नयाँ शक्तिको गन्तव्य खहरे खोला

नयाँ शक्तिको गन्तव्य खहरे खोला

–विजय ज्ञवाली

२०७२ असोज २२ गते शुक्रबारको दिन माक्र्सवाद अध्ययन केन्द्र काठमाडौँले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा ‘नयाँ शक्तिको रेल समाजवादसम्म पुग्छ’ भन्ने तपाईंको भनाइलाई नोट गरेर राखेको छु । जनयुद्धकालमा समाजवाद हुँदै साम्यवादसम्मको महत्वाकाङ्क्षी प्रचारबाजीलाई पनि मलगायत करिब करिब तीन करोड जनताले याद गरिराखेका छन् । अहिलेलाई साम्यवादको सिना छाडिदिऊँ, वर्तमानमा समाजवादसम्म पुग्ने जुन अति महत्वाकाङ्क्षी योजना अगाडि सार्दै नयाँ शक्तिको बहसलाई छेड्नुभएको छ, त्यसको विश्वासिलो आधार तपाईंसँग के छ ? हिजो भारतमा सामाजिक सुधारक तथा अभियन्ता अन्ना हजारेले व्याप्त भ्रष्टाचार तथा कालो धनको राष्ट्रियकरणको सन्दर्भमा पूरै भारतभरि चलाएको जागरण अभियानको गर्भबाट एक आम पत्रकारले अभ्यास गरेको नयाँ शक्ति ‘आम आदमी पाटी’को क्षणिक लोकप्रियताबाट प्रेरित भई नेपालमा पनि ‘नयाँ शक्ति’बारे आवश्यकता एवं बहस चल्न थालेको हो ।

विसङ्गति एवं भ्रष्टाचारले थलिएको हाम्रो मुलुकमा सनातनी राजनीतिक अभ्यास भइरहनुले निश्चय पनि मुलुकको अग्रगामी विकास एवं अपेक्षाकृत सुशासनको नेतृत्व त गर्न सक्तैन तर विकल्पका लागि पनि विकल्प नभइदिँदा उही तपाईंकै भाषामा ‘नहुनु मामाभन्दा कानै मामा बेस’ भनेर चित्त बुझाउन बाध्य छौँ । तसर्थ तपाईंले छेड्नुभएको ‘नयाँ शक्ति’को बहसले आम जनतामा सकारात्मक एवं उत्साहप्रद सञ्चार प्रवाह त गराएको छ, साथसाथै कालान्तरमा ‘नयाँ बोतलमा पुरानो रक्सी’कै अवस्था देखापर्ने हो कि भन्ने आशङ्का भइरहेको छ ।

संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रित गर्दै सशस्त्र द्वन्द्वमा होमिनुभएको तपाईं द्वन्द्वपश्चात् शान्तिपूर्ण अवतरणसँगै त्यही ‘कुकुरको मासु बेच्ने’ संसदको अभ्यास गर्दागर्दै एकपटक यो मुलुकको प्रधानमन्त्री पदमा पनि आसिन हुनुभयो । झण्डै १७ हजारले ज्यान गुमाउनुपरेको कहाली लाग्दो सशस्त्र १० वर्षे जनयुद्धले उठान गरेका अधिकांश मुद्दाहरुलाई तिलाञ्जलि दिँदै अवसरवाद, सम्झौतापरस्त हुँदै क्यास माओवादीमा रुपान्तरित तपाईंको निवर्तमान पर्टीमा अत्यासलाग्दो गरी बढेको वर्गीय चारित्रिक कोपभाजनको चित्रणमाझ दुई दुई पटकसम्म मुलुकको नेतृत्व तपाईंकै माओवादी पार्टीले गरेको थियो । यसबीचमा माओवादीभित्र वर्गीय चरित्रको खाडल बढो आश्चर्यजनक रुपमा विकसित हुन पुग्यो । पार्टीमा मूलतः दुई प्रकारको वर्गीय चरित्र देखा परे । एउटा पक्ष नवधनाढ्य एवं विलाशी वर्गमा रुपान्तरित हुनपुग्यो भने अर्को पक्ष ४५–५० डिग्रीको रापमा खाडीको मरुभूमिमा भेडा चराउने वर्गमा रुपान्तरित हुनपुग्यो । तर एउटा कटुसत्य के हो भने यी दुवै वर्गले विगतमा राज्यसत्ता कब्जाका साथै साम्यवदसम्मको सुनौलो गन्तव्यमा पुगिछाड्ने अठोटका साथ हतियार उठाएका थिए ।

समय गतिशील हुन्छ भन्थे, हो रहेछ । समयको धाराप्रवाहसँगै जसले समयमाथि नै मजाक गर्न सिके ती नवढनाड्य वर्गमा रुपान्तरित हुन पुगे । जसले विलासीको संसार नै राजनीतिलाई मान्दै आफ्नै आफै आत्मरतिमा रमाएका छन् भने अर्कोतर्फ जसले समयको ख्याल नै नगरी माटो र देशलाई साक्षी राखेर खाएको कसम तोड्न तिनको मनले मानेन । ती वर्ग खाडीका मरुभूमितिर लखेटिन विवश भए । ती यस्ता वर्ग हुन्, जसले अझै पनि आफ्नी आमाको पखालिएको सिउँदोको मूल्य चुक्ता गर्न नपाएकोमा वेचैन छन । एउटी अवला नारीको खोसिएको सुहागको मूल्य चुक्ता गर्न नपाएकोमा आक्रोशित छन् भने यौटा नाबालकको स्तनपानको अधिकार खोस्न पुगेकोमा आफै उद्वेलित छन् । सबैभन्दा ठूलो कुरा त दुष्मनलाई तेर्साएको बन्दुकले आफैलाई धोका दिएकोमा खाडीको रापसँगै फिलिङ्गोको स्वरुपमा तिनै रापिन बाध्य छन् ।

जनयुद्धको शान्तिपूर्ण अवतरणसँगै जनयुद्धले उठान गरेका कतिपय एजेन्डालाई धेरथोर रुपमा संविधानले पनि अङ्गीकार गरेको छ । यहीँ शान्तिपूर्ण संसदीय अभ्याससँगै मुलुक गणतान्त्रात्मक ढाँचामा रुपान्तरित भएको छ । साथसाथै मुलुकले एकथान संविधानसँगै सङ्घीय संरचनामा आधारित राजनीतिक अभ्यासको थालनी पनि गरेको छ । मुलुकलाई यस खण्डसम्म सफल अवतरण गराउन यहाँको पनि अतुलनीय योगदान रहिआएको छ । तर संविधान निर्माणसँगै बदलिँदो राजनीतिक कोर्सभन्दा धेरै टाढा रहेर नयाँ शक्तिबारे जुन बहस चलाउँदै हुनुहुन्छ, त्यसमा मलगायत आम जनताका केही सरोकार पनि रहिआएका छन् ।

बाबुरामज्यू, हिजो तपाईंले पार्टीको साधारण सदस्यसमेत नरहने गरी जसरी आफ्नै विरासतको पार्टीबाट राजीनामा दिएर मधेस झर्नुभयो, तपाईंलाई समाजको एउटा तप्काबाट ताली होइन, गालीको वर्षा ओहिरिएको थियो । विशेष गरेर एउटा ‘क्यारमबोर्डको गोटी’सँग तुलना गरिएको तपाईंको चारित्रिक आयामलाई धेरैले मन नपराएको अवस्था थियो । यहाँसम्म कि तत्कालीन सिक्किम विलयका खलनायक लेन्डुप दोर्जेसँग तपाईंको तुलना गर्नेमा पहाडी भेगको जमात उच्च थियो । कतिपय प्रसङ्गमा यस पङ्क्तिकारले पनि केही असन्तुष्टी जनाएको हो । संविधान जारी हुनुपूर्व र जारी भइसकेपछिका एक दुई दिनहरु नेपालको आन्तरिक राजनीतिमा अचानक केही यस्ता अप्रत्याशित संयोगहरु जुर्न पुगे तिनै परिघटनाको आधारमा केही समुदायहरु तपाईंमाथी उग्र बनेको यथार्थ पनि हो । दनदनी बलिरहेको मधेस अनि एकपछि अर्को गर्दै क्रमबद्धरुपमा मधेसकै कतिपय जिम्मेवार नेतृत्ववर्गबाट मुलुक विखण्डनसम्मको धम्की आउन थालेको अवस्थामा तपाईंले आफ्नै विरासतको पार्टी सर्लक्कै परित्याग गरी जलिरहेको मधेसमा हामफाल्नु अप्रत्याशित मात्र नभएर एउटा अनौठो आश्चर्य पनि थियो भने यता भारतको ‘माइक्रो म्यानेज्मेन्ट’ अप्रेसन युद्धस्तरमा जारी थियो । भलै यसपालि भारतीय कूटनीतिले नराम्रोसँग फेल खाएको भए पनि यी तीनवटा संयोगले कतिपयलाई आश्चर्य र आशङ्कामा राख्यो भने कतिपय तप्का आक्रोसको ज्वाला उगेलिसकेका थिए ।

बुझ्दै नबुझ्नु भन्दा ढिलो गरी बुझ्नु धेरै उत्तम हुन्छ । समयसँगै आक्रोशित समूह पनि बिस्तारै मत्थर हुँदै गइराखेको छ । विभेदमा पारिएको तराई, जहाँका बासिन्दालाई अझै पनि काठमाडौँको खाल्डोले नेपाली नागरिकको दर्जा दिन हिच्किचाउने गरेको छ । त्यो विभेदलाई तोड्न र मधेससँग काठमाडौँलाई जोड्नको लागि तपाईंले जुन सेतुको रुपमा आफूलाई उभ्याउनुभएको छ, यसबारेमा बिस्तारै बिस्तारै आमधारणा पनि बदलिँदै गएको पाइन्छ । यसबारेमा आमनागरिकसँग रहेका कतिपय आशङ्काहरु यथावत छन्, ती आशङ्काहरुलाई निर्मूल पार्दै जनतालाई आश्वस्त पार्नसक्नु तपाईंको पहिलो दायित्व रहनजानेछ ।

दोस्रो, रह्यो नयाँशक्तिको बहस । तपाईंले बारम्बार उच्च चासोका साथ उठाउँदै आउनुभएको ‘नयाँ शक्तिझबारे केही प्रश्नहरु अनुत्तरित नै छन् । नयाँ शक्ति गठनपूर्व पहिला केही प्रश्नमाथि स्पष्ट हुनु जरुरी थियो । के साँच्चै नै नेपालमा नयाँ शक्तिको अभ्यास हुन लागेकै हो त ? यदि त्यसो हो भने नयाँ शक्तिका सफलताउन्मुख आधार चाहिँ के के हुन् त ? नयाँशक्तिले दीर्घकालसम्म पनि समाजमा सुशासनका साथै लोकप्रियता हासिल गर्न सक्ने आधारहरु के–के हुन् ? नयाँ शक्तिको वर्गीय चरित्र कस्तो हुने ? अनि संरचना कस्तो बन्ने त ? कि बाहिर राजनीतिक बजारमा हल्ला चलेझैँ पूर्वराजा, पूर्वपञ्च, भ्रष्टाचारको अभियोग लागेका व्यक्तिहरु, राज्यले विभिन्न कालखण्डमा दोषी ठहर गरेका अनुहारहरु, राज्यका विरुद्ध अभिव्यक्ति दिँदै हिँडेका व्यक्तिहरु सम्मिलित समूह नै नयाँ शक्तिको रुपमा चिनिइरहनेछन् । यसभन्दा बिल्कुल भिन्न तवरमा बौद्धिक एवं प्राज्ञिक जगत, नागरिक समाजका अगुवा, पत्रकार, विश्लेषक, स्वतन्त्र व्यक्तित्व, विभिन्न कालखण्डमा राज्यको प्रशासकीय क्षेत्रमा रही आफ्नो स्वच्छ छवि बनाउन सफल पूर्वप्रशासक, कानुनविद, उच्च राजनैतिक छवि भएका राजनीतिक व्याक्तित्व, युवावर्गलगायत विभिन्न तह र तप्काबाट उच्च नैतिक आचरण भएका व्यक्तिहरुद्वारा गठित दल नै नयाँ शक्तिको स्वरुपमा देखा पर्नेछ ? यसबारेमा पनि प्रष्ट हुनु जरुरी छ ।

अर्कोतर्फ क्षणिक लोकप्रियताले हौसिएको दिल्लीस्थित ञआम आदमी पार्टीझझैं कथित नयाँशक्ति पनि बर्खायामको खहरे खोलाझैं हुने त होइन ? सुशासनको नाममा एउटा मुख्यमन्त्री जस्तो उच्च ओहोदाको व्याक्ति पुलिस कमिस्नरको सामुन्ने बाटोमा अनसन बस्नु कत्तिको जायज थियो त ? मुख्यमन्त्रीले सुशासन कायम गर्नका लागि आफूमातहतका निकायलाई निर्देशन दिने हो । सुशासन कायम भए नभएको बारे निरन्तर निगरानी राख्ने हो, जहाँ नियम लागू गराउन अवरोध उत्पन्न हुन्छ, त्यहाँ त्यो अवरोध पन्छाउने कोसिस गर्नुपर्दछ । राज्यका अन्य संयन्त्रको सहकार्यमा । आफै हामफाल्दै बाटोमा तमासा देखाउने होइन । यस्ता गतिविधिले पार्टीसँगै सरकार पनि कमजोर बन्दछ भने व्याक्तित्वको छविमा पनि आँच आउने गर्दछ । कतै नेपालको ‘नयाँ शक्ति’ पनि यस्तै भावनाले उत्प्रेरित भएको त होइन ? त्यस्तै हो भने केवल क्षणिक मात्र हुन जानेछ ।

राष्ट्रियताका कुरा
बाबुरामज्यू, उक्त अन्तक्र्रिया कार्यक्रममा तपाईंले उल्लेख गर्नुभएको अर्को पदावली छ– ‘कोदालो बोकेर कोदारी पुग्दैमा राष्ट्रवादी भइँदैन’ । हो, कोदालो बोकेर कोदारी पुग्दैमा राष्ट्रवादी भइँदैन न कि लुङ्गी र कछाड भिर्दैमा राष्ट्रविरोधी नै भइने हो । जो, जहाँ, जुन अवस्था, रहनसहन र गतिविधिमा संलग्न भए पनि असली राष्ट्रवादी त त्यो हो, जसले आजसम्म देशको शिर झुक्ने खालका कुनै पनि गतिविधि गरेको छैन र राजनीतिक एवं प्रशासकीय ओहोदामा रहेर मुलुकलाई भ्वाङ पार्ने काम गरेको छैन । मान्छेको प्राकृतिक रङ, भेष यो मुलुकको समस्या हुँदै होइन । यो मुलुकको समस्या त ती छद्मभेषी हुन्, ती बहुरुपी हुन्, जसले सत्ता र शक्तिको लालस र आडमा यो देशलाई दूरगामी असर पर्नेखालका अनेकन सम्झौता गर्दै मुलुकलाई आजसम्म खोक्रो बनाउन उद्यत रहिरहे । ती अनुहार अझै पनि हाम्रैसामु छ्यापछ्याप्ती छन् । हाम्रै वरिपरि घुम्दैछन् र तिनै अनुहार अझै कत्ति पनि लाज नमानीकन राष्ट्रियताको झुसिला डकार डकार्दैछन् । ती अनुहारहरुको बीचमा तपाईंले आफूलाई राष्ट्रियताको कसिमा कत्तिको खरो भेट्टाउनुहुन्छ, एकपटक तपाईंले आफैले आफैलाई आत्ममूल्याङ्कन अवश्य गर्नुपर्नेहुन्छ ।
भारतलाई सराप्दैमा र चीनसँग मितेरी गाँस्दैमा कोही राष्ट्रवादी हुने होइन । दुवै देशसँग समदूरी कायम गरी नेपालले आफ्नो आर्थिक एवं पूर्वाधार विकासमा दुवै देशबाट अधिकतम मात्रामा फाइदा लुट्न जान्न सक्नुपर्दछ । दुई देशबीचका तरुल नभई दुई देशलाई जोड्ने सेतुका रुपमा नेपालले आफूलाई उभ्याउन सक्नुपर्दछ । यी दुई देशबीचको व्यापारिक केन्द्रबिन्दु नेपाल बन्न सक्नुपर्दछ । सत्ताको जोडघटाउमा ‘प्रभु’को आशीर्वाद लिनुको साटो नेपालका नेताहरुले दुवै देशको मन जित्नसक्ने खालको व्यवहार प्रदर्शन गर्नुपर्दछ । यसले गर्दा राज्य सञ्चालनमा उपर्युक्त व्याक्तिको छनौट हुनुका साथै दुवै देशसँग सुमधुर सम्बन्ध कायम हुन जानेछ । जसले गर्दा देशको आर्थिक एवं भौतिक पूर्वाधार स्तरोन्नतिका लागि पनि टेवा मिल्न जानेछ ।

‘५ स’का कुरा
तपाईंले नयाँ शक्ति गठनका निम्ति पूर्वाधारका रुपमा अघि सार्नुभएको ‘५ सझ हरु १. स्वाधीनता र सार्वभौमिकता २. समावेशी र समानुपातिक र सहभागितामूलक लोकतन्त्र ३. समतामूलक समृद्धि ४. समुन्नत समाजवाद र ५. सदाचार र सुशासन र सुसंस्कृति झट्ट हेर्दा अति आकर्षक पनि छन् । हुन त नेपालको राजनीतिक इतिहासलाई केलाउँदै जाने हो भने कुनै पनि राजनीतिक दलको स्थापना हुँदा प्रस्तावना र उद्देश्यहरु अति सुन्दर र महत्वाकाङ्क्षी नै देखिन्छन् । तर कालान्तरमा ती सबै प्रस्तावना र उद्देश्यहरु एकातिर र पार्टीको गतिविधि आर्कातिर देखिन गएको प्रशस्त उदाहरण तपाईंहामीसामु छर्लङ्ग छन । जति जति पार्टी पुरानो र परिपक्व हुँदै जान्छ, उति नै निर्णय क्षमतामा ह्रास आउँदै गएको तथ्य हामी अझ पनि देख्न सक्तछौँ । सुरुवाती चरणका उत्तेजक र चर्का नाराहरु समयक्रमसँगैं शिथिल बन्दै गएका छन् । यसको स्पष्ट सङ्केत हो । पार्टीका वैचारिक क्षमता एवं अडान र दिशानिर्देशहरु क्रमशः पथभ्रष्ट एवं क्षयीकरण हुँदै जानु । कतै ‘नयाँ शक्ति’ पनि कालान्तरमा यस्तै शिथिलताको सिकार हुने त होइन ?

हामीलाई अहिलेको टड्कारो आवश्यकता भनेको राष्ट्रियताप्रति खरो उभिन सक्ने यौटा अलग्गै शक्तिको हो । त्यो आवश्यकता नयाँ शक्तिले पूर्ति गर्छ भन्नुभएको छ । यसमा हामी आशावादी पनि छौँ । जब जब राजनीतिक दलहरुले राष्ट्रियताप्रति कमजोर अडान प्रस्तुत गर्दछन् तब तब मुलुक क्रमशः कमजोर हुँदै जाने हो । राष्ट्रियताका सवालमा अहिलेसम्म कुनै पनि दलहरु स्पष्ट अडानसहित उपस्थित हुन सकेका छैनन् । ढुलमुले नीतिका कारण मुलुकमा राष्ट्रिय सङ्कट अझ गहिरिँदो छ भने दलहरु परनिर्भरताको सिकार बनिराखेका छन् । जनचाहना एकातिर छ भने दलहरु अर्काेतिर मोडिएको अवस्था छ । यस्तोमा जनता र नेतृत्ववर्ग बीचको ग्यापझ पूर्ति गर्ने उद्देश्यले नयाँ शक्ति गठन हुनै लागेको हो भने सबैभन्दा पहिला राष्ट्रियताको सवालमा स्वेतपत्र जारी गर्नै पर्दछ । आम जनचाहना पनि समृद्ध राष्ट्रिय एकता नै हो ।
अन्त्यमा
सुशासनसँगै समाजवादसम्मका कुरा

भ्रष्टाचारले गाँजिएको हाम्रोजस्तो देशमा सुशासन भन्ने शब्द नै मजाक बनिराखेको छ । राज्यका हरेक निकाय, अङ्ग अङ्गमा व्याप्त भ्रष्टाचार, कमिसन, घुस, घोटाला इत्यादिले गर्दा मुलुक नै जर्जर बन्दै गएको छ । स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रमा त यसको जालो विकराल छ । राज्यबाट अनिवार्य प्रदान हुनुपर्ने नागरिकताको सवालमा पनि टेबुलमुनिबाट हात छिराउनुपर्ने अवस्था जहीँतहीँ भेट्न पाइन्छ भने अन्य बाँकीका त कुरै नगरौँ । यसैबाट प्रष्ट हुन जान्छ सुशासन भन्ने कुरा कुन हदसम्म लागू छ । राज्यका निकायमा मात्र नभई व्याक्ति, घर, समुदाय हुँदै सिङ्गो देश निर्माण गर्ने अभिभारा प्राप्त हरेक नागरिकलाई सुशासनको गोरेटोमा हिँड्न सिकाउनु मुख्यतः नेतृत्ववर्गकै जिम्मेवारी रहन जान्छ । यस्तोमा नेतृत्व थोरै मात्रामा पनि विचलित भइदियो भने बाँकी समुदायमा सुशासनको प्रत्याभूति दिलाउन गाह्रो हुन्छ । नेतृत्व नै नैतिक सङ्कटमा पर्न सक्तछ । तसर्थ देशमा सुशासन कायम गर्नका लागि नेतृत्व वर्ग उच्च नैतिक चरित्रवान हुनुपर्दछ । नयाँशक्तिमा यस्तो चारित्रिक अभ्यासले कत्तिको महत्व पाउने हो, यसमा ख्याल गर्नुपर्दछ । जब समाज र देशमा सुशासन कायम राख्न सफल रहनेछौँ, तब समृद्धि, समानता, सार्वभौमिकता, समानुपातिकता हुँदै समुन्नत समाजवादसम्म पुग्न पनि सहज हुनेछ । तसर्थ चर्चाको शिखरमा रहेको नयाँशक्तिले यस्ता विषयलाई समेट्दै समुन्नत नेपालका लागि सुवर्ण मार्गको स्थापना गर्न सफल रहोस भन्ने अग्रिम शुभकामना ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल