भ्रष्टाचारविरुद्ध सहकार्य : सुशासनका लागि अपरिहार्य

भ्रष्टाचारविरुद्ध सहकार्य : सुशासनका लागि अपरिहार्य

प्रभात क्षेत्री

भ्रष्टाचार र सुशासनको परिभाषा
भ्रष्टाचार र सुशासनलाई परिभाषाको दायरामा ल्याउनु कठिन कार्य हो । यी शब्दहरूको परिभाषा देश र समाजपिच्छे फरक फरक हुने गर्दछ । विश्व बैङ्कका अनुसार व्यक्तिगत वा निजी फाइदाका लागि सार्वजनिक पद वा हैसियतको दुरूपयोग गर्नु भ्रष्टाचार हो । त्यसैगरी, रोबेर्ट क्लित्गार्ड (१९८८) ले भ्रष्टाचारको परिभाषाका लागि समीकरण बनाएका थिए । जसअनुसार ‘एकाधिकार स्वविवेक, जवाफदेहिता, भ्रष्टाचार’ भनी उल्लेख गरिएकोे छ । नेपालको भ्रष्टाचार ऐन, २०५९ ले भ्रष्टाचार भनेको सोही ऐनको परिच्छेद–२ अन्तर्गत सजाय हुने कसुर भनेको छ, जसमा भ्रष्टाचार मानिने क्रियाकलापहरू राखिएको छन् ।

शाब्दिक अर्थमा ‘सुशासन’ भनेको असल शासन हो । शासन सञ्चालनको प्रकृयामा संलग्न शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग गरी नागरिक सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो । सुशासन ऐन, २०६४ ले कानुनको शासन, भष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनलाई सुशासनको रूपमा परिभाषा गरेको पाइन्छ । त्यस्तै संयुक्त राष्ट्र सङ्घले ८ वटा विषयलाई सुशासनको विशेषताको रूपमा राखेकोे पाइन्छ, जसमा सहमतितर्फ उन्मुख, उतरदायित्वपूर्ण, पारदर्शितायुक्त, जवाफदेयितायुक्त, प्रभावकारी र सक्षमता, सहभागितामूलक, समनतामूलक र समावेशी, कानुनी शासन पर्दछन् ।

भ्रष्टाचार र सुशासनको सम्बन्ध
भ्रष्टाचार र सुशासन एउटै सातहमा रहे पनि यी दुवै शब्दहरूको आयम भने ठीक विपरीत हुन्छ । सुशासनले समग्र जनताको इच्छा र खुशी सुनिश्चितता खोज्छ भने भ्रष्टाचारले सार्वजनिक पद र हैसियतको दुरूपयोग गरी आफ्नो र आफ्ना नजिकका मान्छेहरूको इच्छा र खुशी सुनिश्चित गर्न खोज्छ । सुशासनले सरकारलाई उत्तरदायी र पारदर्शी बनाउन नियमले बा“ध्छ भने भ्रष्टाचारले ति नियमहरू मिची सरकारलाई सीमित व्यक्तिको स्वार्थमा काम गर्नतर्फ उत्प्रेरित गर्छ । सुशासनले राजनीतिक, आर्थिक, सामाजिक र न्यायिक संयन्त्रबाट समाजका निकायहरूलाई व्यवस्थापनमा ध्यान पुर्याउँछ भने अर्कोतर्फ भ्रष्टाचारले समाजका निकायहरूमा प्रतिकूल असर पारी समाजका संयन्त्रहरू फितलो पारी समग्रमा सुशासन नै कमजोर पार्दछ । यसरी भ्रष्टाचारले देशलाई नकारात्मक असर पारी सुशासनको सम्पूर्ण आयामहरूलाई विस्तारै कमजोर पार्दछ । भ्रष्टाचार, कुशासनको एक महत्वपूर्ण कारण हो र कुशासनले भष्टाचार निम्त्याउँछ । अतः भ्रष्टाचार कुशासनको एउटा महत्वपूर्ण सूचक पनि भएकाले भ्रष्टाचारविरुद्ध लाग्दा सुशासन सुनिश्चित हुन्छ ।

भ्रष्टाचारविरुद्ध सहकार्य
सामान्यतः भ्रष्टाचारविरुद्ध सहकार्य भन्नाले सरोकारवालाहरूकोे सहयोग र सहकार्यमा भ्रष्टाचार रोक्न वा अन्त्य गर्न चालिने दिगो र सहकार्यमूलक प्रक्रिया हो । पछिल्लो दशकहरूमा संसारभरी भ्रष्टाचारविरुद्ध विभिन्न अभियानहरू प्रायः असफल भएको पाइन्छ । विशेषतस् नेपालजस्ता विकासउन्मुख राष्ट्रहरूमा भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम, नीति योजना आदि बने पनि ती प्रयासहरूले सोचेजस्तो नतिजा ल्याउन भने सकेनन् । अहिले आएर, विज्ञहरूले ती प्रयासहरू असफल हुनुको कारण “योजना बनाउँदा नै सैद्धान्तिक पक्षमा चुक भएको” भनी औँल्याएका छन् । ती प्रयासहरू व्यक्तिविशेष सिद्धान्तमा आधारित थिए । जसअनुसार भ्रष्टाचार एउटा व्यक्तिले गर्ने हो र यदि त्यो व्यक्तिलाई सुधार्न वा भ्रष्टाचार गर्नबाट रोक्न सके भ्रष्टाचार रोक्न सकिन्छ भन्ने मान्यता थियो । तसर्थ यस्तो गलत बुझाइले गर्दा भ्रष्टाचार रोक्नका निम्ति गरिएका प्रयासहरू केवल शक्तिमा रहेका व्यक्तिहरू वरिपरि केन्द्रित भए र अन्ततस् धेरै प्रभावकारी हुन सकेनन् । यसरी पुराना प्रयासहरूबाट पाठ सिकेर विज्ञहरूको सुझाव अनुसार अहिले भ्रष्टाचारविरुद्ध व्यक्तिविशेष सिद्धान्त भन्दा पनि भ्रष्टाचारविरुद्ध सहकार्यलाई केन्द्रित गरी भ्रष्टाचारविरुद्धका प्रयासहरू अघि बढाउनुपर्छ भन्ने मान्यता विकसित भएको छ । त्यस्तैै आर्को कोणबाट हेर्दा भ्रष्टाचारले थोरैलाई फाइदा हुन्छ । जहाँ बाँकी अरू सबैलाई थोरै धेरै नकारात्मक असर परिरहेको हुन्छ । यदि थोरै मानिसहरूले यसको विरोध गरे, सर्वप्रथम त त्यो आवाज धेरै प्रभावकारी हुँदैन र ती सीमित स्वार्थ बोक्ने मान्छेहरू (भ्रष्टाचारी) सँग ती अवाज उठाउने मान्छेहरू असुरक्षित पनि हुन्छन् । त्यसैले भ्रष्टाचारबाट हुन थोरै धेरै नकारात्मक असरबाट आफैलाई बचाउन र भ्रष्टाचार विरुद्धको अवाज मजबुद र प्रभावकारी बनाउन भ्रष्टाचारविरुद्ध सबैको सहकार्य जरुरी छ ।

समयसँगै भ्रष्टाचारको आयाम फैलिँदै गएकाले भ्रष्टाचारविरुद्ध सहकार्र्य दुई स्तरमा हुन सक्छ ः (क) राष्ट्रिय स्तरमा सहकार्य र (ख) अन्तर्राष्ट्रिय स्तरमा सहकार्य ।

क) राष्ट्रिय स्तरमा सहकार्य :
राष्ट्रिय स्तरमा सहकार्य राष्ट्रका सरोकारवालाहरूले आआफ्नोे ठाउँमा भूमिका खेली भ्रष्टाचारविरुद्ध सहकार्य गरी टेवा पुर्याउनु पर्दछ । मूलतः राष्ट्रिय स्तरमा सहकार्य यी सरोकारवालाहरूबीच हुनुपर्दछ ः

१) नागरिक समाज तथा नागरिकहरू : राष्ट्रिय स्तरमा सहकार्य बढाउन नागरिकहरू तथा नागरिक समाजले सरकार र निजी क्षेत्रका कार्यहरूलाई निगरानीमा राख्ने र ती क्षेत्रहरूमा हुने भ्रष्टाचारविरुद्धका अभियानमा साथ दिने काम गर्नुपर्दछ । नागरिकहरू र नागरिक समाजले सबै सरोकारहरूलाई बाँध्ने काम गर्नुपर्छ । त्यस्तै सर्वसाधारणहरूलाई पनि भ्रष्टाचारविरुद्ध लड्नुको फाइदाहरू र उपायहरू सिकाउनुपर्छ ।

२) कार्यलयहरू : राष्ट्रिय स्तरमा सहकार्य बढाउन निजी तथा सार्वजनिक कार्यलयहरूले भ्रष्टाचारको पहिचान गर्न, रोक्ने र समाधान गर्न उचित कार्यक्रम तथा नीति ल्याई त्यसलाई कार्यान्वयन गर्नुपर्दछ ।

३) सरकार : राष्ट्रिय स्तरमा सहकार्य बढाउन सरकारले राष्ट्रिय स्तरका भ्रष्टाचारविरुद्ध कानुन र योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । सरकारले निगरानी गरी भ्रष्टाचार निरुत्साहित गर्नुपर्दछ । राम्रो नैतिक आचरणलाई प्रोत्साहित गर्नुपर्दछ । त्यसैगरी सरकारका सम्पूर्ण निकायहरू, जस्तै भ्रस्टाचार रोक्न निगरानी गर्न बनेको निकायहरू, प्रहरी, सरकारी वकिलको कार्यालय, अदालत आदि बीच भ्रस्टाचारविरुद्ध जुट्न, लड्न र सहकार्य गर्न विशेष प्रतिबद्धता र वातावरण हुनुपर्दछ ।

यसरी सरोकारवालाहरूले आआफ्नो ठाउ“बाट र एकअर्कासँग सहकार्य गरी भ्रष्टाचारविरुद्ध लड्नुपर्दछ ।

राष्ट्रिय स्तरमा सहकार्य बढाउने उपायहरूः
राष्ट्रिय स्तरमा सहकार्य बढाउनका लागि सर्वप्रथम सर्वप्रथम सरोकारवालाहरूबीच समझदारी, एकता र सहकार्यको वातावरण चाहिन्छ, र यी सबैका लागि उल्लेखित उपायहरू अपनाउनु पर्दछः

१) कानुनी व्यवस्था : भ्रष्टाचारविरुद्धको सहकार्यलाई बढावा दिन सहकार्यको लागि कानुन तर्जुमा गरी सोको प्रभावशाली ढङ्गले कार्यान्वयन गर्नुपर्दछ ।
२) चेतना : भ्रष्टाचारविरुद्धको सहकार्यलाई बढावा दिन सरोकारवालामाझ भ्रष्टाचारविरुद्धको सहकार्यको उपाय र त्यसका फाइदाबारे चेतनाको अभिवृद्धि गर्नु पर्दछ ।
३) सार्वजनिक(निजी साझेदारीः भ्रष्टाचारविरुद्ध सहकार्य बढाउन सार्वजनिक क्षेत्रसँग निजी क्षेत्रको पनि साझेदारी आवश्यक छ । तसर्थ भ्रष्टाचार विरोधी सहकार्यमा ‘सार्वजनिक(निजी साझेदारी’को अवधारणालाई अवलम्बन गर्नुपर्दछ ।
४) भ्रष्टाचारविरुद्ध घोषणापत्र र सम्झौताः सरकारी र निजी क्षेत्रमा भ्रष्टाचारविरुद्धको सहकार्यमा बल पुर्याउन विभिन्न घोषणापत्र तथा सम्झौताहरू तर्जुमा गरी त्यसलाई लागू गर्नुपर्छ । यसले सरोकारवालालाई नैतिक तथा कानुनी रूपमा भ्रष्टाचारविरुद्ध लड्न एकजुट पार्दछ ।
५) कामको प्रामाणीकरण :निजी तथा सरकारी क्षेत्रका कार्यहरूमा भ्रष्टाचार नरहेको प्रमाणित पर्दछ । यस्तो प्रामाणीकरण स्वतन्त्र नागरिक समाज तथा सम्बन्धित विज्ञहरूद्वारा गर्नसकिने छ ।

ख) अन्तराष्ट्रिय स्तरमा सहकार्य : विश्वव्यापीकरण र भ्रष्टाचारको आयामहरू देशको सीमा बाहिर पनि फैलिन थालिसकेकाले, भ्रष्टाचार विरुद्ध राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य अन्त्यन्त जरुरी भएको छ । यसका लागि सर्वप्रथम राष्ट्रहरूले सहकार्यको लागि प्रतिबद्धता जाहेर गर्नुपर्दछ । देशहरूबीच भ्रष्टाचार रोक्न पारस्परिक कानुन सहायता, विदेशी फैसलाको मान्यता र सोको कार्यान्वयन, अनुसन्धानमा सहकार्य, आरोपी अभियुक्तको सुपुर्दगी, कारोबार वा खाता रोक्का जस्ता औजारहरू प्रयोग गरी भ्रष्टाचारका अन्तर्राष्ट्रिय जराहरू काट्न सकिन्छ । अन्तर्राष्ट्रिय स्तरमा भ्रष्टाचारविरुद्ध सहकार्यमा ठोस दिशा दिन र राष्ट्रहरूबीच यस सम्बन्धी कानुनी कर्तव्य र दयित्व सिर्जना गर्ने संयुक्त राष्ट्रसङ्घ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि महत्वपूर्ण कानुनी औजार हो । सम्पूर्ण देशहरूले महासन्धि अनुमोदन गरी त्यसलाई लागु गर्न सके, भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय स्तरमा सहकार्यमा टेवा पुग्ने छ ।

भ्रष्टाचारविरुद्धकोे सहकार्य
राष्ट्र

(सहकार्यको प्रकार)

राष्ट्रिय स्तरमा सहकार्य अन्तर्राष्ट्रिय स्तरमा सहकार्य
(सहकार्यमा भूमिका खेल्नेहरू)
 नागरिक समाज तथा नागरिकहरू राष्ट्रहरू
 कार्यलयहरू
 सरकार
(सहकार्यमा अपनाइने मुख्य उपायहरू)

(फलस्वरूप)
भ्रष्टाचार घट्ने

सुशासन बढ्ने

भ्रष्टाचार विरुद्धकोे सहकार्यका फाइदाहरू
भ्रष्टाचार विरुद्धकोे सहकार्यका फइदाले विश्वका धेरै मुलुकहरू र सङ्घसंस्थाहरूले यो अवधारणालाई लागू गर्दै आएका छन् । भ्रष्टाचारविरुद्धका सहकार्यका प्रमुख फाइदाहरू स्
१) भ्रष्टाचारविरुद्धको सहकार्यले भ्रष्टाचारविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासहरूलाई विश्वसनीय र प्रभावकारी बनाउँँछ ।
२) यसले निष्पक्ष, सकारात्मक प्रतिस्पर्धा बढाउँँछ ।
३) यसले सरोकारवालाहरूबीच भ्रष्टाचारविरुद्ध लड्न प्रेरणा दिन्छ ।
४) यसले सरकारी र निजी क्षेत्रमा विश्वास बढाउँँछ ।
५) यसले हरेक क्षेत्रमा जन सहभागिता बढाउँँछ ।
६) यसले राज्यको स्रोतहरूलाई समानता र प्रभावशाली रूपमा बाँडफाँड गर्न टेवा पुर्याउँँछ ।
७) अन्ततः यसले सुशासनका विशेषताहरूलाई बल पुर्याई सुशासनको सुनिश्चितता गर्दछ ।

भ्रष्टाचारविरुद्ध सहकार्यमा नेपालको अवस्था
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो भ्रष्टाचार प्रतिशत सङ्केत २०१६ का अनुसार भ्रष्टाचारमा संसारका १७६ देशहरूमध्ये नेपाल १३१औँ स्थानमा रहेको र दक्षिण एसियामा तेस्रो धेरै भ्रष्टाचार हुने देशको रूपमा देखाएको छ । फलस्वरूप नेपालमा सुशासनको स्थिति पनि दयनीय छ । भ्रष्टाचार धेरै हुने भए पनि नेपालमा चलिरहेका भ्रष्टाचारविरुद्धका अभियानहरूमा सहकार्यमूलक अभ्यास कमै भेटिन्छन् । नेपालका कानुनहरूले पनि भ्रष्टाचारमा सहकार्यमूलक अभ्यासको बारेमा खासै उल्लेख गरेको छैनन् । यसले भ्रष्टाचारविरुद्ध सहकार्य कमी भएको छ । अहिले त्यस्तो सहकार्य अपरिहार्य देखिन्छ ।

निष्कर्ष
भ्रष्टाचार र सुशासन एउटै सतहमा रहे पनि यी दुईका आयमहरू ठीक विपरीत हुन्छ । सुशासनले समग्र जनताको इच्छा र खुशी सुनिश्चित गर्न खोज्छ भने भ्रष्टाचारले सार्वजनिक पद र हैसियतको दुरूपयोग गरी आफ्नो र आफ्ना नजिकका मान्छेहरूको इच्छा र खुशी सुनिश्चित गर्न खोज्छ । भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम, नीति, योजना आदि बने तर ती प्रयासहरूले सोचेजस्तो नतिजा ल्याउन भने सकेनन् । अहिले आएर, विज्ञहरूले ती प्रयासहरू असफल हुनुका कारण “योजना बनाउँदा नै सैद्धान्तिक पक्षमा चुक भएको” भनी औँल्याएका छन् । यसरी पुराना प्रयासहरूबाट पाठ सिकेर विज्ञहरूको सुझाव अनुसार अहिले भ्रष्टाचारविरुद्ध व्यक्तिविशेष सिद्धान्त भन्दा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रित गरी भ्रष्टाचारविरुद्धका प्रयासहरू अघि बढाउनुपर्छ भन्ने मान्यता विकसित भएको छ ।
भ्रष्टाचारविरुद्धको सहकार्यले प्रयासहरूलाई विश्वसनीय र प्रभावकारी बनाउँछ । अन्ततः यसले सुशासनका विशेषताहरूलाई बल पुर्याई सुशासन सुनिश्चित गर्दछ । देश र जनताहरूको छवि र मनोबल बढाउँछ । नेपालजस्ता धेरै मुलुकहरूमा भ्रष्टाचार धेरै भए पनि चलिरहेका भ्रष्टाचारविरुद्ध अभियानहरूमा सहकार्यमूलक अभ्यास कमै भेटिन्छन् । नेपालका कानुनहरूले पनि भ्रष्टाचारमा सहकार्यमूलक अभ्यासका बारेमा खासै उल्लेख गरेको पाइँदैन । यसले गर्दा भ्रष्टाचारविरुद्धको सहकार्यमा कमी आएको छ । फलस्वरूप कुशासन निम्तिएको छ । अतः सुशासनको निम्ति भ्रष्टाचारविरुद्धको सहकार्य संसारभरि नै अपरिहार्य देखिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल