सन्तान अभिभावकको विश्वविद्यालय

सन्तान अभिभावकको विश्वविद्यालय

कविता ढकाल

सहपाठीलाई प्रध्यापकले अभ्यास शिक्षणका लागि अगाडि बोलाए, ती छात्रा शिक्षक पढाउनुपर्छ भन्ने बित्तिकै रातोनीलो भइन् । साथीहरु माझ पढाउनु त परै जाओस्, वाक्य फुट्न पनि कठिन हुँदै गयो । मुहार रातो भएर रगत चुहिएला जस्तै हुँदै गर्दा केहीबेरमै असिन पसिन भइन् ।
त्यत्ति नै बेला प्रध्यापकले झाँको झारे– ‘१०÷२० जनाको अगाडि बोल्न नसक्नेले शिक्षण अभ्यास गरी खाँदैन । भोलि पढाउन सक्छु जस्तो लाग्यो भने भोलि आउनु होस्, नसक्ने जस्तो लाग्यो भने अर्को वर्ष आउँदा हुन्छ । शिक्षक हुने लक्ष्य राख्ने दुई चार जनासँग बोल्न नसक्ने काम छैन । तपाईंहरुको हकमा पनि कुरा त्यही हो, फेरि एउटीलाई मात्र भनेको ठानेर मख्ख नपर्नु होला ।’
बच्चैदेखि शिक्षक भनेको अप्ठ्यारै हुन्छ भन्ने परेको छ मलाई । त्यो अझैसम्म कायमै छ । हुन पनि मेरा शिक्षकहरु अप्ठ्यारा नै परेका छन । कसरी हुन्छ विद्यार्थीहरुलाई अप्ठ्यारो पारौं, दुःख दिऊँ भन्ने नै ठान्ने छन । शिक्षक भनेको पालाको पैंचो तिर्ने नै हुनु पर्ने हुन कि ? उनीहरुले आफू पढ्दा पाएको हण्डरठक्कर प्रत्येक वर्ष विद्यार्थीमाथि पोख्दा हुन कि !
विद्यार्थी पनि उस्तै हुन् । स्नातक तहमा पनि शिक्षण अभ्यास गर्नैपर्छ । गरेकै हुन् । पाठ योजना बनाउन परेकै हुन्छ । अनि स्नातकोत्तर दोस्रो वर्षमा पुगिसक्दा पनि दुई चार जनासामु गएर बोल्न केको डर, केको धक ? त्यहाँ अपरिचत को छन् र ? शिक्षक पनि चिनेकै, सहपाठीहरु झन आफ्नै भइहाले ।
भोलिपल्ट प्राध्यापकले मेरै नाम लिएर पढाउन बोलाए । हिजो मेरी सहपाठीलाई निराश बनाएका प्राध्यापकले मैलै बनाएको पाठ योजना हेर । अनि पढाउन भनेँ । मनको एउटा कुनामा डर त थियो । अग्रजहरुसँग, विज्ञहरुसँग बोल्दा अलि सजग हुनै पर्दछ । त्यो थप जिम्मेवारीले पनि मलाई त्यस्तो भएको होला । नेपाली शिक्षकहरु त्यहाँमाथि भाषाविद त झन एउटै वाक्यमा पनि कैयौं खोटहरु देखाउँछन । त्यसबाट बच्न पनि कम्ति सकस छैन ।
पढाइसक्दा प्राध्यापकले राम्रो छ भन्दै हिजो पढाउन नसकेकी साथीलाई देख्यौ, यसरी पढाउने हो भनेर मलाई उदाहरणीय पात्र बनाइदिँदा म त औधी खुशी भएँ । खै पढाउन थालेको आधा दशक भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण भएदेखि नै पढाउन थालेकी थिएँ । विवाहपछि केही वर्ष खाली बसेँ । पछिल्लो समय एक वर्षदेखि पढाइरहेकै छु । बालबालिका पढाउनु र आफू समान अझ आफूभन्दा अग्रजलाई पढाउनु निकै कठिन काम हो । अभ्यासमा भएका गल्तीले दीर्घकालीन असर नगर्ला, तत्काल सच्याउन सकिएला । तर कक्षा कोठामा यदि गल्ती भइहाल्यो भने त्यसले ठूलो असर गर्छ भन्ने पाठ अभ्यास शिक्षणले देखाइदिएको छ ।
निजी विद्यालयमा हो पढाउने मैले । शिक्षा सङ्काय अध्ययन गरेर पढाउन आएका निकै कम छन् । अरु सङ्काय पढ्नेहरुको सङ्ख्या निकै धेरै छ । यसो निजी विद्यालय सञ्चालन गर्नुलाई सञ्चालकले सेवा कम ब्यापार बढी ठान्ने रोग विकराल बन्दै गएको छ । शिक्षकलाई तालिम, पुनर्ताजकी, अध्ययन भ्रमणको त कल्पनै नगरे हुन्छ । सेवा, सुविधाको पनि के कुरा गर्नु ? मात्र काम, काम अनि काम ।
एउटा शिक्षकले बोक्न नसक्ने भारी बोक्नु परिरहेको हुन्छ । शिक्षक र विद्यार्थीको अनुपात पनि कुरा गर्ने विषयमा कहिल्यै पर्दैन । एउटै कक्षा कोठामा धेरै विद्यार्थी राखौँ, थोरै शिक्षक राखौँ, धेरै कमाऔँ यत्ति त हो सोच्ने विद्यालय सञ्चालकले । शैक्षिक गुणस्तर सोच्ने उसको विषय नै हैन, उसको तर्क हुन्छ । सरकारले गर्ने काम हामीले गरिदिएका छौं, त्यो नै सबैभन्दा ठूलो योगदान हो ।
म शिक्षक मात्रै होइन, आमा पनि हो । विद्यालयमा शिक्षक, घरमा आमा हुन्छु । त्यो कुरा पाँच वर्षको छोराले कसरी बुझोस् । अरु सबै शिक्षकले हप्काएर, दप्काएर पढाउने बानी लगाएका छन् । अहिलेदेखि हैन, वर्षौदेखि त्यस्तै अभ्यास गरिँदै छ । बालबालिका चलायमान हुन्छन् । भनिन्छ, उनीहरुको मतिष्क हाम्रोभन्दा निकै छिटो चल्छ । उनीहरु कल्पनाशील छन, गतिशील छन, जिज्ञासु छन, बोलालु छन, झगडालु छन । संवेदनशील छन्, त्यत्ति मात्रै हैन साना बालबालिकाहरु निन्द्रालु पनि छन् । यी सबै कुरा कसले बुझ्ने ?
कहिलेकाहीं विद्यालयमा म मेरो छोरो (विद्यार्थी)लाई गाली गर्न विवश हुन्छु । सवै विद्यार्थीका माझ छोरोले मलाई लज्जित बनाइदिन्छ । उसैले पढाइ दिन्छ ।
‘मामुले त आफ्नो छोरोलाई माया पो गर्नुपर्छ, छोरोलाई गाली गर्ने पनि मामु हुन्छ त ?’
तपाईं मेरो छोराले सोधेको प्रश्नको के जवाफ दिनु हुन्छ ? मसँग त जवाफ छैन ।
हो गाली गर्ने त, के मामु हुनु त, हो नि । एउटा सानो बालकले मन लागेको काम गर्न दिने पो मामु हो । मामुले छोरोलाई माया नै गर्ने हो । मामुले मात्रै हैन, सबैले बालबालिकालाई माया नै हो गर्ने त ।
जबसम्म बालबालिकाले गाली मेरो राम्रोका लागि गरिएको हो भन्ने बुझ्दैन । तबसम्म गाली गर्नुको के अर्थ हुन्छ र ?
शिक्षण अभ्यासको तयारीका लागि राति अबेरसम्म बस्दा उसले पनि गृहकार्य गरेर साथ दिन्छ । राति अबेलासम्म बस्यो भने बिरामी परिन्छ भन्छ । बिहान चाँडै उठेर कलेज जानुपर्ने मान्छे त झन चाँडै सुत्नुुपर्छ, सानो छोरोको सुझाब हुन्छ । सुत्नका लागि कर गर्छ । मामु नसुतेसम्म सुत्दिन भन्छ अनि के गर्नु ?
कहिले काहीँ ऊ मेरो छोरो हो कि, अभिभावक द्विविधामा पर्छु ।
छोराछोरीको पढाइका लागि राति अवेरसम्म साथी बसिदिने अभिभावक निकै कम होलान । तर एउटा सानो बालक अभिभावकका लागि राति अवेरसम्म बसिदिन तयार हुन्छ । आखिर कसले सिकाएको हुन्छ र त्यस्तो व्यबहार ?
एउटा सन्तान अभिभावकका लागि विश्वविद्यालय हो । जुन पढेर कहिल्यै सकिँदैन । तर हामी विश्वबिद्यालय पढ्न होइन, बन्द गर्न उद्दत हुन्छौं । बच्चा भएर धेरै बोल्ने हो ? सिकाउने ? प्रश्न सोध्ने ? हल्ला गर्ने ? भोलि पर्सि ठूलो भएपछि थाहा पाउँछौ भनेर अभिभावकहरु पन्छिन्छन्, त्यसले बालमनोविज्ञानमा ठूलो असर पारिदिएको हुन्छ ।
एक दिन, छोराले उसको बाबासँग अनौठो वार्तालाप गरिरहेको थियो ।
छोरोः ‘बाबा मलाई ६ वर्षको बनाई दिनुु न ?’
बाबा ः ‘तिमी आफै अर्को वर्ष, ६ बर्षको हुन्छौ ।’
छोरोः ‘हैन मलाई अहिल्यै, ६ वर्षको हुनु छ । मलाई अबु (उसको साथी, गाउँले दाजु) जत्रै हुनुछ ।’
बाबाः ‘किन ?’
छोरो ः ‘चाँडै ठूलो हुन न नि, बाबालाई त्यत्ति पनि थाहा छैन, तपाईले कहीं पढ्नु भएको छैन ?’
(म त ट्वाँ परें ।एक छिनसम्म ढोकामा उभिएर बाउछोराको संवाद सुनिरहेँ । अनि भित्र पसेँ, बाउछोराको संवाद रोकियो ।)
केहिबेर हामी तिनै जनाबीच कुराकानी चल्यो । कुरा गर्दागर्दै छोरो निदायो ।
अनि छोराको प्रश्नोत्तरको समीक्षा ग¥यौं ।
हामीले बालबालिकालाई ठूलो भएपछि धेरै कुरा थाहा हुन्छ भन्यौं, त्यही भएर छोराले चाँडै ठूलो भएर धेरै कुरा थाहा पाउन खोज्यो । लाग्दो हो, सबैथोक गर्न सक्ने बाबाले उमेर पनि बढाएर चाँडै ठूलो बनाउन पनि त सक्दा हुन !
तर यथार्थ त्यस्तो हैन, उसको बाबाले मात्रै हैन, कसैको बाबाले पनि उमेर बढाउन सक्दैनन् । झूठ बोलेर जन्मदर्ता वा नागरिकतामा बढाए मात्रै हो ।
एक दिन छोरा दिदीसँग खेलिरहेको थियो । खेलमा जित हार हुन्छ नै, दिदीले धेरै पटक जितेपछि उसलाई आफूले जित्न नसकेकोमा दुःख लाग्यो होला । खेल्दा खेल्दै सुसु गर्न पनि बिर्से । दिदीले म सुसु गरेर आउँछु भनेपछि ऊ पनि गयो ।
अनि उसले त्यहाँ पनि अनौठो प्रस्ताब राख्यो, सधैं शौचालयमा सुसु गर्ने बाबुले त्यो दिन, आँगनको डिलमा उभिएर सुसु गर्दै, ल कस्ले टाढा पु¥याउने भन्न थाल्यो ।
दिदी बसेर सुसु गर्ने भाइ उठेर गर्ने । भाइकै टाढा पुग्यो । अनि दिदीले हारी भनेर खुशी भयो । अघि अर्कै खेलमा हारेको बदला उसले अर्कै खेलमा दाँजेर बराबरी ग¥यो ।
यसरी सानैदेखि जित्नु पर्छ भन्ने कुरा बालमष्तिष्कमा कस्ले हालिदियो ? खेलको आफ्नै नियम हुन्छ, मर्यादा हुन्छ । एउटा खेल र अर्को खेलको नतिजालाई लिएर बराबरी ठान्न मिल्दैन भनेर कसरी सिकाउने ?
त्योभन्दा अलिक अघि दिदीलाई तिम्रो कुरी (लिङ्ग) देखाउ भनेर हैरान पा¥यो, दिदीले कसरी देखाउनु ?
छोरा मान्छेको मात्रै हुन्छ, छोरी मान्छेको हुँदैन । नानीले जानेको उत्तर दिइन् ।

किन हुँदैन ? फेरि अर्को प्रश्न सोधेर हैरान पारेपछि नानी दौडिँदै मसामु आइन अनि पोल लगाइन् ‘आन्टी हेर्नु न सङ्गीत (भाइ) खाली लाज हुने प्रश्न सोधिरहन्छ ।’
दिदीभाइको संवाद म आफै सुनिरहेको थिएँ । छोरीलाई लाज हुने प्रश्न लाग्यो, मलाई त्यस्तो अस्वभाविक केही लागेन ।
म शिक्षण अभ्यासको कुरा गरिरहेको थिएँ । यस्ता प्रश्नको जवाफ विश्वविद्यालयको कुनचाहिँ पाठ्यपुुस्तकले दिन्छ ?
मैले त भेटेको छैन ।
सबै प्रश्नको जवाफ त अनुभूति रहेछ नि !
त्यही अनुभूति गराउने किसिमको शिक्षा चाहिन्थ्यो कि ? व्यावहारिक शिक्षा आजको आवश्यकता हो कि ?
साना बालबालिकाले आफ्ना साथी वा दाइदिदीहरुलाई सोध्ने प्रश्न शिक्षकलाई सोध्न सक्ने शैक्षिक वाताबरण बनाउनु पर्ने हो कि ?
स्नातकोत्तर दोस्रो वर्षको अन्तिम परीक्षा अभ्यास शिक्षणमा आउने विद्यार्थीको त शिक्षकको अगाडि वाक्य फुट्दैन भने साना बालबालिकाको कसरी फुटोस् ? सोचनीय प्रश्न हो कि हैन ?
कि शिक्षकको काम जान्ने भएपछि मात्रै कलेज आइज, हैन भने घरै बस भन्ने हो ? शिक्षकले स्नातकोत्तर पढ्ने विद्यार्थीलाई त कक्षा कोठामा साथीहरुको सामना गर्न सक्ने बनाउन सक्दैन भने, दोषी को ? नेपालको शैक्षिक प्रणाली, पद्धति फेर्नुपर्ने सङ्केत हैन र यो ?
आफूलाई आधुनिक ठान्ने, शिक्षित पनि भन्ने अनि बालबालिका ठूलो भए पछि सबै कुरा थाहा पाउँछौ, अहिले प्रश्न नसोध मात्रै भनेर जिम्मेवारीबाट पन्छिन मिल्छ ?
खै त ठूलो भएपछि जान्ने अनि सक्ने भए । ती छात्रा शिक्षकले किन सकिनन् त आफ्नै साथीहरुलाई पढाउन ? आखिर यही त रहेछ, भनाइ र गराइबीचको खाडल ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल