‘ग्रेटर नेपाल’ सुरुवात कहिले गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

‘ग्रेटर नेपाल’ सुरुवात कहिले गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

युवराज पाण्डे

भारतले नेपालमाथि बारम्बार भारतीय अत्याचार र हस्तक्षप गर्दै आएको छ । यसको पछिल्लो उदाहरणका रुपमा भारतीय सीमा सुरक्षाकर्मीको गोली प्रहारबाट ज्यान गुमाएका कञ्चनपुरका गोविन्द गौतमलाई लिन सकिन्छ । कञ्चनपुर जिल्लाको दक्षिणी सीमाना नजिक आनन्दबजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतबीच दुई देशका सीमाना अधिकारीबीच फागुन १० गतेको सहमति विपरीत भारतीयपक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोलीप्रहारबाट निर्दाेष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भयो ।

कल्भर्ट बनाउने सामान्य विवादमा आफ्नै भूमि नेपालभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट गौतम मारिए । यसको देशभित्र चर्को आलोचना भइरहेको छ । नेपाली सञ्चार मध्यम तथा सामाजिक सञ्जालहरुमा उक्त घटनापछि चर्को रुपमा विरोध तथा नेपाली स्वाभिमानमाथि भारतले गरेको नाङ्गो हस्तक्षेपको विरुद्धमा व्यापक निन्दातथा भर्सना भइरहेका छन् । खासगरी देशलाई माया गर्ने युवाहरु एकताबद्ध रुपमा विरोध गरिरहेका छन् । यति ठूलो घटना हुँदासमेत चुप बसेको भन्दै प्रमुख विपक्षी एमालेलगायत नागरिक समाजका विभिन्न क्षेत्रबाट आलोचना भएपछि सरकारले गौतमलाई सहिद घोषणा गरेको छ । साथै सरकारले कूटनीतिक रुपमा घटनाको बारेमा जानकारी माग्ने प्रतिबद्धता जानएको छ । तर भारत नेपालमा बारम्बार किन यस प्रकारको घटना दोर्याई रहन्छ ? किन नेपाललाई भारतले समृद्ध एवम् शान्त भएको देख्न चाहँदैन वा दिँदैन ? यसको जवाफ खोज्न जरुरी छ । यस प्रकारको घटनाको मूल्याङ्कन गर्नका लागि लेखकले यहाँ नेपाल भारत सम्बन्धको विवादको बिजारोपणको बिन्दु सुगौली सन्धिबाट सुरु गर्न चाहन्छ ।

प्रथम विश्वयुद्धताकाको एउटा किस्सा छ । प्रथम विश्वयुद्ध हुन लाग्दै थियो । त्यसक्रममा जर्मनीका सेना फ्रान्स प्रवेश गर्दै थिए । तर फ्रान्स प्रवेश त्यति सहज थिएन । त्यसपछि जर्मन सेनाका लागि एक मात्र बाटो बेल्जियम हुँदै फ्रान्स प्रवेश मात्र खुल्ला थियो । तर जर्मन र बेल्जियमबीचमा एउटा सन्धि भएको थियो । जर्मनीले बेल्जियममाथि कहिले पनि आक्रमण नगर्ने । त्यसपछि, जर्मन शासक कैजरले तुरुन्त आदेश दिएछन्, त्यो विगतमा भएको कागजको खोस्टोलाई अहिले च्यातिदिनू र तुरुन्त बेल्जियममाथि आक्रमण गरी फ्रान्स प्रवेश गर्नू । त्यसपछि सेनाले तुरुन्त बेल्जिममाथि आक्रमण गरी फ्रान्स प्रवेश गर्यो । वास्तवमा चलनचल्तीमा भन्ने गरिएका सन्धिहरु केवल कागजका खोस्टा मात्र हुन् । सुगौली सन्धिपछि नेपालले पटक पटक अपमान तथा भारतको हेपाहा प्रवृत्तिको सिकार हुन परेको छ ।

भारतले नेपालसँग गरेका विभिन्न सम्झौता पटक पटक उलङ्घन गरेको छ । तसर्थ अब नेपालले २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र ४ मार्च १८१६ देखि कार्यान्वयनमा आएको सन्धिलाई मानिरहन त्यति आवश्यक देखिँदैन । नेपालले मात्र मान्नुपर्ने उक्त सन्धि अब कागजको खोस्टो सरह भएकाले मिल्काएर आफ्नो गुमेको भूभागका लागि सम्पूर्ण देशबासी एक ढिक्का भई आवाज उठाउन जरुरी छ । कञ्चनपुर घटना, नाकाबन्दी, अस्थिर मधेश लगायतका घटनाले नेपाल सिक्किमीकरण हुनसक्ने डरलाग्दो अवस्था देखापर्दै गएको छ ।

सुगौली सन्धिको वैधता सकिएको आधार
१. सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनुपर्ने कुरा लेखिएको थियो तर राजागीर्वाण युद्ध विक्रमबाट यस्तो गरेको कुनै रेकर्ड छैन ।
२. ब्रिटिसलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिस सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिए ।
३. १९५० को जुलाई १ मा नेपालले एउटा भएको शान्ति तथा मैत्री सन्धि गरेको छ । यो सन्धिको धारा ८ मा प्रष्टसँग ‘यो सन्धिले नेपाल र बेलायतबीच विगतमा भएका सबै सन्धि, सम्झौता एवम् समझदारी रद्द हुन्छन्’ भनिएको छ ।
उक्त सम्झौता नेपालले तत्कालीन अवस्थामा भारतसँग गरेको होइन, बेलायती उपनिवेशसँग गरेको हो । त्यसकारण बेलायती उपनिवेश नै कायम नरहेको अवस्थामा नेपालले गुमेको भूभाग फिर्ता पाउन पर्ने हो । अर्को कुरा बेलायतले चीनसँग हङकङ सन्धि गरेको थियो । १९९७ मा हङ्कङ चीनले फिर्ता पायो भने नेपालले किनफिर्ता नपाउने ?
भारतले पोर्चुगलको उपनिवेशमा रहेको ‘गोवा’ ७ सय वर्षपछि, जुन उस्तै प्रकृतिको छ, त्यो फिर्ता लिँदा हुने, उसले अवैधानिक रुपमा लिएको भूभाग नेपाललाई किन फिर्ता दिन नहुने ? एउटा देशसित हारेको जमिन अर्को देशमा गाभिने कुरा कसरी जायज हुन्छ ? उक्त कुरा हाल पनि हामीले बेलायतलगायत अन्तर्राष्ट्रिय अदालतमा उठाउन सक्नुपर्ने हो । तर नेपालको सरकार र प्रमुख पार्टीहरू भारतीय दबाबको अगाडि उक्त सम्झौताको विरुद्धम्मा चुइँक्क बोल्ने आँट नगर्नुले नेपालले गुमेको भूभाग फिर्ता लिन नसकेको हो ।

यसपछि प्राप्त हुने नेपालको अवस्था
१. गुमेका भूमि फिर्ता भएमा गडवाल, नैनीताल, दार्जिलङ र सिक्किम जस्ता पर्यटकीय क्षेत्र नेपालेले फिर्ता पाई नेपालको भूगोल बढेर दुई लाख चार हजार ९ सय १७ वर्गकिलोमिटर पुग्नेछ ।
२. अहिले जस्तो नेपाल भारतको अघोसित अर्धउपनिवेश हुन पर्दैन । नेपालको पूर्वी सिमाना भुटान र बङ्गलादेशसित जोडिएर दक्षिण एसियामा नेपालको आर्थिक तथा व्यापारिक हिसाबले राम्रो प्रभाव कायम रहेने छ । टिस्टा नदी नेपालमा पर्ने हुनाले पारवहनको नयाँ रुट प्राप्त भई कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी जस्ता पटक पटकको सीमना अतिक्रमणको मारबाट नेपाल मुक्त हुने छ र हाम्रो आत्मसम्मान फर्किने छ ।

भारतले नेपालमाथि पटक पटकको गरेको राजनीतिक हस्तक्षेप, स्वतन्त्रता, राष्ट्रिय अखण्डता, एब दिन दहाडै एक सार्वभौमसत्ता सम्पन्न मुलुकभित्र अनधिकृत रुपमा प्रवेस गरी निसहाय जनतामाथि यस प्रकारको घटना पटक पटक दोर्याई देशलाई अस्थिर र अस्तव्यस्त बनाई अन्तत नेपाललाई सिक्किमीकरणको दीर्घकालीन योजना अन्तर्गत भारत क्रियाशील रहेको घाम जतिकै छर्लङ्ग छ । यस प्रकारको षडयन्त्रलाई परास्त गर्न सम्पूर्ण रास्ट्रवादी, देशलाई माया गर्ने, बुद्धिजीवी, राजनीतिज्ञ एक हुन जरुरी छ । यस प्रकारको घटनालाई अन्तर्रास्ट्रियकारण गर्न सरकार तथा राजनीतिक पार्टीहरुले कति पनि ढिला गर्न हुन्न । हामीले नगरे कसले गर्ने ? आज नगरे कहिले गर्ने ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल