वरिष्ठ स्रष्टाको सङ्कीर्ण जातीय प्रेम

वरिष्ठ स्रष्टाको सङ्कीर्ण जातीय प्रेम

प्रा.डा. बद्रीविशाल पोखरेल

‘कञ्चनपुरमा भारतीय सीमासुरक्षा बलको गोली लागेर मारिएका गोविन्द गौतम र सप्तरीमा मारिएकाहरुप्रति नेपाल सरकारले समान, सम्मान र सद्गति नगरेर चरम विभेद गरेको छ ।’ – धीरेन्द्र प्रेमर्षि

धीरेन्द्र प्रेमर्षि प्रसिद्ध संस्कृतिकर्मी तथा सर्जक भनेर आमसञ्चार माध्यमबाट चिनिएका व्यक्ति हुन् । यो पङ्तिकार उनलाई सिर्जनाका माध्यमबाट चिन्दछ । व्यक्तिगत घनिष्टता र जीवन्त सम्पर्क नभए पनि सिस्नोपानी सम्बद्ध प्रेमर्षिप्रतिको सम्मान, आदर अहिले पनि कायम नै छ । तर जब उनको हिमालय टी.भी.मा २०७३ साल फागुन २९ गते बिहान फागु पूर्णिमाका अवसरमा प्रसारित अन्तर्वार्ताका उपर्युक्त वाक्य र यसैसित सम्बन्धित प्रेमर्षिका चरम जातीय अतिसङ्कीर्ण विचार सुन्दा सपना पो यो उनकै बोली हो कि भन्ने संशय भयो ।

फागु पूर्णिमाका अवसरमा प्रेमर्षिले नेपालको समसामयिक राजनीतिक विषयमा पनि आफ्ना मनका कुराहरु खोले । उनले आनन्द नगर, कञ्चनपुर, महाकाली अञ्चलमा भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा प्रवेश गरेर नेपाली नागरिक गोविन्द गौतमलाई गोली दागेर मारेको विषयमा नेपाल सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको विषयमा आफ्नो भँडास पोखे । प्रेमर्षिले सप्तरीमा पाँच जनाको हत्या गरिएकाहरुप्रति नेपाल सरकारले कञ्चनपुरमा मारिएका गौतमलाई सरह सम्मान नगरेकामा धेरै चित्त दुखाए । उनले कञ्चनपुरमा मारिएकाप्रति राज्यले उच्च सम्मान गरेकामा गम्भीर आक्रोश पोखे ।
प्रेमर्षिले त गोविन्द गौतम मारिनुमा नेपाल सरकारको दोष रहेको भनी भारतीय सीमा सुरक्षा बलको अतिक्रमणकारी ज्यादतीलाई सही र सत्य रुपमा उजागर गर्न चाहेनन् । नेपालका दक्षिणी सीमाहरु मिच्ने, सीमा स्तम्भहरु उखेल्ने, नक्कली सीमा स्तम्भ राख्ने, तराई मधेसका गाउँ र भूभागहरु जलामय हुनेगरी बाँधहरु बनाउने भारतीय शासकको मिचाहा प्रवृत्तिलाई प्रेमर्षि नबुझेझैँ गर्दै थिए । नेपाल र नेपालीप्रति सदावर्त भारतेली शासकको चरम थिचोमिचोको परिणाम कञ्चनपुर घटना हो भन्ने कुरालाई प्रेमर्षिको कवि चेतले देखेन वा देख्न चाहेन ।

नेपाल, नेपालको स्वाधीनता, अखण्डता, एकता र स्वतन्त्र अस्तित्वका लागि शान्तिपूर्ण अभियान चलाउँदा भारतीय सीमा सुरक्षा बलले नेपाल प्रवेश गरेर नेपाली नागरिक मारिने घटना सामान्य हो ? अनि सप्तरीमा भएको शान्तिपूर्ण मेचीमहाकाली अभियान भाँड्नका लागि हिंसात्मक घटना घटाउनु र कार्यक्रम सकिएपछि पेट्रोल बम, कुकर बम प्रहार, हातहतियारसहित सुरक्षा कर्मीसित सोझै भिडन्त गर्न आउँदा मर्नु, मारिनु र मारिएकाप्रति राज्यले अभिनन्दनीय घटना हो ? सप्तरी घटनामा निर्दोषहरु नै मारिए तर भिडन्त गर्न आतङ्कित घटना घटाउन लागिपर्ने कथित मधेसी मोर्चाका नेताहरु दोषका भागिदार हुन् । सामान्य मानिसले पनि कञ्चनपुर र सप्तरी घटना आकास पाताल जस्तै बिलकुल विपरीत तथा फरक विषय र सन्दर्भ हुन् । तर पनि प्रेमर्षि किन प्रेम र ऋषिको उच्च, उदात्त आदर्श र मान्यता विपरीत जातीय र क्षेत्रीय सङ्कीर्ण धारणा श्रव्यदृश्य जस्तो प्रभावशाली सञ्चार माध्यमबाट सङ्कोच मानी प्रवाह गर्छन् ? जात, भात, नाक र नश्लभन्दा निक्कै माथि उठेपछि मात्र ऋषि भइन्छ । जातीय, क्षेत्रीय र नश्लीय चरम सङ्कीर्णताको साङ्लोमा बाँधिएर सामान्य पेटु मानव मात्र भइन्छ, लिलिपुट मानव भइन्छ ।

पे्रमर्षिको समग्र विचार सुनेर यो लेखक उद्विग्न, उदास, हतास र स्तब्ध भयो । त्यस दिनभरि जसो मन बेचैन भइरह्यो । मन हुँडलियो र अमिलो भइरह्यो । आफू पनि सामान्य लेखकीय पहिचान बनाएको मान्छे, लेखक हुनुमा गर्व गर्ने मान्छे तर प्रेमर्षि जस्ता लेखकका विचार सुन्दा लेखन र लेखकको स्तर बारे सोचमग्न भइयो । अनि लेखक र लेखन्दासमा के फरक होला जस्तो पनि लाग्यो । आफूभित्र पनि यस खालका लेखकीय लिलिपुट मनोविज्ञान छ कि भनेर हेर्ने प्रयत्न गरिरहेको छु । आफूमा यत्ति साह्रो, अति सङ्कीर्ण चेत, चिन्तन र चरित्र नभएको जस्तो लाग्यो । अलिअलि जात, भात, नाक र नश्ल चिन्तन कथित बाहुनहरुमा पनि यदाकदा आफैँले भोगेको छु ।

एउटै साथीसङ्गाति भए पनि घिमिरे घिमिरेको समूहसितको सहयात्रामा पोखरेल थर कवाफमा हड्डी जस्तो भएको अनुभव छ । तर आनका तान फरक पर्ने सङ्कीर्ण चेत र चिन्तनका बोली र वचन उच्च स्तरका भनाउँदाहरुमा देख्दा साह्रै सरम लाग्छ । सङ्कीर्ण विचार व्यक्त गर्न धेरै पढ्नुपर्दैन । सामान्य र सतही लोली, बोली र वचन बोल्न ठूलो कवि र लेखक नै हुनु पनि पर्दैन । पाँडेगाली गर्न डा. बुबराम भट्टराईले पीएचडी गर्नु नै पर्दैन । उन्नत, उदात्त सर्जक लेखक भएर पनि अन्धवाद र अतिवादका पछि लाग्नु साह्रै सरमको कुरा हो । बुद्ध भएर बुद्धु कुरा गर्नुजस्तो लाज लाग्दो काम केही हुँदैन । जन्मँदा कुनै पनि मानिस अमुक जात, भात, नाक, नश्ल, जात र थरको हुन्छ । तर आफूलाई शिक्षित, सुशिक्षित, सभ्य र समुन्नत हुँदै भए पछि त्यही मानिस भुइँ छाडेर गगनचुम्बी उचाइको हुन्छ र हुनुपर्छ । यस्ता मानिसले विश्व सभ्यतालाई समुन्नत बनाउँछ ।

हामी नेपाली भने जति पढे, लेखे, जाने र बुझे पनि लिलिपुट सोचाइ र उचाइका मात्रै भयौँ । देशको स्वाधीनता, अखण्डता, सार्वभौमसत्ता जस्ता अत्यन्त सङ्गीन सबालमा दृढ रुपमा उभिँदा भारतीय प्रहरीबाट मारिएका नेपाली नागरिक र नेपाल प्रहरीसित मुठभेटमा मारिएका नागरिकका बीचमा कुनै र कत्ति भेद देख्दैनौँ भने हाम्रा आँखा सिर्फ गुच्चा हुन् । ती आँखा हुन सक्तैनन् । जहाँ रवि पुग्र्दैनन् त्यहाँ पवि पुग्छन् भन्ने उखान मात्र उखान होइन र यस्ता स्रष्टा दूरदर्शी स्रष्टा हुन पनि सक्तैनन् । धीरेन्द्र प्रेमर्षि जस्ता वरिष्ठ सर्जकप्रति मेरो कुनै गुनासो पनि छैन र उहाँको लेखनलाई आफू सम्मान नै गर्छु । उहाँसित रिसाउने भन्दा उहाँका यस्ता बोली बचनबाट बरु दया लागेर आयो । आफूलाई समेत छिनीले खोपेर र ताछेर उच्च उदात्त मानव बन्न इच्छुक सर्जक विकृतिका बोक्राहरु बोकेर बाँच्न चाहँदैन । एउटा स्रष्टा खुल्ला आकास हो, धरती हो, घाम र जून हो । उच्च, उदात्त र महानतम भावना तथा विचारको लेखक जीवन र जगत्लाई नै प्रेम गर्छ । यस खालको अपरिमित उच्चतम प्रेममय भावनाबाट मात्र जगत्लाई जात, भात, नाक र नश्लको गर्तबाट तीन बित्ता उचाल्न सकिन्छ ।

आकासको विशाल आयतन कुवामा कैद हुन सक्तैन । समीको वृक्ष गमलाको सङ्कीर्ण घेरामा मात्र घेरिएर बस्दैन, त्यस घेरालाई तोडेर फैलिन्छ र सर्वजनलाई छहारी प्रदान गर्छ । वरपीपल वनस्पतिले अग्रगतिका कठोर बाधक बनेका चट्टानी पहाड फोरेर सिर्जनाको शीतलता प्रदान गर्छ । घामले अमुक जाति, धर्म, संस्कृति र समुदायका घर परिवारको आँगनमा मात्र उज्यालो छर्दैन, न्यानोपन बाँड्दैन । जूनले हिमाल, पहाड र तराईमधेस सबै क्षेत्र र समुदायमा समान रुपमा अमृत बर्साउँछ, शीतलता प्रदान गर्छ । जगत् प्रकृतिले गरेका आफ्ना अनमोल उत्पादन उपहार समग्र जाति समुदायलाई बिना भेदभाव आवश्यकता अनुसार प्रदान गर्छ । अमुक थर, जात र सम्प्रदाय र जाति समुदायका सेवाका सीमित स्वार्थपूर्तिका लागि होइन । सङ्कीर्ण मानिसको जस्तो चरम असमानता र विभेद प्रकृतिले गर्दैन । एउटा विशिष्ट लेखकको कलम झट्टटी र झटारो किमार्थ बन्नुहुँदैन । एउटा ऋषिमनको लोली र बोली अतिसङ्कीर्णता पटक्कै सुहाउँदैन । वाल्मिकी र विद्यापतिका सन्तानहरु यत्तिसाह्रो झर्नु र गिर्नु हँदैन ।

प्रेमर्षिले विगत मधेस आन्दोलनको चर्चा गरेका थिए । तर जब हिमाल टी.भी. पत्रकारले मधेस आन्दोलनका क्रममा रात बिरात मधेसबाट पहाडी समुदायका कैयौँ घरबार विस्थापित भएको स्मरण गराए । यसको जबाफमा प्रेमर्षि मधेस आन्दोलनका बेला पहाडी समुदाय विस्थापित भएको त स्वीकार गरे तर उनले पहाडी समुदाय मधेसी समुदायसित डटेर मुकाबिला गरेर मधेसमा अडिन सक्नुपथ्र्यो पनि भने तर उनले आफैँ चाहिँ मधेसीहरुको त्यस खालको चरम अतिवादी उद्दण्डताको कहीँ कतै पनि विरोध गरेको यस लेखकलाई सम्झना छैैन । अझ उनले त कतिपय मधेसका पहाडी समुदायले नै पहाडी समुदायलाई मधेसबाट विस्थापित गरेर तिनको घरघडेरी, जग्गा जमिन सस्तो मोलमा आफूले हात पार्न उठिबास गर्ने र गराउने काम गरेको बात पनि लगाए । तर पीडित पहाडी समुदायकाहरुका अनुसार प्रेमर्षिले भनेजस्तो मधेस आन्दोलनका बेला त्यस्तो किमार्थ भएको होइन । तराई मधेसमा त त्यस बेला पहाडिया कुत्ता दे जुत्ता जस्ता चरम जातीय, क्षेत्रीय, साम्प्रदायिक भड्कावका तुच्छ नारा लगाइएको एकभुक्त भोगी सप्तरी निवासी हाल भक्तपुर विस्थापित प्राध्यापकले बताए ।

रात बिरात पहाडी घर परिवारका छोरीचेलीहरु समेत असुरक्षित हुने भयावह अवस्थालाई प्रेमर्षिले उल्लेख गर्नै चाहेनन् । सीके राउतले नेपाल आमालाई वेश्याभन्दा कथित मधेसीको विरोध वक्तव्य, सन्तुष्टि र आक्रोश देखिँदैन । तर पहाड, मधेस र हिमालका नाममा एक आपसमा चरम तथा सङ्कीर्ण सोच राखेर सामान्य मानवीय भावना र व्यवहार अझै नदेखाउनु हामी सर्जक, लेखक र बुद्धिजीवी भनाउँदाहरुको अत्यन्त सरम लाग्दो बात हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल