नेतालाई गाली गरेर मात्र देश बन्दैन

नेतालाई गाली गरेर मात्र देश बन्दैन

पारसमणि पोखरेल

नेपाल सतीले सरापेको देश भन्नु समय सान्दर्भिक हुँदैन । अहिलेको वैज्ञानिक युगमा यस्ता कुरा गर्नु हामी नेपालीका लागि लाजमर्दो विषय हो । नेपाल विकसित हुन किन सकेन भनेर एक मिनेट सबै नागरिक घोरिने हो भने त्यसको उत्तर सहजै पत्ता लगाउन सकिन्छ । यसको खास कारण भनेको दूरदृष्टिको अभाव र राजनीतिक अस्थिरता नै हो । राजनीति अस्थिरताको बाबजुद पनि केही मात्रमा विकासको गति अघि बढिरहेको छ । तसर्थ देशमा राजनीति स्थिरता कायम भयो भने के–के गर्न सकिन्छ भनेर एकछिन सोचौँ । देशले दस वर्षभित्रमा एउटा ठूलो फड्को मार्नेमा कुनै शङ्का छैन । चीन र भारतले गरेको आर्थिक क्रान्ति छिमेकी राष्ट्रको नाताले हामीसँग पनि त्यसको प्रत्यक्ष लाभ उठाउने प्रशस्त बाटाहरु छन् । केही वर्षयता विकासका कुराहरु नेपालमा धेरै उठ्न थालेको छ, अनि बहस र चर्चासमेत ।

काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा विदेशी लागनीकर्ताहरुले विभिन्न क्षेत्रका अयोजनामा लागनीको चाहना व्यक्त गरेका छन् । सात देशका १६ कम्पनीले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानी गर्न इच्छा देखाएका छन् । उनीहरुले सुरुङ मार्ग, विमानस्थल, प्रसारण लाइनजस्ता क्षेत्रमा चाहना व्यक्त गरेका छन् । यसमध्ये सबैभन्दा बढी रकम चिनियाँ लगानीकर्ताले इच्छा जाहेर गरेका छन् । ६ वटा चिनियाँ कम्पनीले ८ अर्ब ३० करोड डलर नेपालमा लगानी गर्न चाहेका छन् ।

एसियाली विकास बैङ्क (एडीबी) ले हालै सार्वजनिक गरेको तथ्याङ्कले नेपालको आर्थिक वृद्धिदर २४ वर्षयताकै सबैभन्दा बढी ५ दशमलव २ प्रतिशत देखाएको छ । व्यापार र आपूर्तिको सहजता, अनुकूल मौसम, रेमिट्यान्सको वृद्धि, भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता, लोडसेडिङ अन्त्य, निर्वाचन खर्चलगायतका कारणले नेपालको आर्थिक वृद्धिदर ५ दशमवल २ देखि ६ दशमलव २ प्रतिशतसम्म पुग्ने प्रक्षेपण पनि एडीबीले गरेको छ । २०५० सालमा नेपालको आर्थिक वृद्धिदर ८ दशमलव ६ प्रतिशत पुगेको थियो । त्यसको २४ वर्षपछि नेपालको सबैभन्दा बढी आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा पुग्ने भएको एडीबीले जनाएको हो ।

लुम्बिनीको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्ट, पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टको काम अघि बढिसकेको छ भने निजगढको अन्तर्राष्ट्रिय एयरपोर्टको लागि पनि काम बढिसकेको छ । फास्ट ट्रयाकको लागि पनि काम अब सुरु हुने पक्का भइसकेको छ । यसले दोस्रो अन्तर्रास्ट्रिय विमानस्थललाई राजधानी जोड्ने मात्र होइन तराईलाई पनि काठमाडौँ नजिक बनाउने छ । तीनवटा एयरपोर्ट सम्पन्न मात्र भयो भने देशमा नयाँ अन्तर्राष्ट्रिय उडानहरु आउने छन् । विदेशीपर्यटकको घुइचो लाग्ने छ । रोजगारीको सिर्जनाहुने छ । आन्तरिक पर्यटनसमेत बलियो भएर आउने छ ।

देशमा थुप्रै नयाँ तारे होटल खुल्ने क्रममा छन् । यसमा केही अन्तर्राष्ट्रिय चेन होटलहरु पनि छन् । यसले गर्दा नेपालको अर्थतन्त्र मजबुत पार्नुको साथै रोजगारीे सिर्जना हुने कुरामा दुई मत नहोला । पुराना बन्द भएका उधोग कलकारखाना खुल्ने क्रममा छन् भने नयाँ उद्योगहरु पनि खुल्ने क्रममा छन् । कृषिमा पनि केही आधुनिकीकरण भएको छ, पढेलेखेका युवा समेत कृषिमा आकर्षित भएको देखिन्छ, जुन एकदम सकारात्मक पक्ष हो ।

लामो समयदेखि नेपालमा देखापरेको ऊर्जा सङ्कट पनि हटेको छ । अबको ४ वर्षभित्र नेपालले विद्युत निर्यात गर्नेसमेत क्षमता राख्न सक्छ । आफ्नो भएको सीमित स्रोत र साधनलाई उपयोग गर्ने हो भने जे पनि गर्न सकिन्छ भनेर कुरा काट्ने र पद पाएर कामन गर्नेको लागि गतिलो झापड पनिभएको छ अहिले ऊर्जा मन्त्रालयको काम । ढिलै भए पनि मेलम्ची काठमाडौँमा आउन लागिसक्यो । लामो समयदेखि नेपाल एयरलायन्स ले अनेकन सङ्कट खेपी अहिले केही आशाहरु देखाएको छ । पुराना जहाज बिक्री गर्दै नयाँ र ठूला जहाजहरु ल्याउन प्रयासरत देखिन्छ । अबको केही वर्षभित्र जापान, कोरिया, अस्ट्रेलिया र युरोपमा समेत नेपाली जहाजहरु उड्ने छन् । यसबाट पर्यटनमा ठूलो टेवा पुग्ने छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माणको योजना ल्याउने भएको छ । यो पनि अर्को महत्पूर्ण सफलता हुनेछ ।

भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको छ ।

मन्त्रालयले एक हजार २५ किमिको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन पनि सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैङ्कको २५ अर्ब रूपियाँ सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेनको बनाउने काम सुरु भएको मन्त्रालयले जनाएको छ । माइतीघर–त्रिपुरेश्वर एक किमि ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको छ । चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ ।

४० लाखभन्दा बढी एनआरएनहरु विदेशमा छन् । सीप, पुँजी, लगानी नेपालमा भित्र्याउन आफ्नो बुताले काम गरिरहेको देखिन्छ । एनआरएनहरुले नेपालमा कति लगानी गरेका छन भन्ने यकिन तथ्याङ्क छैन तर अहिलेसम्म जलविद्युत, वित्तीय, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य आदिको क्षेत्रमा ५० अर्ब रुपियाँभन्दा बढी पुगेको अनुमान गरिएको छ । एनआरएनहरुको संयुक्त लगानीमा भएको ठूलो तथा पहिलो परियोजना लमजुङको दोर्दी खोलाको जलविद्युत परियोजना हो । ३५ मुलुकका ८०० लगानीकर्ताबाट १ अर्बको लगानीमा हुने यो योजनाको निर्माण अन्तिम रुपमा छ । शेष घलेको व्यक्तिगत लगानीमा काठमाडौँमा ७ अर्व रुपियाँमा ५ तारे सेराटन होटल, डा. उपेन्द्र महतोको व्यक्तिगत लगानीमा बन्न लागेको सुविधा सम्पन्न अस्पताल आदि व्यक्तिगत ठुला लगानीका उदाहरण हुन् ।

यसैगरी पूर्व अध्यक्ष जीवा लामिछानेले सञ्चार तथा बैङ्किङ, देवमान हिराचनले कृषि, भवन भट्टले होटल अनि पेय पदार्थ तथा अन्य पदाधिकारीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल आर्थिक पत्रकार मञ्चले ९ जिल्लामा गरेको सर्वेक्षणअनुसार यी जिल्लाहरुमा मात्र एनआरएन ले करिब ३० अर्बको लगानी गरेका छन् । सर्वेक्षण गरेका जिल्लामा काठमाडौँ, भक्तपुर, ललितपुर, बाग्लुङ, गोर्खा, मकवानपुर, सिराहा, चितवन र कास्की छन् । ६७ वटा परियोजनामा ८२७६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् जसमा ५४९६ पुरुष र २७८० महिला रहेका छन् । राष्ट्रले अपेक्षा गरेअनुसारको नभए पनि आफ्नो हैसियतअनुसार (पहिलो पुस्ताका एनआरएन भएकाले) योगदान एनआरएनले गरेको छ भन्दा गलत हुनेछैन । राष्ट्र द्वन्द्वमा फसेको बेलामा पनि लगानी डुब्ने कुनै प्रवाहनगरी लगानी भित्र्याएका थुप्रै उदाहरण छन् । देशलाई सजिलो परेको बेला विदेशीहरुले पनि लगानी गर्न सक्छन् तर अफ्ठेरोे परेको बेला हामीले नै गर्नुपर्छ भन्ने भावनाले धेरैले हात फैलाएका थिए । आफ्नो राष्ट्रका लागि केही गर्नुपर्छ र हामी गर्ने छौँ भनेर हिँडेका एनआरएनबाट धेरै कुरा आश गर्न सकिन्छ ।

हाम्रो सोचमा परिवर्तन हुनु जरुरी छ । हामी सधैँ राजनीतिक कार्यकर्ता भएर सोच्ने बानी नगरौं । कहिलेकाहीँ नेपाली भएर पनि सोचौं । नेताहरुलाई गाली गरेर पनि यो देश बन्दैन । आफ्नो पार्टीको नेताले गरेको अनिमियतालाई ढाकछोप गर्ने बानी राष्ट्रको लागि घातक हो । अब जनतालाई ठगेर हुन्न,हामीले रिजल्ट दिनुपर्छ भन्ने सोच नेताहरुमा आइसकेको छ । यो एकदम सकारात्मक पक्षहो ।

जनार्दन शर्मा र गगन थापा यसका ज्वलन्त उदाहरण हुन् । हामी सम्भावना नखोजी समस्यामा अल्झिन्छौँ, यसले हामीलाई टाढा धकेल्छ । फेरि पनि भन्छु, अबदेखि सतीले सरापेको देश भन्न छाडौं र भन्ने गरौँ यो सम्भावना भएको देश हो र यहाँ हरेक कुरा सम्भव छ र सकिन्छ गर्नलाई, तर खाचो केवल सकारात्मक सोचको छ ।

(लेखक एनआर एनजापानका निवर्तमान अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य हुन् )

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल