लिम्बू जातिको थातथलोका प्राचीन नाम र किंवदन्ती

लिम्बू जातिको थातथलोका प्राचीन नाम र किंवदन्ती

लक्ष्मण लावती

लिम्बुवान भूमिको अग्लो शिखर कुम्भकर्ण, कञ्चनजङ्घालाई प्राचीन समयमा फक्ताङलुङ, सेसेलुङ भनिन्थ्यो भने पाथीभरालाई मुकुमलुङ भनिन्थ्यो । मुकुमलुङको अर्थ लिम्बू भाषामा शक्ति भएको पहाड भन्ने बुझिन्छ । मुकुमलुङको वरदान पाएकाहरू मात्रै फक्ताङ्लुङ हिमाल पुग्न सक्छन् भन्ने मुन्धुम रहेको हुनाले प्राचीन समयमा फक्ताङलुङको दर्शन गर्न जानुअघि यहाँ पूजा गर्ने चलन थियो । लिम्बूहरूको तुङतुङ्गे पूजामा समेत फक्ताङलुङ, मुकुमलुङको पाकेको अन्नको प्रतिमा बनाएर पूजा गरिन्छ जसलाई तोर्मा भनिन्छ । मुकुमलङलाई चारैतिरबाट हेर्दा अन्न भरेको पाथी जस्तै देखिने हुनाले पछिबाट लिम्बू भाषीहरूले पाथीभरा भन्न थाले र हाल यसको प्राचीन नाम लोप भएर गयो । लिम्बुवान भूमिको प्रायः सबै गाउँबाट देखिने फक्ताङलुङ, सेलुङलगायतका हिमशृङ्खलाहरूलाई उहिले ताम्पेत्चोङ भनिन्थ्यो । ताक्पेत्को अर्थ ठाडो उभिएको र चोङ्को अर्थ शिखर हो । पछिबाट यही ताक्पेत्चोङ अपभ्रंश हुँदै ताप्लेजोङ हुन पुग्यो । यही ताक्पेत्चोङबाट सुरू भएको लिम्बुवानको ठूलो नदी तमोरलाई प्राचीन समयमा ताम्वा भनिन्थ्यो । ताम्वाको अर्थ फराकिलो नदी हो ।

इतिहास शिरोमणि बाबुराम आर्चायले ‘नेपालको सङ्क्षिप्त वृत्तान्त २÷२२’ मा लेख्नुभएको छ – किराँत प्रदेशमा मुकुन्दसेनको विजयपताका फैलनुभन्दा पहिले त्यहा आर्य जातिका मानिसको प्रवेश भएको प्रमाण पाइँदैन । यी राजाका छोरा लोहाङसेनको राज्यकालमा त्यस प्रदेशमा आर्य परिवारका बाहुन क्षत्रीका बस्ती जोरजोरसंग बस्दै गएको हुनाले यिनीहरूलाई नयाँ देखिएका नदी र पहाडहरूको नाउँ राख्नका जरूरत पर्न स्वभाविकै छ । हुन त यी सबै नदी र पहाडहरूका किराँत बोलीका नाम अवश्य थिए । किराँत बोलीमा नदीको नामअघि कोशी भएको देखिन्छ । किराँत प्रदेशमा बगेका भिन्नभिन्न कोशीहरूलाई पछि प्रवेश गरेका बाहुन क्षत्रीहरूले सुनकोशी, तामाकोशी, दूधकोशी आदी नाउँ राखे । इमानसिं चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ र ह्यामिल्टनको ‘एकाउन्ट्स अफ नेपाल’ मुताविक वि.सं. १६६६ मा विजयनारायणको मृत्यु र लोदाहाङसेनको विजयपुरमा शासन प्रारम्भ भएको उल्लेख छ । त्यस मुताविक किराँत प्रदेशमा सोह्रौँ शताब्दीको अन्त्यतिर आर्यहरूको प्रवेश सुरू भएको देखिन्छ ।

प्राचीन पापो युमा मुन्धुम अनुसार धेरै पहिले थाम्लासो पापोहाङ र आम्लासो पापोहाङ नाम गरेका जेठी र कान्छी पट्टिका दुई दाजुभाइ आफ्ना बजुहरूसित आठराईमा बसोबास गर्दथे । दाजु थाम्लासो पापोहाङ सीधा स्वभावका थिए । भाइले पटक पटक आफूलाई छक्याएपछि दाजु थाम्लसोले त्यो ठाउँ छोड्ने निश्चय गरी ताम्वा (तमोर) नदी तरेर हेङवा (हेवाखोला)को किनारै किनार हेङवा र फेङवा (फेमेखोला) को दोभान तिनभाङले पुगेर केही समय बसी फेमेखोला तरेर उकालै उकालो लागेपछि फेदेन पुगे । फेदेनको अर्थ फैलिएको ठाउँ हो । जसको अपभ्रंश हुँदै हाल फिदिम बन्न पुग्यो । उहिले औलोको डरले बसोवासका लागि डाँडा रोज्ने गर्दथे । थाम्लासो पापोहाङले पनि फेदयक डाँडामा घर बनाई बस्ने निधो गरे । फेदेनयकलाई हाल फिदिम गढी भनिन्छ ।

इतिहास लेखक येहाङ लाओतीका अनुसार फेदेनयकलाई पापोहाङ सन्तानहरूको माङगेनायक (उद्गमस्थल) मानिन्छ । थाम्लासो पापोका सन्तानहरू यहीबाट फैलिन सुरू भएका हुन् । भाषाविद् अग्नि तुम्बापोका अनुसार थाम्लासो सन्तानमा तुम्बा (जेठा) पापो औलोका डरको कारण स्थायी बसोवासका लागि अझ अग्लो ठाउँमा बस्ने निधो गरी अन्य दाजुभाइलाई त्यही छोडेर त्यहाँबाट हिँडे । उसबेला बाटोघाटो कही थिएन । बस्ने ठाउँको अवलोकान गर्ने क्रममा फेदेनको अमेमादेन डाँडोमा पुगे । अमेमादेन भनेको हेर्ने ठाउँ हो जुन अपभ्रंशित हुँदै हाल ओदेन बन्न पुग्यो । त्यहाँबाट तुम्वापापो सामादेन पुगे । सामादेनको अर्थ लिम्बू भाषामा खोजी गर्ने ठाउँ भन्ने बुझिन्छ । जुन अप्रमित हुँदै पछि साम्दिन बन्न पुग्यो । सामादेनबाट हङवा (हक्मा खोला) तरेर उकालै उकालो हालको तिनमौले डाँडो पुगे र त्यहाँ घर बनाई बस्ने निधो गरे । बनाउनुलाई लिम्बू भाषामा चोक्मावुङ् भनिन्छ । यही चोक्माङवुङ् शब्द अपभ्रंशित हुँदै हालको चोकमागु बन्न पुग्यो ।

तिनताका समस्त लिम्बुवानलाई फेदाप भनिन्थ्यो र त्यहाँ आठ किराँती राजाहरूले शासन चलाउँदै आएका थिए । चेम्जोङ ‘किराँत इतिहाँस’ सन् १०४८ अनुसार दश लिम्बू सरदारहरू आठ राजाहरूको अनुमतिमा फेदाप बस्न थाले । दश सरदारका सन्तानहरू बड्दै गए र आफूलाई एक नयाँ जाति याक्थुङवा वंश भन्न थाले । लिम्बू भाषामा याक्को अर्थ पहाड थुमको अर्थ जग्गा र वा को अर्थ बासिन्दा भन्ने बुझिन्छ । तसर्थ याक्थुम्वा भन्नाले पहाडी जग्गामा बसोवास गर्ने बुझिन्छ ।

थाम्लासो पापो शन्तानहरू पनि दश लिम्बू सरदारका याक्थुङवा वंश नै थिए । उता फेदेनयकमा बस्ने इङसो पापोहाङ अति प्रतापी भएर निस्किए । दश लिम्बू सरदारका सन्तानहरू धेरै बढेको देखेपछि तिनीहरूलाई दबाउन आठ किराँती राजाहरूले विभिन्न तरहले दुःख दिन थालेपछि समस्त दश सरदार याक्थुम्बाहरू फेदेनयक्मा चुम्लुङ् (भेला) बसे । उनिहरूले त्यहाँ आठ राजाहरूका विरूद्ध थङ (युद्ध) गर्ने निष्कर्ष निकाले ।

कुनै शुभकार्य गर्नुअघि युमा, थेबालाई आह्वान गरेर देवस्थल बनाई पूजा गर्ने लिम्बूहरूको चलन धेरै पुरानो हो । जसलाई माङ्युक्ना भनिन्छ । लिम्बुवानमा भएका यस्ता अनगिन्ती माङ्युक्नाहरूको नाम फेरिएर देवीस्थान भइसकेका छन् । तिनैमध्ये फेदेनयक्को सुम्हेत्लुङ् आम्बेपज पनि एक हो, जसलाई अचेल गढीमाई पनि भन्न थालिएको छ । दश लिम्बू सरदारहरूले त्यहाँ तीनवटा रातो ढुङ्गा ठाडो पारेर रोपी तीनैतिर तीनवटा आँपका रूख रोपी सुम्जिरी मुन्धुम अनुसार पवित्र पानीले संस्कार गरेर लडाइँमा विजय प्राप्त होस् भनी मुक्साम (वरदान) मागे । लिम्बू भाषामा सुस्सी को अर्थ तीन, हेत को अर्थ रातो र लुङ्को अर्थ ढुङ्गा भन्ने बुझिन्छ । समग्रमा सुम्हेत्लुङ ।

त्यसैगरी आम्बेको अर्थ आँप र पजको अर्थ एकै ठाउँमा झुरूप्पै रहनु भन्ने बुझिन्छ । दश सरदारहरूको फेदेनयक्मा चुम्लुङ भएको थाहा पाई आठ राजाहरूले भएभरका सेना त्यहाँ पठाई हमला गरे । दश लिम्बू सरदारहरू सङ्ख्यामा थोरै भए पनि धनुविद्यामा निपुर्ण र सुम्हेत्लुङ् देवस्थलमा कसम खाई ज्यान छाडेर लडाइँमा होमिएको हुनाले आठ किराँती राजाहरूको हार भयो ।

आठ राजाहरू मासिएपछि दश सरदारहरूले मुलुकको नाम नै फेर्ने निष्कर्ष निकाले । युद्धमा विजयी हुनुमा धनुवाणकै मुख्य भुमिका रहेको ठहर भएकोले देशको नाम लिम्बुवान राखियो । लिम्बू भाषामा लि को अर्थ धनु आवु को अर्थ हानेको र वान भन्नाले नाम लाउनु भन्ने बुझिन्छ । इतिहास लेखक शेरबहादुर इङ्नामका अनुसार फेदेनयकको लडाइँमा पारजित कतिपय आठ राज खलकहरू तमोर नदी तरेर आठराई पुगेर बस्न थालेको हुनाले त्यो गाउँको नाम आठराई रहन गयो । यद्यपि यो तर्क सत्य नै हो भने पनि पछिबाट उल्ट्याइएको नाम हो । लिम्बुवानका राजाहरूले राई पगरी भिरेको वि.सं. १४२१ मा मोरोङका राजा पुङलाइङहाङलाई ब्राह्मणहरूले राय पदले सुशोभित गरी अमर राय नाम राखिदिए भनी राजा विजयनारायण रायको वंशावलीमा उल्लेख छ भनी इमानसिं चेम्जोङको ‘विजयपुरको संक्षिप्त इतिहास’ १९७४ मा उल्लेख छ । त्यसो हुनाले राई शब्द लिम्बुवानमा भित्रिएको प्रचीन नाम हैन । म सानो हँुदासम्म आठराईवासीहरूलाई येत्रेवा, येत्रेनीमा भनेको सुनिन्थ्यो । लिम्बू भाषामा आठलाई येत् भनिन्छ । आठ राजाहरूसँगको युद्धपछि लिम्बुवानलाई दश प्रान्तीय राज्यमा विभाजन गरियो । त्यसमध्ये इङासो पापोहाङ फेदेनयक्, यासकका राजा भए । पछिबाट यस ठाउँको नाम पान्थर रहन गएको हो, यो प्राचीन नाम होइन ।

नेपाल एकीकरणपछि राजा रणबहादुर शाहका पालामा लिम्बूहरूलाई हिन्दू बनाउनका निम्ति नीति र सामरिती नामक एउटा अभियान चलाइयो । डा. देवी दुलालले ‘पाँचथरको इतिहाँस’, प्रो.डा. रमेशनाथ ढुङ्गेल हिमालका अनुसार नीति र समरितीमा साथ नदिने लिम्बूहरूलाई साडे सात रूपियाँ कर लागाइने भयो । जसलाई मेगजिन कर भनिन्थ्यो । आठराई, तमोर र याङवरकका केही लिम्बुहरूको सो नीति र सामरितिको पक्ष लिई धागो बाँध्ने काम गरे भने पान्थरबाट यसको ठूलो विरोध भयो । पछिबाट प्रायः सबै लिम्बुवानमा यसको विरोध हुन थाल्यो । नीति र सामरितीमा लाग्ने लिम्बूहरूलाई सामाजिक बहिस्कारदेखि लिएर किपट खोस्नेसमेत काम हुन थालेपछि हिन्दू बनेर धागो बाँधेका लिम्बूहरूले माफी मागे र उक्त नीति र सामरिती विफल बन्न गयो । यसैबेलादेखि फेदेन यकलाई पानथरू भन्न थालियो जसको अर्थ कुरा थामे भन्ने हुन्छ । पान्थरूबाट पान्थर हुँदै पछि पाँचथर हुन पुग्यो ।

त्यसै गरी तेह्रथुम पनि प्राचीन नाम होइन । नेपाल एकीकरणपछि लिम्बुवानलाई १७ थुममा विभाजन गरियो र यसको मुख्य गौँडा धनकुटा राखियो । कतिपय थुमलाई धनकुटा धेरै टाढा पर्ने भएकाले वि.सं. १९५२ सालमा मेयङ्लुङ्लाई मुख्य गौँडा मानी १३ वटा थुमलाई अलग गरियो त्यसैबेलादेखि यो जिल्लाको नाम तेह्रथुम हुन गएको हो ।

धेरैजसो प्रचीन लिम्बू नामहरू पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि फेरि फेरिएका हुन् । प्राचीन नामहरू धेरै फेरिएको ठाउँहरूलाई लिनुपर्दा उसबेलाको याङ्वरक राज्यको अधिकांश ठाउँहरू पर्न जान्छ । याङ्वरकका राजाले पृथ्वीनारायण शाहको एकीकरणमा सामेल हुन नमाने पछि त्यहाँ गोर्खाली फौजले पटक पटक हमला गरेका कारण त्यहाँका धेरै लिम्बूहरू सिक्किम पलायन भए भन्ने इतिहास छ । याङ्वरक राजाको दरबार क्षेत्रलाई उसबेला हाङ्यक्पुङ् भनिन्थ्यो । जसको अर्थ राजा बस्ने ठाउँ भन्ने बुझिन्छ । पछिबाट यसको नाम फेरेर हस्तपुरगढ भन्न थालियो ।

अचेल यसलाई हिलिहाङ दरबार भनिन्छ । हाङ्यक्पुङसँग जोडिएको गाउँहरूको प्रचीन नाम एकपछि अर्को गर्दै फेरिँदै गयो । प्राचीन नाम सिम्भुवा फेरिएर पञ्चमी बन्न पुग्यो । सिम्भुुवाको अर्थ पानी उम्रने, ओसिलो ठाउँ भन्ने बुझिन्छ । त्यस्तै आङ्बुङ्, तोरूम्बा फेरिएर अमरपुर बन्न पुग्यो । आङबुङको अर्थ सल्लाघारी हो भने तोरूम्बाको अर्थ टेकेका हौँ भन्ने अर्थ लाग्छ । जहाँ पहिला लिङ्देन थरी लिम्बू पुगेर बसोबास गर्न थालेको भनाइ छ । त्यस्तै प्राचीन सिरपुङ् गाउँ फेरिएर नागी बन्न पुग्यो । अन्येम् गाउँ फेरिएर ओयाम हुन पुग्यो । अनयेम्को अर्थ घोडा बिसाउने ठाउँ हो भने थर्पुको अर्थ अस्थायी डेरा हो । जुन लिम्बूहरूको बिहे, भोजमा स्याउला र बाँसको थर्पु बनाउने चलन अझैसम्म छँदैछ । उहिले थर्पु, अन्येम् भएर बग्ने इवा (हाल इन्द्रावती) खोलाको किनारै किनार हुँदै चेनताक्तु, चिवाभञ्ज्याङको बाटोबाट सिक्किम पुगी बङ्गालको खाडीको नुन ल्याउने मुख्य बाटो यही नै थियो ।

यसरी बटुवाहरू डेरा बस्दै घोडा विसाउँदै यो बाटोमा ओहोर दोहोर गर्दा यिनको स्थायी नाम नै अनयेम्, थर्पु हुन पुग्यो । त्यस्तै फलँैचाको प्राचीन नाम फुङ्देन हो । जसको अर्थ भेला हुने चौतारो भन्ने बुझिन्छ । पछिबाट फुङ्देन वरिपरी फूलहरू रोपेर फुङ्लादेन हुन पुग्यो भन्ने भनाइ छ । जसको नाम उल्ट्याई फलैँचा बनाइयो । त्यस्तै च्याङ्थापुको प्राचीन नाम चेन्ताक्तु हो । लिम्बू भाषामा चेनको अर्थ पासो र ताक्तुको अर्थ थाप्नु । किंवदन्ती अनुसार सिक्किमबाट हमला गर्न आउनेहरूका लागि विभिन्न स्थानमा पासो थापिएको थियो । स्थानीय मचिन्द्र वेघाका अनुसार एकपटक वेघा र सेलिङ लिम्बू सरदारहरू बीच त्यहाँ थङ (लडाइँ) भएको थियो । जसमा एक जना उक्त बाँसको पासोमा झुण्डिएपछि त्यस ठाउँको नाम स्थायी रूपमा चेनताक्तु हुन पुग्यो र पछि अपभ्रंश हुँदै च्याङथापु हुन गयो ।
क्रमश ः ……

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल