कम्युनिस्टका आदर्श कमल कोइराला

कम्युनिस्टका आदर्श कमल कोइराला

प्रा.डा. बद्रीविशाल पोखरेल

नेकपा एमालेका नेता कमल कोइराला एक आदर्श, इमानदार र त्यागका प्रतिमूर्ति व्यक्तित्व लाग्छ । कोइरालालाई यो लेखकले भौतिक रुपमा साक्षत्कार हुने र गर्ने अवसर पाएको छैन तर उहाँलाई लामो समयदेखि अध्ययन गरिरहेको छु । अचम्म चाहिँ के छ भने आर्थिक र भौतिक रुपमा सम्पन्न परिवार र त्यसमा पनि आफ्नै पिताश्री मातृकाप्रसाद कोइराला त्यस बेला मुलुकको प्रधानमन्त्री हुँदाका बखतदेखि नै कम्युनिस्ट पार्टीमा आबद्ध हुने कुरो बिरलै देखिन्छ ।

यस मानेमा कमल कोइरालाले सुख, सुविधा, सम्पन्नताको त्यो सुखद् परिवेश परित्याग गरेर दुःखद् राजनीतिमा आफ्नो पूरा जीवन होम्नु चानचुने कुरा होइन । उहाँले लिनुभएको यो आदर्श मार्गबाट परिवार नै पनि आर्थिक र भौतिक रुपमा भने घाटामा होला भन्ने यस लेखकको अनुमान रहेको छ । तर विमल कोइरालाको यो उच्च, उदात्त, आदर्श र त्यागमय जीवन भने त्यस परिवारका लागि एउटा साह्रै अनमोल विषय पनि रहेको छ । गुमनाम र बदनाम गार्जियन भन्दा सुनाम अभिभावक परिवारको मात्र होइन देशको नै सम्पत्ति हो ।

यस्तो सम्पत्ति अक्सर भौतिक जीवन व्यतीत भएपछि मात्र चिन्हित हुने रोग नेपालमा अझै व्याप्त देखिन्छ । विमल जस्ता प्रखर राष्ट्रवादी, चिन्तक, लेखक, त्याग र समर्पणका असली कम्युनिस्ट नेताको व्यक्तित्व र कृतित्वलाई नयाँ पुस्तामा हस्तान्तरण गरौँ भनेर लेखहरु पनि लेखियो तर विराटनगरका पार्टीका गुरुहरु र तिनका चेलाचपाटीहरुले कान, ध्यान र मन दिएको लागिरहेको छैन । त्यसमा पनि कमल कोइरालाजस्ता अनेक समसामयिक राष्ट्रवादी राजनीतिक विराोत्तेजक लेख, रचना, अन्तर्वार्ता र अभिव्यक्तिलगायत बौद्धिक तथा पठनीय सामग्री पढ्ने, सुन्ने र मनन गर्नेहरु अहिले एमालेलगायत पार्टीमा स्खलित रहेको देखिन्छ ।

बौद्धिक, प्राज्ञिक, लेखकीय, चिन्तनपरक व्यक्तित्वलाई खेसरीको दाल बराबर ठानिएका देखिन्छन् । यसको सिकार कोइराला पनि पर्नुभएको छ । पार्टीमा पदीय हैसियतका कतिपय पाखुरा र च्याँखुराको चुरीफरी देखिन्छ तर कमल जस्ता कलमको सामान्य चर्चा पनि हुँदैन । भातका लागि मात्र हत्तेहाल्नेका लागि भुँडीकै मात्र चिन्ता हुन्छ । जता भतेर त्यतै धेर भन्न्ो अवस्थाले कमलका कलम एक्ला पनि हुन्छन् । तर भविष्यका लागि कलमको कति महत्व छ भनेर बुझ्नेहरुले मात्र कलम कर्मलाई राम्ररी बुझ्छन् । बरु राणहरु, पञ्चहरु र प्रपञ्चहरुले कलमको महत्व बुझेछन् । त्यसैले उनीहरुले कलम, कपी र किताबलाई नियन्त्रित मात्रै होइन कतिपय अवस्थामा बन्देज नै लगाए ।

शिक्षा र चेतनाको झिल्को कति प्रभावशाली हुन्छ भन्ने कुरा तिनले बुझेका थिए । आफ्नू वर्ग र वर्गीय राजनीतिलाई कसरी जोगाउने, टिकाउने र उकास्ने भन्ने कुरा तिनले राम्ररी बुझेका रहेछन् । तर अधिकांश अग्रगामी विचारका बाहक भनिनेहरु कलमको त के कुरा ठुटे कलम पनि बोक्तैनन् र देख्दैनन् । कार्लमाक्र्सले यही कलमका आधारमा दुनियाँ हल्लाए र हल्लाइरहेका छन् । मात्र बीस पेजको कम्युनिस्ट घोषणापत्रले संसारमा तहल्का मच्चाइरहेको छ ।

तर तिनका चेलाहरु कलमको गुह्य र गहनता बुझ्दैनन्, मर्म र महत्ता जान्दैनन् र जाने बुझे पनि बुझ पचाउँछन् । किनकि तिनले विगत विरासद् भजाएर खानु छ । कमल कोइरालालाई यस लेखकले २०४६ सालको आन्दोलन कालदेखिका हरेक आन्दोलनमा अग्रपङ्क्तिमा रहेको देखेको छ । कोइरालाले विशेषतः नेपालमा भारतेली शासकले उहिल्यैदेखि गरेका सबै खालका थिचोमिचो र हस्तक्षेपकारी भूमिकालाई लेखहरु मार्फत् उजागर गरिदिनु भएको देखिन्छ । निचोडमा उहाँले हालसम्म पनि नेपालको पछौटेपनको एक मूल कारण भारतेली शासक हुन् भन्ने प्रमाणसहित उल्लेख गरिदिनुभएको छ । हुन् पनि भुइँतहदेखि नै नेपाली जगत्मा राष्ट्रवादी भावना कमजोर रहेकाले हामी छिटमेकीका ठूलाठूला थिचोमिचोलाई पनि सामान्य रुपमा लिन्छौँ । नुन दिएर नेपालबाट सुन लगेको हामी देख्दैनौँ ।

कोइरालाले जवाहलाल नेहरु, बल्लभ भाइ पटेल, इन्दिरा गाँधी, आइके गुजराल, मनमोहन सिंह र मोदी सरकारसम्मले नेपालमा गर्छु भनेर बोल कबोल गरेका साराका सारा आयोजनाहरु कहिल्यै पूरा नगरेर चरम धोका दिएको बताएका छन् । साम, दाम, दण्ड र भेद नीतिका आधारमा नेपालमा खेलेर यस देशको चरम शोषण र दोहन गर्न नसके भौतिक रुपमा समेत नोक्सान पु¥याउने गरेको विज्ञ बताउँछन् । नेपालको तराई–मधेसलाई हत्याउन भारतेली शासकका सारा प्रपञ्च कोइलालाका लेख मार्फत् उजागर भएकै छ । कमल कोइरालाले पनि कतिपय भारतीय रअका पूर्व अधिकारीका आधिकारिक कृति र भारतीय पत्रपत्रिकामा प्रकाशित लेख, रचना, सूचना सामग्रीका आधारमा यथार्थ सत्य विचार प्रवाह गर्नु भएको देखिन्छ । कोइरालाका नेपालको अखण्डता, एकता र सामाजिक सद्भाव विकास गर्ने उद्देश्यका समसामयिक सान्दर्भिक अत्यन्त महत्वपूर्ण लेखहरु अझै पनि आइरहेका छन् ।

माओले बन्दुके शत्रुलाई पराजित गरे पनि बिसालु विचार रुपी झारपारहरु झन् खतरनाक हुन्छन् र तिनलाई तत्काल उखेल्नुपर्छ भनेझैँ कोइरालाले राष्ट्रविरोधी विचारलाई तत्काल छिमलेको देखिन्छ । एउटा पत्रकार, लेखक, विचारकले निर्वाह गर्नुपर्ने यो महान् भूमिका कोइरालाले निर्वाह गरिरहनुभएको छ ।

पत्रकरिता पेसासमेत अपनाएका कमल कोइराला जस्ता लेखक पत्रकार उत्पादन गर्ने सोच र समझ खासै नभएको एमाले पार्टीको सूचना र सञ्चार विभाग नाम मात्रको रहेको बताइन्छ । नत्र एमाले पार्टीमा जति गुण र सङ्ख्यामा लेखक, पत्रकार र चिन्तकको हैसियत भएका अन्य पार्टीमा कमै होलान् तर पठन र लेखन संस्कृति समाप्त प्रायः भएकाले होला पत्रकार पनि सामान्य समाचार सम्पादनमा सीमित भएको देखिन्छ । लेखन, पठन र सिर्जनाको नर्सरी र ब्याड नै नलगाएपछि पत्रकार र लेखकका नाममा सिरु मात्र उम्रिनु कुनै अचम्मको बात होइन ।

योजना नै भोट बटुल्ने र बढाउने हुँदा गुण र गरिमा घटेको हुनसक्छ । तर प्रबुद्ध पत्रकार र लेखक नभएको भन्ने पनि होइन तर जसरी प्रतिक्रियावादी कित्ताबाट रौसीरौसी एमाले विरोधी अनर्गल विचार आमसञ्चारमा आइरहेको, छाइरहेको र झ्याँगिरहेको देखिन्छ । त्यस अनुपातमा यतातिरबाट गरिएका प्रयासहरु हात्तीका मुखमा जिरा सरह भएको पाइन्छ । हुन त एमालेभित्रै अझै पनि प्रतिभाको फूलबारी भन्दा काँडाघारी हुन खोजेको हो कि भन्ने अनुभूति हुँदैछ । केही दिनअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कान्तिपुर टिभीबाट प्रस्तुत दिलभूषण पाठकबाट लिइएको र सोधिएको अन्तर्वार्तामा आफ्नै पार्टी अध्यक्षका कुनै र कत्ति पनि सकार उल्लेख गर्नै चाहनु भएन ।

यस्तो खोटी मति माथिबाट प्रवाहित भएपछि तलका न्यून चेतनका नेता र कार्यकर्ता कदापि सद्दे हुनेछैनन् । तर कमल कोइराला भने त्यस खालको लिलिपुट संस्कारको हुने कुरै भएन । उहाँले एक अन्तर्वार्तामा पार्टी अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकार स्मरणीय, उल्लेखनीय तथा अत्यन्त सकारात्मक रहेको बताउनुभयो । राष्ट्रिय हक, हित र अडानका सबालमा ओली प्रशंसनीय रहेको बताउनुभयो । तर केही एमालेकै उपल्ला तहका नेता आफ्नै पार्टी नेतृत्वका सकारात्मक कुरा गर्न पर्याप्त कप्ट्याइँ गर्दा रहेछन् ।

लबीका नाममा केही लोभीपापी अनुचरलाई राजनीतिक र राजकीय सरसुविधा दिलाउन पनि यस्ता कृत्य हँुदा र गर्दा रहेछन् । कमल कोइरालाले त आफ्नै पूजनीय पिताश्रीका बारेमा यथार्थ, सत्य र तथ्यपूर्ण आलोचनात्मक टिप्पणी गर्नुहुँदो रहेछ । कोइरालाले पार्टीमा असल, उदात्त, इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्व निर्माण गर्नुभएको देखिन्छ ।

अनावश्यक रुपमा कोही कसैसित अनावश्यक हिचिम नगर्ने, अतिप्रशंसा र अतिनिन्दाबाट बच्ने, अमुक नताको अनावश्यक जीहजुरी पनि नगर्ने र यहाँसम्म कि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले जुन जिम्मेवारी पाउनुभएको छ । त्यो सफलतापूर्वक पूरा गर्दा हुन्छ भनेर सोच्ने तर टेलिफोन मार्फत् देखावटी शुभकामना र बधाइ जस्ता नाटक नगर्ने आफ्नो स्वभाव रहेको उहाँले एक अन्तर्वार्तामा बताउनुभएको थियो ।

यस लेखकलाई यो चाहिँ अलि अति हो कि जस्तो पनि लाग्यो तर यस खालका कामको मात्र चिन्ता गर्ने व्यक्तिलाई बहलवाला व्यक्तिले भने कति सोच र विचार गर्छन्, त्यो भने कमजोर नै होला भन्ने लाग्छ । कोइराला जस्ता विज्ञ र विचारकका अगाडि कतिपय धेरै ठूलो राजनीतिक र राजकीय पदप्रतिष्ठा हासिल गरेका नेता र विषयगत डिग्री हासिल गरेका मनुवाहरु लिलिपुट सरह देखिन्छन् । त्यसमा पनि अवसरवादी र चङ्खचतुर एमाले नेतासित कोइरालाको दजँनी पटक्कै सुहाउँदैन ।

पढ्नु र बढ्नु भनेको भातै मात्र खानु र चिल्लो कारमा सयर गर्नु मात्र त होइन नि । त्यसैले कम्युनिस्ट माने कमल कोइराला यस लेखकका अत्यन्तै श्रद्धाका पात्र हुनुहुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल