यसकारण स्थानीय तहको निर्वाचन अग्निपरीक्षा

यसकारण स्थानीय तहको निर्वाचन अग्निपरीक्षा

– विनोदखण्ड तिमिल्सेना

दशवर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन र हजारौँ महान सहिदहरु र बेपत्ता योद्धाको बलिदान, हजारौँको जेलनेल, यातना दुःख कष्ट र समर्पणबाट गणतन्त्र स्थापना हुने क्रममा छ । सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक अधिकार (गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मानव अधिकारसहितको समाजवाद उन्मुख व्यवस्था) नेपालको संविधान २०७२ ले सुरक्षित गरिदिएको छ । यसबाट प्राप्त उपलब्धिको संस्थागत गर्ने र गरिब तथा श्रमजीवी वर्गको पक्षमा आफ्ना वडा, गाउँपालिका, महा÷उप÷नगरपालिकाका पदाधिकारी छान्ने मौका पाएका छन् ।

यसबाट विकासका लागि आफैले योजना, कार्यक्रम, बजेट र क्रियाकलाप गर्ने अवसरको सदुपयोग गर्न सक्छन् । यस्ता परिवर्तनलाई संस्थागत गर्न आसन्न स्थानीय तहको निर्वाचन एक उत्सवकै रुपमा हरेक नेपाली मतदाताको घर आगनमा आएको छ । यसले संविधान कार्यान्वयनमा राजनीतिक पार्टीहरुको प्रतिबद्धताको परीक्षा लिँदैछ । साथै असल र योगदान पुर्याउन सक्ने जनक्षमताको पनि खरो परीक्षा लिन गइरहेको छ ।

विगतको भन्दा फरक निर्वाचन
विगतमा भएका स्थानीय निकायका निर्वाचनको निरन्तरताका रुपमा नभै स्थानीय सरकारको निर्माणमा अहिलेको स्थानीय तह निर्वाचन केन्द्रित रहेको छ । जनसहभागितामूलक समावेशी लोकतन्त्रको जगका रुपमा रहेको स्थानीय तह राज्य सञ्चालनका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकारसहित जनतालाई राज्यसत्ताको मालिक बनाउने महाअभियानको एउटा कडी हो । चुनाव जितेपछि जनता नचिन्ने रोगलाई निर्मूल गर्नेछ । टोलटोलका जनतासँग जीवन्त सम्बन्ध बनाई जनसहभागितामा मात्र वडा, गाउँ र नगरका कार्यहरु पक्षपात नगरी पारदर्शी तरिकाले सञ्चालन गर्न सक्षम पार्टी र व्यक्ति छनोट गर्न जनता सक्षम छ कि छैन ? यसको परीक्षा लिन निर्वाचन घर आगनमा आएको छ । विगतका स्थानीय निकाय योजना निर्माणमा केन्द्रमुखी हुन्थे । अहिले आफ्नो आय, क्षमता, आवश्यकता हेरी आफैले योजना बनाउने कार्यान्वयन गर्ने र जिम्मा पनि लिने गरी स्थानीय तह निर्माण हुँदै छ ।

उदाहरणका लागि विगतमा गाविसमा एउटा खरदार स्तरको मात्र कर्मचारी हुन्थे । जसले सामान्य सिफारिस गर्ने, सर्जिमिन गर्ने र जिविससँग समन्वय गर्ने मात्र काममा सीमित थियो । अहिले गाविसस्तरकै क्षेत्र र जनसङ्ख्या समेटेको वडामा उपसचिव वा अधिकृत तहको कर्मचारी प्रमुख रहने र इन्जिनियरसहित ११ जना कर्मचारी रहने व्यवस्था हुनुले जनताले घरदैलोमा नै सरकारी सेवा पाउने परिस्थिति बनेको छ । सङ्घीयताको वास्तविक महत्व र लोकतन्त्रको सुन्दरता यस निर्वाचनपछि प्रकट हुँदैछ । कतिपय पार्टीहरुले पुरानै संरचनाको चुनाव गराउन हतारो गरिरहेको विगतलाई समेत अध्ययन गरी नयाँ संरचनासहितको सङ्घीयता व्यवस्था गराउने शक्तिलाई जनताले पुरस्कृत गर्न सक्छ कि सक्दैन ? यस मानेमा पनि यस फरक निर्वाचनले जनताकै अग्निपरीक्षा लिँदै छ ।

अस्थिरता र सङ्क्रमणकालको अन्त्य
यो निर्वाचनले स्थिरता दिनसक्ने नेपाली ताकतको पनि अग्निपरीक्षा लिनेछ । नेपालको संविधान २०७२ मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपतिय प्रणाली) दिन चुकेरै भए पनि स्थानीय तहमा भने प्रत्यक्ष निर्वाचित आवधिक कार्यकारी चयन गर्ने व्यवस्था दिन राजनीतिक पार्टीहरु सफल भएका छन् । २००७ देखि हालसम्म पनि र खासगरी २०४६ पछि व्यापक देखिएको र हाल मौलाएको छोटो समयमा सरकार परिवर्तनबाट भइरहेको अस्थिरताको अन्तका लागि स्थिर स्थानीय, प्रादेशिक र स्थानीय सरकार अत्यावश्यक छ । यसको पक्षमा कुन–कुन पार्टी र नेताहरु लडिरहेका छन् भन्ने चिन्नसक्ने ल्याकतको परीक्षा पनि यही चुनावले लिँदैछ हामीसँग । जेसुकै भए पनि स्थानीय तहमा निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको रिक्तता र कर्मचारीतन्त्रबाट गर्नुपरेको भरथेगको अन्त्य हुनेछ ।

राजनीतिक सहमतिका नाममा पार्टीहरुबाट टीका लगाइएका अघोषित संयन्त्रहरु ध्वस्त हुनेछन् र स्थिरताको अपेक्षा गर्न सकिन्छ । २०६२–०६३ को परिवर्तनपछि अहिलेसम्म रहेको तरलता र सङ्क्रमणकाल अन्त्यका लागि संविधान कार्यान्वयन नै अचुक अस्त्र हो । यसका लागि स्थानीय निर्वाचन अपरिहार्यजस्तै छ । यसर्थ यस चुनावले संविधान सफलताको पनि परीक्षा लिँदैछ । संविधान कार्यान्वयनमा सबै त्याग्न तयार छु भन्ने प्रधानमन्त्रीको परीक्षा हुँदैछ । राजनीतिक पार्टीहरुको प्रतिबद्धताको परीक्षा हुँदैछ । तराई केन्द्रित र अन्य सबै ठूला साना भनिएका दलहरुको पनि परीक्षा हुँदैछ । नयाँको नाममा सङ्गठित हुन खोजेको देखिएका नयाँ शक्ति, साझालगायतको पनि राम्रै अग्निपरीक्षा लिँदैछ । चुनाव खारेज गर्न खोज्ने नेकपालगायतको पनि परीक्षा नै हो चुनाव । वास्तवमा अस्थिरतालाई अन्त गर्न नेपाल सक्षम छ कि छैन, देश भित्र सँधै अस्थिरता बनाउन चाहने बाह्य तत्वहरुलाई दुत्कार्न सक्ने नेपाली ताकतको परीक्षा पनि हो यो निर्वाचन ।

अब आर्थिक क्रान्ति
यतिबेला नेपालमा राजनीतिक क्रान्तिको लामो शृङ्खलाबाट जनताले आर्थिक क्रान्तिमा सिफ्ट हुन चाहेका छन् । यस चाहनाको परीक्षा पार गर्न भने जनताले परीक्षाको राम्रै तयारी गर्नु पर्दछ । चिट चोरेर पास गर्न खोज्नेहरुलाई चिन्न चुकेर जनताले भुल गर्न पाउने स्थिति अब छैन । विगत २५ वर्षको आर्थिक वृद्धिको रेकर्ड तोडन सक्षम नेतृत्वलाई सम्मान ढाडस र उत्साह दिने कि निराशा दिने ? जनताकै हातमा छ । आजभन्दा ठीक एक वर्ष पहिला आजकै दिन १८ घण्टाको लोडसेडिङमा जनतालाई तडपाउनेलाई दुत्कार्ने कि पुरस्कृत गर्ने ? यी सबै यक्ष प्रश्नको उत्तर दिन जनताले सक्कलीलाई चिन्ने र पुरस्कृत गर्ने सामथ्र्य राख्नुपर्दछ ।

समाजमा द्वन्द्वका घाउहरुलाई चर्काएर राजनीतिक आन्दोलन वा क्रान्तितर्फ फर्काउने कि अति विचार राखेर वैमनस्यता छर्नेहरुलाई छलफलका माध्यमबाट सहमतिमा ल्याई राष्ट्रिय एकता कायम गर्दै आर्थिक क्रान्तिलाई मार्ग प्रशस्त गर्ने ? जनताको हातमा निर्णय गर्ने दिन आएको छ । यसैले यो चुनाव जनताको निर्णय क्षमता, छनोट क्षमता र सही गलत छुट्याउन सक्ने क्षमताको अग्नि परीक्षा हो यो चुनाव, भन्दा अत्युक्ति हुँदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल