नैतिकवान जनप्रतिनिधिको छनोट

नैतिकवान जनप्रतिनिधिको छनोट

–डिला रेग्मी

निश्चित अवधि र उद्देश्यका लागि जनताले आफ्ना हक अधिकार प्रयोग गर्न र गराउन छनोट गरेका व्यक्तिले जनतासामु आफूलाई शासक ठान्छन् र उनै दास मानसिकता बोकेर शीर्ष नेताको गुलामी गर्छन् ।

परिणाम पार्टीका शीर्ष नेताले समातेको गलत बाटोलाई अन्धसमर्थ गर्न बाध्य हुन्छन् जसको ज्वालान्त उदारण सत्ताधारी नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधीशमाथि लगाएको महाअभियोग प्रस्तावको पार्टीभित्र बहस र विरोध गर्न नसक्नु हो । रामचन्द्र पौडेल र नारायणकाजी श्रेष्ठले आफू महाअभियोग प्रस्तावको पक्षमा नरहेको बताए पनि अन्य तल्लो तहका नेताले चित्तबुझेर वा नबुझेर समर्थन गरिरहेका छन् । जबसम्म जनप्रतिनिधिको सेवक मानसिकता हँुदैन, उनीहरु शासक र दास मनसिकताबाट ग्रसित हुन्छन्, त्यतिबेलासम्म जनता आतङ्कित भइरहन्छन् । राज्यले निकास पाउँदैन । आसन्न स्थानीय चुनाव सेवक मानसिकता भएका सक्षम इमानदार र नैतिकवान जनप्रतिनिधि छनोट गर्ने जनतालाई सुनौलो अवसर हो ।

संविधानमा उल्लेख गरिएका राज्यका तीन तहमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने अथवा जनताको सबैभन्दा नजिकको निकाय स्थानीय तह हो । यो राज्य समृद्ध र शक्तिशाली बनाउने प्रमुख आधार पनि हो । जबसम्म स्थानीय तह बलियो र मजबुद बन्दैन तबसम्म राज्य बलियो हुन सक्दैन । पुरानो संविधानले पनि स्थानीय तहको अधिकार बोलेको थियो । तर नयाँ संविधानले त्योभन्दा कैयौँ गुणा बढी अधिकार दिएको छ । कतिपय राजनीतिक शक्तिहरु आफ्नो अभीष्ट पूरा गर्न संविधानले दिएको स्थानीय तहका अधिकारमा संशोधनको कैँची लगाउने प्रयास गरिरहेका छन् । तिनीहरुलाई खबरदारी गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरामा दबाब दिनुपर्ने आवाश्यकता छ ।

०५९ सालदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ । तत्कालीन गाविसले प्रवाह गर्ने सीमित सेवा सुविधा प्रप्त गर्न जनताले दुर्गम गाउँबाट दुई तीन दिनको यात्रातय गरेर महँगो खर्चमा सदरमुकाम धाउनुपर्ने बाध्याता छ । सदरमुकामका गेस्टहाउसको कोठामा गाविस कार्यालय स्थापना गरी कर्मचारीले गुजारा सेवा प्रदान गरिरहेका छन् भने राज्यमा हालीमुहाली गर्ने ठूला राजनीतिक दलहरु सत्ता टिकाउने र ढाल्ने जोड घटाउको खेलमा व्यस्त छन् । देशको नागरिकले उपचार नपाएर तड्पी तड्पी मरिरहेको बेला उनीहरुलाई टाउको दुख्दा राज्यको ढुकुटीबाट करोडौँ बोकेर जहाज चढी विदेश पुग्छन् । अनि चुनावको बेला उनीहरुले जनता झुक्याउन आफ्ना घोषणापत्रमा लोकप्रिय कुरा देखाउँछन् । यो सत्ताधारी ठूला भनौदा दलहरुको परम्परागत नियत हो । विगतका चुनावमा पनि उनीहरु आफ्ना घोषणा पत्रमा यस्तै देखाएर जनता झुक्याउँदै जनताको अमूल्य मत कब्जा गरेका थिए । उनीहरुले विगतका घोषणापत्र र प्रतिबद्धता पत्रमा लेखेबमोजिम के–कति काम चुस्त दुरुस्त सम्पन्न गरे त जनताले नजर अन्दाज मात्र होइन गम्भीर प्रश्न गर्नेबेला आएको छ ।

आज देशको अवस्था अत्यन्त नाजुक बन्दै गइरहेको छ । जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्रप्त गरेका उपलब्धि गुम्ने खतरामा छन् । देशलाई समृद्ध बनाउँछौ भनेर जनता झुक्याउँदै जनमत बटुलेर ठूला बनेका काङ्ग्रेस एमाले र माओवादी लगायतले देशलाई अनिर्णयको बन्दी बनाउँदैछन् । यिनीहरुलाई लाज सरम लाग्दैन देशका उद्योग कलकरखाना बन्द गरेर आफ्नो अभीष्ट पूर्ति गर्नेहरुले घर घरमै रोजगार दिन्छौँ भन्छन् । ५० हजारभन्दा बढी नेपाली युवा अरबको तातो बालुवामा काम गरिरहेका छन् । हजारौँको सङ्ख्यामा देशका ऊर्जाशील युवा शक्ति दैनिक विदेश पलायन भइरहेका छन् । यति मात्र होइन दैनिक २, ३ वटा गुलावी बाकसभित्र नेपाली युवाको शव आइरहन्छन् । यो दर्दनाक अवस्थाको सिर्जना गर्ने को हो ? यिनै काङ्ग्रेस, एमाले, माओवादीलगायत ठूला दलहरु होइनन् र ?

जुन देशमा शान्ति र सुशासन हुन्छ, त्यो देश मात्र समृद्धिको दिशामा अघि बढ्न सक्छ । हाम्रो देशमा शान्ति र सुशासन हुन नदिनका लागि भारतीय विस्तारवाद र विभिन्न शक्तिकेन्द्रले ठूलो परिणाममा खर्च गरिरहेको तथ्य सार्वाजनिक भइरहेका छन् । जसको गोटी बनेर नेपालका ठूला राजनीतिक पार्टीहरुले काम गरिरहेका छन् । दास मानसिकताका रोगीहरुले संविधानमा सङ्घीयताको नाममा देश विखण्डनको बिजरोपण गरेका छन् । जसको कारण संवैधानिक रुपबाटै नेपाल टुक्र्याउने षड्यन्त्र भइरहेको छ । देशको अहित चाहने तत्वहरु सक्रिय रुपमा लागिपरेका छन् । मधेसी जनताको नाममा संविधान संशोधनको बखेडा झिकिँदै छ ।

लाखौँ लाख भारतीयहरुलाई नेपाली नागरिकता प्रदान गरिएको छ । वास्ताविक मधेसी नेपाली जनतालाई अल्पमतमा पारिनेकाम गरिँदै छ । मधेसी जनता भूमाफिया सामन्त र दलालहरुको अन्याय अत्याचारबाट मुक्त हुन सकिरहेका छैनन् मधेसवादी दलहरु उनीहरुको मुक्तिको आवाजभन्दा अङ्गीकृत नगरिकका बारेमा चर्काे आवज निकालिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने यी राजनीतिक दलबाट देशर जनताको मुक्ति सम्भव छैन । त्यसैले यस्ता गलत क्रियकलाप गर्ने जनघाती राष्ट्रघाती र बिखण्डनकारीलाई यो चुनावबाट नाङ्गेझार पार्ने सचेत नेपालीको कर्तव्य हुने छ ।

बहुदलीय प्रतिस्र्धामा थुप्रै राजनीतिक दलहरुले आआफ्ना उम्मेदवार चुनावी मैदानमा उतार्ने गर्छन् । चुनावमा उठ्नुपूर्व उनीहरुका आआफ्ना पार्टीका प्रतिनिधि हुने छन् । चुनाव जितेपछि फेरि उनीहरु कुनै पार्टी विशेषको मात्र नभई सिङ्गो गाउँपालिका वा नगरपालिकाको प्रमुख हुनेछन् । हरेक पार्टीमा कोही न कोही राम्रा मान्छे हुने गर्छन् । जनताको चाहाना र अपेक्षा क्षमतावन नैतिकवान र जनताप्रति इमानदार उम्मेदवार छनोट गर्नु हो । त्यसैले हरेक पार्टीले आफूभित्रका सक्षम इमानदार र नैतिकवान व्यक्तिलाई उमेद्वार छनोट गर्नुपर्ने हुन्थ्यो । हामी त्योदेखि रहेका छैनौँ । जसले चुनाव र पार्टीलाई धेरै पैसा खर्च गर्छ, जोसँग आउरे बाउरेहरु छन्, त्यस्ता अराजक मान्छेले टिकट पाइरहेको अवस्था छ ।

उनीहरु सोझा गरिब जनतालाई फकाएर मत लिन चाहान्छन् । जनताले कुरो बुझेर नफकिए धम्क्याएर आफ्नो बनाउन चाहन्छन् र धम्क्याउँदा पनि नडराए पैसाले मत किन्ने प्रयत्न गर्ने छन् के यसरी जितेका मान्छेले देस र जनताको हितमा काम गर्लान् ? कदापि गर्ने छैनन् । पहिला उनीहरुलाई ब्याज कोसेलीसहित आफ्नो लगानी उठाउने हतार हुनेछ । सुन्ने गर्छाैं चोकचोक गल्लीगल्लीमा मान्छेहरुले नेतालाई सत्तोसरापको गाली गरिरहेका छन् । हामी पनि होस्टेमा हैँसे गर्दै देश बिगर्ने पूरै दोष नेतालाई थुपार्छाै । हामीलाई के कुरा हेक्का हुनुपर्छ भने कसैलाई नेता बनाउने जनताले हो ।

जनताले उसका गलत कृयाकलापको विरोध गर्दै गलत नेतालाई सामाजिक बहिष्कार गर्ने हिम्मत निकाल्ने हो भने हाम्रा नेताले गलत काम गर्ने हिम्मत गर्ने थिएनन् । चुनावका बेला उनीहरुलाई भोट हालेर विजय बनाउने अनि कौसीमा बसेर उनैलाई धारे हात लगाउनुको कुनै तुक हुँदैन । त्यसैले समयमै बुझेर जो देश र जनताको निम्ति इमानदार छ जोसँग राजनीतिक दूरदर्शिता छ । जो आम गरिखाने वर्गको हकहितमा आवाज उठाउँछ, जसले देशको अखण्डताको पक्षमा बोल्छ, जसले देशलाई सुमृद्धिको मार्ग देखाउँछ, त्यस्ता व्यक्तिलाई मतदान गरेर विजय बनाऔँ । अवश्य देशको अवस्था सुध्रनेछ । जनताको सुखका दिन फिर्ने छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल