृद्ध नेपालको नेतृत्व गर्ने योग्यता र क्षमता किन पनि राख्दैनन भने उनीहरूले त्यो आन्दोलनको मर्म र भावनालाई अपनत्व भावले हेरेकै थिएनन् ।

आज हाम्रो सामु खडाभएको प्रश्न के हो भने, शान्तिपूर्ण हिसाबले राजनीतिक क्षेत्रमा हुने फोहोरी खेलको व्यवस्थापनको काम सम्भव छ कि छैन ? वैकल्पिक शक्तिहरूको उदय त्यसै फेहोर व्यवस्थापनको कोसिस हो । तर, त्यो कोसिसमा कत्तिको खरो उत्रिन्छन् । सामाजिक सञ्जालमा मात्रै सीमित हुन्छन् कि साँच्चै कुच्चो लिएर फोहोर बडार्न गाउँगाउँ जान्छन् ? त्यो अभियन्ताहरूले पूरा गर्नुपर्ने पाटो हो ।

गणतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको अर्को पाटो छ । वैकल्पिक शक्तिहरूलाई लोकतान्त्रिक विधिबाट प्रतिस्पर्धामा आउन बन्देज गरेर । विचारहरूलाई बहसबाट आइसोलेट गर्न छलकपट गरेर । सम्भावित क्रान्ति न हिजो रोकियो न भोलि रोकिन्छ । क्रान्ति शान्तिपूर्ण हुँने कि हिंसात्मक हुने भन्ने कुरा सत्तापक्ष र प्रतिपक्षको व्यवहारले निर्धारण गर्दछ ।

वर्तमान सत्तापक्ष र प्रतिपक्षले विगतको आन्दोलनको भावना र मर्म अनुसार सङ्घीय गणतन्त्र नेपालको नेतृत्व गर्ने हो भने उनीहरूले आफूलाई बदल्न सक्नुर्छ । रुपान्तरण गर्न सक्नुपर्छ, न कि आफू अनुकुल सङ्घीय गणतन्त्र नेपाललाई ।

त्यसको अतिरिक्त समाजमा अर्को पक्ष पनि हुन्छ– समाजका थिङ्क ट््याङ्कहरू । समाजमा भएका विभिन्न खाले हिंसाहरू, चाहे ती राज्यपक्षबाट भएका हुन या अन्य पक्षबाट, त्यसलाई निस्पक्ष र न्यायिक ढङ्गबाट उठाउने काम थिङ्कट््याङ्कले गर्नुपर्छ ।

‘पाबेल, पलाई यस्ता पुस्तकहरू देऊ, जुन पुस्तकहरू पढेर मान्छेले शान्तिको सास फेर्न नसकोस् । मान्छेको दिमागमा दुम्सी हालिदिनु पर्छ, जसले दिनरात उसको दिमाग घोचिरहोस् ।’ विश्वका मजदुरहरूका बीचमा अति पृय र धेरै बिक्री भएको एउटा पुस्तक हो ‘आमा’ । जसमा माक्सिम गोर्कीले रिजिन भन्ने एकजना कृषि मजदुरमार्फत भनाएको प्रशङ्ग हो यो ।

गोर्कीले आमा उपन्यास लेखेको काल, परिस्तिथि र आज हामी उभिएको समाजमा पटक्कै तादाम्यता छैन । त्यसबेलाको समाजको चरित्र र आज हामी बाँचेको समाज बिलकुलै भिन्न छ ।

हामी भन्छौं, हामी लोकतान्त्रिक समाजमा बाँचिरेका छौं । यदि त्यसो हो भने थिङ्कट््याङ्कहरूले सत्ताको दलाली गरेर मान्छेको दिमागमा दुम्सी हालिदिने काम बन्दगर्नुपर्छ । समाजमा भएका हिंसात्मक गतिविधि चाहे ती पारिवारिक हुन्, सामाजिक हुन् या राजनीतिक हुन निस्पक्ष आँखा र न्यायिक दृष्टिकोणले उठाउँनुपर्छ । त्यसले हिंसात्मक रूप लिनु अगावै, सत्तापक्ष र प्रतिपक्षलाई दबाब दिनुपर्छ ।
अब समाजमा आर्थिक क्रान्ति गर्नुपर्छ । विगतमा गरिएका क्रान्ति र आन्दोलनका मागहरू पूरा भएका छैनन् । ती मागरूलाई सम्बोधन गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य गरिनुपर्छ । पुनर्निर्माणको काम सम्पन्न गरिनुपर्छ । मुलुकले फेरि आन्दोलन र क्रान्ति थेग्न सक्दैन । अब निर्माण, विकास र सामाजिक न्यायको क्रान्ति गर्नुपर्छ भन्ने पक्षमा एड्भोकेट गर्नुपर्छ ।

भेदभाव, पक्षपात, उपहास, उपेक्षा, घृणा, शोषण, निन्दा, दमन सिंहाको निम्ति सबैभन्दा ज्वलनशील कारण हो । त्यसोभएको हुनाले जो शान्ति चहान्छ उसले अरूमान्छेको सामाजिक न्यायको निम्ति पनि आवाज उठाउँन सक्नुपर्छ । चाहे त्यो विरोधी पार्टीको मान्छे होस् या विपरीत लिङ्ग या नश्लको ।

अबको हाम्रो सामाजिक र राजनीतिक बहसको मुद्दा विगतका आन्दोलनहरू आवश्यक थिए वा थिएनन् । जायज थिए कि नाजायज थिए । भन्ने निरपेक्ष बहसमा मात्रै केन्द्रित गरेर हुन्न । ती आन्दोलन र क्रान्तिहरू किन भए ? त्यसका आधारभूत कारणहरू र कारकहरू के–के थिए ? र, बृहत्तर शान्ति सम्झौतापछि ती मुद्दाहरूको सम्बोधन भयो कि भएन ? भनेर सापेक्षिक बहसको पनि खाँचो छ ।

हामी यतिबेला राष्ट्र निर्माणको ऐतिहासिक कठघरामा उभिएका छौं । हाम्रो सामु आर्थिक क्रान्ति गर्ने ऐतिहासिक जिम्बेवारी छ । हिंसाले भरिएको धमिलो मानीमा माछा मार्ने स्वार्थी समूहहरू धेरै हुन्छन् । त्यसलाई चिन्ने र चिनाउने काम पनि थिङ्कट््याङ्कले गर्नुपर्छ । किनभने हिजो भएको हिंसाको निन्दा गरेर भविश्यमा हुने हिंसा रोक्न सम्भव छैन ।
[email protected]

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल