राष्ट्रवाद कि जातीय अहंकारवाद

राष्ट्रवाद कि जातीय अहंकारवाद

झपेन्द्रराज वैद्य

राष्ट्र भन्नु नै भाषा, संस्कृति र जीवन शैलीको पहिचानलाई झल्काउने एउटा भौगोलिक क्षेत्र हो । पहिलो संविधान सभामा माओवादीले सशक्त रुपमा पहिचानको कुरा उठाएका हुन् । त्यसबेला पहिचानको विषयलाई जातभातमा लगेर मिसाइयो । वास्तवमा कम्युनिस्ट जातीयतामा होइन, वर्गीय धरातलमा जानुपर्छ । यो ठीक कुरा हो । तर जातीयताको शब्द राष्ट्रियतालाई लिइएको हो । पहिचानका लागि लिइएको हो । राष्ट्र भन्नु नै यही हो । लिम्बुहरु बस्ने क्षेत्रलाई लिम्बुवान, नेवारहरु बस्ने थलोलाई नेवाः र मगरहरु बस्ने ठाउँलाई मगरात भनिएको हो ।

यस्तै थरुहट, ताम्सालिङ, तमुवान, किराँत, मिथिला, भोजपुरी, अवध भाषिक र सेम खसान पर्दछन् । जसको नामलिएर प्रदेशको नामाङ्कन गरिएको छ, सोही जातिको विशेषाधिकार हुन्छ भन्ने होइन । त्यहाँ समानुपातिक समावेशी प्रतिनिधित्व हुन्छ । प्राचीन जातीय पहिचान संरक्षणका लागि राखेको नाम हो मगरात । अहिले भने पार्टीहरुको सामन्तवादी चिन्तनले पहिचानको कुरा पातलिँदै गएको छ । मधेस, थरुहट र आदिवासी जनजातिको आन्दोलन पनि पहिचानकै लागि हुन् । तर खस जातीय अहंकारवादले प्रचीनकालदेखि आएको पहिचानसहितको राष्ट्रवादलाई रोकेको छ । दलित मधेसी र जनजातिलाई उपेक्षा गरी खस जातिको कब्जामा राख्न खोजिएको छ । अहिले मुख्यतः एमाले, राप्रपा र नेपाली काङ्ग्रेसले यही कुरा ल्याएका छन् । राप्रपाले त धर्मनिरपेक्षताको विरोध गरी हिन्दू धर्मको प्रचार गरिरहेको छ । यसमा पनि एमाले अध्यक्ष केपी ओलीले ठूलो जातीय राष्ट्रवादको खतरा निम्त्याएका छन् । राजावादीका कारण सङ्घीयतामाथि प्रश्न उठेको छ । सङ्घीयताले राष्ट्र टुक्रिने होइन, बरु सङ्घीयता नभएमा आत्मनिर्णयको अधिकार खोज्दाखोज्दै देश टुक्रिन सक्छ ।

पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यलाई मिलाएर एउटै राज्यबनाए । यस विषयमा उनको योगदानलाई कदर गर्नुपर्छ । तर साथसाथै उनले असली हिन्दू राज्यबनाउन बहुजाति, बहुभाषी र विविध धर्म भएको नेपाललाई एक जाति एक भाषा, एक धर्म र एक देशको नारा बनाएर एक केन्द्रीकृत सामन्ती शासन गरेका हुन् । १० वर्षे जनयुद्ध र जनआन्दोलनले केही परिवर्तन ल्याए पनि क्षेत्री ब्राह्मणको नेतृत्वमा एकल जातीय शासन चलेको छ । खसइतर भाषा, संस्कृति र पहिचानलाई बन्धक बनाइएको छ ।

रुसी राष्ट्रवादको थिचोमिचोमा परेका मुलुकलाई सङ्घीयताको आधारमा अधिकार दिन लेनिन् र स्टालिन सफल भएका हुन् । पछि स्टालिनको मृत्यूपछि रुसी राष्ट्रवाद हावीभएको कारण ९० को दशकमा सोभियत सङ्घ टुक्रिएको हो । चीनमा माओबाट अल्पमतलाई स्वशासन दिइएको थियो । त्यहाँ केही भएन । बेल्जियम र इथियोपिया पहिचानकै कारण सङ्घीयतामा गएका हुन् । बेलायत अङ्ग्रेज राष्ट्रवादबाट अलग हुन चाहेन । अहिले स्कटलन्ड, वेल्स र नर्थ आयरलैन्डले पहिचानको मुद्दा उठाएरहेका छन् । खास भन्ने हो भने नेपालमा खस राष्ट्रवादको संविधान छ । ठूलालाई चैन सानालाई ऐन यही भएको छ नेपालमा । ठूला माछाले साना माछालाई खाएको अवस्था छ । ठूला जातिले साना जातिलाई मिचेका छन् । जबसम्म मधेसी, जनजाति, थारुलाई पहिचानको अधिकार दिइँदैन, जबसम्म महिलालाई पितृसत्ताबाट मुक्त गराइन्न यी समस्याहरु झन् पछि झन् बल्झेर जाने छन् ।

गाउँगाउँमा दलितबाट अझै पानी चल्दैन २१सौँ शताब्दीमा । बोक्सी भनेर पिसाब खुवाएका घटनाहरु आइरहेका छन् । यसलाई सभ्रान्त वर्गले हेर्ने कि नहेर्ने ? जबसम्म प्रयोगमा ल्याइँदैन कागजमा लेखिएको कानुनले केही गर्दैन । सरकारले यसको जिम्मेवारी लिनुपर्छ । अहिले आन्तरिक राष्ट्रियता मास्ने खेलमा सतही राष्ट्रियता देखाइएको छ । दलाल संस्कृति र दलाल राजनीतिविरुद्ध योजनाबद्ध आन्दोलन गर्ने आवश्यकता आइसकेको छ, गाउँ घर आगनआगनमा । देश सिक्किमीकरणबाट कसरी जोगाउने भन्ने पिरलो आएको छ प्रत्येक देशभक्त नेपालीमा । जुन जोगी आए पनि कानै चिरेका । सरकारमा जो जान्छ उही लम्पसार हुन्छ । अहिले क. प्रचण्ड भारत जाँदा २५ बुँदे सहमती त्यसै भएको होइन । नेताहरुको रवैयाले चिनियाँ राष्ट्रपति अझै नेपाल आउन सकेका छैनन् । चिनियाँ राष्ट्रपति आउने वातावरण बनाउन लाग्नुपर्छ सरकार ।

अहिले महँगी भ्रष्टाचार, कमिसनतन्त्र, अवैध चेलीबेटी ओसार पसार चलिरहेको छ । गरिबी दिन प्रतिदिन बढिरहेको छ । दैनिक हजारौं युवा विदेश पलायन भएका छन् । नेपाली सीप र परिश्रम विदेश पुगेको छ । रेमिट्यान्सबाट देश चलेको छ । गरिबी दिनप्रतिदिन बढेको छ । उताभने सांसदको मासिक तलब ५० हजारबाट ८२ हजार ५०० पुराइएको छ । टेक्सी भाडा १५० बाट १००० पुराइएको छ । विद्युतभने लोड सेडिङ मुक्त छ । यस कुराको लागि भने सरकारलाई धन्यवाद दिनुपर्छ । तर पनि अझै सरकारले पानी र विद्युतको बिल असुल गर्न सकेको छैन । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट समेत पानीको शुल्क नआएको समाचार सुन्दा दुःख लाग्छ ।

अहिले युरोप र अमेरीकाले द. एसियालाई फाटो पारेर लडाउन चाहन्छन् । उनीहरु चीन र भारतलाई लडाउन चाहन्छन् । कहिले भियतनाम र चीनलाई लडाउँदछन् भने कहिले चीन र जापानलाई । दक्षिण कोरियालाई सहयोग दिएर उत्तर कोरियालाई युद्ध मैदानमा ल्याउन चाहन्छ अमेरिका । सारमा चीनलाई घेराहाल्न चाहन्छ अमेरिका । यसको विरुद्ध चीन र रुसले संयुक्तरुपमा अमेरिकासँग युद्धको सामना गर्ने सङ्केत मिलेको छ । यसै अनुसार भारतले नेपाललाई कठपुतली सरकार बनाउँदै आएको छ । भरतीय एयरमार्सलको चेक पोस्ट छ एरपोर्टमा । अप्परकर्णाली र अरुण–३ जस्ता राष्ट्रघाती सन्धि सम्झौता भएका छन् ।

संविधान संशोधनको ड्राफ्ट अन्तैबाट आएको हुन्छ । हिजो मात्र मन्त्री परिषदले ८ बुँदे संविधान संशोधन प्रस्ताव पास गरेको छ । तर अझै कुरा मिलिराखेको छैन । छोरी हिर्काएर बुहारी तर्साउने जस्तै छ । नागरिकता र भााषाजस्तो संवेदनशील कुरालाई हुबहु राखेर सीमाङ्कनबाहेक सबै कुरा पास गरिएको छ । सीमाङ्कनका लागि सङ्घीय आयोगको जिम्मा दिने भनिएको छ । सीमाङ्कन एउटा प्राविधिक पक्ष हो । तर नागरिकता र भाषाले ठूलो भूमिका खेल्छन् नै । पेचिलो छ राजनीति । मधेसी साधारण नागरिकको समस्या भने हल गर्नुपर्छ अन्यथा यो झन् बल्झने छ । बोल्नेको पिठो बिक्ने भनेजस्तै मधेसी नेताले उठाएको समस्या मात्र होइन अरु जातजाति, उपेक्षित वर्गको पनि समस्यालाई समाधान गर्नु पर्छ । निम्नस्तरका मधेसी जनताको जीवनस्तर उकास्न मधेसमा छुट्टै कार्यक्रम लैजानु अत्यावस्यक छ । मधेसीले भनेजस्तो पहाडिया अहंकारवाद होइन, सबैलाई सम्बोधन हुनेगरी संविधान पुनर्लेखन वा संशोधनगर्नुपर्छ ।

एमालेको दम्भले पनि देशलाई अनिर्णयको बन्दी बनाएको छ । मधेसीको भावनामाथि जित हासिल गर्ने र पहाडी खसआर्य अभिजात पुरुषहरुको एकाधिकार लागू गर्ने विजय अभियान हो एमालेको । यो अभियानले राजविराज, सप्तरीमा ५ जना निर्दोष नेपालीको ज्यान गएको छ । यसको कसरी प्रायश्चित्त गर्छ एमाले ? सधँै मधेसलाई अपराधी देख्छ एमाले । अहिले मधेसवादी दलहरुमा चेत आएर होला ५ दल मिलेर राष्ट्रिय जनता दल निर्माण गरेका छन् । यो सकारात्मक कुरा हो । उनीहरु भारतको पछि नलागेर स्वतन्त्र हुनुपर्छ । आफ्नो राष्ट्रको समृद्धिमा लाग्नुपर्छ । सामन्ती हैकमचल्न सक्दैन ।

तर शान्ति, न्याय र आफ्नो पहिचानको खातिर एकजुट भएर लाग्नुपर्छ । अहिले सप्तरीमा कसले अपराध ग¥यो ? यसको पनि हेक्का राख्नुपर्छ । हो, मधेसी नेताहरुले बोर्डरमा भएको नाताले भारतसँग विशेष मैत्री सम्बन्ध राख्न सक्छन् । राखेको पनि आभाष हुन्छ । तर मधेसी जनताले भारतलाई के बेचेका छन् ? बरु खस ब्राह्मण पहाडेहरुले नदी नाला आदि बेचेका छन् । प्रकृतिक स्रोत विदेशीको हातमा दिने, स्रोत साधन बेचेर खाने, कुर्सीका लागि राष्ट्रघाती सम्झौता गर्ने आदि दलालीका पराकाष्टा हुन् । अब नक्कली राष्ट्रवादको अहंले राष्ट्रघातलाई टेवा पुर्याउने होइन । राष्ट्रियताको पक्षमा योजनाबद्ध तरिकाले जानुनै बेस होला । यसका लागि साम्रज्यवाद, बिस्तारवाद विरोधी देशभक्त जनताहरु एकजुट हुनुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल