स्थानीय तह निर्वाचन : युवा नेतृत्व स्थापित गर्ने अवसर

स्थानीय तह निर्वाचन : युवा नेतृत्व स्थापित गर्ने अवसर

–चम्फासिंह भण्डारी
भूमिका :
२०५४ सालपछि नेपालमा २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हँुदैछ । यो निर्वाचनले नेपालमा स्थापित लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आधारभूत जग निर्माण गर्ने र बितेको झण्डै दुई दशकभन्दा लामो समयदेखि स्थानीय तहमा रहेको निर्वाचित जनप्रतिनिधिहरूविहीनताको अवस्थालाई समाप्त पार्दै देशमा चौपट अवस्थामा रहेको विकास निर्माणको अभियानलाई गति दिँदै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउनका लागि महत्वपूर्ण योगदान गर्नेछ ।

निर्वाचनपछि देशभरिमा निर्वाचित स्थानीय तहको क्रियाशीलताले एकातिर विकास निर्माण अभियानलाई योजनाबद्ध बनाउनेछ भने अर्कोतिर जनताप्रति उत्तरदायी शासन व्यवस्था जनताको घर आँगनमा स्थापित हुनेछ । निर्वाचित स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरू स्थानीय जनताप्रति जवाफदेही र उत्तरदायी बन्ने प्रकृयाको थालनीले नेपालमा सुशासित शासन व्यवस्थाको सुरुवात पनि गर्नेछ । पछिल्लो दुई दशकभन्दा लामो समयदेखि स्थानीय निकायहरूमा जारी रहेको अराजकता, मनपरीतन्त्र र भ्रष्टाचारलाई समाप्त पार्दै जनताका आवश्यकतामा आधारित भएर आम जनताकै सहभागितामा स्थानीय विकास पूर्वाधारहरूको निर्माण, परिचालन तथा संरक्षणको व्यवस्थापन गर्नका लागि योगदान गर्नेछ ।
स्थानीय स्रोतसाधन, क्षमता र ज्ञान सीपलाई पर्याप्त मात्रामा उपयोग गर्दै जनताको माग र आवश्यकतामा आधारित विकास प्रकृया योजनाबद्ध हुने र त्यसले आउँदो पाँच वर्षभित्र नेपालमा शान्ति, सुशासन र राजनीतिक स्थिरता कायम गर्नका लागि फराकिलो आधारभूमि निर्माण गर्नेछ । राजनीतिक दलहरूका बीचमा विद्यमान रहेको अविश्वास, आशङ्का र अधिकांश द्वन्द्वहरूको रूपान्तरणको प्रकृया स्थानीय तहबाटै सुरुवात हुने र यी यावत प्रकृयाको थालनीले समग्रमा नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय तहको विकास निर्माण अभियानको नेतृत्व लिनेछन् ।

स्थानीय तहमा युवाहरूको नेतृत्व :
२०५४ सालमा जन्मेको बालक अहिले २० वर्षे युवा बनेको छ । त्यति बेला स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू अहिले ४५ देखि ६० वर्ष नाघेका छन् । यो उमेरको अन्तरालमा नेपाली राजनीतिमा धेरै परिवर्तन भएको छ । नेपालका हरेक राजनीतिक परिवर्तनमा बलिदानीपूर्ण सङ्घर्ष गर्ने युवाहरूको लामो पङ्क्ति अहिले नेपालका राजनीतिक दलका सङ्गठित, क्रियाशील राजनीतिमा स्थापित भएका छन् । राजनीतिक दललाई जनताका बीचमा स्थापित गर्ने काममा नेपाली युवाहरूले रगत पसिना खर्चेका छन् र नेपालका राजनीतिक दलहरूका हरेक अभियानहरूमा पार्टीलाई स्थापित गर्ने अभियानमा निरन्तर लागिरहेका छन् ।

नेपाली युवाहरूमा नेपालको विद्यमान राजनीतिक अवस्थाप्रतिको चिन्ता, चासो र गुनासाहरू पर्याप्त मात्रामा विद्यमान रहेका छन् । देशभित्रै रहेर काम गर्ने अवसरको अभावले अधिकांश युवाहरू नेपाली राजनीतिबाट पर विभिन्न खाडी मुलुकहरूमा गएर रोजगारका लागि विदेशिएका छन् । कतिपय युवाहरू नेपालकै म्यानपावर कम्पनीहरूको दलालीमा परेर विदेशमा दुःख झेलिरहेका छन् । राज्यले रोजगारीका अवसरहरू सृजना गर्नुको साटो उल्टै नेपाली म्यानपावर कम्पनीहरूको ठगी र जालझेलमा परेर व्यक्तिगत सम्पत्तिसमेत नष्ट भएको छ । यो अवस्थाका बीचमा नेपालमा लामो समयपछि स्थानीय तहको निर्वाचन भइरहेको छ ।

अहिले नेपालका राजनीतिक दलहरूलाई नेपालमा युवा नेतृत्व स्थापित गर्ने र आधुनिक शिक्षा, सूचना प्रविधि र बौद्धिक युवा जमातलाई नेपाली राजनीतिमा स्थापित गर्ने सुनौलो अवसर प्राप्त भएको छ । स्थानीय ज्ञान, सीप र क्षमतासँगै आधुनिक विकास प्रणाली बारेको ज्ञानको समिश्रणले नेपालको विकास आयामलाई अझ सुदृढ पार्ने जिम्मा युवाहरूलाई दिनु आवश्यक छ । यसले एकातिर नेपाली युवाहरूले आफ्नो ज्ञान, सीप र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् भने अर्कोतिर कामको खोजीमा विदेश पलायन भइरहेको युवा जनशक्तिलाई नेपालमै गर्न सकिन्छ भन्ने मान्यता व्यवहारबाट स्थापित गरेर युवा श्रम र सीपलाई देश विकासको अभियानमा फर्काउन सक्ने पर्याप्त सम्भावनाहरू जीवित छन् ।

स्थानीय तहको निर्वाचनमा विजयी युवाहरूले आफ्नो पूरै जोश जाँगरका साथ नेपालको विकास प्रयासमा सहभागी हुनेछन् भने पराजित युवाहरू अर्को पाँच वर्षपछिको स्थानीय तहको निर्वाचन वा प्रदेश तथा सङ्घीय संसदको सदस्यका लागि आफ्नो नेतृत्व क्षमताको विकास गर्नेछन् । यसर्थ पनि अहिले नेपालका राजनीतिक दलहरूले उदारतापूर्वक युवाहरूलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने अभियानलाई तीव्र बनाउनु आवश्यक छ । स्थानीय तहको निर्वाचनमा देशभरिमा आउने युवा नेतृत्वले नेपालको भावी राजनीतिलाई ठीक बाटोमा अघि बढाउनका लागि महत्वपूर्ण योगदान दिनेछन् । वर्षौंदेखि नेपाली युवाहरूमा नेपालका राजनीतिक दलहरूले युवाहरूलाई राजनीतिमा प्रयोग मात्रै गरे भन्ने दाबीलाई खण्डित गर्नेछ र नेपालको राजनीतिक भविष्यको गुरुयोजना निर्माण गर्दै रणनीतिक रूपमा नेपाली युवाहरूलाई नेपाली राजनीतिप्रतिको विश्वास र भरोसा प्रदान गर्नेछ जुन नेपालको भावी राजनीतिका लागि अत्यावश्यक भइसकेको छ ।

नेपाली राजनीतिमा देखिएका विभिन्न खालका विकृति तथा विसङ्गति अन्त्यका लागि युवा नेतृत्वले योजनाबद्ध कामको थालनी गर्ने र जनताका शासक होइन, जनताको सेवकका रूपमा नेपालको कर्मचारीतन्त्रलाई स्थापित गर्नका लागि पनि युवा नेतृत्व आवश्यक छ । नेपाली राजनीतिमा युवाहरूले जहाँ जहाँ नेतृत्वको अवसर पाएका छन, त्यहाँ त्यहाँ उनीहरूले आफ्नो कार्यशैली र व्यवहारमा परिवर्तन गरेका छन् । यही अनुभव र भोगाइमा आधारित भएर नेपालका राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा युवाहरूलाई उम्मेदवारीको अवसर सृजना गर्नु आवश्यक छ । युवाहरूको काँधमा आउने जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने सीप र क्षमता नेपाली युवाहरूमा विद्यमान रहेको छ भन्ने विश्वास नेपालका राजनीतिक दलहरूमा आउनु जरुरी छ ।

निर्णय प्रकृया र साझेदारी नेतृत्वमा युवाहरूको योगदान :
हाम्रो दैनिक जीवनमा विभिन्न किसिमका परिस्थिति तथा समस्याहरू सृजना भइरहेका हुन्छन् । हरेक परिस्थिति तथा समस्यालाई छिचोलेर अगाडि बढ्नका लागि के गर्ने अथवा के नगर्ने भन्ने टुङ्गगोमा पुग्नुपर्दछ । जसलाई अर्को शब्दमा निर्णय भनिन्छ । निर्णय चलायमान जीवनको मुख्य सूचक हो । निर्णयको महत्वमूर्ण भूमिका रहन्छ र निर्णयले नै व्यक्तिका पछिल्ला क्रियाकलापहरू प्रभावित गर्ने गर्दछ ।

व्यक्ति स्वयंभित्र विभिन्न किसिमका भावना तथा विचारहरू उठ्ने गर्दछन् । व्यक्तिभित्र उठेका सबै किसिमका भावना, विचार तथा तरङ्गहरू सँगसँगै पछ्याउन सकिँदैन र सबै खाले विचारको उत्तार चढावलाई पछ्याउन सकिँदैन र सबै खाले विचारको उत्तार चढावलाई पछ्याएर लक्ष्यमा पुग्न पनि सकिँदैन । त्यसैले जानेर वा नजानेर व्यक्ति पलपलमा निश्चित निर्णयमा पुग्ने गर्दछ । सामन्यतया निर्णय भन्नाले के गर्ने वा के नगर्ने भन्ने सहमतिमा पुग्नु भन्ने बुझिन्छ । । खासगरी के गर्ने भन्ने सहमतिमा पुग्नु भन्ने बुझिन्छ । खासगरी हरेक परिस्थिति तथा अवस्थामा देखिएका अनेक विकल्पमध्ये अधिकांश विकल्प तथा सम्भावनालाई निस्कृय पार्दै उपयुक्त विकल्प तथा सम्भावना छनौट गर्नुलाई नै निर्णय भनिन्छ । दुईवटा डुङ्गामा टेकेमा गन्तव्यमा पुग्न सकिँदैन भनेजस्तै विभिन्न विकल्पलाई सँगसगै रोज्नु भनेको पनि अन्योलताको अवस्था हो । अर्को शब्दमा विद्यमान परिस्थितिमा रहेको अन्योललाई समाप्त गर्नु नै निर्णयमा पुग्नु हो ।

व्यक्ति जस्तै एउटा संस्थाका लागि निर्णय एक निरन्तर चल्ने अपरिहार्य प्रकृया हो । कुनै पनि संस्था यसको लक्ष्यअनुसार अगाडि बढ्नका लागि विद्यमान अवस्थामा रहेका अन्योलहरू हुट्नु पर्दछ । किनभने ‘निर्णय प्रकृया’ संस्था गतिशीलताको सूचक हो, जसले समूहलाई प्रभावित गर्दछ । कुनै पनि समूहको कार्य कति प्रभावकारी छ भन्ने कुरा समूहले अपनाउने निर्णय प्रकृयाले महत्वपूर्ण भूमिका खेल्दछ । कतिपय अवस्थामा संस्थाका सदस्यहरूले नै गरेका निर्णयहरू भए पनि निर्णय गर्ने तौरतरिका नमिल्दा र प्रयाप्त विश्लेषण नहुनाले उक्त निर्णयले संस्थाका सदस्यलाई भन्दा अरूलाई लाभ पुगिरहेको हुन्छ । त्यसैले कुनै पनि निर्णयका लागि उपयुक्त किसिमको प्रकृया चयन गर्नुको साथै निर्णय गर्दा विभिन्न सावधानी पनि अपनाउनु पर्दछ । समूहमा आबद्ध सबै सदस्य सहभागीको सहमतिमा गरिने निर्णयलाई सर्वसम्मत निर्णय भनिन्छ ।

सर्वसम्मत निर्णय प्रकृया सबै किसिमका निर्णय प्रकृयामध्ये उत्कृष्ट निर्णय प्रकृया मानिन्छ । यस निर्णय प्रकृयाले एउटा परिपक्व निर्णय मात्र हुँदैन कि निर्णयमा संलग्न सदस्यहरूलाई सशक्त ‘इम्पावर’ गराउँदछ । खासगरी विपन्न तथा छेउलागेका समुदायका मानिसहरूमा त यस निर्णय प्रकृयाले उनीहरूभित्रको अन्तरशक्तिको बोध गराउँदछ । सर्वसम्मत निर्णय प्रकृया अनुसार निर्णय गर्दा समय धेरै लाग्दछ भने निर्णयमा पुग्नका लागि उपयुक्त नेतृत्व सीपको आवश्यकता पर्दछ । कुनै पनि समूह वा सङ्गठनमा कस्तो किसिमको निर्णय प्रकृया अपनाउने भन्ने कुरा समूहको अवस्था, स्तर, सहमतीहरू अनुभव, धारणा, नेतृत्व सीप तथा विद्यमान परिस्थिति, छलफलको विषयवस्तु आदिले निर्धारण गर्दछ । उल्लेखित सबै किसिमका निर्णय शैली व्यवहारमा प्रयोग भएको पाइन्छ । जस्तो कहीँ ठूलो आगलागी भयो, सडक दुर्घटना भयो वा कुनै आपत्कालीन अवस्था आइ लाग्यो भने सर्वसम्मत निर्णय गरेर जान सम्भव नै हुँुदैन । त्यस्तो अवस्थामा परिस्थिति अनुरूपको निर्णय प्रकृया अपनाउनुपर्ने हुन्छ । तर सामान्य अवस्थाको एउटा समूह÷सङ्गठनले नियमित रूपमा निर्णय गर्ने क्रममा सर्वसम्मत निर्णय प्रकृया अपनाउनु बढी उपयुक्त हुन्छ । यो काममा युवा नेतृत्व बढी संयोजनकारी भूमिका प्रदान गर्न सक्छन् ।

परिस्थितिले अनुरूप अगुवा नेताले विभिन्न किसिमको नेतृत्व शैली अपनाउनुपर्ने भएकाले यो नेतृत्व शैली ठीक र अर्को नेतृत्व शैली बेठीक भनेर छुट्याउन त मिल्दैन तापनि तुलनात्मक रूपमा हेर्ने हो भने साझेदारी नेतृत्व शैलीलाई आदर्श नेतृत्व शैली भनिन्छ । साझेदारी नेतृत्व शैलीमा क्रमिक रूपमा नेतृत्वले सहभागी सदस्यहरूमा नेतृत्व सीप हस्तान्तरण गर्दै जान्छ र वैकल्पिक सङ्गठनभित्र वैकल्पिक नेतृत्वको विकास हँुदै जान्छ । साझेदारी नेतृत्वले सहभागी सदस्य हरेकको नेतृत्व क्षमतालाई उजागर गर्न र त्यसलाई विकसित हुन मद्दत दिने भएकाले समूह वा सङ्गठनमा सदस्यहरूको सहभागीतामा गुणात्मकता आउँदछ भने जिम्मेवारीलाई पनि समान रूपमा पूरा गर्ने कोसिस गरिन्छ । समाजमा विद्यमान नेतृत्वको प्रभावकै कारण मानिसहरू हेपिने, उनीहरूमा हीन भावना पलाउने हुन्छ भने नेतृत्व शैली तथा नेतृत्वको प्रभावका कारणले सदियौँदेखि हेपिएका र छेउ लगाइएका मानिसहरूमा शक्तिबोध हुने र उनीहरू सशक्त हुँदै जाने अवसर मिल्दछ । यो काम युवाहरूले गर्न सक्छन् ।

निष्कर्ष :
नेपाली राजनीतिमा युवा नेतृत्व स्थापित गर्ने र युवाहरूलाई नेपाली राजनीतिप्रति सकारात्मक र उत्साही बनाउनका लागि नेपालका राजनीति दलहरूका सामु महत्वपूर्ण अवसरका रूपमा स्थानीय तह निर्वाचन उपस्थित भएको छ । यो अवसरलाई नेपालका राजनीतिक दलहरूले रणनीतिक रूपमा स्थापित गर्दै नेपालको विकास प्रयासमा युवा नेतृत्वलाई स्थापित गर्नु जरुरी छ । जिम्मेवारी र अवसरले नै नेतृत्व स्थापित हुने हो । युवाहरूप्रतिको विश्वास र भरोसा गरेर स्थानीय तहको निर्वाचनमा कम्तीमा ८० प्रतिशत युवाहरूलाई स्थापित गर्नु आजको आवश्यकता हो । चेतना भया ।

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल