प्रेस स्वतन्त्रता, सद्भाव र राष्ट्रिय स्वाभिमान

प्रेस स्वतन्त्रता, सद्भाव र राष्ट्रिय स्वाभिमान

१. मानव अधिकार : मानव अधिकार भनेको ती अधिकारहरू हुन्, जुन हरेक व्यक्तिले उपभोग गर्ने अधिकार छ र त्यस्ता अधिकारहरू संरक्षित गरिएका छन् । अर्थात््् ती आधारभूत अधिकार र स्वतन्त्रता हुन्, जुन हरेक व्यक्ति उपभोगका हकदार छन् र त्यस्ता अधिकारहरू संरक्षित गरिनुपर्दछ । ती अधिकारहरूको जस्तोसुकै समाज वा संस्कृतिमा पनि सम्मान गरिनुपर्दछ । समसामयिक अन्तर्राष्ट्रिय कानुनका दृष्टिले मानव अधिकार भनेको त्यस्ता मौलिक अधिकार र स्वतन्त्रता हुन्, जुन अन्तर्राष्ट्रिय कानुनको स्वरुपमा समावेश गरिएका छन् । अर्थात््् मानव अधिकार भनेको सबै मानवको नैसर्गिक अधिकार हो । यो अधिकार राष्ट्रियता, लिङ्ग, राष्ट्रिय वा जातीय उत्पत्ति, रङ्ग, धर्म, भाषा वा अन्य कुनै स्तरको भेदभावविना सबैलाई उपभोगको अधिकार छ । यी अधिकारहरु सर्वव्यापी, अविभाज्य, अन्तरसम्बन्धित छन् र अन्तरनिभर गर्दछन् । मानव अधिकारको प्रवद्र्धन र संरक्षण राज्यको प्रमुख दायित्व र कर्तव्य हो ।

१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्रसङ्घ महासभाले जारी गरेको मानव अधिकारको विश्वव्यापी घोषणा पत्र नै यस्ता अधिकारहरूको समसामयिक (समकालीन) विश्व दस्तावेज हो । तथापि मानव अधिकारको विश्वव्यापी घोषणापत्र राष्ट्रहरूका लागि कानुनी रुपमा बाध्यात्मक दस्तावेज भने होइन । तथापि अवलम्बनका लागि एउटा नैतिक र मूल्यमा आधारित महत्वपूर्ण दस्तावेज हो । यो विश्वव्यापी घोषणापत्रमा निहित नागरिक तथा राजनीतिक अधिकार एवं आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे राष्ट्रसङ्घले सन््् १९६६ मा २ वटा प्रति ज्ञापत्र जारी गरी सदस्य राष्ट्रको अनुमोदनपश्चात् लागू भइसकेको छ, जुन अनुमोदन गर्ने राष्ट्रहरूका लागि पालना गर्नु बाध्यात्मक हुन्छ । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रका २ वटा ऐच्छिक उपलेख र आर्थिक सामाजिक तथा सांस्कृतिक प्रतिज्ञापत्रको एउटा ऐच्छिक उपलेख समेत जारी भइसकेको छ । समग्रमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकार एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी यी २ प्रतिज्ञापत्र (३ वटा) लाई मानव अधिकारको इच्छापत्र भन्ने गरिन्छ । विगत ७ दशकको अवधिमा संयुक्त राष्ट्रसङ्घको पहलमा सयौँ अनुबन्धहरु जारी भई लागू भइसकेकन छन् ।

(क) मानव अधिकारको विश्वव्यापी घोषणापत्र : मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा ३० वटा धारा रहेका छन् । धारा १ ले भातृत्वको भावनामा जोड दिएको छ, जुन यस प्रकार छः
सबै व्यक्तिहरु जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुन्छन् । उनीहरु विवेक र अन्तस्करणले युक्त भएका हुन्छन् । उनीहरुले भातृत्वको भावना लिएर एकअर्काप्रति व्यवहार गर्नुपर्छ ।

२. अभिव्यक्ति स्वतन्त्रता :
२.१ अन्तर्राष्ट्रिय प्रावधान : अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १९ ले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ, जुन यस प्रकार छः “प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकारमा विनाहस्तक्षेप आफ्ना विचारहरु राख्न पाउने स्वतन्त्रता, सीमानाको बन्देज विना कुनै पनि माध्यम मार्फत सूचना र विचारहरु प्राप्त गर्ने, खोज्ने तथा प्रसार गर्नेे स्वतन्त्रता समेत समावेश हुनेछ ।”

यसै गरी विश्वव्यापी घोषणापत्रको धारा २९(२) ले “आफ्ना अधिकार र स्वतन्त्रताहरुको उपयोग गर्दा, प्रत्येक व्यक्ति अन्य व्यक्तिका अधिकार र स्वतन्त्रताहरुको उचित मान्यता र सम्मान हासिल गर्ने तथा लोकतान्त्रिक समाजमा नैतिकता, सार्वजनिक व्यवस्था र जनकल्याण हासिल गर्ने एक मात्र उद्देश्यका लागि कानुनले निर्धारण गरेका प्रतिवन्धहरुको मात्र अधीनमा रहनेछ” भन्ने सुनिश्चित गरेको छ ।

नेपाल राज्य पक्ष रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्रको धारा १९ मा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रावधान यस प्रकार छ ः

१. प्रत्येक व्यक्तिलाई विना हस्तक्षेप आफ्ना विचारहरु राख्न पाउने अधिकार हुनेछ ।
२. प्रत्येक व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ । सीमाको बन्देज विना, मौखिक, लिखित वा मुद्रित रुपमा वा कलात्मक रुपमा वा निजको आफ्नो छनौटको अन्य कुनै माध्यम मार्फत सबै किसिमका सूचना र विचारहरु प्राप्त गर्ने तथा दिने स्वतन्त्रतासमेत यस अधिकारमा समावेश हुनेछन् ।
३. यस धाराको प्रकरण २ मा व्यवस्था गरिएका अधिकारहरुको प्रयोगमा विशेष कर्तव्य तथा उत्तरदायित्वहरु समेत निहित हुन्छन् । तसर्थ यो अधिकार केही निश्चित प्रतिवन्धहरुको अधिनमा हुन सक्नेछ । तर यस्ता प्रतिवन्धहरु कानुनद्वारा व्यवस्था गरिएको र देहायका कुराका लागि आवश्यक भएको हुनुपर्छ :
(क) अरुको अधिकार वा प्रतिष्ठाको सम्मान,
(ख) राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्था वा सार्वजनिक स्वास्थ्य वा नैतिकताको संरक्षण ।

यसै गरी प्रतिज्ञापत्रको धारा २० ले गरेको निषेध यस प्रकार छ :
१. युद्धका लागि कुनै पनि प्रचार कानुनबाट निषेधित गरिनेछ ।
२. भेदभाव, शत्रुता वा हिंसालाई उत्तेजित पार्ने (भड्काउने) राष्ट्रिय, जातीय वा धार्मिक घृणाको कुनै पनि वकालतलाई कानुनबाट निषेधित गरिनेछ ।

२.२ राष्ट्रिय प्रावधान : संविधान देशको मूल कानुन हो । नेपालको संविधान २०७२ को भाग–१ धारा ५ मा राष्ट्रिय हित शीर्षकमा निम्न व्यवस्था भएको छः
“१. नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् ।
२. राष्ट्र हित प्रतिकूलको आचरण र कार्य सङ्घीय कानुन बमोजिम दण्डनीय हुनेछ ।”

नेपालको संविधान २०७२ को धारा ३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा १७ मा स्वतन्त्रताको हकसम्बन्धी व्यवस्था यस प्रकार छः
“१७. स्वतन्त्रताको हक (१) कानुन बमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन ।
(२) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछः
(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता,
(ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
(ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता,
(घ) सङ्घ र संस्था खोल्ने स्वतन्त्रता,
(ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,
(च) नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।

तर,
(१) खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा सङ्घीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।
(२) खण्ड (ख) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता, सङ्घीय इकाइबीचको सु–सम्बन्ध वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

३. सद्भाव : सद्भाव यस्तो बीउ हो जसबाट अमृत फल्छ । विविधतामा एकतालाई बलियो बनाउने सूत्र भनेकै सद्भाव हो । जब सद्भाव समाप्त हुन्छ तब हिंसा प्रारम्भ हुनसक्छ । जहा“ ऊर्जाको स्रोत सद्भाव हुन्छ, त्यहा“ शान्ति हुन्छ । जहा“ ऊर्जाको स्रोत घृणा हुन्छ, त्यहा“ युद्ध, कलह र अशान्ति हुन्छ । घृणाले प्रतिशोधलाई जन्म दिन्छ । प्रतिशोधले हिंसालाई जन्म दिन्छ । हिंसाले अराजकता र अव्यवस्थालाई जन्म दिन्छ । जब कि सद्भावले सहिष्णुता र सहिष्णुताले शान्तिलाई जन्म दिन्छ । सद्भाव भनेको सहअस्तिŒवको बोध हो । सद्भाव भनेको म मात्र होइन, हामी भन्ने सामूहिक अभिव्यक्तिको उद्घोष हो ।

घृणाले व्यक्ति र समाजको जीवनलाई विषाक्त बनाउ“छ । व्यक्तिगत घृणा, जातीय घृणा, विदेशीहरुप्रति घृणा, धार्मिक घृणा, समुदायबीच घृणा र राजनीतिक घृणाले रोपेको बीउबाट उम्रिएका विषाक्त फल हुन युद्ध, कलह, अशान्ति, अव्यवस्था र अराजकता । जब सद्भाव भत्किन्छ तब हिंसा भड्किन्छ । सद्भाव भत्काउने औजार भनेको नै घृणा हो । समाजमा शान्ति र सुव्यवस्था कायम राख्ने हो भने घृणाको अन्त्य र सद्भावको धरातल बलियो बनाउनु आवश्यक छ । समाजमा स्थायी शान्तिका लागि निम्न १० क्षेत्रमा सद्भाव कायम हुनु नितान्त आवश्यक देखिन्छ ।

(क) व्यक्ति र जातीय सद्भाव (ख). धार्मिक सद्भाव (ग) राजनीतिक सद्भाव (घ) सामाजिक सद्भाव (ङ) वैचारिक सद्भाव (च) भाषिक सद्भाव (छ) समुदायबीच सद्भाव (ज) लिङ्गीय सद्भाव (झ) क्षेत्रीय÷भौगोलिक सद्भाव (ञ) राष्ट्रहरुबीच सद्भाव

४. घृणात्मक अभिव्यक्ति अपराध हो : घृणात्मक अभिव्यक्ति अर्थात हेट स्पिच भन्नाले त्यस्तो अभिव्यक्तिलाई जनाउँछ जसले कुनै समूह वा व्यक्तिलाई जाति, धर्म, लिङ्ग, जातीय उत्पत्ति, अपाङ्गता आदि जस्ता लक्षणका आधारमा आक्रमण गर्ने, धावा बोल्ने गर्दछ । कतिपय देशका कानुनहरुमा घृणात्मक अभिव्यक्तिलाई व्याख्या गर्दा त्यस्तो अभिव्यक्ति जस्ले हिंसालाई भड्काउँछ , त्यसकारण निषिद्ध गरिएको उल्लेख छ ।

भारतको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई धारा १९ (१) मा संरक्षित गरेको छ । तर धारा १९ (२) मा भारतको सार्वभौमसत्ता र अखण्डतालगायतका सवालमा आँच आउने कुरालाई रोक्न मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन भन्ने व्यवस्था भएको छ । यसैगरी १९८० को राष्ट्रिय सुरक्षा कानुनले पनि अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाएको छ ।

घृणात्मक अभिव्यक्तिलाई दण्डनीय करार गर्दै डेनमार्क, नर्वे, स्विडेन, बेल्जियम, फ्रान्स, आयरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, स्विजरल्यान्ड, संयुक्त अधिराज्य (यूके) जस्ता युरोपियन राष्ट्रहरुमा आवश्यक कानुनी व्यवस्था भएको पाइन्छ । कतिपय देशहरुले इतिहासका घटनाक्रम उद्धृत गर्दै निश्चित कुरामा प्रतिवन्धको व्यवस्था गरेका छन् । जस्तो जर्मनीमा नाजीहरुको प्रतीक चिन्ह अङ्कित वस्त्र लगाउन कानुनले प्रतिबन्ध गरेको छ ।

यसैगरी राष्ट्रिय गौरवको विषयलाई होच्याउने कृत्य दण्डनीय मानिन्छ । फ्रान्सलगायत कैयाँै मुलुकमा राष्ट्रिय झण्डा वा गीतको अपमान गर्नु कानुनत अपराध मानिन्छ ।

५. प्रेस स्वतन्त्रता : प्रेस स्वतन्त्रता आधारभूत मानव अधिकार हो । प्रेस स्वतन्त्रता मानव अधिकारको शाश्वत मूल्य हो भने लोकतन्त्रको स्तम्भ पनि हो । स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचित सबल व्यवस्थापिका, सुशासनको प्रत्याभूतिसहित समृद्धिको कार्य सूचिसहितको कार्यपालिका, स्वतन्त्र एवं सक्षम न्यायपालिका, स्वतन्त्र प्रेस र गतिशील एवं जागरुक नागरिक समाज नै लोकतन्त्रको आधार स्तम्भ हुन् । लोकतन्त्रमा स्वतन्त्र प्रेसले स्वतन्त्रताको पहरेदारको भूमिका निर्वाह गर्छ भने प्रेस स्वतन्त्रताको संरक्षणले लोकतन्त्रको भविष्यलाई सुदृढ बनाउँछ । तर अभिव्यक्ति स्वतन्त्रता र घृणात्मक अभिव्यक्तिमा भिन्नता छ । अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो भने अन्तराष्ट्रिय तथा राष्ट्रिय कानुन अनुरुप घृणात्मक अभिव्यक्ति स्वतन्त्रता नभएर अपराध हो । त्यस्तो अपराधलाई प्रेस स्वतन्त्रताको नाममा बढावा दिनु अर्को अपराध हो ।

विश्वमा घटेका ठूला–ठूला नरसंहारका घटनाको पर्दाफास गर्न र दोषीहरुमाथि कारबाही गर्न मिडियाले खेलेको प्रभावकारी भूमिका महत्वपूर्ण छ । तर कतिपय नरसंहारका पछाडि सञ्चारमाध्यमको दुरुपयोग पनि कारण रहेको छ । रुवान्डामा एउटा टेलिभिजन च्यानलले आफ्नो प्रसारणमा कुनै एक समुदायका मान्छेको नाम र तिनीहरु बसेको ठाउँ उल्लेख गरी संहार गर्न निर्देशन दिँदा मच्चिएको नरसंहारलाई इतिहासमा कलङ्कका रुपमा लिइन्छ ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट (आइ एफ जे) ले सन् २०१४ मा ब्रसेल्समा आयोजना गरेको मिडिया सशस्त्र सङ्घर्ष र घृणात्मक अभिव्यक्ति विषयक सम्मेलन पश्चात जारी गरिएको घोषणापत्रमा सदासर्वदा जिम्मेवार पत्रकारिताको मूल्य र मान्यतामा उभिन आह्वान गर्दै मिडियामा घृणा र हिंसा भड्काउने कार्य विरुद्ध लड्न प्रतिबद्धता व्यक्त गरिएको छ भने मिडिया मार्फत घृणा र हिंसालाई भड्काउने कार्यको निन्दा गरिएको छ ।
वर्तमान विश्व परिवेशमा सञ्चारमाध्यमहरुको संख्याका साथसाथै स्वरुप पनि विस्तारित हुँदैछ ।

अनलाइन पत्रकारिता यसको नयाँ स्वरुप हो भने सामाजिक सञ्जाल स्वयंमा सूचनाको नयाँ भण्डार हो । सामाजिक सञ्जालमा घृणात्मक अभिव्यक्तिले ठाउँ पाउनु अर्को चिन्ताको विषय हो । घृणात्मक अभिव्यक्तिले रङ्गिएका वेबसाइटलाई “हेट साइट” भन्ने गरिन्छ । घृणा फैलाउनकै लागि अस्तित्वमा रहेको यस्तो प्रवृत्ति समाजिक सञ्जालमा पनि सक्रिय देखिन्छ ।
तसर्थ सामाजिक सञ्जालमा ‘इलिगल हेट स्पिच’लाई रोक्न आचारसंहिता जारी भएको छ । २०१६ को मे महिनामा फेसबुक, गुगल माइक्रोसफ्ट र ट्विटर जस्ता सामाजिक सञ्जालहरुले संयुक्त रुपमा ‘इलिगल हेट स्पिच’लाई २४ घण्टाभित्र हटाउने बाध्यात्मक व्यवस्थासम्बन्धी युरोपियन युनियनको आचारसंहितामा सहमति जनाएको छ ।

६. राष्ट्रिय स्वाभिमान : व्यक्ति÷समुदायहरुको आत्मसम्मान उँचो भए राष्ट्रको आत्मसम्मान पनि उँचो हुन्छ । शान्तिको सुनिश्चितता, अहिंसाको प्रधान्यता, अधिकारको सुदृढता, लोकतान्त्रिक मूल्यको व्यापकता र विविधतालाई उत्सवको रुपमा ग्रहण गर्ने संस्कारको विकासले नै राष्ट्रिय स्वाभिमानलाई बलियो एवम् गौरवान्वित बनाउँछ । तसर्थ यस दिशामा योगदान गर्नु सबैको कर्तव्य हो । मानव अधिकार र आधारभूत स्वतन्त्रताको प्राप्ति र पूर्ण उपभोगले व्यक्तिको साथ साथै राष्ट्रिय स्वाभिमान र आत्मसम्मानलाई गौरवान्वित तुल्याउँछ र एकतालाई पनि बलियो बनाउँछ । तर स्वतन्त्रताको नाममा स्वच्छन्दता बढ्न थाल्यो भने अधिकार कुण्ठित हुन सक्छ । सद्भावको सट्टा घृणा फैलन थाल्यो भने राष्ट्रिय स्वाभिमान खण्डित हुन सक्छ । सहिष्णुताको सट्टा प्रतिशोध हुर्कन थाल्यो भने हिंसाले मलजल पाई टाउको उठाउन सक्छ ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो तर वाक स्वतन्त्रताको नाममा घृणाको खेती गर्ने र हिंसालाई वढावा दिने कृत्य मानव अधिकार र आधारभूत स्वतन्त्रता नभई अपराध हो । समुदायबीच विद्वेष एवम् घृणा फैलाउने र हिंसाको पृष्ठपोषण गर्ने कृत्य मानवताविरुद्धको अपराधकै अंश हो भन्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । अहिले नेपालको राष्ट्रिय स्वाभिमान माथि विभिन्न कोणबाट निर्मम प्रहार हुन थालेको छ । यस कार्यमा संलग्न पर्दा पछाडिका अभियन्ताहरुको पहिचान र पर्दाफास हुन बाँकी छ तर दृश्यमा देखिएका पात्रहरुले घृणात्मक अभिव्यक्तिको हतियार प्रयोग गरेका छन् ।

उनीहरु मानव अधिकार र आधारभूत स्वतन्त्रताको अपव्याख्या गरी विखण्डनको निहीत स्वार्थका लागि वैचारिक धरातल निर्माण गर्न प्रयत्नशील छन् । यस क्रममा घृणात्मक आवेगलाई अभिव्यक्ति स्वतन्त्रताको, विखण्डनको अभियानलाई सङ्गठनको स्वतन्त्रताको र दुर्भावकोे राजनीतिलाई स्वराजको जामा पहिर्याउने प्रयत्न भएको छ । यसका लागि मानव अधिकार सङ्घ संस्थालगायत नागरिक समाज, मिडिया, राजनीतिक दलहरु र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रभावित पार्न र साझेदारी गर्न खोजेको देखिन्छ । यसका पछाडिको नियत नेपाललाई दीर्घकालीन रुपमा अस्तव्यस्त र अस्थिर बनाउने र नेपालमा हस्तक्षेप चाहने बाह्य तथा अन्तर्राष्ट्रिय घटकहरुलाई आधार एवं खुराक प्रदान गर्नु रहेको हुनसक्छ । तसर्थ मानव अधिकार एवं प्रेस स्वतन्त्रताका हिमायतीहरुले निम्न प्रवृत्तिबारे सजग हुन जरुरी छ ।

(क) भातृत्वविरुद्ध शत्रुत्व : यो प्रवृत्तिले भातृत्वको आधारशीला भत्काउने र शत्रुत्वको भाव विकसित गर्ने अभियानमा जोड दिएको देखिन्छ जुन मानव अधिकार विश्वव्यापी घोषणापत्रको धारा १ को विपरीत छ ।

(ख) अपराध र मानव अधिकार उल्लङ्घनमा भिन्नता : कुनै पनि देशको कानुन मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हुनुपर्दछ । यदि मानव अधिकारका मान्यता विपरीत कानुनहरु विद्यमान छन् भने मानव अधिकार सम्मत कानुनको निर्माण तथा परिमार्जन गर्नुपर्दछ । जुनसुकै व्यक्ति जुनसुकै अभियोगमा पक्राउ परेको होस् मानव अधिकार सम्मत व्यवहार गर्नुपर्छ । तर कानुनभन्दा माथि कोही पनि हुँदैनन् । अपराध र मानव अधिकार उल्लङ्घन दुई फरक धार हुन् । घृणात्मक अभिव्यक्ति दिने, सद्भावलाई भत्काउने आचरण अपराध हो । स्वतन्त्रताको आवरणमा अपराधलाई मानव अधिकार उल्लङ्घन भनी स्वेच्छाचारी तवरले व्याख्या गर्ने प्रवृत्तिप्रति सजग हुनुपर्दछ ।

(ग) सद्भावविरुद्ध दुर्भाव : जहा“ ऊर्जाको स्रोत सद्भाव हुन्छ, त्यहा“ शान्ति हुन्छ । जहा“ ऊर्जाको स्रोत घृणा हुन्छ, त्यहा“ युद्ध, कलह र अशान्ति हुन्छ । घृणाले प्रतिशोधलाई जन्म दिन्छ । प्रतिशोधले हिंसालाई जन्म दिन्छ । हिंसाले अराजकता र अव्यवस्थालाई जन्म दिन्छ । जब कि सद्भावले सहिष्णुता र सहिष्णुताले शान्तिलाई जन्म दिन्छ । अरुप्रति दुर्भाव राख्दै घृणात्मक आवेगको उग्र प्रदर्शन स्वतन्त्रताको सीमाभित्र पर्दैन ।

(घ) अभिव्यक्तिको स्वतन्त्रता विरुद्ध घृणात्मक आवेग : अन्तराष्ट्रिय तथा राष्ट्रिय कानुन अनुसार अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो भने घृणात्मक अभिव्यक्ति अपराध हो, मानवता विरुद्धको अपराध ।

(ङ) राष्ट्रिय स्वाभिमानविरुद्ध विखण्डनको अभियान : घृणात्मक अभिव्यक्तिबाट आर्जित सङ्गठन र अभियानको निहीत उद्देश्य विखण्डन रहेको प्रति सावधान रहनुपर्छ ।

(च) प्रवृत्ति एक आवरण अनेक : घृणात्मक अभिव्यक्ति मार्फत झुल्किएको र अभियानरत प्रवृत्तिका अतिरिक्त यही प्रवृत्तिलाई अवलम्बन गर्ने पात्रहरु अनेकौँ आवरणमा क्रियाशील देखिन्छन् । विशेषतः विभिन्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकार सङ्घ संस्था र सञ्चार माध्यममा यो प्रवृत्तिले गुँड लगाउन खोजेको छ । जसको लक्ष्य घृणात्मक अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता भन्नु र आत्मनिर्णयको अधिकारको अपव्याख्या गर्दै विखण्डनको अभियानलाई वैधता प्रदान गर्न खोज्नु रहेको देखिन्छ ।
राष्ट्रिय स्वाभिमानमाथि धावा बोल्ने, महिलाहरुको अस्मितामाथि प्रहार गर्नेे यो प्रवृत्तिको ऊर्जाको आधार घृणा रहेको प्रष्ट हुन्छ । त्यस्तो घृणालाई विभेदको उपज भन्दै न्यायोचित ठहर गर्न खोज्ने प्रवृत्तिले विभिन्न क्षेत्रमा गुँड लगाएर बसेको देखिन्छ । यस्ता पात्र र प्रवृत्तिको नियतबारे सबै क्षेत्र सजग हुनु आवश्यक छ ।

७. पत्रकार आचारसंहिता : नेपालको सन्दर्भमा प्रेस काउन्सीलले २०७३ कात्तिकमा पत्रकार आचारसंहिता जारी गरेको छ । नेपाल पत्रकार महासङ्घसहितको सहमतिमा जारी गरिएको उक्त आचारसंहिताको धारा ५ मा पत्रकार र सञ्चार माध्यमले देहाय अनुसार कार्य गर्नु हुँदैन भनी उल्लेख भएको प्रावधान यस प्रकार छः

१. सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्नेः पत्रकार तथा सञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय र स्वाधीनताविरुद्ध एवं विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रशारण र वितरण गर्नुहुँदैन ।

२. भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री उत्पादन, प्रकाशन, प्रशारण र वितरण गर्नुहुँदैन ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकूल कार्य गर्नुहुँदैन ।
(३) पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नुहुदैँन ।

(३) हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुनेः पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र विवरण गर्नुहुँदैन ।
पत्रकार आचारसंहिता २०७३ को उपरोक्त प्रावधानहरु अक्षरस पालना हुनु जरुरी छ ।

मानव अधिकार तथा शान्ति समाजबारे : मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाज एक गैरसरकारी, गैरराजनीतिक, लाभ निरपेक्ष स्वयंसेवी संस्था हो । २०५३ जेठ १९ गते स्थापित शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ । गत २० वर्षको अवधिमा समाजको सदस्यता लिनेको सङ्ख्या १० हजार नाघेको छ । २०६२÷२०६३ को जन आन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान गरेको शान्ति समाज मूलत अभियानमुखी संस्था हो ।

विगत १ दशकदेखि शान्ति समाजले जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान र २०७२ देखि राहत अभियान पनि सञ्चालन गर्दै आएको छ । कुनै पनि सरकार (स्वदेशी वा विदेशी), दातृ संस्था, फाउन्डेसन, दूतावास, अन्तरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, राजनीतिक दल, धार्मिक सङ्घ संस्था र सुर्तीजन्य उद्योगबाट शान्ति समाजले आर्थिक सहयोग लिँदैन । सदस्य र शुभ चिन्तकहरुको सहयोगबाट चल्ने शान्ति समाज उच्च पारदर्शी संस्था हो । जगतमुखी, जीवनमुखी र सेवामुखी उद्देश्य बोकेर शान्ति समाज अभियानरत छ । प्रेस स्वतन्त्रता मानव अधिकारको शाश्वत मूल्य र लोकतन्त्रको स्तम्भ हो । अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो । शान्ति समाजले स्थापना कालदेखि नै प्रेस स्वतन्त्रताका पक्षमा कार्य गर्दै आएको छ । प्रत्येक वर्ष प्रेस स्वतन्त्रता दिवस ३ मे का दिन शान्ति समाजले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

(मानव अधिकार तथा शान्ति समाजद्वारा २०७३ फागुन ६ गते काठमाडौँमा आयोजित प्रेस स्वतन्त्रता, सद्भाव र राष्ट्रिय स्वाभिमान विषयक गोष्ठीमा समाजका तर्फबाट संस्थापक सभापतिलगायत कृष्ण पहाडीले तयार गर्नुभएको अवधारणा पत्र)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल