मिलेर चुनावमा जाने कि पत्तासाफ हुने ?

मिलेर चुनावमा जाने कि पत्तासाफ हुने ?

सुदन अधिकारी

समय बडो निर्मम छ । गणतन्त्र ल्याउनु बयलगाडा चढी अमेरिका जानुसरह हो भन्नेहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ‘सरदार’ भइरहँदा यो उपलब्धि ल्याउन ज्यान दिन तयार हुनेहरुसँग ‘नेपाली’ हुनुको प्रमाण मागिदैछ । व्याक्तिगत हितलाई तिलाञ्जलि दिएर समाज परिवर्तनको खातिर लड्नेहरु अछूत भएका छन् । महाकाली र टनकपुर जस्ता राष्ट्रधाती सम्झौता गर्नेलाई देशभक्त भनिरहँदा देश, जनता, राष्ट्रियता जनअधिकार, नागरिक सर्वोच्चता, सार्वभौम सत्तालाई आफ्नो सर्वोपोरि ठान्ने पार्टी र समुदायलाई देशविरोधीको बिल्ला भिराइँदै छ । चुलो चौकाको अध्याँरो चौघेराबाहिर पनि संसार हुन्छ भनी आधा आकाश जागरुक पार्ने पार्टीलाइ समावेशिताको पाठ सिकाउन सब तमतयार भएर बसेका छन् । जनयुद्ध गलत भन्ने तर त्यसैको जगमा प्राप्त उपलब्धिमा रमाउनेको सङ्ख्या बढ्दैछ ।

आखिर यो सब किन भइरहेछ ? पहिलो संविधान सभाबाट अत्यधिक मत ल्याएको पार्टी केही वर्षको अन्तरालमै किन रक्षात्मक अवस्थामा पुग्यो ? लाखौँ कार्यकर्तालाई एकजुट बनाई एउटै समान लक्ष्यमा हिँडाउने नेतृत्वपङ्क्ति शान्तिपूर्ण राजनीतिमा आएको केही वर्षमै छिन्नभिन्न बन्ने दुरावस्था कसरी पैदा भयो ? संसदीय राजनीतिलाई खसीमा टाउको देखाई राँगाको मासु बेच्ने थलो भन्नेहरु किन यही व्यवस्थामै लिप्त भएर सँगै लडेका साथीभाइलाई दक्षिणपन्थी, नवसंशोधनवादी, गघद्धार, दलाल अनि कसैको एजेन्टजस्ता सङ्गीन आरोप लगाउन अघिसरे ? गौरवमय अतितलाई आझेल पार्नेगरी पदका लागि भएको झगडाले क्रमशः विचारको लडाइँलाई विस्थापित गरी व्याक्तित्वको लडाँइ सतहमा आएको बेलमा महसुस गर्न पार्टी नेतृत्वले किन सकेन ? वा चाहेन ? कि चाहेर पनि रोक्न सकेन ? प्रश्न निरुत्तरित छन् ।
आखिर जे हुनु भइसक्यो । तर मान्नैपर्छ, माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएका केही वर्षमै विचलित बन्यो जसको नतिजा अहिले भोगिरेहेछ । अझै भोग्नेछ केही समय यदि सुध्रन तयार भएन भने । जनमत लिएर अगाडि बढ्नुबाहेक अरु कुने बाटो पार्टी वा जनताको हितमा हुनेछैन भन्ने सबैले बुझिसकेको अवस्थामा सबैले गम्भीर भएर समीक्षा गर्नुको विकल्प छैन । अब आउन ल्याएको स्थानीय चुनावमा सबै एकजुट भए मात्र बाँकी कार्यभार पूरा गर्न सकिने कुरामा सबै प्रष्ट हुनैपर्छ । योबीचमा कसका केकस्ता कमजारी भयो, त्यो छलफलको विषय जरुर बन्नैपर्छ तर त्यो छलफल पार्टीलाई एकजुट बनाउने दिशामा केन्द्रित हुनुपर्छ ।

प्रचण्डको दुविधा

माओवादी पार्टी र आन्दोलनको शुभचिन्तक हुनुको नाताले म अक्सर यसको विगत, वर्तमान र भविष्यबारे आफैंभित्र विमर्श गर्छु । अरु कैयौँले पनि यसै गर्लान् सायद । अढाइ दशकभन्दा बढी पार्टीको नेतृत्व गरी यहाँसम्म ल्याएका र नाफाको जिन्दगी बाँचेको भनेर भन्ने प्रचण्डले चाहिँ आजभोलि पार्टीबारे के सोच्दा हुन् ? आफ्नो छविमा आएको गिरावटबारे उनलाई चिन्ता नहोला ? म सोच्छु, पार्टी र आन्दोलनबारे कसैलाई ज्यादा चिन्ता छ भने त्यो स्वयम् प्रचण्डलाई नै छ । कैयौं वर्षदेखि नेपाली राजनीति प्रचण्डकै वरिपरि घुमिरहेकै छ र अरु केही वर्ष अझै घुम्नेछ । फरक परिस्थितमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएका प्रचण्डलाई आफूले गरेको गल्तीबारे गहिरो अनुभूति पक्कै छ र हुनैपर्छ । उनले मान्नैपर्छ, उनी यसबीचमा नैतिक, आर्थिक, वैचारिक हिसाबले केही स्खलित भएको पक्कै हो । तर फेरि हामी सबैले मान्नैपर्छ, अहिले पनि नेपाली राजनीतिमा मधेशी, आदिवासी, थारु, दलित वा भनौँ खसआर्यकै लागि कोही नजिक छ भने त्यो प्रचण्डै हुन् । विवादै छैन, प्रचण्डले नेपाली इतिहासमा एउटा नयाँ गोरेटो खने जसमा आउने कैयौँ दशक हामी हिँडिरहनेछौँ । प्रचण्डको नेतृत्वमा आएका उपलब्धिले हामीलाई सधैँ गर्वित बनाइरहनेछ ।


सरकार, सडकर पार्टी सबैमा नेतृत्व दिएर पार्टीलाई गोरेटो देखाएका प्रचण्डले अब अवरोधलाइ चिर्दै युगान्तकारी त्यागका लागि तयार हुनुपर्छ । आफ्नो तर्फबाट गरिने त्यागले पार्टी बन्छ भने त्यसका लागि हाँसीहाँसी मैदान छोडिदिनुपर्छ । आफ्नो तर्फबाट भएको कमजारीलाई स्वीर्कादै पार्टीपङ्क्तिलाई एकजुट बनाई आगामी चुनावमा अत्यधिक मत ल्याउन अग्रसर हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, कहिले अत्यधिक हौसिएर एकल निर्णय लिने अनि कहिले चेपुवामा परी निर्णय नै नलिने बानीलाई बैलैमा सुधार्नुपर्छ ।

बाबुरामको हतारोपन

चालीस वर्षको कम्युनिस्ट राजनीति छाडी नयाँ शक्ति नामक राजनीतिक दल खोलेका बाबुराम त्यसयता आफूलाई अरुभन्दा असल देखाउने प्रयास गर्दैछन् । माओवादी पार्टीलाई रातो स्टिकर टाँगेको घर भनी अब कहिल्यै पूर्ववत अवस्थामा नआउने ठोकुवा गर्न पछि परेनन् । एक सन्दर्भमा बाबुरामले भनेका छन्, “पुरानो लुगा च्यातियो, नयाँ सिउन ढिलाइ भइरहेको छ । बच्चा परानै लुगा भए पनि देऊ भन्छ । अब पुरानै दिने कि नयाँ सिलाएर दिने ?” उहाँका यो भनाइमा म असहमत छु । गरिब परिवारमा च्यातिएको लुगा त्यसरी मिल्काइँदैन । धोएर सिलाएर पुनः प्रयोग गरिन्छ । उपभोगका सम्बन्धमा नयाँ प्रयोग, पुनः प्रयोग र प्रशोधनपछि पुनः प्रयोग गर्ने पर्छ । आफूलाई फाइदा हुँदासम्म लुगाको प्रशंसा गर्ने अनि अवरोध देख्नेबित्तिकै लुगालाई दोष दिने तरिका काइते भयो । जनयुद्धमा उठाइएका चालीस बुँदेलाई आफ्नो सिद्धान्त बनाएको पार्टी कसरी फाटेको लुगा भयो ? तपाईंको नेतृत्वमा तत्कालीन प्रधानमन्त्रीलाई बुझाइएको मागमा राजनीतिक परिवर्तनका कुरा मात्र थिए ? देशलाइ समृद्धिको दिशामा लैजान ढिला भइरहेको भन्दै पार्टी फुटाउँदा तपाईंलाई कसरी सन्तोष मिल्छ । अब फेरि केही दिनमा नयाँ पाटी पनि फटेको लुगासरी भयो भने के गर्नुहुन्छ ?

हो, बाबुराममाथि पार्टीमा ‘सौता’ ठानी पटक पटक प्रहार गरेको कुरा साँचो हो । तर माओवादी आन्दोलन यहाँसम्म ल्याउन अतुलनीय योगदान गरेकै हुन् । जसको विचार उसैको नेतृत्व भनिरहँदा बाबुरामलाई पार्टी नेतृत्वमा पुग्न नदिन अनेकौँ हत्कण्डा अपनाइएकै हुन् । तर उनले गलत प्रवृत्तिलाई पार्टीभित्रै बसी लड्नुपर्नेमा थकित बनी पार्टी छोड्नु उचित थिएन । सरकारको नेतृत्वको अवसर पाउँदा उनले गरेका सकरात्मक कामको चर्चा जति गरे पनि कमै हुन्छ । यो उमेरमा पनि बाबुरामको दौडधुप सबैका लागि प्रेरणाको स्रोत बन्नसक्छ ।

साक्षर मानिस पाउन मुस्किल पर्ने त्यो समयमा विद्यावारीधि गरेर पैसाको पछाडि नहिँडी सर्वहाराको मुक्तिका खातिर लाग्ने व्याक्तिीलाई अनेकौँ सङ्गीन आरोप लगाएर पार्टीले गल्ती गरेकै हो । फेरि पनि पार्टी नयाँ भए पनि बाबुरामलाइ माया गर्ने र साथ दिने भनेको त जनयुद्धकै पृष्ठभूमिबाट आएका मानिस नै हुन् । अरु त माओवादी आन्दोलनलाई कमजोर पार्ने भिजिलान्ते मात्रब हुन् भन्ने नयाँशक्ति छोड्नेको ताँतीबाटै प्रष्ट हुन्छ ।

अबको बाटो

“पहिला पहिला त सबै एकैजुट भएर आउँथे । विचारका कुरा गर्थे । अहिले भिन्दाभिन्दै आउँछन् । एउटाले अर्कोलाई गाली गर्छन्, जान्छन् । हामी कसको कुरा पत्याउने बाबु । आफैं आफैंमा झगडा गर्ने यिनीहरुले सहिदका सपना के पूरा गर्लान् । आफू र आफ्नोबाहेक केही भन्दैनन् । कति छिटो कस्तो दुखद् परिवर्तन भएको हो बाबु यिनीहरुको ?” जनयुद्धमा छोरा गुमाएकी एक महिलाले हरेक भेटमा यही साध्छिन् । उनी भन्छिन्, “म आजभोलि सपनी र बिपनी दुवैमा सोच्छु, “यस्तै लुछाचुँडी हुन्छ भन्नी थाहा पाएको भए मेरो छोरो हाँसीहाँसी सहिद हुन तयार हुन्थो होला ?”

समान उद्देश्यले युद्ध लडी देशमा आमूल परिवर्तन ल्याउने सहयात्री प्रचण्डभन्दा कुनै बेला माओवादी कार्यकर्ताको नरसंहारमा संलग्न उपेन्द्र यादव कसरी बाबुरामको प्रिय बन्न पुगे । सत्तामा भएको दम्भ देखाई प्रचण्डले बाबुरामको पार्टीलाई लक्षित गीिर ऐन संशोधन गरी चुनाव चिन्हबाट वञ्चित गर्न किन अग्रसर भए ?

यी र यस्ता कैयौं घटनामा विचार र सिद्धान्तको कुनै भूमिका छैन । यहाँ प्रचण्ड बाबुरामको व्याक्तित्वको टकराबले भूमिका खेलेको छ । दुवैले एकअर्काको अस्तित्व स्वीर्कान हिचकिचाइरहेछन् । भलै यी दुवैको यहाँसम्म एउटै डुङ्गामा आएका किन नहुन् । यी दुईमा एकअर्काप्रति यति कुण्ठा छन्, त्यो आउने स्थानीय चुनाव अगाडि मेटिने छैन । एक भएर जानपर्नेमा यिनीहरु एकअर्काको खुट्टा तान्नमा आफ्नो समय व्यतीत गर्दैछन् । भाइहरु आपसमा नमिल्दा पराइले कसरी हैकम जमाउनेछन् भन्ने यिनलाई हेक्का छ तर त्यता सोच्ने फुर्सद छैन । भिन्दाभिन्दै्र चुनावमा जाँदा आउने नतिजाले यिनको आँखाँ अवश्य खाल्नेछ । तर प्रचण्ड बाबुराम दुवैलाइ माया गर्ने हरकोही भन्दैछन्, एकजुट भएर चुनावमा आए पो जिताएर पठाइन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल