नफक्रँदै कोठी पुर्याइएकी कोपिला

नफक्रँदै कोठी पुर्याइएकी कोपिला

लक्ष्मी पुन

केही दिनअघि म काम विशेषले नेपालगञ्ज पुगेको थिएँ । प्रवासमै भेटिएका एकजना भन्डारी थरका धर्म दाइलाई पनि भेट्न मन लाग्यो । भेट न भएको निकै दिन भएको थियो । राप्ती पारि पुग्ने सोच बनाएँ । अलि देहात भएकाले त्यो क्षेत्रका लागि दिनमा ३ वटा गाडी मात्र लाग्ने गर्छन् । सल्यानी बङ्गलाबाट दिउँसो डेढ बजे कञ्चनापुर, बिनौना, बैजापुरका लागि हाम्रो गाडी हिँड्यो । त्यो उमेर ढल्किसकेको गाडीमा भने अगाडि यात्रीहरु नै झुक्किनेगरी जाजरकोट लेखिएको थियो । सायद त्यो बस जाजरकोटबाट ल्याइएको थियो । मेरो छेउमा एक जना थरुनी आमा आएर बसिन् । ती आमाको झोलामा एउटा प्लास्टिकको डब्बामा दूध थियो । नेपालगञ्जबाट दूध लिएर जाने ? मैले सोधे । ‘छोरीले बाउलाई पठाइदिएको,’ उनले हाँस्दै भनिन् । केही छिनमा गाडी गुड्न थाल्यो । करिब दुई घन्टा लामो सफर पछि मेरो स्टाप आयो । दाइको पुरानो कच्ची घर भान्छामा परिणत भएको थियो ।

आजभोलि प्लस्टर भएको नयाँ घरमा बस्नुहुँदो रहेछ । आँगनमा करिब दश वर्षकी एक जना सानी नानी भात खादै थिइन । दाइ भैँसी ग्वाला जानुभएको थियो । भात खाइसकेपछि थोता दाँत देखाउँदैै, ‘तपाईं आउने कुरा मलाई थाहा थियो,’ उनले भनिन् । उनी भाउजुकी कान्छी बहिनीकी छोरी रहिछिन् । दाइ आउनुभयो । भाउजु उपचारका लागि भारत जानुभएको थियो । दाइ पहिलेभन्दा निकै कमजोर हुनुभएको थियो । उमेर पनि त भइसक्यो । उहाँले बेलाबेला भारतबाट कमाएर आफू अगाडिको गृहस्थी ठडयाउनुभएको थियो । छुट्टिँदा बखत खासै केही परेको थिएन उहाँको भागमा । छोराहरु आफ्नै गृहस्थीमा व्यस्थ भए, उहाँका दुःख भने कहिले हराएनन् । दुई चार दिन बस्न अनुरोध गर्दै हुनुहुन्थ्यो । तर काठमाडाँै पुगी पत्रिकाको काममा लाग्नुथियोे । बसिन् । खाजा खाएपछि हिडेँ । पुर्याउन आउनुभएको दाइ बाटो किनारमा ठिङ्कग उभिएका बिनातारका बिजुलीका पोल देखाउन थाल्नुभयो । मानौँ गुनासो गर्दै हुनुहुन्थ्यो । गाउँलेहरु अहिलेसम्म बाकेको त्यो क्षेत्रमा सोलारबाट काम चलाउँदै छन् । तर त्यो गाउँमा रिक्सा देखेर अचम्म लाग्यो । राजमार्ग भेटाउन रिक्सा चढेँ । दाइ फर्किनुभयो ।

कच्ची बाटो हुँदै राजमार्ग किनार आइपुगेँ । त्यहाँ लस्करै ससाना होटेलहरु थिए । एउटा होटेलमा एक जना मुसलमान जस्ती देखिने अधबैसे महिला पूरै हाथ फन्काउँदै हिन्दीमा बोली रहेकी थिइन् । म अगाडि बढेर अर्को होटेलमा गएर बसँे । चैत लागि सक्दा पनि मौसम चिसै थियो । होटेल बाहिर दाउरामा खाना पाक्दै थियो । मैले आगो नजिकै गएर दुवै हाथ सेकेँ । साँझ परिसकेको थियो । एक प्लेट माछा खाएर काठमाडाँैको नाइट कुर्दै बसेँ । तिनै मुसलमान महिला आएर सीधै काउन्टरमा गइन । एक छिन पछि मेरो छेउमा बसेकी साउनीसँग आएर बोल्न थालिन । ‘मैले २ बोतल सोफी मात्र खाएको हो, किन यति धेरै पैसा काटियो,’ उनी बिस्तारी भन्दै थिइन । ‘त्यसै किन काटछन् ?,’ साउनीले मुख बिगार्दै भनिन् । नजिकै बसेकी होटेलमा काम गर्ने एक जना महिलाले पैसा फेरि गनिदिइन् । गोरो वर्णकी मोटी साउनीले भने उनीहरुतिर खासै ध्यान दिइनन् । ती मुसलमान महिला फेरि उठिन र काउन्टरतिर गइन् । उनी अलि नर्भस भएझै ती काम गर्नेलाई पनि सँगै जान इसारा गर्दै थिइन् । साउनीका ठूला आँखा देखेपछि काम गर्ने हच्किन् । एकछिन पछि उनी त्यहीँ आएर हिसाब मिलेको बताउँदै बसिन् । एउटा कालो रहर लाग्दो कुकुर आएर ती मुसलमान महिलासँग टाँसिएर बस्यो । त्यसपछि उनलाई एउटा हातले कोट्याउन थाल्यो । ‘अरे अहिले केही छैन,’ उनी स्नेहपूर्वक उसको टाउको सुमसुम्याउँदै भन्न थालिन् । कुकुरले भने उनलाई कोटयाउन् छोडेन । साउनी भने उनीहरुलाई यसरी हेर्दै थिइन मानौँ उनीहरु कुनै फोहोरको डङ्गुर हुन । ती मुसलमान महिलाले भने आफ्नो सुती दुपट्टाको हिजाब मिलाउन थालिन् । उनलाई यस्तो नजरको बानी परिसकेको थियो । मानौँ धेरै कुरा उनका लागि सामान्य भइसकेको थियो ।

‘रक्सी खानु हुन्न नि !’, मैले सम्झाएँ ।
‘खाएपछि निन्द«ा लाग्छ बहिनी,’ उनले लामो सास फेर्दै जवाफ दिइन् । के कारण होला निन्द«ा न लाग्ने, ममा जिज्ञासा पलायो ।
‘उनीहरुले भित्तामा टाउको ठोकिदिन्थे, अझै दुख्छ घाउ,’ कुनै अबोध बालिकाझैँ पातला ओठ फुराई फुराई उनी भन्न थालिन् ।
कसले ?
कोठीका मान्छेहरुले !
तपाईं त्यहाँ कसरी पुग्नु भयो ?
५ कक्षा फेल भएकी थिएँ । हामी ५ जनालाई मीठो खाने कुरा, घडी र राम्रा कपडा लगाउन पाइन्छ भनेर फकाएर लगे ।
कसले ?
हाम्रै आफन्त पर्नेहरुले बम्बई पुर्याए ।
त्यसपछि के भयो ?

त्यही एक जनाले भनिन्, तिमीहरुको अब तेल निकाल्छन् । हामी आत्तिएर भाग्न थाल्यौँ । अनि हामीलाई समातेर कुटन थाले । एक दिन त घासलेट (मट्टितेल) हालेर जिउँमा आगो नि लगायौँ ।(उनको प्रवाहमा रोक लाग्छ)
अनि ?

अनि एक जना त मरिन् हामीलाई अस्पताल पुर्याए ।
फेरि के भयो, भन्नु न प्लिज ।

म त्यहीँबाट भागे । कहाँ गए कहाँ गइन् । हरएक काम गरेँ । राम्री थिए सबैले आँखा लगाउँथे । फिल्ममा नाचगान र साना रोल पनि खेलेँ । यो समाज निकै बेरहेम छ नानी, बाँच्न दिन्न ।

उनी अन्दाजी करिब ४५ वर्षकी थिईन । नाम भने मैले सोध्न बिर्से । तर उनको बालसुलभ हाउभाउ हेर्दा लाग्थ्यो, उनको उमेर त्यसै दिन रोकियो जुन दिन उनलाई अन्य साथीहरुसँगै मुम्बईको मानव बधशाला पुर्याइयो । उनको शरीर त बढ्यो तर उनको अबोध बाल्यकालको हत्या भएको थियो । मुम्बई, दिल्ली र कलकत्ता लगायतका विभिन्न देह बजारमा बर्सेनि हजारौँ बालिकाहरु वस्तुझैँ बेचिन्छन् । कालकोठरीमा लाखौँ युवती तथा नानीहरुका आँशुहरु सुसकेरासँगै सुख्छन् ।

त्यसपछि हातमा बाँधेको कालो घडी हेरेर ढिला भयो भन्दै उठिन । उनले गुलाबी कुर्ता सुरवाल लगाएकी थिइन् । पातलो जिउडाल भएकी उनी बिस्तारी आझेल परिन् ।

होटेल साउनीका अनुसार उनका बाजेले कुजातको महिला बिहे गरेको कारणले उनीहरु क्षेत्रीबाट झरेर तल्नो जात भएका हुन् । अहिले एक जना मुसलमान केटासँग बिहे गरेकी छिन् । होटलहरुमा भाडा माझ्छिन ।

रात परी सकेको थियो । नेपालगञ्जदेखि मेरो बस पनि आयो । म निकै गरुँगो मन लिएर बस चढेँ । काठमाडौँ पुग्दासम्म तिनको त्यो बालसुलभ र निश्छिल प्रस्तुति आँखा वरिपरि नाचिरह्यो । एउटी १० वर्षकी बच्चीले आफन्तबाट टाढा कसरी मानव रुपी पिशाचहरुको सिकार भई होला ? उसमा सही र गलतको चेतनाको विकास न हुँदै कसरी उसलाई बर्बरतापूर्वक लुछे होलान यौन पिशाचहरुले ? एउटा यस्तो फूल जसलाई कोपिला छँदै लुछेर तहसनहस पारियो । कहिले पनि फक्रन नसकिने गरी ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल