किन चाउरिस् काङ्ग्रेस, आफ्नै पिरले

किन चाउरिस् काङ्ग्रेस, आफ्नै पिरले

डा. बद्रीविशाल पोखरेल

अहिले नेपाली काङ्ग्रेस काङ्ग्रेस जस्तो छैन र पार्टीजस्तो लाग्दैन । एकजना पार्टी सभापतिको मनोमानीमा यो पार्टी चलेको देखिन्छ । मनौँ यस पार्टीमा एक जहान र परिवारको हालहुकुम मात्र चल्छ र तिनको मात्र एकलौटी शासन छ ।

नेतामुखी पार्टीमा पनि कम्तीमा सीमित नेताकाबीच छलफल हुनुपर्ने हो । जुँगा चले कुरा बुझेझैँ गर्नुपर्ने नेका नेताहरुले मन नपरे पनि लुरुलुरु लतारिनुपर्ने स्थिति देखिन्छ । जननायक बीपी कोइरालाले तमाम पार्टी सदस्यहरुलाई राष्ट्रमा गम्भीर समस्या उत्पन्न भएका बेला देशको माटो हातमा लिएर सोच्न आग्रह गरेका थिए । अहिले यसरी नै सोच्नैपर्ने अवस्था काङ्ग्रेस नेता र कार्यकर्ताको देखिन्छ तर एकाध युवा नेता यस मामलामा सक्रिय हुन खोज्छन् तर जोडबल नपुगेर ती चाउरिएका देखिन्छन् ।

अब त काङ्ग्रेस पार्टीको ऐतिहासिक तथा गौरवशाली महान् भूमिका नै नरहने अवस्था उत्पन्न हुन खोजेको देखिन्छ । अहिले च्याउसरि खुलेका केही दललाई सैद्धान्तिक, साङ्गठनिक र कार्यक्रमिक आधार नपाएर हैरान देखिन्छन् । जराविहीन तथा टुप्पाबाट पलाएका डा. बाबुराम भट्टराईका पार्टीले पुरानो सय वर्ष लडा, पडा र खडा पार्टी साख पाए कत्ति खुसी हुन्थे होलान् । ती नयाँ पार्टी भन्छन्, तर फाटे र टालेको कुरा गरेर जनता झुक्याउन उद्यत देखिन्छन् । गगन थापाले काङ्ग्रेस र काङ्ग्रेसीमा फरक देखाउन खोज्दै बच्न खोजे पनि इतिहासमा धेरै पटक केही काङ्ग्रेसी नेताबाट पार्टीको शिर निहुरिएको छ । यो अलग्गै चर्चा गर्नुपर्ने विषय हुन्छ । त्यसैले अहिले बिग्रने मतिमा लागेका पार्टी सभापतिका कारण तमाम नेका नेता र कार्यकर्ता तथा तिनका समर्थकहरु निरास र हतास देखिन्छन् । तिनको ओठमुख सुकेको छ । बातैपिच्छे स्थानीय जनताले राखेका सङ्गीन प्रश्नको उत्तर तिनले दिन सकेका छैनन् ।

जनताले राखेका सवालको जवाफ नै अहिले तिनमा छैन । आम पार्टी पङिक्त आफ्नै पार्टी सभापतिका गलत क्रियाकलापका पिरले चाउरिएको देखिन्छ । पार्टी सभापतिले तमाम कार्यकर्तालाई शिर नुहुराएर हिँड्नुपर्ने अवस्थामा पुर्याएका छन् । यसले नेका पार्टीमा भित्रभित्रै भुसको आगो सल्किन थालेको छ । एमाले पार्टीमा यस्तो हुँदो हो त त्यहाँ नेतृत्वलाई जबर्जस्ती रुपमा सच्याउने र सुधार्ने अवस्था अपरिहार्य हुन्थ्यो तर काङ्ग्रेस चुपचाप छ, मौन छ मुक छ र निरीह देखिन्छ । यस्तो सङ्कट नेका पार्टीमा कहिल्यै नआएको कार्यकर्ता बताउँछन् । तर यस्तो सङ्कट मोचनमा लाग्नु नै पार्टी, प्रजातन्त्र, गणतन्त्र र समाजवादको जगेर्ना गर्नु हो । प्रायः अभर परेका बेला नै मानिसको असली चिनारी हुन्छ । खाटी काङ्ग्रेस भएर काङ्ग्रेस पार्टी जोगाउन आश, त्रास परित्याग गरेर तमाम नेता र कार्यकर्ता लाग्नुपर्ने अवस्था देखिन्छ । नत्र यो देशमा देशै नरहनेसम्मको कृत्य हुन बेर छैन ।

जब देशमा प्रमुख दलहरुको सहमतिमा नेपालको संविधान २०७२ संविधान सभाबाट पारित गरेलगत्तै नेपाली काङ्ग्रेसले आफैँ सहमति तोड्यो । आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको नेतृत्वमा संविधान निर्माण र पारित भएको फुइँ गर्ने नेका भर्खर जन्मिएको सालनालसहितको शिशु संविधान बीच बाटामै अलपत्र पारेर पेटीमा रमित हेरेर बस्यो । यस खालको नेकाको कृत्यबाट त्यस बेला पार्टीका अधिकांश पहिलो र दोस्रो पुस्ताका नेताहरुले चित्त दुखाए । चित्त दुखाउनु पनि एक दम स्वाभाविक थियो । किनकि उनीहरु पनि भारतेली शासकले संविधान बन्नै नदिने, बने त्यसलाई जारी गर्ने नदिने र जारी भए त्यसलाई कार्यान्वय नै गर्न कसम खाए जसरी लागेको तिनले राम्ररी बुझेका थिए । नेकाले राष्ट्रपति लिएर केही समय राष्ट्रिय सहमतिबा साथ मुलुकको राजनीति परिचालित भए नेपालको सङ्क्रमण काल समाप्त हुन्थ्यो ।

मुलुकमा व्याप्त अस्थिरता, अन्यौल र अराजकता हट्थ्यो भन्ने कुरा तिनले राम्ररी बुझेका थिए । तर नेकाको नेतृत्व एकपछि अर्को गर्दै मुलुकमा परोक्ष रुपबाट अस्थिर, अन्यौल र चरम अराजकता निम्त्याउन लागि परिरहेको अहिले स्पष्ट हुन आएको छ । यसको प्रमुख नेतृत्व नेकाका सभापति शेरबहादुर देउवा रहेको उनको विगत र हालको चरित्र र चिन्तनबाट स्पष्ट भइसकेको छ । देउवाले विगत समयमा प्रिय पत्नीसहित भारत भ्रमण गर्दा मित्र राष्ट्र चीनलाई चिढ्याउने खालको गतिविधि गरेको यथार्थ सामु छ । त्यसयता देउवा नेपाली काङ्ग्रेस समाप्त गर्ने दाउमा रहेको धेरै कुराले प्रमाणित गरिरहेका छन् । स्थानीय तहको आसन्न निर्वाचनको मुखमा सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश सुशीला कार्कीमाथि खास आधार प्रमाण र विधिविधान विपरीत महाभियोग लगाउनु, महाभियोग प्रकरणमा कीर्ते हस्ताक्षर गर्नु र गराउनु, प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा निर्लज्जता प्रदर्शन गर्नु, अझ त्यस विषयमा प्र्रहरी महानिरीक्षकको मूल्याङ्कनमा कीर्ते र जाली प्रमाण पत्र पेस गर्नु जस्ता दुनियाँ हँसाउने काम गरेर आम नेपाली काङ्ग्रेसजनमा भएको इमान, जमान तथा इज्जत धुलोमा मिलाउन देउवा लागि परेको स्पष्ट हुन्छ ।

नेका समर्थक तथा स्वतन्त्र बुद्धिजीवी, स्रष्टा र लेखकहरु देउवाका यस खालका घिनौना कृत्यको सार्वजनिक आलोचना पनि गरिरहेकै छन् । तर केही नेका निकटका मानिस भने गलत काम र कृत्यको प्रशंसा पनि गरिरहेका छन् । देउवा र पुष्पकमल दाहाल मुलुकलाई रसालतमा पुर्याउन आतुर देखिन्छन् । सरक्क हेर्दा बाहिर देउवा र प्रचण्ड उपर्युक्त खालका कुकृत्यमा अगाडि देखिए पनि यसको अन्तर्य भातीय शासकसित जोडिएको स्पष्ट हुन्छ । २०७३ साल फागुन २७ गतेको कान्तिपुरमा वरिष्ठ पत्रकार सुधीर शर्माले नेपालबाट बिदाइ हुन लागेका नेपालस्थित भारतीय राजदूत रञ्जित रायले अबको दश वर्षपछि नेपाल कस्तो होला भनी बारबार राखेको नकारात्मक अन्तर्य निहित प्रश्न आधारित महत्वपूर्ण लेख लेखेका छन् । राजदूत रायले नेपालको भलो सोचेर उक्त कुरा भनेका रहेनछन् । रायको आशय नेपाल हरेक दस वर्षमा परिवर्तनको मोडमा रहेको हुँदा अब दस वर्षमा नेपाल कतिसम्म गरिब, अन्यौल, अराजक तथा अस्थिर होला भन्ने उत्तर निहित प्रश्न सोधेको सुधीर शर्माले लेखमा बताएका छन् । त्यही लेखमा राजदूत रायले शर्मालाई नेपालले बुद्धि पुर्याएन भने अबको दस वर्षमा नेपालको हालत अहिलेको भन्दा बिग्रनेछ र ठूलो द्वन्द्वमा पर्नेछ भन्ने कडा जवाफ दिएको विषय पनि सुधीर शर्माले आफ्नो लेखमा स्पष्ट उल्लेख गरेका छन् । यस कुराको चुरो भारतीय शासकले भने अनुसार नेपाल चल्दा ठिकै छ, नत्र नेपालको भलो हुँदैन भन्नु यसको तात्पर्य हो । भारतीय शासक नेपाल जतिसक्दो छिटो असफल राष्ट्र भएको हेर्न व्यग्र देखिन्छ ।

परराष्ट्रविज्ञ र विषयविज्ञहरु भारतले नेपालको भलो ठानेर कहिल्यै काम नगरेको बताउँछन् । त्यसैले भारत नेपालको राजनीति सधैँ अस्थिर रहेको मात्र हेर्न चाहन्छ । यसका लागि साम, दाम, दण्ड र भेद नीति जारी राखिरहन्छ । नेपाललाई चरम रुपमा विखण्डित पार्न नेपालभित्रको आन्तरिक अवस्थामा अस्वस्थ्य चलखेल गर्नुपर्छ । प्रमुख पार्टीहरुलाई आन्तरिक चरम विग्रह र कलहमा परिणत गर्नुपर्छ । अनि प्रमुख पार्टीहरुका बीच शङ्का, अविश्वास, अन्तर्विरोध र द्वन्द्व सिर्जना गर्नुपर्छ । अनि यी प्रमुख पार्टी नै फुटको अवस्थामा पुगेपछि त्यहीँभित्र पसेर अरु खेल खेल्न सकिन्छ भन्ने ध्याउन्न भारतको रहेको छ ।

यति भएपछि आफ्नू अनुकूल स्थिति सिर्जना गर्न सहज हुने आँकलन भारतीय शासकको रहेको धेरै तथ्यहरुले देखाउँछन् । यसका लागि ब्रिटिस औपनिवेशी संस्कार हुबहु आत्मसात् गरेको भारतीय पक्षले विगत लामो कालखण्डदेखि हालसम्म पनि नेपालमा फुटाउ र शासन गरको नीति कायम राखिरहेको छ । त्यसैले हाल नेपालमा भइरहेका राजनीतिक, न्यायिक, संविधान र निर्वाचनलगायत हरेक राष्ट्रिय विषयहरुमा भारतले यहाँका कठपुतलीहरु मार्फत् हात हालिरहेको स्पष्ट हुन्छ ।

नेका सभापति देउवालाई पार्टी, प्रजातन्त्र, गणतन्त्र, देश, जनता र जनजीविकाको कुनै पनि चिन्ता र चासो देखिन्न । उनी भारतीय शासकको गोटी जस्तो भएर परिचालित भएका देखिन्छन् । अब आगामी दिनमा प्रधानमन्त्रीको पालोको लाइनमा रहेका देउवाले यो मुलुकलाई अझ सङ्कटको भुमरीमा पार्ने अवस्था टड्कारो देखिन्छ । अर्थात् नेपालस्थित भारतीयपूर्व राजदूतले अबको दस वर्षपछि नेपालको जुन दुर्गतिको परिकल्पना गरेका थिए । ठीक त्यही दुर्गतिको निमित्त नायक देउवा बन्नसक्ने देखिन्छ । अनि यो ऐनमौकामा पार्टीभित्र सकारात्मक तथा सशक्त दबाब दिन नसक्ने हो भने काङ्ग्रेसका तमाम देश र जनताप्रति इमानी नेता र कार्यकर्ताले रोएर पनि केही हुनेवाला छैन । अहिले त आफ्नै कारणले चाउरिएको काङ्ग्रेसको भोलि त्यही अनुहार पनि समाप्त हुन बेर छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल