यसरी भाँडिदैछ स्ववियु निर्वाचन

यसरी भाँडिदैछ स्ववियु निर्वाचन

तिलकराज भण्डारी, केन्द्रीय उपाध्यक्ष, अखिल (क्रान्तिकारी)

त्रिभुवन विश्वविद्यालयले गत माघ १५ गते सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार फागुन १ गते सबै क्याम्पसहरुमा मतदाता सूची प्रकाशित गरिसक्नुपर्ने हो । तर आजसम्म अधिकांश क्याम्पसमा निर्वाचन समिति नै गठन गरिएको छैन भने देशभरीका धेरै क्याम्पसहरुमा विभिन्न बाहाना र एजेन्डामा तालाबन्दी भइरहेको छ । उपर्युक्त परिस्थितिमा निर्धारित मितिमा स्ववियु निर्वाचन सम्पन्न हुने कुरामा केही आशङ्काहरु पैदा भइरहेका छन् भने त्रिवि प्रशासनका पदाधिकारीदेखि क्याम्पस प्रशासन होस् या त विद्यार्थी सङ्गठनहरुदेखि राजनीतिक दलहरुसम्म पनि स्ववियु निर्वाचन सम्पन्न गरेर जित्ने कि नगरेरै जित्ने भन्ने विषयको दाउपेच चलिरहेको छ । जसले गर्दा आम विद्यार्थीमा स्ववियु निर्वाचन हुने कुरामा शङ्का पैदा भइरहेको छ ।

स्ववियु निर्वाचन टार्ने त्रिवि प्रशासनको मनसाय ः विद्यार्थी सङ्गठनहरुको दबाबमा स्ववियु निर्वाचनको निम्ति तयार भएको त्रिवि प्रशासनले मिश्रित निर्वाचन प्रणाली, २८ वर्षीय उमेरहदसहित फागुन १४ गते नै स्ववियु निर्वाचन गर्ने तदारुकता देखाएको छैन । राजनीतिक दलका नेताहरु र विद्यार्थी नेताहरुको दोहोरो चलखेलमा त्रिवि पदाधिकारी लागिरहेको स्पष्ट नै छ । यद्यपि निर्वाचन रोक्ने स्पष्ट आधार र तर्क नपाउँदासम्म त्रिवि प्रशासन र पदाधिकारीहरु लतारिएकै छन् । त्रिवि प्रशासनको यो रवैयाका पछाडि राजनीतिक भागबन्डामा नियुक्ति खाएका त्रिवि प्रशासनका पदाधिकारीहरुले विद्यार्थी सङ्गठनहरु भन्दा पनि राजनीतिक दलहरुका नेताहरुको स्पष्ट म्यान्डेटविना स्ववियु निर्वाचनमा लाग्ने देखिँदैन । यसको स्पष्ट अर्थ हो, अहिले स्ववियु निर्वाचन गराउने भित्री मनसाय राजनीतिक दलहरुको समेत देखिँदैन ।

स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेका राजनीतिक दलहरु तत्काल स्ववियु निर्वाचनको विपक्षमा ः विद्यार्थी सङ्गठनका मातृ पार्टीहरु तत्काल स्ववियु निर्वाचनको विपक्षमा उभिनुका पछाडि मुख्यतः दुईवटा कारण विद्यमान छन् । पहिलो कारण ः राजनीतिक दलहरु सम्पूर्ण तागत र साधन–स्रोत आसन्न स्थानीय तहको निर्वाचनमा प्रयोग गर्न चाहन्छन् भने दोस्रो कारणः स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनहरुको बीचमा हुनसक्ने समीकरण र आफ्नो विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा प्राप्त गर्ने मत परिणामले स्थानीय निर्वाचनमा पार्नसक्ने सम्भावित नकारात्मक प्रभावबाट दलहरु डराएको देखिन्छ । तर यही कुरा त्रिवि प्रशासनका पदाधिकारीहरुलाई सङ्केत गर्न सक्ने राजनीतिक दलहरुले आफ्नै विद्यार्थी सङ्गठनलाई भने स्पष्ट रुपमा भन्न सकेको देखिँदैन ।

एजेन्डाको स्पष्ट विपक्षमा नेविसङ्घ ः समानुपातिक तथा मिश्रित निर्वाचन प्रणाली र २८ वर्षीय उमेर हदले नेविसङ्घमा सबैभन्दा ठूलो सङ्कट पैदा भएको देखिन्छ । अहिले स्ववियुमा उमेर हद लाग्यो भने नेविसङ्घको आउँदो महाधिवेशनमा पनि उमेरहद कार्यान्वयन हुन्छ भन्ने सन्त्रास पनि नेतृत्वपङ्क्तिमा देखिएकै छ । परिणाम स्वरुप आधिकारिक रुपमा स्ववियुमा जान्छौँ भन्ने तर विभिन्न गुट र समूहको नाममा क्याम्पसमा तालाबन्दी गर्दै जाने दोहोरो चरित्र नेविसङ्घको व्यवहारले प्रष्ट पारेको छ । नेविसङ्घको यो व्यवहारले स्ववियु भाँड्ने दाउपेचमा रहेको कुरा अब लुकाउन सकिँदैन ।

एजेन्डा कार्यन्वयनको पक्षमा क्रान्तिकारी ः यतिबेला स्ववियु निर्वाचनमा योजनाबद्ध लागेको एक मात्र विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) हो । उसले अधिकांश क्याम्पसहरुमा उम्मेदवार समेत उभ्याइसकेको अवस्था छ भने देशभरीका सबै क्याम्पसहरुमा सङ्गठनका नेता कार्यकर्ताहरुको ठोस कार्यविभाजनसहित निर्वाचनको तयारीमा लागेको देखिन्छ । अखिल (क्रान्तिकारी) आसन्न स्ववियु निर्वाचनमार्फत मिश्रित निर्वाचन प्रणाली, २८ वर्षीय उमेरहदसहित फागुन १४ गतेको मितिमा स्ववियु निर्वाचन सम्पन्न गरेर आफ्नो एजेन्डाको विजय गराउने पक्षमा छ । त्यति मात्रै होइन अखिल (क्रान्तिकारी) का लागि एकता र ध्रुवीकरणको प्रक्रियासम्म आइपुग्दा बलियो र व्यवस्थित बन्दै गइरहेको सङ्गठनलाई व्यवस्थित रुपमा परिचालन गरेर राम्रो परिणाम हात पार्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको छ । यसको अतिरिक्त वर्तमान सरकारले गरेका जनपक्षीय कामले युवाविद्यार्थीहरुमा पारेको सकारात्मक प्रभावलाई पनि क्रान्तिकारीले सङ्गठित गर्न चाहान्छ । अन्य विद्यार्थी सङ्गठन जस्तै अखिल (क्रान्तिकारी) लाई आसन्न स्ववियु निर्वाचनको मत परिणामको ठूलो दबाब छैन । गत संविधान सभाको निर्वाचनमा तेस्रो भएको मातृ पार्टी आफ्नो एजेन्डा र संविधान कार्यन्वयको कार्यभारसहित सरकारको नेतृत्वमा छ । आफूले पनि स्ववियु निर्वाचनको नयाँ एजेन्डा कार्यन्वयन गरेर स्ववियु बचाउनुपर्छ भन्ने पक्षमा क्रान्तिकारी देखिन्छ । जनयुद्ध र क्रान्तिको पृष्ठभूमिबाट आएको अखिल (क्रान्तिकारी) बाह्य मोर्चामा होस् या सङ्गठन भित्र होस् नयाँ विधि र प्रणालीसहित सङ्गठनलाई निर्वाचनमार्फत व्यवस्थित गर्ने योजनाबद्ध परिचालनको पक्षमा उभिएको छ ।

अपजसबाट बच्ने पक्षमा अनेरास्ववियु ः खासमा सत्ता साझेदार विद्यार्थी सङ्गठनहरुको बीचमा चुनावी समीकरण बन्यो भने देशभरीबाट बढारिने सन्त्रासमा रहेको अनेरास्ववियु यतिबेला अरुलाई लडाएर आफू फाइदा लिने पुरानै चरित्रमा अडिग छ । नेविसङ्घ र विप्लवले लगाएको ताला फोड्न अखिल (क्रान्तिकारी) लाई उत्तेजित पार्ने र अन्तरविरोध सृजना गर्ने तथा निर्वाचन सार्न सहयोग गर्नुपर्यो भनेर विभिन्न शक्तिकेन्द्र चार्दै हिँड्ने अनेरास्ववियुले अखिल (क्रान्तिकारी) र नेविसङ्घ तथा अखिल (क्रान्तिकारी) र विप्लव निकट रहेको अखिल (क्रान्तिकारी) लाई लडाएर अरुलाई कमजोर पारेर मात्रै स्ववियुमा जाने नत्र स्ववियु स्थगनको अपजसबाट बचेर स्ववियु भाँड्ने योजनामा रहेको स्पष्ट देखिन्छ ।

अस्तित्व रक्षाका पक्षमा साना विद्यार्थी सङ्गठनहरु ः स्ववियु निर्वाचन सम्पन्न हुँदा देशभरीमा केही प्रतिनिधहरु मात्रै जित्ने वा अस्तित्व नै हराउने सन्त्रासमा रहेका साना विद्यार्थीहरु सङ्गठनहरु विभिन्न एजेन्डा र बहानामा स्ववियु निर्वाचन स्थगित गरेर आफ्नो अस्तित्व कायम गर्न चाहन्छन् । जसका लागि तालाबन्दी, डर, धम्कीलगायतका क्रियाकलापहरु सिर्जना गरिरहेको देखिन्छ ।

माथि उल्लेखित सन्दर्भहरुले निर्वाचन सम्पन्न गरेर जित्ने कि नगरेरै जित्ने भन्ने दाउपेचको चक्रव्यूहमा स्ववियु निर्वाचन फसेको देखिन्छ । स्ववियु निर्वाचनमा सम्पूर्ण शक्ति र साधन–स्रोत प्रयोग गर्दा होस् या त स्ववियुको नकारात्मक मत परिणामले स्थानीय निर्वाचनलाई नकारात्मक प्रभाव पार्नसक्ने कुराबाट प्रभावित राजनीतिक दलहरुले के कुरा बुझ्न जरुरी छ भने युवा विद्यार्थीहरुले राजनीतिक अभ्यास गर्ने स्ववियु निर्वाचनबाट भागेर न त तपाईंहरुको पार्टीमा युवा कार्यकताहरुको भर्ती हुने सम्भावना रहन्छ न त तपाईंहरुले ताकेको स्थानीय तहलगायतका अन्य निर्वाचनामा अभ्यस्त भएका प्रचारकहरु नै भेटिने स्थिति रहन्छ । यो दुरदृष्टि राजनीतिक दलका नेताहरुका पैदा हुन जरुरी छ । अर्काेतर्फ साना ठूला सबै विद्यार्थी सङ्गठनहरु आआफ्ना एजेन्डासहित निर्वाचनमा होमिने समयमा कर्तव्यविमुख हुनुले हामी वास्तविक र नियमित विद्यार्थीका नेता हौँ भन्नेमा प्रश्नचिन्ह खडा भएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल