थ्रेसहोल्ड, मधेसीदलको एकता र जनचाहना

थ्रेसहोल्ड, मधेसीदलको एकता र जनचाहना

राजेश विद्रोही

मुलुकको राजनीतिक वृत्तमा भर्खरै ६ वटा मधेस केन्द्रित राजनीतिक दलहरुबीच एकता भएको छ । यो सर्वत्र चर्चाको विषय बनेको छ । निर्वाचनको मुखमा आएर पार्टीहरु एक जुट हुनुलाई जनताले अर्थपूर्ण रुपमा हेरेका छन् । सकारात्मक वा नाकारात्म जे परिणाम आए पनि कार्यगत तहमा समायोजन गर्न चुनौती थपिएको छ । यसरी एकीकरण भएका दलहरुप्रति मधेसी जनताको फरक प्रभाव परेको छ । मधेसी जनताले यस विषयलाई फरक तरिकाले विश्लेषण गरेका छन् । मधेसी जनता यी दलप्रति आशङ्का छ । कतै सत्ता प्रप्ति भए पछि पुनः फुटेर मधेसका जनताको आकाङ्क्षलाई माटोमा मिलाउने हुन् कि भन्ने सङ्का छ । तर उनीहरुका लागि अर्को विकल्प छैन । जबसम्म मधेसी जनतामा विश्वासको बलियो जग निर्माण गर्न सकिँदैन तबसम्म मुलुकको राजनीतिले निकास पाउन सक्दैन ।

मधेसमा वर्गीय राजनीतिभन्दा जातीय राजनीतिको प्रभाव बलियो छ । विगतमा झैँ मधेसी जनताको फरक र नयाँ मनोविज्ञानलाई प्रयोग गरेर निजी राजनीतिक स्वार्थपूर्तिका लागि प्रयोगशाला बनाउने चर्चा पनि छ । अर्कोतिर मधेसी जनतामा लामो समयदेखि पहाडी–मधेसीबीच परेको जातीय विभेदको प्रभावले टाढाको भन्दा नजिकको राजनीतिक पात्रलाई नै श्रेष्कर ठान्ने गरेका छन् । तर, त्यो मधेसी जनताको अन्तिम निर्णय भने होइन । रातारात मधेसी जनताको फेरिने मन नै अन्तिम निर्णय हो । त्यो मनोविज्ञान शासकहरूले बुझेका छन् । त्यसैले सोहीअनुसार आफ्नो पहल र कदम अगाडि बढाएका छन् ।

थ्रेसहोल्ड :
सरकारले व्यवस्थापिका संसदको दुईतिहाई बहुमतको बलमा थ्रेसहोल्ड लागू गरेको छ । यस व्यवस्थामा प्रत्येक राजनीतिक दलले निर्वाचनमा प्रत्यक्ष तर्फबाट एकजना र समानुपातिकमा तीन प्रतिशत मत चाहिन्छ । तोकिएको मत प्रतिशत नआएमा र प्रत्यक्ष निर्वाचनमा एक जना पनि विजयी भएन भने त्यो राजनीतिक दल खारेज हुने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा १६५ भन्दा बढी दल दर्ता भएका छन् । सरकारको यो कदमले सबै राजनीतिक दलका लागि चुनौतीको विषय बनेको छ । सानो मुलुकमा लोकतन्त्र प्राप्तिपछि राजनीतिक दल च्याऊ झैँ उम्रिएका छन् । परिणामतः राजनीति सेवामुखी नभएर व्यवसायमुखी हुन पुगेको छ । जनताले सही राजनीतिक दल छान्न सकेको छैनन् । न त कुनै राजनीतिक दलले एकलौटी बहुमत पाउन सकेको छ ।

हुनेखाने गाउँघरका सामन्त, जमिनदार र दलालहरू नै सता र सरकारमा हाबी भएका छन् । इमानदार राजनीतिक कार्यकर्ताहरू पछि परेका छन्न्, पर्दै आएका छन् पनि । राजनीतिक दल सता र सरकारमा पुगेपछि निष्ठावान र इमानदार कार्यकर्तालाई सक्षम नदेखेर पुँजीवाल, जातिवाद अर्थात चाकडी, चापलुसी, छलछाम र षड्यन्त्र गर्न जान्नेहरूलाई सता र सरकारमा स्थापित गर्छन् र तिनैलाई काँखी च्याप्छन् । इमानदारलाई हतियारका रूपमा प्रयोग गर्छन् । सुरूमा साना राजनीतिक दलहरूले थ्रेसहोल्डको चर्को विरोध गरे । राजनीतिक अस्तित्व सङ्कटमा पर्ने भएकाले लोकतान्त्रिक स्वतन्त्रताका नाममा खारेजीको माग पनि गरे । तर, सरकारले बहुमतको नाममा कुनै न कुनै हिसाबले कहिले संसदबाट त कहिले मन्त्री परिषदको निर्णय र अध्यादेश मार्फत चमत्कार देखाउँदै आएका छन् ।

तसर्थ मधेसी जनताले मधेसी दलबीचको एकताको कुरा उठाउँदै आएका थिए । तर, मधेसी दल र नेताहरूले कहिले मधेसी जनताको आवाजको मूल्याङ्कन गरेनन् । मधेसी जनताको बलिदानमा पदप्रतिष्ठा र निजी राजनीतिक स्वार्थतिर अन्धभक्त भए । अब थ्रेसहोल्डले राजनीतिक दलको सङ्ख्यालाई साइजमा ल्याउने कार्य गर्नेछ । थ्रेसहोल्डदेखि कार्यकारी राष्ट्र प्रमुखसम्म आइपुग्दा च्याउ झैं उम्रिएका राजनीतिक दल औँलामा गन्ती गर्नेसम्ममा सीमित हुन पुग्छ । यसले षड्यन्त्रकारी राजनीतिक दल पनि तह लाग्छन् । कार्यकारी राष्ट्रपतीय व्यवस्थाले राजनीतिक दलको पहिचान बढाउँछ ।

तसर्थ जनताले भन्दा एकता नगर्ने र शासकले भन्दा र षडयन्त्र गर्दा एकता गर्ने, यो कस्तो एकता हो ? कसका लागि गरिएको एकता हो ? यसले के प्रमाणित गर्छ भने मधेसी दललाई आफ्नो मधेसी जनताप्रति विश्वास छैन । किनभने मधेसी जनता पटक–पटक इतिहासमा ठगिँदै एका छन् । त्यसैले विश्वासको खाडल गहिरो छ । यसलाई पुर्ने खालको राजनीतिक अभियानको खाँचो छ ।

मधेसी दलहरूबीचको एकता
मधेस मुक्ति र अधिकारका लागि मधेसी राजनीतिमा सक्रिय रहेका ६ वटा मधेस केन्द्रित राजनीतिक दलबीच एकता भएको छ । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव र सरदसिंह भण्डारी एकताका सारथि हुन् । जातीय क्षेत्रीय राजनीतिबाट गुणात्मक उपलब्धि लिन नसकेपछि यसपटक राजनीतिक दलको नाम राष्ट्रियतालाई झल्काउने गरी नमाङ्कन गरेकाछन् ‘राष्ट्रिय जनता पार्टी’ । एउटै मुद्दामा फरक राजनीतिक स्वार्थ र विचारका कारण मधेसी दल टुटफुट र विभाजनको राजनीतिमा उभिएका थिए । मधेसी दलका नेता कार्यकर्ता र जनता लामो समयदेखि विभाजित मधेसी दलबीचको एकताको आवश्यकता रहेको चर्चा सर्वत्र चल्दै आएका थिए । तर मधेसी दल र तिनका नेताले कहिले पनि आफ्नो मधेसी जनताको चाहनालाई पूरा गर्न सकेनन् । अहिले शासकहरूको निर्णयलाई सहजै स्वीकारेका छन् ।

यसले के प्रमाणित गरेको छ भने मधेसी दललाई राज्य र जनताको चाहना भन्दा ठूलो मुलुकको शासकको चाहना पूरा गर्ने आवश्यकता ठानेका छन् । उनीहरुलाई जनताको भन्दा शासकको डर छ । राज्यका शासकले गरेको निर्णय तुरून्त फलो गर्ने र जनता र वस्तुगत अवस्थाले मागेको निर्णय बाहाना र समझौतामा टुङ्गिने गरेका छन् । यसरी उठान भएका राजनीतिक मुद्दा सहमती र सम्झौतामै टुङ्गिन्छ । त्यसैले मधेसी दलभन्दा मधेसी जनता हरेक हिसाबले बलियो देखिन्छन् । मधेसी दलले गरेको एकता आवश्यकता नभएर उनीहरूको बध्यता हो । आवश्यकतामा भए गरेका यसअघि नै एकता गरिसकेका हुन्थे । अहिले एकतापछि पनि उनीहरूबीचमा पदप्रतिष्ठाका लागि आन्तरिक मनमुटाव कायमै छन् । तथापि यसले भोलिको दिनमा मधेसी जनताले गरेको त्याग, तपस्या र बलिदानको मूल्य चुकाउँछ कि चुकाउँदैन, हेर्न बाँकी नै छ ।

जनचाहना :
जनता लामो समयदेखि समाजिक, आर्थिक र राजनीतिकलगायतका जीवनमा आमूल परिवर्तनसहितको व्यवस्थाका खोजीमा छन् । तर, जनताको त्यो सपना पूरा हुन सकेको छैन । दलहरू फुटेर होइन जुटेर देश र जनताले दिएको कार्यभार र बाँडेका सपना पूरा गर्नुपर्ने हो । तर, लामो समयदेखि जनताको त्यो चाहना पूरा हुन सकेको छैन । पुरानै राजनीतिक दलको राजनीतिक स्कुलिङमा हुर्केर मधेस राजनीतिमा हाम फालेका मधेसी दल र तीनका नेताहरूबाट पहिलादेखि नै मधेसी जनता आजित छन् । तथापि अनुभवी मन, वचन र कर्मले केही गर्ला कि भन्ने आस पनि मधेसी जनताले मारिसकेका छन् । अब जनतालाई विश्वासमा लिन मधेसी दल र राजनीतिले ठूलो व्यावहारिक कसरत गर्नुपर्ने हुन्छ ।

एउटा पहाडी दल र नेताले सिङ्गो मधेसी जनताको मत लिन सामूहिक विचारको नेतृत्व गर्ने हैसियत राख्छन् । बहुसङ्ख्यक मधेसीलगायतका समुदायबाट विजयको टीका थाप्ने सहास गर्छन् । तर बहुमतमा रहेका र हरेक हिसाबले आफूलाई सक्षमता प्रदर्शन गर्ने मधेसी दल र नेता समूहिक विचारको नेतृत्व गर्ने र शासक बन्ने सहास र विचारको प्रवाह गर्न सक्दैन । बरू साम्प्रदायिक विभेदको राजनीतिमा आफ्नो निजी राजनीतिक स्वार्थ पूरा गर्ने अभियानमा लाग्ने दुसहास गर्छन् । यसले स्वयम् मधेसी दल कमजोर भएको छ । त्यसैले अब थाकेर मधेसी विचार र भावनामा हुर्केको पार्टी परिवर्तन गर्दै राष्ट्रिय राजनीतिमा दखल राख्न नाम र विचार परिवर्तन गर्न थालेका छन् ।

सत्ता र एकतामा परिवर्तन गर्नेभन्दा लामो समयदेखिको आक्रान्त मधेसी जनता आमूल परिवर्तन चाहन्छन् । मुलुकमा थुप्रै राजनीतिक दल छन् । जनता उनीहरूका लागि भएभरको शक्ति खर्चिएर बर्बादी व्यहोरेर राजनीतिक दलको इच्छा पूरा गरेका छन् । तर कुनै पनि राजनीतिक दलले जनताका आधारभूत आवश्यकता पूरा गर्न सकेको छैनन् । उल्टो जनताको अधिकारमाथि खेलवाड गर्ने सड्यन्त्र गरिरहेका छन् । मधेसी जनताले मधेसी दल र नेताबीचको एकता मात्र होइन, भएभरका राजनीतिक दलहरुबीचको एकता भएको हेर्न चाहन्छन् ।

अहिलेको एकता मधेसवादी दलको बाध्यता हो । यो उनीहरुको एकता भन्दा आवश्यकता बढी भएर एकता गरेका हुन् । यो सङ्ख्यात्मक एकता मात्र हो, गुणात्मक एकता होइन । यसलाई परिणाममुखी बनाउन जरूरी छ । यस एकतामा चुनौती र आवश्यकता दुवै हो । जनताले मधेसी दलको आवश्यकता पूरा गर्दै आएका छन् । तर मधेसी दल र नेता मधेसी जनता र सहिदका सपना पूरा गर्न सकेको छैनन् । यी सपना ठूला हैनन् र छैनन् पनि । यी आधारभूत सपना पूरा गर्न सकिन्छ । त्यसका लागि राजनीतिक दलबीच समान भावनाको विकास गर्न जरूरी छ । मधेसी दलले परनिर्भर राजनीतिक संस्कारको भन्दा आत्मनिर्भर राजनीतिक संस्कारको विकास गर्न जरूरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल