टोपबहादुर रायमाझीको राष्ट्रवाद !

टोपबहादुर रायमाझीको राष्ट्रवाद !

प्रा.डा. बद्रीविशाल पोखरेल

ने.क.पा. माओवादी केन्द्रका वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको राष्ट्रवादी चरित्र चर्चाको शिखरमा रहेको छ । यस लेखकले विगतदेखि हालसम्म पनि माओवादी नामको पार्टीले लिएका नीति, नियत, चरित्र र चिन्तनलाई आलोचनात्मक कोणबाट मात्र चर्चा गरिरहेकामा राष्ट्रवादी छविका कारण रायमाझी यसबेला आदर र कदरका पात्र रहेका छन् । यो छवि पछिसम्म रहिरहोस् भन्ने लेखकको कामना छ । यत्तिखेर नेपाल नेपाली जनतालाई भारतीय शासकसामु प्रधानमन्त्रीका नाताले लम्पसारवादमा परिणत गर्ने आफ्नै पार्टीका अध्यक्ष कमरेड प्रचण्डविरुद्ध टोपबहादुर रायमाझी प्रगतिशील राष्ट्रवादको झण्डा लहराउँदै मैदानमा खडा भएका छन् ।

कम्युनिस्ट आन्दोलन अवरसारवाद र उग्रवादका कारण अवसानमा पुगेको देखिन्छ । विशेषतः कम्युनिस्ट पार्टीमा केन्द्रीयताका नाममा एकल वा द्विनेताको अधिनायकत्व, निरङ्कुशताका कारण पार्टीहरु आखिरमा विसर्जनमा पुग्छन् । कर, बल र छलका भरको पार्टी जीवन दरिलो र दीर्घजीवी हुँदैन । वैचारिक द्वन्द्व, छलफल, बहस, अन्तक्रिया र वादविवाद, अध्ययन र चिन्तनले मात्र कुनै पनि कार्यकर्ता र नेताले सुनिश्चित तथा दीर्घकालीन दिशा र दर्शन पाउन सक्छ । सामाजिक परिवर्तनमा शस्त्र बललाई शीर्ष स्थानमा राख्दा पार्टीमा अतिवाद, आतङ्कवादले प्रश्रय पाउँछ र समय क्रममा यसले सर्वोपरि स्थान लिन्छ । यही उग्रवादीे स्टालिन क्रूरताले होनहार अग्रज र अनुभवी कम्युनिस्ट नेताहरुको एक चिहान भएको थियो । पार्टीभित्रै भिन्न राय, विचार र दृष्टिकोण राख्दा जीवन नै लिलाम हुने अवस्थाले नै उग्रवादको अवसान हुन्छ र भएको छ ।

वैचारिक द्वन्द्वले मात्र निखार ल्याउँछ । मोही नपारी नौनी निस्कँदैन । पेरुभियाली, गोन्जालो, भारतीय नक्सलावादी लगायत विश्वका जुनसुकै कम्युनिस्ट नामका अतिवादी, उग्रवादी, दुस्साहसवादी आन्दोलन समाप्तिकै चरणमा पुगे, पुग्ने छन् । यस खालको दृश्य चित्र आफ्नै आँखाले देख्ने र भोग्नेहरु किन यही दिशामा उचालिन्छन् र सिधासाधा जनताका नौजवान सन्ततिलाई भड्खालमा हाल्न उद्यत भएका हुन् ? कम्युनिस्ट आन्दोलनलाई कम्युनिस्ट नामधारी पार्टी र तिनका नेताले कम्युनिस्टलाई गुमनाम र बदनाम गरे गराएको यथार्थ नेपाल नै भएको छ । १७ हजार नेपाली सन्ततिको चिहान खनेर आफूलाई एकताका वरिष्ठ बौद्धिक कम्युनिस्ट नेता भन्न रुचाउने डा. बाबुराम भट्टराईले चरम अवसरवादी चरित्र उदाङ्गो मात्र भएन उनको बौद्धिक टाटपल्टाइ प्रत्यक्ष भयो ।

उनी वर्णसंकर पार्टी खोलेर राजनीतिक हिप्नोटिजमको नयाँ नौटङ्की गरेर जनताका बीच भ्रम छर्न उद्यत देखिएका छन् । सचेत जनसमुदायले बाबुरामको नोटङ्कीमा तुसारपात गर्ने छन् । ओलीको राष्ट्रवादलाई खोक्रो र सामन्ती भन्नेहरु लम्पसारवाद र चाटुकारमा परिणत भएका छन् । आफ्नो देशको अखण्डता, स्वाधीनता, स्वअस्तित्व, सार्वभौमसत्ता र स्वतन्त्र निर्णय गर्ने क्षमतामाथि परायाले धावा बोल्दा पनि चुप लाग्नु भरिलो राष्ट्रवाद हो ? के यही हो लोकतान्त्रिक राष्ट्रियता ? एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र नेपाललाई नेपालस्थित भारतीय राजदूतलाई समकक्ष र समान स्तरमा राख्नु कुन राष्ट्रवाद हो ? नेपालका सबै राष्ट्रवादी शक्तिहरु प्रगतिशील राष्ट्रवादका दिशामा एकताबद्ध हुन थालेका छन् । एकाध आयातीत मधेसी नामका नेपालीले तराईमधेसका आम रैथाने जनताकाविरुद्ध मधेस र मधेसीका नाममा गर्न खोजेको निकृष्ट राजनीति पनि उदाङ्गो भएको छ ।

नेपालले भारतीय आन्तरिक विषयमा केही र कुनै पनि आदेश, निर्देश र अनावश्यक चासोसम्म पनि राखेको छैन र राख्ने पनि छैन तर नेपालको संविधान निर्माण गर्नै नदिने, निर्माण भए संसद्बाट पारित गर्नै नदिने र अनि पारित भए त्यसलाई लागू गर्नै नदिने भारतीय शासकको दुर्नियतविरुद्ध बोल्नु राष्ट्रघात हो ? अनि यसका लागि केही कथित मधेसी नेपाली नेताहरुलाई अनेक दाउपेच, दरदाममा नेपाललाई अस्थिर बनाउन खोजेकामा मौन साधना गर्नु बाबुरामको र प्रचण्डको राष्ट्रवाद होला तर ओली र रायमाझी र चन्द्र भण्डारीहरु यस्ता भारतीय शासकको भरिया बन्ने कुरा किमार्थ स्वीकार गर्दैनन् । एमाले नेता कमरेड सुरेन्द्र पाण्डेले केही दिनअघि हार्दिक होटेल, काठमाडौँमा भित्रभित्र भारतीय सहयोग लिने अनि बाहिरबाहिर भारतीय शासक विरोधी राष्ट्रवादी भावना उराल्ने आदि जस्ता परोक्ष रुपमा ओली लक्षित बतासे कुरा पनि गर्न भ्याएछन् । तर त्यस्ता प्रवृत्तिलाई लक्षित गरी ओलीले छिमेकी देशहरुका बीच सहयोग आदान प्रदान हुन्छ र हुनुपर्छ । यो भरैभरको दुनियाँमा एकअर्काको सरसहयोग जरुरी मात्र होइन, कतिपय अवस्थामा यस्तो सहयोग अपरिहार्य पनि हुन्छ तर कुनै छिमेकी व्यक्ति र देशले अर्को छिमेकीलाई सहयोग गर्यो भनेर घरपरिवार पनि उसैलाई नै जिम्मा लगाउन सकिन्न भनेर ओलीले मुखभरीको जवाफ दिएका थिए ।

युद्धकालीन माक्र्सवादी युगमा उपयोग गरिएको स्कुलिङ अहिलेका एमाले लगायत पार्टीमा पनि देखिन्छ भने माओवादीमा यस्तो रोग हैजासरी रहेको पाइन्छ । जनवादी केन्द्रीयता भन्दै केन्द्रीयताका नाममा नोकरशाही कठोर नियन्त्रित शैलीले आम कार्यकर्ता र नेतालाई रोबट बनाउँछ । यस्तो हुनजाँदा त्यही रोबट एक दिन प्रमुख नेतृत्वको शिरमा बज्रिन पनि पुग्छ । पार्टी भनेको मन्दिर अनि नेता भनेको द्यौता भन्ने खालको चिन्तनले कुनै पनि पार्टी धेरै दिन टिक्तैन । यसैले जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्नुभएको छ तर पनि यसलाई पुरातनपन्थी चरित्र र चिन्तनका कारण अझै ओझेल परेको पाइन्छ तर माओवादी केन्द्रमा रायमाझीले आलोचनात्मक, द्वन्द्ववादी तथा आन्दोलनको रक्षार्थ अहिले महत्वपूर्ण मात्रै होइन विशिष्ट भूमिका निर्वाह गरिरहेका छन् ।

अहिलेको देश र मधेस विखण्डनको डिलमा रहेको र इतिहासको सबैभन्दा सङ्गीन र सङ्कटापन्न अवस्थामा रायमाझीले राष्ट्रवादलाई व्यवहारतः शीर्ष र सर्वाेपरि स्थान, मान र सम्मान दिएर लागिपरेका छन् । यो नै उनको उन्नत व्यक्तित्वको उदात्त राष्ट्रिय चेत, चिन्तन र व्यवहारको अनुकरणीय पक्ष हो । हुन पनि पार्टीको साख जोगाउने अभिभाराको चुरो नेता र कार्यकर्ताले नै हो । माओवादी नामका पार्टीका चरम अवसरवादी खोक्रा,बोक्रा र छोक्राले पार्टीलाई किमार्थ जोगाउन सक्तैनन् । सबै पार्टीमा असल तत्व भएझैँ माओवादी केन्द्रमा जीवन तत्व छ र रहन्छ । पार्टीको गतिशील जीवनका लागि यसको अपरिहार्य महत्व हुन्छ । रायमाझीजस्ता त्यस पार्टीमा रहेका नेता र कार्यकर्ताले यस पार्टीलाई समग्र रुपमा परिमार्जन, परिष्कार, प्रवर्धन गर्दै समृद्ध पार्नु जरुरी देखिन्छ । यस पार्टीलाई माओवादी पुष्टि गर्ने सिद्धान्त, नीति, कार्यनीति, कार्यदिशा, कार्यक्रम, सङ्गठन कहाँ छ ? सैद्धान्तिक दृष्टिले कुहिराको काग भएर गन्तव्य फेला पार्न सकिन्न । त्यसैले अब रायमाझी कमरेडलगायत माओवादी केन्द्रका प्रकट, अप्रकट, दृश्य, अदृश्य, गुप्त र खुल्ला रुपमा रहेका राष्ट्रवादी, सैद्धान्तिक वैचारिक नेता र कार्यकर्ताहरु नयाँ सिराबाट एकढिक्का हुन अतिजरुरी देखिन्छ । अदृश्य रुपमा रहेर, मौन रुपमा रहेर पनि कतिपय नेतृत्वले पार्टीलाई सकारात्मक दिशा र दृष्टि दिएका हुन्छन् ।

बाहिरबाट मुटु देखिँदैन तर यसले नै जीवनलाई सञ्चालित गरिरहेको हुन्छ । कमरेड प्रचण्डको पार्टी नेतृत्वले देशलाई धरापतिर धकेलेको देखिन्छ । अहिले त्यसको अन्तिम खेलमा उनी लागि रहेका छन् । लाग्छ उनी पार्टीलाई आसन्न अवसानतिर घिसार्दै छन् । पार्टीका प्राणदायी व्यक्ति, शक्ति र प्रतिभाले यस्तो अकृत्य कुनै पनि हालतमा हुन दिने छैनन् । जीवन तत्वका अगाडि मरणशील तत्वको अवसान अवश्यम्भावी हुन्छ । तर जीवन तत्व निक्रिय हुनुहँुदैन । कतिपय नेताहरु मुखर हुन सकिरहेका छैनन् तर अब मौन साधना गरेर बस्ने बेला छैन । बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ । मुलुक जोगाउन र प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी पार्टी आवश्यक छ र माओवादी केन्द्र नामको पार्टीको देश, जनता र जनजीविका पक्षधर शक्ति र सौर्यको अगुवाइ अनिवार्य आवश्यक छ । तर ती पार्टीमा पनि पार्टीगत लबीका नाममा अमुक नेताको दौराको फेर समातेर नितान्त निजी निहित स्वार्र्थी नेता पनि देखिन्छन् । देश रहे पार्टी रहन्छ र पार्टी रहे पार्टीभित्रको गुट पनि बाँच्छ भन्ने भेउ पाएर पनि तथ्य र सत्य नबोल्ने बाचाल, बौद्धिक तथा चतुर नेताले पार्टी जोगाउन किमार्थ सक्तैनन् ।

क्षयरोग पालेर दीर्घायु भइन्न । एमाले वा ओलीको नकारात्मक रिस र डाह गरेर मात्र हुँदैन । रिस खा आफू, खालका मतीले उल्टो आफैँलाई नोक्सान गर्छ । आफ्नै पार्टी इतिहासका विगत, वर्तमान बिर्सिएर बर्बराउनु बेकार छ । राजनीतिक इतिहासमा तीतो सत्य बोल्नेहरुले मात्र पार्टी, सिद्धान्त, प्रणाली र पद्धतिको जगेर्ना गरेका छन् । अहिलेको परिस्थितिमा रायमाझी प्रगतिशील राष्ट्रवादी भावनालाई व्यावहारिक रुप दिन प्रतिबद्ध देखिन्छन् । उनीे सिङ्गो पार्टीको राष्ट्रवादी छवि जोगाउन लागिपरेका छन् । उनी संविधान संशोधनका विषयमा मतदान गर्नु पर्यो भने पार्टीको ह्विपलाई भन्दा अखण्ड नेपाल आमालाई स्मरण गर्न चाहन्छन् । यसको अर्थ उनले दीर्घकालमा राष्ट्रघात गर्ने खालका संसदीय गतिविधिमा नलाग्ने प्रण गरेका छन् । रामाझी दीर्घकालमा तराई मधेसलाई विखण्डन गर्ने नियतले ल्याएको पाँच नम्बर प्रदेश विभाजनका विपक्षमा उनी दृढताका साथ उभिने दृढ मनस्थितिमा रहेका छन् । देश र जनता नै कुनै पनि मुलुकको सर्वोपरि महत्वको विषय हो । देशको स्वाधीनता र अखण्डता कुनै पनि पार्टी, विचार, धर्म र जातिभन्दा पनि माथि हुन्छ र हुनुपर्छ ।

यहाँ त सिके राउत जस्ता धन्धुकारीहरु नेपाल आमालाई खुल्लमखुल्ला बाइफाले भन्छन् । देशमा जातीय र साम्प्रदायिक सद्भाव भड्काउन प्रयत्नरत छन् । तिनका पक्षमा सिके लाल जस्ता लेन्डुप लेखकहरु लम्पसारको लस्करका एक अगुवा हुन् । केही मधेसीहरु मधेसलाई पहाडबाट छुट्याउन र देशलाई विखण्डित गर्न उद्यत छन् भने त्यस बापत राउतलाई राज्यले पक्राउ गरी कारबाही गर्न खोज्दा मानव अधिकार सङ्गठन नामका अध्यक्ष ईन्द्रप्रसाद अर्याल जस्ता कूपुत्र राउतको समर्थनमा लज्जास्पद विज्ञप्ति जारी गर्छन् । मुलुकका प्रधानमन्त्री र गृहमन्त्री राउतप्रति नाटकीय व्यवहार गर्छन् । भारतीय सत्ताधारी दलबाट नेपालीहरुलाई आपसमा फुटाउ र शासन गरको नीति अख्तियार गरेको कुरा पटकपटक स्पष्ट भइसकेको छ । रायमाझी जस्ता नेताले नेपाललाई भारतीय शासकले कसरी मुट्ठीको माखो बनाउन खोजेको थियो भन्ने कुरा राम्ररी थाहा पाएका छन् । ब्रिटिस उपनिवेशकालीन विरासत आत्मसात गरेको अहिलेसम्मको भारतीय प्रमुख पार्टी र त्यहाँको शासक नेपालप्रति गिद्धे दृष्टि लगाइरहेको यथार्थ ओलीको प्रधानमन्त्रित्वका बेला खुलस्त भएको छ । यस अवस्थामा पार्टीगत सिद्धान्तलाई भन्दा राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर हिमाल, पहाड र तराई मधेसका सबै राष्ट्रवादी शक्ति र समूह मुखर हुन र एक ढिक्का हुन जरुरी देखिन्छ । यसका लागि रायमाझीले आफ्नो पार्टीभित्र केन्द्रीय र शीर्ष भूमिका निर्वाह गरेका छन्, त्यसैले विचारमा असहमति हुँदाहुँदै

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल