वैशाख १२, २०७२ : बिर्सनै नसकिने त्यो क्षण

वैशाख १२, २०७२ : बिर्सनै नसकिने त्यो क्षण

सुजन देवकोटा

महाभूकम्पको दोस्रो वार्षिकोत्सव आइरहँदा २०७२ वैशाख १२ को त्यो दिन आँखैमा नाचिरहेको छ । सायद त्यो दिनको भूकम्पले देखाएको पूरै दृश्य अवलोकन गरेका जो कोहीले पनि बाँचुन्जेल त्यो क्षण भुल्न सक्ने छैनन् । एउटा कहाली लाग्दो त्यो क्षणले जिन्दगी बेकार सावित गराइदिएको थियो । करोडपति र रोडपतिलाई एउटै हैसियतमा पुर्याइदिएको थियो ।

केही समयसम्म सबै एउटै भएर गुजारा चलाइरहेका थिए । तर बिस्तारै मानिस फेरि पुरानै अवस्थामा फर्किन थाले र पहिले झैँ स्वार्थी बन्दै गए । भूकम्पले क्षति मात्रै पुर्याएन धेरै पाठ पनि सिकाएर गयो । तर मानिसहरूले त्यो पाठ सिकेर पनि जानेर पनि नजानेजस्तो गर्न थालेका छन् । सरकारी नीति नियमले काम गर्न सकेको छैन । मानिसहरू अहिले पनि दुई वर्ष अगाडिकै अवस्थामा छन् । वैशाख १२ को उक्त भूकम्पमा परी ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पले २ हजार ६ सय ७३ सरकारी भौतिक संरचनालाई पूर्ण ध्वस्त बनाएको थियो । यस्तै ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति पुर्याएको थियो । ६ लाख २ हजार २ सय ५७ सर्वसाधारणको घर पूर्ण क्षति भएका थिए भने २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति पुर्याएको थियो । भूकम्पले पुर्याएको क्षतिलाई लक्षित गरेर सरकारले विभिन्न योजना मात्रै बनाएन राष्ट्रिय पुनर्निमाण प्राधिकरण नै गठन गर्यो । तर लामो समयसम्म पनि यसको नेतृत्वमै विवाद रह्यो वा भनौँ यहाँ पनि राजनीतिको ठूलो खेल भयो । त्यो खेल अहिलेसम्म पनि निरन्तर छ सरकार फेरिएपिच्छे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष परिवर्तन भएजस्तै गरी प्राधिकरणका कार्यकारी प्रमुख पनि फेरिने परम्परा बसेको छ ।

सरकारले विभिन्न योजना त बनायो तर त्यो कागजमै सीमित रह्यो । भूकम्पपछि पनि तीनवटा सरकार फेरिए । ती सरकार पनि जुन जोगी आए पनि कानै चिरेका नेपाली उखानसँग समान भएर गए र हुँदै छन् । सरकारले गर्न सक्ने काममा पनि उचित चासो दिएको छैन । जसलाई पीडा परेको छ, त्यो पीडा स्वयं पीडितले भोग्न बाध्य छ । महाभूकम्पपछि दुईवटा हिउँद र दुईवटा बर्खा दुःखैमा बिताएका पीडितले । अब तेस्रो बर्खा पनि दुःखमै कटाउनुपर्ने निश्चित भएको छ । भूकम्पपछि विभिन्न दातृ राष्ट्रबाट धेरै नगद तथा जिन्सी सहयोग उपलब्ध भए पनि त्यो सम्बन्धित ठाउँसम्म पुग्न सकेन या भनौँ पुर्याउन उचित ठानिएन । केही सामग्री अहिले पनि स्टोरमै खिया आएर बसेका समाचार सार्वजानिक भइरहेका छन् । खाद्यान्नका सामग्रीहरू कुहिएर गएका छन् । सरकार आफैले दिनुपर्ने कुरा हो । तर अरुले दिएको चीजलाई पीडितसम्म पनि पुर्याउन नसक्ने हाम्रो देशको सरकारको चाला देखेर रुनु कि हास्नुको अवस्था सृजना बनाउँछ । त्यति मात्रै होइन जाबो त्रिपालमा समेत सांसदहरूले तानातान गरेको हामीले देखेकै हो । आफैँले गर्नुपर्ने कामलाई अर्काले गरिदिँदा पनि त्यसैमा भ्रष्ट्राचार गर्ने यस्तो देशमा सङ्घर्ष गर्दै छौँ हामी । आखिर मानिसलाई सम्पत्ति भनेको जति भए पनि उस्तै रहेछ करोडौँको महलमा सुखका साथ चलेका जिन्दगी त्रिपालमुनि सुतेर पनि त चलेकै थियो र चल्दै छ । यहाँ हुनेलाई झन् झन् थपिँदै गएको छ भने नहुने झन्झन् थलिँदै गएको छ । यो भेदभाव कहिले अन्त्य हुने हो खोई ?

अरु कुरा त त्यस्तै भयो गत वर्ष भूकम्पको वर्षदिन पारेर राष्ट्र«पति विद्यादेवी भण्डारीले बारपाकमा शीलन्यास गरेको भूकम्प स्मारक पार्कको निर्माणका लागि अहिलेसम्म कुनै प्रगति भएको छैन । यसैले देखाउँछ सरकारको काम गर्ने प्रकृया । प्रधानमन्त्री भएको ४५ दिनभित्र सबै पीडितलाई पहिलो किस्ता दिने वचनबद्धता गरेका प्रचण्डले आफ्नो कार्यकाल सकिनै लाग्दासम्म पनि उक्त रकम सबै ठाउँका पीडितलाई पुर्याउन सकेका छैनन् । अब उनको पालामा पुग्ने आशा पनि छैन । यसरी जनतालाई आशै आशमा डुबाएर पनि यिनको राजनीतिले फस्टाउने वातावरण पाएको छ । सरकाले नै नमुना बस्ती बनाउने भनेर वारपाकका भूकम्प पीडितका अस्थायी टहरामा डोजर लगायो ।

यसले उनीहरू कहिले जङ्गल त कहिले पुरानै स्थानमा टहरा सारिहरन बाध्य भए । तर आजसम्म बस्ती निर्माण गर्न सम्बन्धित निकाय सफल भएको छैन । जहाँ सरकारको सहयोग नै भएको पाइँदैन । राहत वितरणमा जथाभावी हुँदा पाउनुपर्ने पीडितले राहात नै पाउन सकेको छैन । जसको घर पूर्ण सुरक्षित छ र परिवार सकुशल छ, त्यस्ताले नक्कली पीडित बनेर राहात पाएको छ । सरकारको अनुदान दिने नीति प्रष्ट नहुँदा धेरै भूकम्प पीडित अन्योलमै छन् । कतिपय पीडित यस्ता छन्, जसको जग्गामा सरकारले भनेअनुसारको घर निर्माण गर्न ठाउँ नै पुग्दैन । त्यसैले उनीहरू आजसम्म पनि अन्योलमै छन् । त्यस्ता पीडितका लागि कि त सरकारले छुट्टै जग्गाको व्यवस्था गरिदिनु पर्यो होइन भने उनीहरूको जग्गा अनुसारको घरको डिजाइन तयार पारिदिनुपर्ने हुन्छ नत्र भने त्यस्ता पीडितले घर बनाउन सक्ने स्थिति नै देखिँदैन । यता सरकारले बेलैमा अनुदान नदिँदा र घरका डिजाइन सार्वजानिक नगरिदिँदा धेरै पीडितले आप्mनै राजीखुशीले घर बनाइसकेका छन् । अब उनीहरूले अनुदान नपाउने भन्ने कुराले पनि धेरैलाई सताएको छ । सरकारको ढिलासुस्तीले जोकोहीले आफैँले बनाएको घर यदि भूकम्प प्रतिरोधात्मक छ भने त्यसलाई मान्यता दिएर उनीहरूले पाउने अनुदान दिन जरुरी छ ।

अन्य देशको तुलनामा नेपाल भूकम्पीय दृष्टिले धेरै असुरक्षित छ । भूकम्प आफैँ विनासकारी होइन, हामीले बनाएको भौतिक संरचनाले विनास गर्ने हो । जापान नेपालभन्दा बढी भूकम्पीय जोखिम भएको देश हो तर त्यहाँ नेपालमा भन्दा ठूला भूकम्प जाँदा पनि नेपालमा जति क्षति हुँदैन । त्यहाँ सन् २०११ मा ९ रेक्टरको भूकम्प जाँदा पनि त्यसले त्यति क्षति पुर्याएन बरु भूकम्पपछि आएको सुनामीले धेरै क्षति पुर्याएको थियो । यस हिसाबमा नेपला सुरक्षित छ । किनभने यहाँ त्यस्ता सुनामी आउने खालका नदी छैनन् । त्यसैले हामीले भौतिक संरचना बनाउँदा होसियार हुने हो भने भूकम्पदेखि डराउनुपर्ने कारण नै छैन । नेपालमा पछिल्लो पटक २०७२ वैशाख १२ गते गएको भूकम्पपछि मानिसमा धेरै ठूला घर तथा भवनहरू बनाउन उचित नहुने रहेछ भन्ने चेतना सबैको मनमा पसेको थियो । तर बिस्तारै फेरि बिर्सँदै गए । माथि फर्केर हेर्दा शिरको टोपी नै खस्ने खालका भवनहरू निर्माण भइसकेका छन् । यसले फेरि पनि यस्तै ठूला खालका भूकम्प आउँदा धेरै क्षति नहोला भन्न सकिन्न । विशेषगरी व्यापारिक प्रयोजनका लागि भवन बनाउनेहरूले र बेचबिखन गर्ने उद्देश्यले घर निर्माण गर्नेहरूले मापदण्ड नपुर्याई भौतिक संरचनाहरू निर्माण गर्ने गरेको पाइन्छ । यस्ता मापदण्ड नपुर्याई बनाएका भौतिक संरचनामाथि सरकारले वा सम्बन्धित निकायले कुनै कारवाही गरेको पाइँदैन । यसले गर्दा एकपछि अर्को संरचनाहरू यसरी नै नियम मिचेरै बन्ने गरेका छन् । यदि नियमअनुसार चल्ने हो भने सबैलाई कानुनको दायरामा उभ्याउने हो भने एउटा सिस्टमको विकास हुन्छ । यसले प्रकृया पुर्याएर मात्रै विभिन्न किसिमका संरचनाहरू बन्ने गर्छन् । जसका कारणले भूकम्प गइ नै हाले पनि डराइहाल्नुपर्ने अवस्था रहँदैन । मुख्यतः भूकम्प आफैँ बिनास होइन, हामीले बनाएका भौतिक संरचनाले बिनास गर्ने हो । त्यसैले हामी आफैँ सचेत हुन जरुरी छ भन्ने कुरालाई सबैले मनन गरेर अगाडि बढ्न जरुरी छ ।

पालुङ्टार–४, गोरखा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल