‘विप्लव’जी त्यागौँ साम्यवादको उल्टो बाटो

‘विप्लव’जी त्यागौँ साम्यवादको उल्टो बाटो

विजय ज्ञवाली

सर्वप्रथम त तपाईंजस्ता नेपाली मोडलका कच्चा कम्युनिस्टहरुलाई ‘कमरेड’ भनेर पुकार्नु नै कम्युनिज्मको अपमान हो भन्ने मेरो ठहर छ । विश्व कम्युनिस्ट आन्दोलन र यसको इतिहास अनि वर्तमान जति गौरवपूर्ण छ त्यति नै नेपालका स्वघोषित कम्युनिस्ट र यिनका गतिविधिहरु त्यति नै बदनाम एवं तिरस्कृत हुँदै आइरहेको छ । कम्युनिज्मको नाममा कलङ्कको टीकाबाहेक नेपालका अधिकांश कम्युनिस्टहरुले अर्को चरित्र देखाउन सकिराखेका छैनन् । १७ हजारको ज्यान लिनेगरी भएको माओवादी जनयुद्धको औचित्य पुष्टि त हुन सकेन सकेन त्यसयता शान्ति प्रकृयामा अवतरण गरेदेखि माओवादी राजनीति अधोगतिउन्मुख त छँदैछ, साथमा समाज विभाजनदेखि लिएर जातीयता, क्षेत्रीयता र भौगोलिक अखण्डतामा समेत आँच आउनेगरी माओवादी राजनीति अतिवादउन्मुख भइरहेको छ । समाजमा विद्वेशको विष रोपेर आफूहरु भने नवसामन्त र नवधनाड्यमा परिणत भएका छन् हिजोका गोल्डस्टारछाप माओवादी नेताहरु । सायद यसैलाई कम्युनिज्म भनिएको होला, यसैलाई समाजवाद भनिएको होला ।

दुई छाक राम्रोसँग खान र एकजोर गोल्डस्टार जुत्ता लगाउने आशामा हजारौँ सपनाहरुलाई कठोर चट्टानले च्यापेर साम्यवादको सुनौलो भविष्यको उज्यालोका लागि बन्दुकको नालसँग पौँठेजोरी खेल्दाखेल्दा आज ती सपनाहरुले अरबको राप र तापमा कलँेटी परेका ओठहरु जबर्जस्ती जोड्दै विगतको तीतो यथार्थ सुस्केर्दा हुन् । छोराछोरी, बाबुआमा, श्रीमान गुमाएका हजारौँ हजार निर्दोष मनहरु बेलाबखत भित्रैबाट उम्लिएर आउँदा हुन् । मुट्ठीभरका नवसामन्त र नवधनाड्यलाई मात्र त्यो समाजवाद आएको आफ्नै आँखाले देख्नुपर्दा खाडीको रापमा त्यो तातो रगत अझै उम्लिँदो हो । नवसामन्त र नवढनाड्यका अकूत सम्पत्तिसँगै अगाडि पछाडिका सुरक्षा साइरनको लर्को र सामन्ती कर्कस आवाज सुनेर विप्लव माओवादीलाई अझै पनि रक्तपिपासुको कुण्डवाट उठेर बदलिँदो विश्व परिवेष मनन गर्ने इच्छा र चाहना छैन । त्यसैले त साम्यवादको उल्टो बाटो फलाक्दै हिँडेको आफ्नै आँखाले देख्न, सुन्न र बेहोर्न अभिशप्त छौँ । तर साम्यवादको नाममा उल्टो बाटो हिँडेका, अराजक एवं अपाच्य र समयलाई उल्टो दिशातिर फर्काउने कुचेष्टा विप्लव माओवादीले गरिरहेको छ । साम्यवाद भनेको एउटा सामाजिक, आर्थिक एवं राजनीतिक विचारधारा हो भनेर । साम्यवादी व्यवस्थामा त समतावादी, वर्गविहीन समाजको स्थापना पो गरिन्छ त विप्लवजी । अराजकता र समयको घडीलाई उल्टो घुमाउने कुचेष्टा त गरिँदैन नि होइन र ? यति त बुझ्नुपर्ने होइन र तपाईंजस्तो बन्दुकजीवीले यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ । साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ । साम्यवादमा कुनै पनि सम्पत्तिमा कसैको पनि व्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवश्यकताअनुसार भोगचलन गर्न पाउँछ ।

तपाईंहरुले भन्दै आएको समाजवाद र अन्य मुठ्ठीभरका कम्युनिस्ट नेताहरुका लागि आइसकेको समाजवाद आखिर एउटै त हो नि होइन र ? मात्र फरक कति छ कि तपाईंलाई त्यो कथित समाजवादमा अलिक ढिलो पुग्नुछ भने तपाईंका अन्य सारथीहरु तपाईंभन्दा पहिला नै पुगिसके । तपाईंको राजनीति र ‘सौताको रिसले पोइको काखमा के जति गर्ने स्वास्नी मान्छेको व्यवाहरमा आखिर के नै फरक छ र होइन र ? भारतले नाकाबन्दी गर्यो नेपाल बन्द, कञ्चनपुरमा भारतीय बर्दीधारी गुण्डाले नेपाली नागरिकमाथि दिनदहाडै धावा बोली नेपाल बन्द र तोडफोड, अराजकता ! बस यत्ति नै होइन तपाईंको साम्यवादको यात्रा, तपाईंको आदर्श राजनीतिको प्रतिफल र कम्युनिस्टको असली चरित्र ? सक्नेले त सीमाको सुरक्षा गर्नू, भारतसँग आमनेसामने विरोधमा ओर्लिनू, भारतको हेपाहा प्रवृतिविरुद्ध खुल्लमखुल्ला प्रतिरोधमा ओर्लिनु नि । भारतको ज्यादतीविरुद्ध आफ्नै घरमा आगो झोसेर कहाँको राजनीति गरिरहनुभएको छ ?

यसर्थ जसलाई बनाउन आउँदैन, उसलाई भत्काउने अधिकार पनि हुँदैन । बनाउने क्षमता नभएकाले भत्कायो भने उसलाई कदापी क्षमा गर्न सकिँदैन । एकजना मधेसी मूलका मित्र भन्दछन, पोहोरसम्म हामी पहाडी र मधेसी मिलेर दशैँ, तिहार र छठ पर्व आत्मियताका साथ मनाउँदै थियौँ, अहिले परिस्थिति ठीक उल्टो छ । यसपालिका त्यौहार आफ्नो घरमा आफ्नै तवरले मनाउँदै छौँ । यौटा समुदायको रिस अर्को समुदायप्रति छ । अर्को समुदायले उक्त समुदायलाई देख्दै निलुँलाझैं गर्छन् । यसरी सद्भाव बिथोल्ने अरु कोही नभएर हाम्रै नेतृत्व हो ।

अर्कोतर्फ भारतलाई सराप्दै र चीनसँग मितेरी गाँस्दैमा कोही राष्ट्रवादी हुँदैन । दुवै देशसँग समदूरी कायम गरी नेपालले आफ्नो आर्थिक एवं पूर्वाधार विकासमा दुवै देशबाट अधिकतम मात्रामा फाइदा लुट्न जान्न सक्नुपर्दछ । दुई देशबीचको तरुल नभई दुई देशलाई जोड्ने सेतुका रुपमा नेपालले आफूलाई उभ्याउन सक्नुपर्दछ । यी दुई देशबीचको व्यापारिक केन्द्रबिन्दु नेपाल बन्न सक्नुपर्दछ । सत्ताको जोडघटाउमा ‘प्रभु’ को आशीर्वाद लिनुको साटो नेपालका नेताहरुले दुवै देशको मन जित्नसक्ने खालको व्यवहार प्रदर्शन गर्नुपर्दछ । यसले गर्दा राज्यसञ्चालनमा उपर्युक्त व्याक्तिको छनौट हुनुका साथै दुवै देशसँग सुमधुरता कायम हुन जानेछ । जसले गर्दा देशको आर्थिक एवं भौतिक पूर्वाधार स्तरोन्नतिका लागि पनि टेवा मिल्न जानेछ ।

तसर्थ विप्लवजी, तपाईंहरुको कम्युनिस्ट आन्दोलन, सुशासन र समाजवाद इतिहाससँग कहीँकतै मेल खाएको देखिँदैन । समयलाई उल्टो धकेल्ने चेष्टाबाहेक तपाईंको राजनीतिमा निष्ठा कतै देखिएन । सुशासन, समृद्धि, भ्रष्टाचारमुक्त समाजको परिकल्पनाभन्दा पनि अराजकता, आडम्बर र ढोंगी राजनीति तपाईंहरुमा हाबी हुँदैछ । समाजवाद र साम्यवाद होइन देश र जनताको नैसर्गिक अधिकारमाथि धावा बोल्दै देश र जनतालाई गुमराहमा राख्ने चेष्टा गर्दैहुनुहुन्छ । खोक्रो राष्ट्रवादले अलिक समय आत्मरती लिन पाइएता पनि कालान्तरमा त्यो देश र जनता अनि तपाईंहरु स्वयम्का लागि अत्यन्त घातक हुनेछ । भारतको रिसले नेपालमा तोडफोड र अराजकता र त्रास फैलाएर होइन, उसँग आमनेसामने भएर मुकावला गर्नसक्नुपर्दछ । अनि मात्र विप्लव कमरेड भनेर हामीले गर्वसाथ भन्नेछौँ । नत्र त स्वास्नी कुटेर मर्द सम्झिने लोग्ने र तपाईंमा के नै फरक रह्यो र ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल