किशोर नेपाललाई मेरो प्रश्न

किशोर नेपाललाई मेरो प्रश्न

डा. बद्रीविशाल पोखरेल

रातोपाटी अनलाइनमा प्रकाशित आफ्नो एक अन्तर्वार्तामा प्रसिद्ध पत्रकार तथा लेखक किशोर नेपालले कतिपय कुरुप विचार व्यक्त गरेका छन् । नरेश ज्ञवालीद्वारा लिइएको अन्तर्वार्तामा नेपालले समसामयिक राजनीतिक सवालका विषयहरु उठाएका छन् तर नेपालले नेकपा एमाले र अझ ओली विरोधी अस्वस्थ र अराजनीतिक कटु आक्षेपमा समय धेरै खर्चेको पाइन्छ । किशोर नेपालले एमाले र ओलीलाई महेन्द्रीय राष्ट्रवादी भनेर कटाक्ष गरेका छन् । यही कुरा पनि एकपल्ट भनेर चित्त नबुझेपछि यसको रटान पटकपटक गरेका छन् । ओलीले महेन्द्र शाहले झैँ पहाडीको कब्जामा मधेसी राख्न खोजेको अनर्गल आरोप लगाएका छन् ।

नेपालले २०१०, ०११ सालतिर विशेषतः मधेसी किसानको हक हितका लागि गरेको त्यही आन्दोलनमा किसानलाई रे होइन ‘जी कहो’ अभियान सुरु र सफल गरेको हेक्का भएनछ । एमालेका दुई दुईवटा नौ महिने सरकारका मधेसमैत्री निर्माण, विकासका तमाम योजना र तिनको कृयान्वयनलाई नेपालले चटक्कै बिर्सिदिए । के–के बिर्सँदा र सम्झँदा घाटा नाफा हुन्छ, त्यो नेपालजस्ता प्रबुद्धलाई राम्ररी थाहा हुन्छ । तर जतिसुकै सरापे पनि जङ्गबहादुर राणाले बेलायतबाट सिकेर नेपालको सीमामा जङ्गेपिल्लर गाडेर नेपाल सुरक्षित गरेको गुन एउटा इमानदार बौद्धिकले बिर्सन मिल्दैन । समयमै गाडिएको यही जङ्गेपिल्लरका कारण लुम्बिनी नेपालभित्र पर्न गएको पनि अवश्य नेपालले पढेकै होलान् तर पिल्लर गाडिएको ३५ वर्षपछि जब अङ्ग्रेजले लुम्बिनी र बुद्ध नेपालमा परेको थाहा पाएर धेरै दुःख मनाउ गरेको नेपालले पढे कि पढेनन् अन्तर्वार्ता पढ्दा थाहा पाइएन । महेन्द्रलाई सत्तोसराप गर्नेहरुले उनले गरेका कतिपय गुन भुसुक्कै बिर्सन मिल्छ ? एक वरिष्ठ पत्रकार जगत नेपालले बी.पी. महेन्द्र टकराव नामक पुस्तकाकार कृतिमा कोइरालाले आँटै गर्न नसकेको काम महेन्द्रले कोदारी राजमार्ग खोलेको र पूर्वपश्चिम महेन्द्र राजमार्ग शिलान्यास गरेको गुनलाई पनि घुन देख्ने किशोर नेपालको यो अन्तर्वार्तालाई बौद्धिक व्यापार हो भनेर कसरी भन्नु ?

नेपालको एकीकरणका अगुवा तथा अभियन्ता पृथ्वीनारायण शाहको चिहान खन्न उद्यत तर उनका वैचारिक व्यावहारिक प्रेरणाका साथ तमाम नेपाली योद्धाहरुको बलिदानबाट जोगिएको स्वतन्त्र नेपाल राष्ट्रवासी नेपाली हुँ भन्ने कतिपय कथित नेपाली बुद्धिजीवीकै लहरमा नेपाललाई राख्न मन छैन यस लेखकलाई तर उनी आफैँ त्यस खालको कित्ता मन पराउँछन् भने यो जाबो लेखकले के भन्नु छ र ? तर यस अन्तर्वार्तामा प्रयोजित मधेस आन्दोलनका प्रसङ्गमा त्यो प्रदेश (२ नं. प्रदेश) फुटाएर भारतलाई दिनुपर्यो कि नेपाली सरह मधेसीलाई व्यवहार गर्नुपर्यो भन्ने जस्तो अराष्ट्रवादी सोच नेपालमा कसरी आयो ? यो विचार किशोर नेपालको विवेकको उपज हो ? के नेपालको संविधानले तमामा नेपालीलाई कुनै विभेद गरेको छ ? मधेसी समुदायका व्यक्तित्वहरुलाई राष्ट्र र राज्यको माथिल्लो तह, निकायसम्म पनि विराजमान गराएको नेपालले किन बिर्सँदैछन् ? के यस खालका महत्वपूर्ण सङ्गीन विषय बिर्सँदा नेपाललाई अदृश्य शक्तिबाट व्यक्तिगत विशेष शुभलाभ हुन्छ ? र पाइन्छ ? यसरी बौद्धिक इमान र जमान भजाउँदा खोजेको पाइन्छ भनेर जेसुकै लेख्न मिल्छ ? सीके राउतले त नेपाल आमालाई रन्डी, वेश्या र पहाडे चेलीलाई बाइफाले भनेर मधेसी जनतालाई भड्काएर मधेस भारतमा मिसाएर यस प्रान्तको मसिहा बन्ने ध्याउन्नामा खुलेरै लागेका छन् । कि यसरी खुलेरै लाग्दा पनि हुन्छ ?

लेन्डुप दोर्जे पनि आखिर सिक्किमे आमाका सन्तान नै थिए । तर सबैले होस गरे हुन्छ, प्यादाको कुनै भविष्य हुँदैन । काम सफल भए पनि असफल भए पनि सिनेमामा देखाएझैँ राजनीतिक प्यादाको कुनै भाउ र भविष्य हुँदैन । नेपालका सबै खालका प्यादाले यत्ति कुरा बुझे हुन्छ । नत्र किशोर नेपाललाई सीके राउतले नेपाल आमालाई तुच्छतम गाली किन बिझाउँदैन ? कोख र काख दिएर र दस धारा दूध चुसाएर हुर्काउने आमाकी पनि आमालाई तथानाम भन्दा वरिष्ठ पत्रकार तथा लेखक भनाउँदाको चित्त दुख्दैन ? मन कुँढिदैन ? यी वरिष्ठ लेखक र पत्रकारलाई भारतीय शासकले प्रायोजन गरे गराएका नेपाल विखण्डनकारी सारा योजना, तारतम्य, लगन र लगानी थाहा भइकन पनि किन त्यसप्रति एक शब्द खर्च गर्दैनन् ? अनि किन मौन बस्छन् ? यसको अर्थ ‘मौनम् सम्मति लक्षणम’ हो । अनि यस खालका ज्यादतीका विरुद्ध उठ्ने, उभिने ओली र त्यसमा जुट्ने तमाम नेपालीलाई फतुर पाँडेगाली गर्न सुहाउँछ ? यस खालका कुरुप, भद्दा विचार र अभिव्यक्रि यही अन्तार्वार्तामा नेपालले ओकलेका छन् । उनी कि मधेस प्रदेश फुटाएर भारतलाई दिनुपर्यो कि मधेसीलाई नेपालीसरह व्यवहार गर्नु पर्योसम्म भन्छन् । नुनको सोझो गर्ने क्रममा यस्ता कुरा अनायास आउँदा रहेछन् ।

यो सिस्टम भनेकै क्र्याक सिस्टम हो

एकपल्ट डा. बाबुराम भट्टराईले आफूले नेपाली नागरिकता त त्यागेको छैन नि भन्नसम्म भ्याए । उनकी प्रिय पत्नी तथा नयाँ शक्तिकी वरिष्ठ नेतृ हिसिला यमीले नेपाल देशलाई खारेज गर सम्म भनिन् । अक्सर कुनै पनि मानिसले आफूलाई ढाँट्नै सक्तैन । उसको मनको कुरा फुत्त प्रकट भइछाड्छ । नत्र यस्ता एउटा सच्चा नेपाली नागरिक त्यसमा पनि एउटा प्रबुद्ध व्यक्तिले त्यस खालको धारणा, विचार कसरी राख्न सक्छ र कसरी अभिव्यक्त गर्न सक्छ ? सुन्दा र सोच्दा नै अचम्म लाग्छ । यस लेखकले किशोर नेपालको लेखनलाई बारबार पछ्याउने गरेको छ । समग्रमा नेपालको लेखहरुमा विवेकको भूमिका भन्दा बौद्धिक व्यापार प्रबल देखिन्छ ।

एकताका उनी उग्रमार्गी पार्टी र त्यसका शीर्षस्थ नेतालाई देवत्वकरण गरेर लेख्थे । आफूलाई प्रजातन्त्रवादी धारको लेखक र पत्रकार भनेर चिनाउने गरे पनि केही समयदेखि उनको चिनारी गैरप्रजातन्त्रिक देखिन्थ्यो । अहिले आएर उनी अलिअलि प्रजातन्त्र मिश्रित प्रचण्ड प्रतापी लेखक बनेको देखियो । उनले यही अन्तर्वार्तामा एमालेमा भन्दा माओवादी केन्द्रमा धेरै राजनीतिक नेता भएको घोषणा गरेका छन् । यो यतिबेलाको मल्खु हो, त्यसैले नेपालको ढल्काइ एकदम स्वाभाविक देखिन्छ ।

यस धर्तीमा एउटा सामान्य प्राणी गड्यौलाले मलिलो र उर्वरा माटो बनाउन गरेको जस्तो एक त्यान्द्रो पनि योगदान नेपाल र नेपालीका खातिर यस देशका प्रबुद्ध वर्गले गर्न सके यो देश धेरै अगाडि बढिसक्थ्यो । जहिल्यै पनि जसका पनि खोट मात्रै देखाउने सकारात्मक भन्ने कुरा कतै केही नदेख्ने रोग ठुटे कलममा त हुन्थ्यो तर सग्ला कलममै देख्दा कलमप्रति धेरै गर्व गर्न सकिएन । यस वार्तामा नेपालका धेरै जसो खसीबाख्री एउटै धोक्री विचार र चिन्तन देखिन्छ । नेपालले एमाले पार्टी र ओलीले मधेसी जनतालाई कामै नलाग्ने, भारतीय आदि भनेको भनेर फतुर फरेब लगाएका छन् । नेपाललाई तराई मधेसका सबै भाषा तथा संस्कृति समुदायका अधिकांश अगुवाहरु एमाले पार्टीका केन्द्रीय पार्टी, विभाग, मोर्चालगायत स्थानीय र प्रदेश सङ्गठनहरुमा आबद्ध रहेको थाहा हुनुपर्ने हो । एउटा जिम्मेवार लेखक तथा पत्रकारले छिनछिनमा उठ्ने र फुट्ने पानीका फोका सरह लेख्नु र बोल्नु जाती नहोला । नेपालले मधेसीका मुद्दामा एमालेले जडता देखाएको जन्डिस दृष्टिकोण व्यक्त गरेका छन् । नेपालले देश र मधेस विखण्डनको शृङ्खलाबद्ध अत्यन्त गम्भीर षडयन्त्रकारी खेल देखेनन् वा देखेर पनि नदेखेझै गरेका हुन् । ब्रिटिस उपनिवेशी संस्कार आत्मसात गरेको भातीय शासकले अन्य छिमेकी राष्ट्रलाई फुटाउ र शासन गरको नीति लिएर क्षतविक्षत पारेको नेपाललाई थाहा हुनै पर्ने हो । एमालेकै कारण मधेसीहरुमा आफ्नै भूमिबाट लखेट्न खोजिरहेको भन्ने परेको नेपालले उल्लेख गरेर उनले सामाजिक दुर्भावनालाई अरु गहिरो बताउने कुचेष्टा गरेको देखिन्छ ।

एमाले व्यवहारमा हिमाल, पहाड र मधेस भनेर बाहिर समानता देखाउँछ तर भित्रभित्रै त्यस विपरीत काम गरिरहेको मनोगत भँडास भन्न पनि नेपाल चुकेका छैनन् । नेपालले आफ्नो अन्तर्वार्तामा एमाले परिवर्तन विरोधी पार्टी हो भन्दै एमाले सङ्घीयता जस्ता मुद्दा रोक्न लागिपरेको आरोप पनि लगाएका छन् । नेपालले एमाले पार्टी र यसको नेतृत्वमा बनेको ओली सरकारका राष्ट्रिय हक, हित, विकासलगायत दूरगामी महत्वका कामलाई सतही बताएका छन् । उनले यो प्रचण्ड गर्मीमा मधेस गएर आमजनमत बुझेको पनि बताएका छन् । तर उनी मधेसको तातो रापताप सहेर किन गएका रहेछन् भन्ने कुरा परोक्ष रुपमा यही अन्तर्वार्तामा व्यक्त गरेका छन् । नेपालले मधेस घुमेर नेपाल र नेपाली एकता, अखण्डता, सार्र्वभौमसत्ता र सामाजिक सद्भाव वृद्धि गर्ने र गराउने कामभन्दा भड्काउ काम नै गरे भन्ने छर्लङ्ग हुन्छ । अनि त्यसमा पनि एमाले पार्टी र यसको नेतृत्वको सरकारले मधेस मैत्री बजेट, विकास गरेर आम मधेसी जनतामा फैलाएको प्रभाव रोक्न छेक्न नेपाल प्रयाजित भएका हुन् भन्न नसकिने कुनै आधार देखिन्न । माओवादी मातहत नेपाली काङ्ग्रेसले आफूलाई राख्न तयार हुनु ठूलो कुरा हो र यो सानोतिनो परिवर्तन भन्न सकिन्न भन्ने नेपालले भावी दिनमा नेका पार्टीलाई माओवादीको अधीनस्थ भइरहने सल्लाह दिन्छन् दिँदैनन् त्यो भने हेर्नु छ । जे होस् स्थानीय निर्वाचनको निकटमा एमाले विरोधी आलोचना वा गाली फेरिएको देखियो । कम्युनिस्टको सरकार बन्यो भने छोरीचेली भन्दैनन्, भारतबाट नुनचिनी र तेल बन्द हुन्छ । धर्मकर्म, मठमन्दिर समाप्त हुन्छन् । बूढाबूढी मारिन्छन् आदि नानाथरि भ्रम नबिक्ने भएपछि ती सब छाडेर अब नयाँ भ्रमका नाराको फेहरिस्त यस अन्तर्वार्तामा पस्किएको देखियो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल