स्थानीय निर्वाचनमा महिलाको सवाल

स्थानीय निर्वाचनमा महिलाको सवाल

रुपा शर्मा नेहा

बैशाख ३१ गते हुने भनिएको निर्वाचन दुईचरणमा हुने भनिएपछि मतदाताहरुमा उत्साह थोरै घटेपनि यसको रौनकतमा खासै कमी भने आएको छैन । झण्डै २० वर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनको आफैमा ऐतिहासिक महत्व छ । संविधानमा उल्लेखित राज्यका संरचनामा विभिन्न समुदाय र लिङ्गको समावेशिताको हिसावले यो निर्वाचनलाई ऐतिहासिक मान्न सकिन्छ ।

संविधानमा उल्लेखित स्थानिय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता र स्थानिय तहको निर्वाचनसम्वन्धि ऐन २०७३ले गाँउ सभा तथा नगर सभामा अध्यक्ष र उपाध्यक्ष मध्य एक उमेदवार महिला, नगरकार्यपालिका प्रमुख र उपप्रमुख उमेदवारमध्य एक महिला हुनुपर्ने व्यवस्थाले स्थानिय तहको निर्वाचनमा हरेक तह र तप्काको उपस्थिति हुने देखिन्छ ।

कानुनी व्यवस्था अनुसार देशभरका ४७९ गाउँपालिका, २४८ नगरपालिका, १३ उपमहानगरपालिका र ४ महानगरपालिका गरी कूल ७४४ वटा स्थानीय तहहरुमा प्रमुख वा उपप्रमुखमध्ये एक जना अनिवार्य रुपमा महिला उम्मेद्वार बनाउनुपर्ने देखिन्छ ।

यस्तै, कूल ६,६८० वडाबाट १३,३६० महिला निर्वाचित हुनेछन् । नगर र गाउँपालिकाको प्रमुख र उप प्रमुखमा पनि महिला निर्वा्चित बनेर आएमा निर्णायक थलोमा महिलाको संख्या अझ बढ्ने सम्भावना पनि रहेको छ ।

यति हुँदाहुँदै पनि राजनैतिक दलहरुको आन्तरीक रणनितिलाई गहिरिएर हेर्नेहो भने महिला उम्मेदवार प्रमुख पदमा आउन सक्ने संभावना न्यून जस्तै देखिन्छ ।

अहिलेसम्म देशैभरिको चुनावी गतिविधी हेर्दा नगर र गाउँपालिकाको उपप्रमुखमा महिला उम्मेदवार बढी देखिन्छन् । जबकि, उपमेयर वा उपाध्यक्ष पद पनि सुरक्षित देखिँदैन । काठमाडौं लगायत देशका केही जिल्लामा उम्मेदवारको अवस्था हेर्दा यस्तै देखिन्छ । काठमाडौं महानगरपालिकामा नेतृत्वको लागि होडबाजी नै चलिरहेको देखिन्छ । प्रमुख राजनीतिक दलहरु उम्मेदवार तय गर्ने होडमा जुटिरहँदा प्रमुख पदहरुमा महिलाको चर्चा भने कमै हुने गरेको छ ।

काठमाडौंमा १ महानगरपालिका,१० नगरपालिका र १४१ वडा रहेका छन् । निर्वाचनपछि कुल १४१ वडा मध्ये काठमाडौं महानगरपालिकाका ३२ वडाबाट ६४ र बाँकी १०९ वडाबाट २१८ महिला सदस्य निर्वाचित हुनेछन् ।

यति धेरै संख्यामा स्थानीय तह हुँदा समेत ठूला दलहरुले महिलालाई प्रमुखमा उम्मेदवार बनाउन प्राथमिकता दिएका छैनन् । नेपालको वर्तमान परिवेशलाई हेर्नेहो भने सरकारका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा महिला नेतृत्व छ ।
स्थानिय तहमा महिलालाई मतदाताका रुपमा सीमित राखिनुहुन्न चुनाव लड्ने उम्मेदवार, विभिन्न समितिका प्रमुख अनि सर्वोपरी हितका लागि नीति कार्यान्वयन गर्ने मन्त्रीका रुपमा समेत उनिहरु अगाडि आउन जरुरी छ ।

महिलाहरु शक्तिका पदमा रहेपछि आम किशोरीहरुमा समेत नेतृत्व गर्न सक्ने आत्मविश्वास बढ्ने देखिन्छ । अहिले नेपालको प्रमुख पदहरुमा महिलाको नेतृत्व भएपछि गाँउगाँउका महिलाहरुमा मैले पनि गाँउ समाज र राष्ट्रको नेतृत्व लिन सक्छु भन्ने वलियो आत्मविश्वास पलाएको देखिन्छ । गाँउका प्रत्येक टोलटोलबाट महिलाहरु एकत्रित भएर आफ्नो उम्मेदवारीको लागि आवाज उठाउन थालेका छन् । उनीहरुभित्रको आत्मविश्वास बलियो देखिन्छ तसर्थ यतिवेला हामिले महिलालाई नेतृत्व दिने सवलामा हातेमालो गर्नुजरुरी छ ।

दिगो विकासलक्ष्यले लैगिंक विषयलाई लगभग पुरै समेटेको छ । जसमा राजनैतिक आर्थिक,र सार्वजनिक जीवनमा महिला समावेशिकरण पनि पर्छ । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा नेपालले प्रमुखपदमा महिलाहरुको नेतृत्वलाई स्विकार गरेको अवस्थाले विश्वलाईनै गतिलो सन्देश समेत दिएको छ ।

पछिल्ला निर्वाचन र प्रमुखपदमा महिलाको नियुक्ति मार्फत नेपालले दिगो विकास लक्ष्यप्रतिको प्रतिवद्धताका साथै आफ्ना सामाजिक र राजनैतिक परिवर्तनले नेपाल परम्परागत लैगिंक सोचलाई बदल्न सक्ने हैसियत भएको मुलुकको रुपमा चित्रण गर्न पनि सफल भएको छ ।

विश्वभरीकै उदाहरण हेर्नेहो भने पनि महिलाले नेतृत्व गरेका देशहरुमा भष्ट्राचार घटेका प्रसस्त उदाहरण छन् भने महिलाले घरको कुशल व्यवस्थापन गरेका कारण पुरुषहरु स्वस्फुर्त रुपमा घरबाहिरको काममा अग्रसर हुन पाएका छन् ।

हिजोका दिनमा भएका आन्दोलनहरुको ईतिहासलाई केलाउने हो भने पनि महिलाको उल्लेख्य योगदानकै कारण आज धेरै राजनैतिक दलहरु अस्तित्वमा रहेको र राष्ट्रलाई हाक्ने मौका पाएको कुरा सर्वविदितै छ । स्थानिय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उमेदवारी दिलाउन र जिताउनको लागि प्रत्येक पुरुषले खुलेर महिलाको पक्षमा वकालत गर्न सकेको खण्डमा अन्तत यसले प्रत्येक घर, गाँउ, समाज, र राष्ट्रलाई नै समृद्ध बनाउनेछ ।

तसर्थ आउनुहोस् तपाई हामि सवै महिला सहभागिताको आवश्यकता र औचित्य पहिचान गर्ने वातावरण निर्माण गर्दै स्थानिय निकायको निर्वाचनमा महिलालाई जिताउने अभियानमा जुटौ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल