चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डलाई सुझाव

-

चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डलाई सुझाव

निमकान्त पाण्डे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चैत १० गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक चीनसँग नेपालको समृद्धिका लागि चीनको सहयोगी भावनालाई स्वागत गर्न सक्नुभयो भने नेपालका लागि त्यत्तिमात्रै पनि ठूलो उपलब्धि साबित हुनेछ । नेपालको सिमाना जोडिएको उत्तरतिरको छिमेकी देश विश्वकै दोस्रो धनी देशको रूपमा स्थापित भइसकेको छ ।
यसको विकासबाट संसारका पुँजीवादी मुलुकहरु निकै चिढिएका छन् । यस्तो मुलुकको भ्रमण नेपालका प्रधानमन्त्री प्रचण्डले गर्दै हुनुहुन्छ, खुशीको कुरा हो । चीनकै कारणले गर्दा नेपालको सार्वभौमसत्ता बचेको छ भन्ने कुरा अरु कसैलाई भन्दा बढी जानकारी दक्षिणतिरको छिमेकी मुलुक भारतका सत्ताधारी दलहरुलाई हुने गर्दछ । नेपालको राष्ट्रिय स्वाधीनतामाथि पटक–पटक आघात पु-याउँदै आएको दक्षिणतिरको छिमेकीले उत्तरको छिमेकीबाट सिक्नुपर्ने धेरै कुराहरु छन् । उत्तरको छिमेकीले नेपालको स्वाधीनता र सार्वभौमसत्ताप्रति चिन्ता व्यक्त गर्ने गर्दछ । परन्तु दक्षिणतिरको छिमेकीले नेपालको स्वाधीनता र सार्वभौमसत्तामाथि हमला गर्ने गर्दछ । दक्षिण र उत्तरका छिमेकीबीचको भिन्नता यत्ति नै हो ।
दोस्रोपटक प्रधानमन्त्रीमा सत्तारोहण भएपछि प्रचण्डलाई दक्षिणतिरको छिमेकी मुुलुकसँग निकट भएको आशंका गरिन्छ । त्यसकारण पनि त्यो आरोपबाट मुक्त हुन चीनसँगको सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डले विशेष महत्व दिनु आवश्यक छ । हुन त नेपालको संवेदनशील राजनीतिक अवस्थाले दक्षिणतिरको छिमेकी मुलुकसँग विशेष सम्बन्ध बनाउनुपर्ने नेपालका राजनीतिक नेताहरुलाई बाध्यता रहिआएको छ । दक्षिणी सम्बन्धमा रहेको बाध्यतासँगै उत्तरसँगको सम्बन्ध अवसरको रुपमा रहने गर्दछ । उत्तरको छिमेकीले नेपालको भौगोलिक संवेदनशीलतालाई बुझेर नै नेपालप्रति विशेष चासो राख्ने गर्दछ । हुन त नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको सुरक्षाप्रति देखापर्ने चीनको विशेष चासो उसकै सुरक्षा स्वार्थमा पनि केन्द्रित रहने गरेको छ । तथापि जुनसुकै कारणले चीनको चासो नेपालको स्वाधीनतामाथि होस्, त्यसले नेपाललाई सुरक्षित रहन मद्दत पु¥याएको निष्कर्ष निकाल्न सकिन्छ । चीन नेपालको समृद्धि र राष्ट्रिय सुरक्षाप्रति सहयोगी भूमिकामा प्रस्तुत हुन चाहन्छ भन्ने कुरा उसले पटक–पटक सार्वजनिक गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवनको वैचारिक पक्षलाई मध्यनजर गरेर चीनसँगको मित्रतामा विशेष चासो देखाउनु आवश्यक हुन्छ । दक्षिणतिरको छिमेकीलाई खुशी तुल्याउने नाममा उत्तरबाट प्राप्त हुनसक्ने अवसरहरु गुमाउनु बुद्धिमानी हुने छैन । दक्षिणतिरको छिमेकीले नेपालको समस्यालाई समाधान गर्नेतिरभन्दा समस्या थपिदिने काम गर्दै आएको छ । भारत स्वतन्त्र भएदेखि नै भारतका शासकहरुले नेपालको स्वतन्त्रतामाथि धावा बोल्दै आएका छन् ।
यतिबेला अरु विषयहरुमा छलफल गर्नुभन्दा नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरामा चिन्तनशील हुनु आवश्यक छ । नेपालको भौगोलिक अवस्थाले उत्तर र दक्षिणका छिमेकीहरुको सहयोग नेपालका लागि आवश्यक हुन्छ । प्राकृतिक रुपमै दक्षिणतर्पm रहेको खुला सिमानाका कारणबाट नेपालको व्यापार तथा पारवहन दक्षिणतिरै आश्रित रहनुपर्ने बाध्यताले उत्तरी सीमातर्पm नेपालको ध्यान पुग्न सकेन ।

परन्तु दक्षिणतिरको छिमेकी देशका शासकहरुको पटक–पटकको नेपाल र नेपाली जनताप्रतिको असहिष्णुतापूर्ण व्यवहारले नेपाललाई दक्षिणको विकल्प खोज्न बाध्य तुल्याइदिएको छ । त्यसका लागि उत्तरतिरका नाकाहरु धमाधम विस्तार गर्नुनै तत्कालको विकल्प हो । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले के–कस्ता एजेण्डाहरू प्रस्ताव गर्ने भन्ने सम्बन्धमा व्यापक चर्चा–परिचर्चाहरू भइरहेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभाबाट जारी भएको संविधानप्रति बेलायतका प्रधानमन्त्रीको समेत नकारात्मक टिप्पणी प्रशारण गराउन बेलायत भ्रमणका क्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गरी नेपालप्रतिको अससहिष्णुतापूर्ण आफ्नो मनोदशा प्रदर्शित गरिसकेका छन् । त्यसैले भारतको सदासयतापूर्ण व्यवहारको चाहना गर्नु नेपालका लागि व्यर्थजस्तै लाग्दछ । नेपालको संविधान बारेमा बेलायतमा पुगेर भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति जारी गर्न आवश्यक ठान्ने नरेन्द्र मोदीले २० वर्षदेखि हुन नसकेको नेपालको स्थानीय तहको निर्वाचनप्रति असहयोगी भावना देखाइरहेबाट पनि मोदीको नेपालप्रतिको दुर्भावना बुझ्न सकिन्छ । त्यसैले चीन भ्रमणका क्रममा भारत रिसाउला कि भन्ने कुरा सोच्नुभन्दा नेपालको आवश्यकता के हो भन्ने विषयमा ध्यान केन्द्रित गर्नु प्रधानमन्त्री प्रचण्डको बुद्धिमत्तापूर्ण व्यवहार हुने छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय हितको सवालमा भारत असन्तुष्ट हुनु भनेको भारतको विस्तारवादी हस्तक्षेपकारी नीति असफल हुनु हो भन्ने कुरा बुझ्नु जरुरी छ । नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाबीचको तरुल हो भनेर नेपालको स्थितिलाई स्पष्ट पारेका थिए । पृथ्वीनारायण शाहको यो अभिव्यक्ति कति दूरदर्शी थियो भन्ने कुरा वर्तमान घटनाक्रमहरूले प्रष्ट गरिरहेका छन् । तथापि प्रचण्डले युद्धकालमा नेपाललाई दुई ढुंगाबीचको तरुल नभएर दुई देशबीचको डाइनामाइट भनेर दावी गर्नुभएको थियो । डाइनामाइटलाई पुलमा रुपान्तरण गर्न सकियो भने नेपालको समृद्धि त्यसैमा निर्भर रहने छ । दक्षिणतिरको हाम्रो छिमेकी देशसँग खुला सिमाना रहनु र उत्तरतिर पूर्णरूपले आवागमनमा कडाइ गरिनुले हाम्रो देशको विदेशनीतिमा रहेको असन्तुलनलाई स्पष्ट गर्दछ । दक्षिणतिरको खुला सिमानाले गर्दा सीमा क्षेत्र निरन्तर तनावको स्थितिमा रहँदै आएको छ भने पारिवारिक सम्बन्ध, भाषा, धर्म, रहनसहन र खानपान समेतमा एकरूपता रहन गएको छ । खुला सिमाना नभएकै कारणले उत्तरतिरको छिमेकी मुलुक चीनसँग नेपालको सम्बन्ध वैचारिक रूपमा बाहेक अरु कुनै पनि पक्षमा निकट बन्न सकेन । अब सम्बन्धलाई निकट कसरी तुल्याउने भन्ने सवालमा प्रधानमन्त्री प्रचण्डको भ्रमण केन्द्रित हुनु आवश्यक छ ।
भारतसँग नेपालको ९० प्रतिशत व्यापार आयातमा निर्भर रहेको छ । नेपाल र भारतबीच व्यापारिक नाकाहरू १ सय ५९ ठाउँमा खुलेका छन् । चीनतिर अत्यन्त सीमित व्यापारिक नाका भएकाले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध सहज बन्न सकेको छैन । यही कारणले गर्दा भारतको ज्यादति सहन नेपाल बाध्य हुँदै आएको छ । यो तथ्यलाई महसुस गरी अब उत्तरतिरको सम्बन्ध बढाउनु पर्छ भन्ने निष्कर्षमा नेपाल पुग्नै पर्दछ । परन्तु, भारतको विकल्प चीनलाई बनाएर मात्र हामी आत्मनिर्भर बन्न सक्ने छैनौं । हाम्रो देशको आर्थिक घाटा कम गर्न परनिर्भर हुने प्रवृत्ति त्याग्नैपर्ने हुन्छ । यसका निम्ति आन्तरिक उत्पादन सबैभन्दा महत्वपूर्ण पक्ष हो । त्यसका लागि पनि चीनको सहयोग नेपालका लागि स्वागतयोग्य बनाउन फराकिलो छाती बनाएर प्रस्तुत हुनु जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल