एमालेले युद्धलाई पुनः निम्तो दियो

एमालेले युद्धलाई पुनः निम्तो दियो

केबी गुरुङ

एउटा ठूलो पार्टीले दलबलका साथ कार्यक्रम गर्र्यो । देशको प्रशासनले चौतर्फी सुरक्षा दियो तर उक्त कार्यक्रमको बाछिटाले ४ जनाको ज्यान लियो । दर्जनौँ घाइते बनायो । आफूलाई शान्तिका दूत ठान्ने हमायतीहरुले विभेदबाट मुक्तहुन चाहानेहरुलाई कत्लेआम गरे । अनि कुर्लिए यो देशमा शान्ति चाहिन्छ । यसैलाई भन्छन् मुर्दा शान्ति । यिनै मुर्दाशान्तिका दूतहरुले युद्धलाई सशक्त नफरत गर्छन् । खसीको मासु अति रुचाउँछन् तर खसीको मासु काट्दा रगत देख्नै सक्दैनन् ।

मेरो कलम विद्रोहको धरातलबाट जन्मिएको हो । जुन कलमले शान्ति स्थिरताको खोजी गर्दैछ तर देशमा अस्थिरता पैदा गरेर स्थायी शान्ति हरण गर्नेहरुलाई खबरदारी गर्नैपर्छ । कलम चलाउने हैसियत भएकाहरुले देशको गम्भीर परिवेशमा मध्यमार्गी भूमिका खेल्दै दहीचिउरे कुरा पस्केर अपराध गर्नु हुँदैन । ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै साक्षात्कार गर्नसक्नु पदर्छ । यसकारण पनि मैले चिप्ले कुरा गरेर यो पनि ठीक, त्यो पनि ठीक भन्न सुहाउँदैन ।

आज एमाले पार्टीका कारण मधेशमाथि गोली चलाइनुलाई, देशमा पुनः युद्धको निम्तो दिएको मैले बुझेको छु । विडम्बना भनौँ, यहाँ बन्दुक पट्काउनेलाई हिंसात्मक अस्थिरताको संज्ञा दिन्छन् तर बन्दुक पटकाउन बाध्य पार्नेलाई शान्तिको दूत मानिन्छ । यो वस्तुपरिवेशभन्दा पृथक् भएर गरिने अपराध हो । शान्तिमा खलल पुर्याउने हर्कत बन्दुक बोक्नेभन्दा कैयौँ गुणा आत्मघाती छ । जुन आत्मघात आज एमालेले सप्तरी काण्डमा दोहोर्याएको छ ।

अब सप्तरी काण्डमा प्रवेश गरौँ । भर्खरैको सप्तरी काण्डलाई लक्षित गरी हेमन्त गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका रहेछन्– ‘प्रिय एमाले, तिमी देशको दोस्रो ठूलो दल हौ । तिमीसँग शक्ति के नहोला त ? तिमीले शक्ति प्रदर्शन गर्नै पर्दैन । लास ढल्न सुरु गरे, हेर त । अब शक्तिशाली सँगसँगै विवेकी पनि बन न है । चलचित्र ‘रातो सूर्य’को बाँकी सुटिङ काठमाडौँमा गरम भनेर सम्झाऊ न तिम्रा हठी नायकलाई ।

यी फेसबुककर्ताको विवेकशील सद्भावयुक्त भनाइमा शान्तिका रुप झल्किएको छ । फलेको हाँगो निहुरिएको हुन्छ, अनि यति ठूलो एमाले पार्टी मधेशी जनताका लागि निहुँरिदा के फरक पथ्र्यो र ? हिजैदेखि असन्तुष्ट भएका मधेशीसामु शक्ति प्रदर्शन गर्नु नै के थियो र ? देशको दोस्रो पार्टीसँग कति शक्ति छ भन्ने कुरा दुनियाँले बुझेको छ तर पनि शक्ति प्रदर्शनको बदलाभाव देखाउँदै उनैलाई चिड्याउनु, हेप्नु कति सुहाउँथ्यो ? त्यो उनले बुझ्ने कुरा हो ।

जबजब चुनाव आउँछ तबतब नेताहरु पूर्व–पश्चिम देश दौडाहामा हुन्छन् । पार्टीहरुको यो अवसरवादी चलन पनि हामीले बुझेकै छौँ । यो पालिको एमाले दलबललाई झन् रातो सूर्य फिल्मसँग जोडिएको छ भन्ने सुनिन्छ । मुनाफाका लागि अवसर छोप्ने एमाले हिजो कहाँ हराएको थियो र आज शक्ति प्रदशनी गर्न हिँड्दै छ ।
शक्ति प्रदर्शन गर्न छुट छ तर चिडिएका मनहरुलाई शान्तिका खातिर हेक्का राख्न पनि जरुरी छ । १० वर्षे जनयुद्धको मर्मले एमालेको घैँटोमा अझै घाम लागेन जस्तो छ । जटिल परिवेशमा संयमित बनेर देशलाई निकास दिने विवेकशील कुरालाई लात हानेर प्रतिपक्षलाई भड्काउने, उक्साउने आचरणले एमालेले युद्धलाई पुनः निम्तो दिएको छ ।

एमालेको मेची–महाकाली अभियानले निम्त्याएको सप्तरी काण्डले शान्ति स्थिरतामाथि गम्भीर प्रश्न उब्जाएको छ । विशेषगरी एमाले पार्टीलाई आफ्नो पेवा ठान्नेहरुले भन्छन्, मोर्चाको अलोकतान्त्रिक हर्कतका कारण प्रहरीले गोली चलायो, ठिकै गर्यो रे । एमालेका झोलेहरुलाई एउटा मधेशी मर्नु ठिकै लाग्ला तर शान्ति चाहाने तिम्रा दयावान कथित मनहरुमा पाप पनि लाग्ला अलि विचार गरेर बोल । भविष्यमा आउन सक्ने गम्भीर अशान्तिलाई नियालेर हेर । तिम्रा यी हर्कतहरुले फेरि युद्ध निम्त्याउँछ ।

अचम्म के भयो भने देशविदेशमा आफूलाई विद्वान ठान्ने दहीचिउरे स्वाँठहरुले पनि सतहमै बुझेर भने पार्टीहरुले कार्यक्रम गर्न पाउनु संविधानले सुरक्षित गरेको लोकतान्त्रिक अधिकार हो भन्दै एमालेप्रति समर्थनभाव व्यक्त गर्दै मृतकप्रति समवेदना जाहेर गरे । यी स्वाँठहरुलाई म के भन्छु भने कुनै पार्टीको कार्यक्रमले देशलाई थप अस्थिरतातिर लिने हर्कत जो कोहिले पनि गर्नुहुन्न । एमालेले मधेशमा कार्यक्रम गर्यो भने यस्तो स्थिति आउनेछ भन्ने पूर्व अनुमान सबैलाई थियो । यस्तो हुँदाहुँदै पनि एमालेको हठी प्रदशन गर्र्यो ? घटनाको प्रकृतिलाई हेर्दा कार्यक्रम सकिएपछि थकित भएर बसेका मोर्चाका कार्यकर्ताहरुलाई एमालेका कार्यकर्ताहरुले ढुङ्गा हानेर झगडाको बीउ रोपेका हुन् ।

एमालेका कार्यकर्ताको अराजक तथा उच्छृङ्खल हर्कतले शान्तिपूर्ण विरोधबाट थकित भएर बसिरहेका मोर्चाका कार्यकर्ताहरुलाई ढुङ्गा प्रहार गर्नु एमालेले पाएको लोकतान्त्रिक अधिकार थियो त ? लोकतान्त्रिक मर्यादाको हरण गर्नेहरुले उल्टै अलोकतान्त्रिक भन्दै किन गोली ठोकाए ? शान्त भएर बसेकाहरुलाई ढुङ्गा प्रहार गरेर जिस्क्याउने अनि गोली ठोक्न लगाउने कसरी लोकतान्त्रिक भए र तिनै अधिकार खोज्नेहरु अलोकतान्त्रिक भए ? शान्ति स्थिरताको नारा बोकेर शान्तसँग बसेकालाई जिस्क्याउने एमालेको अराजक क्रियाकलापले झडपको स्थिति निमन्त्रणा गरेको हो । सधैँ अफवाह फैलाएर प्रतिपक्षलाई रुष्ट बनाउने र विरोधको रुपलाई युद्धमा परिणत गर्ने एमाले प्रवृत्ति हिजै पनि देखिको हो ।

लोकतन्त्रमा पार्टीहरुले कार्यक्रम गर्न पाउने अधिकार सुनिश्चित छ र शान्तिपूर्ण विरोधगर्न पाउनु पनि लोकतन्त्रले अधिकार दिएको छ । एमालेको कार्यक्रमलाई मोर्चाले विरोध गर्न पाउनु संविधानमा लोकतान्त्रिक अधिकार पनि छ । एमालेको अराजक हठका कारण यति बेला नेपालको लोकतान्त्रिक संविधानप्रति प्रश्न उठेको छ । शान्ति स्थिरता गम्भीर बनेको छ । एमाले आफ्ना कार्यकर्ताको अलोकतान्त्रिक र अराजकत हर्कतप्रति कहिलै गम्भीर बनेन । सभ्यताको पाठ पढाउन स्कुलिङको आवश्यकता कहिलै ठानेन । बरु प्रतिपक्ष पार्टीलाई विरोध गर्ने नाममा अमर्यादित हर्कतद्वारा अतिरञ्जित बनाउने कुकर्म स्वयम् नेतृत्वबाटै बारम्बार प्रस्तुत गरिँदै छ ।

एमाले नेतृत्व केपी ओलीले सप्तरीको कार्यक्रममा संयमित नभएर उल्टै उक्साउने भड्काउने भाषण पनि गरेका छन् । ‘दुई–चारजनाले कालोझन्डा देखाउँदैमा एमाले डराउनेवाला छैन, कालोझन्डा देखाएर देश बन्दैन । देश बनाउने हो भने रातोझन्डामुनि आऊ, म आग्रह गर्दछु’ । केपी ओलीको यो धम्कीको भाषाले कसरी शान्ति स्थिरता कायम गर्छ ?

विरोधको नाममा एमालेको मुखमा झुण्डिएको एउटा वाक्यांश हो ‘हत्यारो’ । हरेक परिवर्तनको विरासत विद्रोहबाट जन्मिएको कुरालाई आलै भुलेर मओवादीलाई जहिले पनि ‘हत्यारो र जङ्गली’ भनेर गाली गर्ने एमालेहरुले कस्तो खालको मुर्दाशान्ति चाहेका हुन् ? उनीहरुले लाउने आरोप हत्यारा, आतङ्ककारी कोही छ भने त्यो ‘हत्यारो आतङ्ककारी’ उत्पादक स्वयं एमाले भएको कुरा इतिहास साछी छ । यिनीहरुको आफ्नो विद्रोहको विरासतलाई भुलेर परिस्थितिलाई भड्काउने र असामान्य परिवेश निम्त्याएर युद्धमा होमाएको इतिहास विभिन्न कालखण्डमा भेटिन्छ ।

नेपालमा १० वर्षे द्वन्द्वको कारकतत्व पनि एमाले नै हो । मुक्ति र स्वतन्त्रताका आवाजहरुलाई दबाउन खोज्ने एमालेको कथित हर्कत नेपाली विद्रोहको इतिहासमा ज्युँदै छ । भलै यस्तो परिवेश निम्त्याउन विभिन्न शक्तिहरु पनि सामेल थिए । पुरानो संसदीय व्यवस्थाको संरक्षक बनेर युद्धलाई दबाउन गाउँगाउँमा थप हत्कण्डाहरु बुन्ने एमालेको कर्तुत भुल्न चाहेर पनि यिनैले भुलाउन दिँदैनन । युद्ध बिरामलगतै शान्ति सम्झौता भएपछि जनयुद्धलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक मुद्दाको रुपमा मान्यता पाइसकेको माओवादीलाई एमालेहरु आतङ्ककारी हत्यारो भन्दै अराजक कार्य जीवित राखेका छन् । यसको अर्थ अझै उनीहरु शान्ति चाहँदैनन् ।

उसको अहिलेसम्मको बुझइ के छ भने देशको अस्थिरताभित्र उज्यालो बेच्न सजिलो हुनेछ, अस्थिरताभित्र गुण्डाको राज चलाउन पाइनेछ र कमिसन खाएर तस्कर गर्न पाइनेछ । होइन भने देशलाई अस्थिरतातिर लैजाने हर्कत उसले बन्द गर्नुपर्छ । मधेशसँग बिग्रिएको सम्बन्ध सुधार्न शक्ति देखाएर, जति क्षेत्र समुदायलाई हेपेर बोल्दैमा हुदैन । उनको जायज मागलाई सम्बोधन गरेर मात्र सुधार्न सकिन्छ । अब मधेशलाई चिड्याउने उखान टुक्काहरू बिसाएर उक्त घटनाको जिम्मेवारी लिएर मृतकलाई क्षतिपूर्ति दिलाउने र दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्छ । नत्र मधेशबाट युद्धको डढेलो सल्किने निश्चित छ । यसको जिम्मेवार पनि एमाले हुनेछ ।क

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल