सार्थक जीवनको खोजी

सार्थक जीवनको खोजी

नुमनाथ पौडेल

जीवनको सृष्टि
संसारमा पूरै उज्यालो र पुरै अध्याँरो सम्भव छैन । अधिकतम उज्यालो सूर्यको सामीप्यमा छ, जहाँ हरेक वस्तु भष्म हुन्छ । अत्यधिक अँध्यारो हुने ठाउँ ब्ल्याक होल हो । यसमा सबै पदार्थ नजिक पर्नासाथ एकाएक लोप हुन्छन् । पदार्थ दृश्य हुन अध्याँरो र उज्यालोको सापेक्ष संयोजन हुन जरुरी छ । मन, भौतिक शरीर र संसार सापेक्ष छ । तर पूर्ण सत्य अर्थात् शुद्ध चेतना निरपेक्ष छ । सापेक्ष र निरपेक्षको संयोजनबाट जीवनको सृष्टि भएको हुन्छ ।

जीवनको परिभाषा
जीवनलाई कसैले सङ्घर्ष, दुःख र सुखको मिलन विन्दु, कसैले यात्रा, कसैले कर्म, कसैले उद्देश्यको प्राप्ति, प्रेमको प्रकटीकरण, कसैले जिउने कला, कसैले के, कसैले के भन्ने गरेको पाइन्छ । हामी पहिला मनुष्य भयौँ, अनि विभिन्न ज्ञान र अनुभव हासिल गर्यौँ । औपचारिक र त्योभन्दा बढी अनौपचारिक अध्ययन गरियो । सबैभन्दा बढी मिहिनेत र समय सुत्नलाई अनि जिन्दगीको पढाइ सबैभन्दा ठूलो पढाइ बन्यो । जीवनको उद्देश्य अलग भए पनि सबै पेसा र क्षेत्रका मानिसको सारभूत रूपमा जीवनको दृष्टिकोणमा सामञ्जस्यता देखिन्छ ।

मनुष्यको उद्देश्य
मनुष्यसँग भएको क्षमताकै कारण जन्म जात चारवटा उद्देश्यसहित जन्मेको हुन्छः १. जीवन भर बाँच्ने, २. सकेसम्म ज्ञान बटुलने ३. सफलता प्राप्त गर्ने ४. आफू अन्तर्गतकोलाई शासन गर्ने । यी चारवटा उद्देश्यको पछाडि एउटा मुख्य उद्देश्य आनन्द र सन्तुष्टि प्राप्त गर्ने रहेको हुन्छ ।

जीवन र मृत्यु
मृत्यु नामको सम्पत्तिको किस्ता निद्राको रूपमा आउँछ । जीवनको ह्रास कट्टी दैनिक भई राखेको हुन्छ । अपलेखन मृत्यु भएको दिन गरिन्छ । जसले जिन्दगीको वासलात पढ्न लायक बनाउँछ । उसको सम्मान सबैले गर्छन् । परिवारको सदस्यलाई दायित्वका रूपमा हिसाब गर्नेले दुःख धेरै आर्जन गर्दछ । जीवनको मूल्याङ्कन गर्ने कला हरेक व्यक्तिको आफ्नै मापदण्डमा आधारित हुन्छ ।

मनको संसार
संसारको सुन्दरता र कुरुपता मनमा व्यक्तिगत धारणाको रूपमा रहेको हुन्छ । सधैँ सुसमाचार र कूसमाचारको अन्तर याद राख्न नसक्दा मनले राम्रो र नराम्रोको धारणा बनाउन लाग्छ । मनले आफूले गर्न नसक्ने काममा अरूसँग तदात्म्यता राख्दछ । अरूलाई दोष दिने, अहङ्कार, राग, द्वेष आदि कमजोरीहरुले घर बनाउन लाग्छ । स्वाध्यायबाट बल्ल आफ्नो चेतन, अवचेतन, सूक्ष्मचेतन तहको कमजोरी थाहा हुन्छ र त्यसलाई सजिलै हटाउन सकिन्छ । त्यसपछि जगत र समाजलाई सहजै चिन्न जान्न सकिन्छ ।

मनको विद्यालय
सफल हुन र मनुष्यको पूरै क्षमता प्रयोग गर्न विद्यालयहरूमा मनको विद्या, जीवन जिउने कलाहरू, खानपानको बारेमा, संस्कृतिको सम्बन्धमा अनि त्यसपछि विशेष सीप सिकाउने किसिमको हुनुपर्छ । बिहानदेखि राति सुत्ने समयसम्मको दैनिक नित्य कर्महरुको विद्यासमेत सिकाउन जरुरी छ । मनलाई सबल, सक्षम, सरल, सहज बनाएर तथा शासित गरेर व्यक्तित्व विकास र सफलताको प्राप्ति सम्भव छ । मनलाई सबै विद्या ग्रहण गर्न सक्ने बनाउने भनेको खाने अन्नको ठाउँमा अन्नको बीउ दिनेजस्तै हो । अब सुगा प्रविधिको सट्टा मनलाई माथि उठाउने (मनंउष्य) प्रविधि प्रयोग गर्ने सोचौँ ।

मनको तालिम
आधारभूत रूपमा जीवन जिउने कलामा समाज र सम्बन्धको विज्ञानदेखि जीविकोपार्जनको माध्यमको चुनावसम्म पर्दछ । धेरै मानिसहरू देखासिकीमा पेसा र पढाइको छनौट गर्छन् । सही पेसा वा पढाइको छनौट गर्न नसक्दा आधाभन्दा बढी मानिसहरू पेसा परिवर्तन गर्न वा फुर्सदमा पछुताउनमै व्यस्त हुने गरेका छन् । मनको तालिमसम्बन्धी शिक्षा र ज्ञान बेगर औपचारिक शिक्षाबाट व्यक्तित्वको आंशिक विकास मात्र सम्भव छ । मनको तालिम सबैभन्दा ठूलो तालिम अर्थात् महातालिम हो । यो महातालिम पढेर भन्दा परेर या प्रयोगात्मक रूपमा हासिल हुन्छ ।

अवसरको खोजी
कुनै खेतमा सिंचाइ नहुनुमा न खोल्सामा बग्ने खोलाको न त बारी किन्ने हजुर बुवाको, न पानी नझारी भाग्ने बादलको न त बारी डिलमा बसेर सुस्केरा हाल्ने किसानको दोष छ। यो त बारीमा कसरी सिंचाई गर्ने भनेर सोच्ने अवसर हो । आफ्नो काम बाँकी राखेर काम गर्न नसक्नेलाई अर्ती उपदेश वा गाली गर्न हिँड्नेको भन्दा अवसरको उपयोग गर्नेको हरेक लक्ष्य प्राप्ति चाँडो हुन्छ । समाजमा रहेका समस्याहरुलाई समेत व्यवसायको रूपमा रूपान्तरण गर्दा सामाजिक उद्यमशीलता मात्रै होइन, सिर्जनाशीलता पनि बढ्छ ।

जीवनमा प्रगति भएकै हुन्छ
केलाई प्रगति वा सफलता भन्ने ? मेरो एउटा साथी हजुरबा भइसकेछ, अर्को खुइलेको टाउको मुसार्दै छ । अर्को सातवटा बच्चासँग खेल्दै छ । एउटा साथी सुनको चम्चाले औषधि खाँदै छ, अर्को साथी भुँडी घटाउन उकालो उक्लिँदै छ भने अर्को साथी दार्ही मुसार्दै आरामले बसी राखेको छ । कुनै न कुनै अर्थमा प्रगति सबैको हुन्छ तर मनले नमानेसम्म कसैको हुँदैन । मन सहज बनाउन मानिस आफूले गरेको काम या विश्राममा सन्तुष्ट हुन जरुरी छ ।

निद्रा प्राकृतिक उपचार
निद्रा नपुगेको मान्छे नै मनको बिकारबाट बढी पीडित हुन्छ । मान्छेको उद्देश्य सधैँको सुख हो भने मनको विश्राम एक मात्र उपाय छ । मन दौडाएर अल्प सुख मिल्न सक्छ । मन पूरै बिश्राम गरे मात्र राम्रो निद्रा लाग्छ । निद्रा प्राकृतिक ध्यानको अंश हो भने ध्यान होस नगुमाई निदाउने कला हो । निद्रा मनका विकारहरुको एक उत्कृष्ट प्राकृतिक उपचार हो ।

मनको महाभारत
संसार त एक दर्पण मात्र हो । तपाईंको जीवनको मालिक तपाईँ आफैँ हुनाले त्यो वृक्षको फूल र काँडाको जिम्मेवार पनि स्वयम् बन्नुपर्दछ । हामीले सम्झिन नसके पनि हाम्रो भविष्य हामी आफ्नै कर्मले लेखन गरिराखेकै हुन्छौँ । महाभारत र रामायणको युद्धले प्रतीकात्मक रूपमा हाम्रो आफ्नै मनको द्वन्द्वलाई प्रतिनिधित्व गर्दछ । मनको द्वन्द्व र अस्थिर चरित्रलाई जित्नु आधा संसार जित्नु सरह हो ।

विनाकारणको खÞुशी
सित्तैँमा बिल गेट्सभन्दा बढी खÞुशी हुन सकिन्छ भने त्यो मार्ग जिन्दगी भरको प्रयासबाट भौतिक संसारको सीमान्त उपयोगिता प्राप्त गर्न जीवन खर्च किन गर्ने ? आफूले चाहेको बखत बिनाकारण हाँस्न सक्ने मानिस स्वस्थ र सुखी प्रजातिको हो । अरूको बर्बादी र उपहासमा हाँस्ने मानिस दुःखी प्रजातिको हो । यिनै लागू पदार्थको सहारामा खुशी हुन कोसिससमेत गर्दछन् । हाँसेर पनि खÞुशी हुन नसक्ने मानिस अस्वस्थ प्रजातिको हो ।

योग र ध्यान
योग भनेको उटपट्याङ र सर्कस होइन । आसन र प्राणायाम पनि योग होइन । पश्चिमा जगतको योगा ब्यायाम मात्र हो । योग सः चित्त वृत्ति निरोधः अर्थात् योग भनेको मन (चित्त) ले विभिन्न स्वरूप (वृत्ति) लिन नदिनु हो ।
मन, शब्द, विचार, कर्मभन्दा माथि ध्यान हुन्छ । चञ्चल मन ध्यानले स्थिर बनाउँछ । ध्यानको चिन्ता गर्दा पनि आनन्द मिल्छ । निद्रामा पनि ध्यानको खोज जारी रहन्छ । परिश्रम गर्दा झन् विश्राम मिल्ने ध्यानको परिश्रम हो । योग र ध्यानबाट स्थिर मन भएकाले सफलता सजिलै प्राप्त गर्छ ।

अध्यात्म
आफूले बिर्सेको सोध्न अरू मित्रकहाँ र गुरुकहाँ जानुपर्ने ज्ञान अध्यात्म हो । अध्यात्मिक आधारमा सबै मानिस बराबर मानिन्छन् । तर मनको विकासको अन्तरको कारणले मानिसको संसारमा प्रदर्शित गर्ने क्षमतामा फरक हुन सक्छ । अध्यात्मिक व्यक्तित्वहरुको जीवनको उद्देश्य स्वयम्को अर्थात् चेतनाको परम ज्ञान प्राप्त गर्ने र त्यसलाई व्यक्त गर्ने रहेको हुन्छ ।

सोझै अन्तिमको रोजौँ
जीवन हाम्रो हातमा परमात्माले दिनुभएको उपहार हो । यो उपहारलाई के बनाउने हाम्रै हातमा छ । मन जस्तो छ, जीवन उस्तै हुन्छ । अब्राहम मास्लोको सिद्धान्त अनुसार मनिसको श्वास, बास, गास, कपास पछि सङ्ग्रह, विलासिताको वस्तु, मान सम्मान र अन्त्यमा स्वयम्लाई चिन्ने आवश्यकता हुन्छ । हामी चौरासी व्यञ्जनलाई एउटा पदार्थमा रूपान्तरण गर्ने यन्त्रबाट कम्तीमा चेतनालाई रूपान्तरण गर्न सक्ने यन्त्रसमेत बन्न सक्नुपर्दछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल