एनआरएनका लागि सामूहिक लगानीको वातावरण आवश्यक

एनआरएनका लागि सामूहिक लगानीको वातावरण आवश्यक

– अग्नि चौलागाई

प्रवासीका लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्था द्रुतगतिमा सुधार गर्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुने अवस्थामा छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको वातावरण बनाउनेतर्फ विभिन्न पहल भए पनि खासै सफलता प्राप्त हुन सकेको छैन ।

नेपालीहरू विदेशिने र व्यापार व्यवसाय गरी स्थापित हुने क्रम बढ्दै गए पनि चिनियाँ र भारतीयको झैँ अग्र स्थानमा आउन सकेका छैनन् । गन्न सकिने प्रवासी नेपालीहरू मात्र ठूलो लगानी गर्न सक्ने अवस्थामा देखिए पनि देशको अस्थिरता, लगानीमैत्री नियम, कानुन र वातावरण बन्न नसक्दा सानातिना व्यवसायबाहेक नेपालमा खास्सै लगानी भएको देखिँदैन ।

केही स्थापित व्यवसायीहरुले समेत सजिलै फाइदा हुने तर देशमा खासै रोजगारी र विकासको आधारशिला खडा नगर्ने बैङ्क, दूरसञ्चारमा बढी लगानी गरेको देखिन्छ । कति प्रवासी नेपालीहरूले नेपालमा स्वास्थ्यको क्षेत्रमा लगानी गर्ने भए पनि उनीहरूको पहिलो प्राथमिकता काठमाडौँ वा ठूला सहर मात्र परेका छन् । उनीहरूसमेत आफ्नो निश्चित फाइदा हुने क्षेत्रको खोजमा मात्र रहेका छन् ।

ठूला व्यापारीले सानासँग संयोजन गरेका छैनन् भने सानाको लगानी गर्न सक्ने हैसियत बनेको छैन । लाखौँ नेपाली प्रवासमा रहे पनि उनीहरूसँग छरिएर रहेको रकमलाई एक ढिक्का बनाएर लगानीको वातावरण बनाउन सक्ने हो भने नेपालको उन्नति हुनसक्नेछ ।

नेपालको पानी बगेर गइरहेको छ । भारतबाट बिजुली किनेर बत्ती बाल्नु परेको छ भने लोडसेडिङको समस्यामा रुमलिनुपरेको छ । केही विदेशी कम्पनीले जलविद्युतमा लगानी गरेर फाइदा लगेका छन् ।

हामी भने बगेको पानी हेर्दै अध्याँरोमा टुकी बालेर बसिरहेका छौ । छोटो रूपमा भए पनि एनआरएनको पहलमा धोर्दी खोला जल विद्युत परियोजना सुरु भएर सकिन लागेको अवस्था छ । बुट मोडलमा बनाइएको यस परियोजनामा समेत प्रवासी नेपाली र अन्य विदेशी कम्पनीहरुमा खासै अन्तर छैन । नेपालीहरूले लगानी गर्दा यसको फाइदा नेपाली समुदायको घेराभित्र नै घुमिरहेको हुन्छ । यसर्थ नेपालमा परियोजना सञ्चालन गर्दा नेपालीहरूले लगानी गरेकामा छुट्टै सुविधा प्रदान गर्ने हो भने विकास परियोजना धेरै आउन सक्छन् । विदेशीले गर्ने लगानीमा व्यावसायिक भावना मात्र लुकेको हुन्छ भने नेपालीको लगानीमा तन र मनसमेत समाहित भएको हुन्छ ।

लगानीमैत्री वातावरण बनाउन एनआरएनएले प्रवासी नेपालीहरूले गर्ने लगानीको नेपाल सरकारसँग ग्यारेन्टी गर्न पहल गर्नुपर्ने देखिन्छ । भारतीय उद्यमीहरुको व्यवसायलाई ग्यारेन्टी गर्ने सरकारले प्रवासी नेपालीको लगानीको ग्यारेन्टी गर्नमा खासै कठिनाइ नहुनुपर्ने हो । आफूले गर्ने व्यवसायमा ढुक्क हुने अवस्था भएमा लगानीको वातावरण स्वतः बढ्ने देखिन्छ ।

विश्वभरि छरिएर रहेका लाखौँ नेपालीमा सामूहिक लगानीको भावना कसरी जागृत गराउँदै लैजाने र नेपालमा लगानी मैत्री वातावरण बनाउने भन्ने सम्बन्धमा समेत सोच्नुपर्ने समय आएको छ । छरिएर रहेको रकमले भन्दा एकत्रित रूपमा आउने लगानीले मात्र ठोस रूपान्तरण गर्न सक्ने देखिन्छ ।

अमेरिकामा मात्र करिब दुई लाख पचास हजार नेपाली रहेको तथ्याङ्क एनआरएनले प्रकाशित गरेको छ । युरोप, अस्ट्रेलिया, अफ्रिका, मध्यपूर्वलगायत एसियाका अन्य देशमा रहेका नेपालीहरू समेतलाई लिने हो भने २, ४ मिलियन हुन आउँछन् । विकसित देशमा रहेकाहरु राम्रो आयस्रोत गरी बसेका छन् भने रोजगारीको सिलसिलामा मध्यपूर्व, मलेसिया जस्ता देशमा गएकाहरु अपवादबाहेक मध्यम स्तरको आम्दानी गरिरहेका छन् । यी दुई फरक स्थानमा बस्ने नेपालीको आम्दानीको साथमा सो स्थानमा स्थायी बसोबास गर्ने र काम गरेर फर्कने सोचमा समेत फरक रहेको छ । सबै ठाउँमा बसेकाहरुले केही न केही कमाइरहेका छन् तर यसलाई सामूहिक लगानीको अवधारणामा अहिलेसम्म लगिएको छैन ।

अमेरिकामा रहेका नेपालीहरूले एक डलर राख्ने हो भने दुई लाख पचास हजार जम्मा हुन्छ, विश्व भरबाट एक डलर गर्दा २, ४ मिलियन डलर नै सङ्कलन हुन सक्छ । आफ्नो हैसियत अनुसार सबैको सहभागिता गराउने हिसाबले लगानी गर्ने ठाउँ बनाउने हो भने मिलियन हैन विलियन समेत जम्मा हुन सक्ने अवस्था देखिन्छ । तर उपयुक्त लगानीको अवसर केमा छ भनी सबैलाई लगाउनु जरुरत छ । अहिलेको अवस्थामा आईटी क्षेत्रमा सही रूपमा लगानी गर्ने हो भने सानो लगानीबाट समेत सबै नेपालीहरूले राम्रो फाइदा लिन सकिने अवस्था छ ।

आठ मिलियन डलरभन्दा बढी विज्ञापनबाट आम्दानी गर्ने सोसियल मिडियामा हरेक दिन प्रयोगकर्ताहरुको चाख बढ्दो छ । विश्वभर ३ विलियनभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएकोमा २ विलियनभन्दा बढीले सोसियल मिडिया प्रयोग गर्ने, इन्टरनेट प्रयोगकर्ताको पाँचभन्दा बढी सोसियल मिडिया अकाउन्ट हुने तथा हरेक दिन एक मिलियनभन्दा बढी प्रयोगकर्ता थपिइरहेका हुन्छन् ।

पिन्ट्रस्ट कम्पनी २०१० मा सुरु भएयता २० मिलियन प्रयोगकर्ता हुँदा कैयौँ बिलियन डलर मूल्याङ्कन भएको छ ।
लिङ्क्डइनको २०० मिलियन प्रयोगकर्ता हुँदा १८ बिलियन मूल्याङ्कन भएको छ भने फेसबुक, ट्विटर, ह्वाट्सएप इत्यादिले छोटो समयमा नै राम्रो सफलता हात पार्दै बिलियन डलर बनाएका छन् ।

हामीले समेत सबैको लागनी, सबै प्रयोगकर्ताको रूपमा सुरु गर्ने हो भने कुनै सञ्जाल केही मिलियन प्रयोगकर्ताको रूपमा सुरु गर्न सक्दछौँ । यसरी लाखौँ प्रयोगकर्ता हुनु भनेको कम्पनीको मूल्याङ्कन समेत बढ्ने हुँदा सुरुमा लगानी गरेको एक डलरले हजारौँ डलरको फाइदा दिन सक्ने अवस्था सृजना हुन्छ ।

आफ्नो लगानी हुँदा अपनत्वसमेत हुँदा यसमा अमेरिका मात्र नभई संसारभर रहेका नेपालीको नेटवर्क मार्फत आफ्नो आम्दानी बढाउन सकिन्छ । नेपाली बीचमा लगानी गराउने क्रममा एउटाले पेनीमा लिने सेयरलाई अर्कोलाई लाखौँ तिर्ने हिसाबमा हैन सबैको समान रूपमा सहभागिता गराउँदै सामूहिक लगानीको भावना बनाउन जरुरी छ ।

यसरी योजनाबद्ध ढङ्गले आफ्नो स्रोतको सही परिचालन गर्ने हो भने दीर्घकालीन रूपमा हाम्रो समुदायलाई निश्चित रूपमा फाइदा हुनेछ । अहिले पनि हामीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छौँ । यस बापत कसैले पैसा कमाइरहेको छ तर यसलाई सही व्यवस्थापन गर्ने हो भने सबै नेपालीहरूले आफूले गर्ने एक डलरको लगानीबाट समेत राम्रो आर्जन गर्न सक्ने अवस्था बनाउन सकिन्छ ।

नेपालीहरूका एनआरएनलगायतका सङ्घसंस्थाले नेपालमा लगानीमैत्री वातावरण बनाउँदै सामूहिकरुपमा नेपाली समुदायको विकास र उन्नतिमा लाग्नुपर्ने जरुरत छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल