साझा पार्टीका रवीन्द्र मिश्रलाई केही सुझाव        

साझा पार्टीका रवीन्द्र मिश्रलाई केही सुझाव        

मिलनकान्छा किराँती

नेपाली राजनीतिक जगतमा फेरि एउटा खैला–बैला मच्चिएको छ । निकै लामो पत्रकारिता यात्रालाई थाँती राख्दै रवीन्द्र मिश्र एक्कासि राजनीतिमा होमिएपछि सबैतिर तरङ्ग उत्पन्न हुनु अस्वभाविक होइन । उनले आफ्नो पत्रकारिताको समयावधिभर सत्य, तथ्य र निष्ठाको कर्म अँगाली रहे । सामाजिक सेवामा पनि उत्तिकै सक्रिया देखिए । उनले पार्टीको नाम साझा पार्टी नामकरणसमेत गरिसकेको कुरा सबैलाई अवगत छ । थुप्रैको छेउ, कुना, कान्ला र गह्रा नमिलेको लेख, समाचार सम्पादन गरेर चट्ट–चिटिक्क र सुन्दर बनाउँदा–बनाउँदै भद्रगोल देशलाई नै सम्पादन गर्न कम्मर कसेको देख्दा कालो बादलमा चाँदीको घेरा देखिएको छ । उनले सही नीति र पारदर्शी क्रियाकलाप अगाडि बढाउन सके लाखौँ–करोडौँ नेपाली जनताको साथ अवश्य मिल्नेछ ।

यस्तैखाले खैलाबैला पोहोर साल डा. बाबुराम भट्टराईले नयाँशक्तिको अभियान चलाउँदा भएको थियो । त्यतिखेर देशमा वर्षांैपछि साँच्चै निकास र विकासको बाटो खुल्ने भयो भन्ने लाग्यो । सबैले साथ दियौँ । आआफ्नो ठाउँबाट घनीभूत विचार–विमर्श गर्दै नयाँशक्ति निर्माण अभियान चलायौँ । सबैतिरबाट उल्लेख्य जनसहभागिता रह्यो तर जब उनले दुई–चारजना आसेपासे लिएर पार्टी घोषणा गर्नुभयो हामीजस्ता लाखौँ युवा उनको भजनमण्डलीमा सहभागी हुन सकेनौँ । त्यसबेला सङ्गठनको आधार सम्बन्ध, सोच र सङ्कल्पका बारे केही सुझाव दिएको थिएँ । त्यो कुरा अहिले पनि साझा पार्टीलाई उत्तिकै दिन मन लाग्यो । हत्तार गरे भन्न सकिन्न, सुझ–बुझका साथ विस्तारै गए अवश्य गन्तव्यमा पुगिन्छ भनेझँै साझा पार्टीले हरेक निर्णयहरु हतारमा गर्नु हुँदैन । देश विषम परिस्थितिमा गुज्रिरहेको यो अवस्थामा अरु पार्टीलेझैँ गैह्रजिम्मेवार भएर ठट्टा गर्दै बस्नु उचित हँुदैन ।

युगसापेक्ष वर्तमान विकराल राजनीतिलाई सुदृढ पार्दै कसरी निरन्तर सुव्यवस्थित समृद्धितिर डो¥याउन सकिन्छ ? राजनीतिका लागि फगत राजनीति नभएर राष्ट्र, समाज र मानव जीवनको बाधा–वन्धन र अपरिहार्यता एवं इच्छा, चाहनालाई परिपूर्ति गर्न कसरी राजनीतिलाई उपयोगी र प्रभावकारी एवं शक्तिशाली बनाउँदै निश्चित आकार दिन सकिन्छ ? यसबारे विचार–विमर्शको गहिराइमा पुगेर व्यवहारमा उतार्नु मुख्या कुरा हो । ठुल्ठुला सफलता हासिल गर्न साना–साना कुराहरुको ख्याल गर्नु आवश्यक हुन्छ । थुप्रै कुराहरुमा सजग रहँदै वस्तुतः व्यावहारिक र वैज्ञानिक विधिको अवलम्बन गर्नैपर्ने हुन्छ । यो एतिहासिक असाधारण कार्यभारको जिम्मेवारी कर्तव्य र समयबोध भएका सबै युवापुस्ता र सम्पूर्ण देशप्रेमी जनतालाई सुम्पने नवयुगले फरमान जारी गरिसकेको छ ।

साङ्गठनिक संरचना
यसको सम्बन्ध पुरातन, प्रतिगामी सोच राख्ने युवासँग हुँदैन । देशभक्तिको फोस्रो मन्त्र जप्ने, अरुलाई सत्तोसराप गरेर आफू चोखिँदै सिन्को नभाँची महानतम् अनुभूति गर्ने, आफ्नो आकार प्रकार र वास्तविकतालाई बिर्सेझैँ गरेर अन्धोराष्ट्रवादी बन्ने, भ्रम छर्ने र प्रत्याक्ष–अप्रत्याक्ष स्थिर, प्रतिगमनलाई सघाउने, कुरा गर्नुपर्दा दसहात अघिसर्ने र काम गर्नुपर्दा दस हात पछिपर्ने वा काममा हाजिर नै नहुनेहरु साझा पार्टीको हिमायती हुनै सक्दैनन् । यस्तासँग साझा पार्टीको सम्बन्ध रहनै सक्दैन । सत्यको आधारमा तथ्य खोज्दै, तथ्यको आधारमा आफ्नो वास्तविक धरातलको पहिचान गरेर प्राप्त साधन– स्रोतको अधिकतम प्रयोग गर्दै आन्तरिक निर्भता, सम्पन्नता, पूर्णलोकतान्त्रिक मूल्य–मान्यताको अङ्गीकार गर्दै समानुपातिक, समावेशिता, सुशासन र मैत्रीपूर्ण अन्तर्देशीय, अन्तर्राष्ट्रिय सुमधुर कूटनीतिक सम्बन्ध कायम गर्दै देश–विकास र समृद्धि बनाउन लाग्नु पर्छ । सुखी–सम्पन्न नेपाल निर्माण गर्ने अठोटका साथ आफ्नो रुचि–दक्षता र पायकपर्ने कार्यक्षेत्रमा प्रभावकारी ढङ्गले काममा निरन्तर खटिने अग्रगामी, सचेत देशप्रेमी, विवेकी, परिश्रमी, सुशील–शालीन युवापुस्ताको यस पार्टीमा स्वतः समावेश हुन सक्नेछन् । सबैले आफ्नो पार्टीको अनुभूति गर्नेछन् ।

यसको साङ्गठनिक ढाँचा परम्परागत तरिकाका जातीय–क्षेत्रीय, जनवर्गीय भातृसङ्घ–संस्थाका रुपमा रहने छैन । त्यसरी रह्यो भने नयाँ बन्न सक्दैन । पुरानै संरचनामा नयाँ नाम मात्रै रहन जान्छ । सचेत युवापुस्तालाई के थाहा छ भने जनवर्गीय, भातृ सङ्घ–संस्थाले अधिकारको कुरा गर्छ । अधिकार प्राप्तिका लागि लड्छ । नारा–जुलुस, धर्ना–घेराउ, आन्दोलन–आमहडताल गर्छ । तर यसले यो कुराको विस्थापन गर्दै अधिकार प्राप्तिको नयाँ सूत्र प्रयोग गरेर विचारमा मतभिन्नता र काम–कारवाहीमा सम्पूर्ण देशभक्त नेपालीको एकरुपता कायम गर्दै राष्ट्रिय स्वधीनता र समृद्धिको मार्ग हरतरहले प्रशस्त खुला गर्नुपर्दछ । त्यसो हुन सके मात्र यसको सार्थकता रहन्छ । त्यो गर्न सक्ने यो पार्टीले प्रबल सामथ्र्य राख्दछ । नयाँ बन्ने सङ्गठनमा विभिन्न जेल–नेल, आन्दोलन, युद्ध–सङ्घर्षको अनुभव र भोगाइ–खटाइको मापदण्डभन्दा पनि कार्यक्षेत्रको दक्षता–विज्ञता र श्रमजीवी मजदुरको सन्तुलित सङ्गठन अपरिहार्य छ ।

सङ्गठनमा किराँत, तमुवान, ताम्सालिङ, मगरात, खसान–जडान, लिम्बुवानजस्ता मोर्चा अब होइन । प्रवासलाई मुख्य प्राथमिकतामा राख्दै डक्टर, इन्जिनियर, आईटी–टेक्नोलोजी, वाणिज्य–वित्त, उद्योग–व्यापार, बजार वस्तु आयत–निर्यात, शैक्षिक, सामाजिकलगायत श्रमजीवी आदिको क्षेत्रगत मोर्चा तयार गरी तुरुन्त कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ । यसले मात्रै पुँजीवादी समाजवाद उन्मुख आर्थिक विकासको क्रान्तिलाई सम्बोधन गर्दै अघि बढ्न दिशानिर्देश गर्न सक्छ । त्यसो हुन नसके लक्ष्य प्राप्ति सम्भव छैन । नत्र समाजवादी विकास, विचार र लक्ष्य बोकेका दुई–तीन दर्जन नेपालका विकासे दलहरु उहिल्यै समृद्धिउन्मुख हुन्थे । सफलता प्राप्त गर्थें । जनताले यो दुर्गति भोग्नुपर्ने थिएन । अहिले यो पार्टीको आवश्यकता पनि पर्ने थिएन । त्यसकारण वैज्ञानिक विधि कसरी प्रयोग गरेर अघि बढ्न सकिन्छ ? यस विषयमा सजगता अपनाउनु नै वुद्धिमताभित्र पर्दछ ।

वैज्ञानिक सोच र दर्शन
गौतमबुद्ध, जिसस, सुन्जु, कन्फ्युसियस, गान्धी, ओशो, वेद–वेदान्त, गीता, रामायण, महाभारत, फ्रेङ्कलिन, रुसो, जब्स, लाओत्से, नित्से, डार्बिन, ब्रेल, न्युटन, हकिन्स, रोबर्ट–ओवन, फायरवाख, हेगल, माक्र्स, एङ्गेल्स, स्टार्लिन, लेनिन, माओत्सेतुङ, थेङ्साओपिङ, डेरिडा–फुको इत्यदिहरुले पूर्वीय–पाश्चात्य, अध्यात्म–भौतिक, वृहद–आंशिक दृष्टिकोण–विचार, सिद्धान्त कुनै पुरातन, कुनै आधुनिक कुनै अत्याधुनिक कुनै उत्तरआधुनिक एवं कुनै अनुशासन–शिलसङ्ग, कुनै अर्थ व्यावस्था र सामाजिकशास्त्र, मानवशास्त्र–मुक्ति र न्याय स्वतन्त्रतासँग सम्बन्धित तथा वरिपरि रहेर ठोस वा अमूर्तरुपमा ज्ञान–विज्ञान र विकृति–विलासका रुपमा दुनियाँमा कैयौँ विकास भए गरेका भए पनि ती तत्कालीन आवश्यकता माग पूर्ति र दीर्घकालीन सैद्धान्तिक–वैचारिक असर लक्ष्य प्राप्तिकै लागि हुन् । तसर्थ, यी–यस्ता चीजको विकास प्रतिपादन हुनेक्रम जारी रहनेछ । सूचना–प्रविधिका कारण भइरहेको पाइन्छ । हामीले कामलाई थाँती राखेर यस्ता चीजमा बलजफ्ती बहस, व्यख्य–विश्लेषण गरेर निष्कर्षविहीन अनिर्णित भएर बस्नु हुँदैन । कुन सिद्धान्त, वाद मुख्या र ठूलो कुरा होइन । मुख्य कुरा त सच्चा देशभक्तवाद हो । देश–विकास गर्ने क्रममा जुन सिद्धान्त विचारको आवश्यकता महशुस हुन्छ, त्यो स्वतः व्यावहारमा आवश्यकताको आधारमा नेपाली जनताले कार्यअभियानमा प्रयोग गर्दै लानेछन् । यसबारे अहिले नै यो वा त्यो नाममा उल्झन खडा गर्नु वैज्ञानिक हुँदैन । यस्ताचीजमा फस्नु कुनै दृष्टिकोणबाट ठीक हुदैन ।

समृद्धिका लागि दृढसङ्कल्प
नेपाली मात्रै नभएर दुनियाँमा दुई खुट्टाले उभिने हरेक मानिस निकै अचम्मका हुन्छौँ । समुद्र वा नदी–खोलामा डुबेपछि पानीलाई दोष दिन्छौँ । आँगन होस् वा ढिस्को–छाँगाबाट लडेपछि ढुङ्गालाई दोष दिन्छौँ र आफ्नो थैली बलियो कस्दैनौँ । समान हराएपछि अरुलाई दोष दिछौँ । अनि, जीवनमा असफल भएर केही गर्न सक्दैनौँ भने भाग्यलाई दोष दिन्छौँ । त्यस अनुरुप नेपाल अविकास, अस्थिरता र द्वन्द्वतिर धकेलिँदै गएका बेला नेतालाई मात्रै दोष दिन्छौँ । नागरिकको भूमिका बिर्सिन्छौँ । स्वयं आफ्नो भूमिका बिर्सिन्छौँ । आफ्नो दोष देख्दैनौँ । आफ्नो भूमिका केही पनि देख्दैनौँ । अझ आजभोलिको विकसित संस्कार त जत्तिसक्दो एकले अर्कोपक्षलाई जान–अन्जान गाली–गलौज र आरोप थोपर्ने चलन छ । त्यो सबैभन्दा चोखो, असल र महान कोही छैन भन्ने हिसाबले अन्धोसमर्थन गर्न पुग्छौँ । नगरी नहुने कसैले गर्नै नसक्ने कार्य भनेको निर्लज्ज भएर गाली गर्नु थियो, आरोप लगाउनुथियो– त्यो पूरा गर्यौँ भनेर खुब बधाइसमेत दिन पुग्छौँ ।

अब यस्तो असभ्य आडम्बर र पाखण्ड विचार–संस्कार निरुत्साहित गर्दै विधि र सभ्यताको जग बसाल्नै पर्दछ । तसर्थ, अब नागरिक स्वयंले सक्षमता प्रस्तुत गर्दै समृद्धितिर लम्कने दृढ सङ्कल्प गर्नु पर्ने बेला आएको छ । त्यसका लागि सबैको अस्तित्व र सामथ्र्य, विशिष्टता र भूमिका स्वीकार्नुपर्दछ । नेपाल सिर्फ नेपालभित्र र छिमेकीसँग मात्रै होइन विश्वको प्रत्येक विषयमा सेकेन्ड–सेकेन्डमा जानकार रहँदै चल्नसक्ने हुनुपर्छ । आर्थिक विकास र समृद्धिको नारा मात्रै लगाउने अनि ठोस रुपमा सिन्को पनि नभाँच्ने हो भने समृद्धि कल्पनामा मात्र सीमित हुनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल