स्ववियु चुनाव र त्रिविको भविष्य

स्ववियु चुनाव र त्रिविको भविष्य

निर्मल भट्टराई

त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका भित्ता रङ्गिएका छन् । क्याम्पसहरुमा राजननीतिक सरगर्मी ह्वात्तै बढेको छ । विद्यार्थी हकहितका जोसिला भाषण यत्रतत्र सुनिन्छन् । त्रिविको शैक्षिक गुणस्तर उकास्ने कुरा उठाइँदैछ । तर वास्तविकता त्यस्तो छैन । पार्टीहरुको राजनीतिक क्रीडास्थल बनेको त्रिवि र सोसँग आबद्ध कलेजहरुको हालतमा सुधार भएको छैन । बरु दिन प्रतिदिन खस्कँदो छ । हो, कुनै पनि लोकतान्त्रिक संस्था नभएको बेला स्ववियुको आवधिक निर्वाचन हुने विषय निःसन्देह महत्वपूर्ण विषय थियो । स्ववियुको वैधानिकताको सदुपयोग गरेर तत्कालीन प्रतिबन्धित नेका र वाम पार्टीहरुले तत्कालीन पञ्चायती निरङ्कुशताविरुद्ध विद्यार्थी आन्दोलनको ज्वारभाटा मात्र सिर्जना गरेनन्, आफ्नो पार्टीलाई राष्ट्रव्यापी विस्तारका लागि स्ववियुलाई एक सशक्त सम्पर्क सूत्रका रुपमा प्रयोग गर्न सफल भए । तर आज परिस्थिति विलकुल भिन्न भएको छ । अब स्ववियुको पुरानो संरचनाको औचित्य सम्पूर्ण रुपमा समाप्त भएको छ । यसलाई केही बुँदाहरुमा यसरी सूत्रबद्ध गर्न सकिन्छ ।

क) शैक्षिक संस्थाभित्र राजनीति अनावश्यक
लामो सङ्घर्षपछि नेपाली जनताले सम्पूर्ण रुपमा लोकतान्त्रिक अधिकार प्राप्त गरिसकेका छन् । अब हरेक क्षेत्रमा लोकतान्त्रिक अभ्यास गर्न पाइन्छ । सो प्रयोजनको निम्ति अब विश्वद्यिालय वा क्याम्पस गइरहनुपर्दैन । फेरि ती संस्था राजनीति गर्ने अखडा होइनन् । ती अध्ययन अध्यापनका केन्द्र हुन् । विगतको बाध्यताको निरन्तरता अब किमार्थ आवश्यक छैन । बाबु आमाको खर्चमा अध्ययन गर्न आएको कलकलाउँदो उमेरका विद्यार्थीलाई राजनीतिमा होमेर राजनीतिक पार्टीले अब राजनीतिको रोटी सेकिरहनुपर्दैन । शैक्षिक संस्थाभित्र हुने राजनीतिक क्रियाकलापले समग्र देशको शैक्षिक स्तर विग्रेको र यसले देशको आर्थिक समृद्धिमा दीर्घकालसम्म असर पार्नेछ । स्ववियु पुरानो संरचना खारेज गरी नयाँ एवम् गैरराजनीतिक चरित्रको बनाइए मात्र शान्त शैक्षिक वातावरण बन्ने निश्चित छ । स्ववियु निर्वाचनमा विद्यार्थी अघि सारेर राजनीतिक पार्टीहरु चुनाव लड्ने भएकाले त्यहाँ हिंसा भड्किने खतरा त्यत्तिकै छ । भौतिक सम्पत्तिको तोडफोड सुरु भइसकेको छ । करोडौँको नोक्सान गरेर, हिंसाकाबीच लडिने स्ववियु चुनावको अब कुनै तुक छैन ।

ख) स्ववियु भ्रष्टाचारको अखडा
स्ववियुमा जित्ने नेताहरुको ध्यान विद्यार्थीको हकहितभन्दा पनि क्याम्पसका भौतिक संरचना निर्माणको ठेक्का पट्टातिर सोझिन्छ । त्यहाँ ठूल्ठूला कमिसन र भ्रष्टाचारका खेल चल्दछन् । त्यही कारण हो, स्ववियु सभापतिको टिकट पाउन मातृपार्टी वा विद्यार्थी सङ्गठनमा सभासदको टिकट पाउनेभन्दा ठूलो लडाइँ हुने गरेको देखिन्छ । अहिलेकै अवस्थाले निरन्तरता पाउने हो भने स्ववियु कुनै विद्यार्थी हकहित गर्ने केन्द्र होइन, युवा राजीतिकर्मीलाई भ्रष्टाचार र कमिसनखोरको तालिम गर्ने अखडा बन्ने निश्चित छ । विद्यार्थीलाई सुशासन र सदाचार सिकाउनुपर्नेमा भ्रष्टाचारी र कमिसनखोर बन्न सिकाएपछि कालान्तरमा उनै प्रधानमन्त्री, मन्त्री हुँदा कस्तो शासनको अपेक्षा गर्ने ?

ग) नक्कली विद्यार्थीको राज
स्ववियु निर्वाचनमा उम्मेद्वार बन्नका लागि अध्ययन पूरा गरेका (वा जसोतसो प्लस टु पास गरेर अध्ययन छोडेकाहरु समेत) पटक पटक क्याम्पस भर्ना भइरहन्छन् । ती नक्कली विद्यार्थीको प्रमुख ध्येय क्याम्पसभित्र राजनीति गर्ने हुन्छ, पढ्ने होइन । २८ वर्षे उमेर हद लगाउँदासमेत उमेद्वार बन्नका लागि मात्र कलेजमा भर्ना हुने चलन रोकिएको छैन । जसको उद्देश्य पढ्ने हुँदैन, उसको हातमा एक शैक्षिक संस्थाको बागडोर गएपछि त्यस संस्थाको शैक्षिक स्तर खस्कनु नितान्त स्वभाविक छ । क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी, लेखा कक्षमा तालाबन्दी, तोडफोड, हडताल, घेराउजस्ता कार्य शैक्षिक संस्थाका दैनिकी बन्दछन् । अध्ययन, अनुसन्धान, परियोजना कार्य, प्राज्ञिक बहस ओझेलमा पर्दछन् । शैक्षिकस्थल दिमागी अभ्यासको थलो हो, यो बाहुबलीय अभ्यासको थलो होइन । तर डनहरु, टेन्डर पार्ने समूह, नेताका खास मान्छे मिलेर बाहुबलीय अभ्यास गर्ने अखडाको रुपमा आंगिक क्याम्पस विकसित हुँदै जानु ज्यादै चिन्ताको विषय हो ।

(घ) समाधान
स्ववियु म्याद नाघेको औषधी भएको छ । यसको जति बढी इस्तेमाल गर्यो, त्यति हानि हुनेवाला छ । त्यसकारण सर्वप्रथम स्ववियुको विद्यमान संरचना खारेज गर्नुपर्दछ । घोषित चुनाव खारेज गरेर प्राज्ञिक प्रतिस्पर्धालाई आधार मानेर गैरराजनीतिक विद्यार्थी काउन्सिल बनाउनुपर्दछ । कलेज परिसरभित्र कुनै पनि विद्यार्थी सङ्गठनको झण्डा, लोगो, तुल, ब्यानर राख्न दिइनु हँुदैन । शैक्षिक उन्नयनका लागि विद्यार्थीको सहभागिता बढाउन कलेज व्यवस्थापन समितिमा सङ्कायबाट सबभन्दा राम्रो शैक्षिक र प्राज्ञिक क्षमता प्रदर्शन गर्नेहरुको प्रतिनिधित्व गराउन सकिन्छ । कलेज परिसरमा विद्यार्थी, शिक्षक र परिचयपत्रको आधारमा अभिभावकभन्दा अरुलाई प्रवेश निषेध गरिनुपर्दछ । यसो गर्नसके थुप्रै सकारात्नक परिणाम हात लाग्दछन् । विश्वविद्यालय र यसका आङ्गिक कलेजमा केवल अध्ययन, खोज अनुसन्धान र प्राज्ञिक उन्नयनका काम मात्र हुनेछन् । पार्टीका भीमकाय विद्यार्थी भातृसङ्गठनको औचित्य समाप्त हुनेछ । कलेजमा अध्ययन गर, राजनीति गर्न चाहनेले आफ्नो निर्वाचन क्षेत्रमा जाऊँ भन्ने मान्यता मात्र स्थापित गर्न सकिए देशको आर्थिक समृद्धि, शैक्षिक प्रगति र स्थायित्वमा ठूलै टेवा पुग्ने थियो र त्रिविको यस्तो शैक्षिक दुरावस्थासमेत देख्नुपर्ने थिएन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल