नाम मे क्या नहिं रक्खा हे

नाम मे क्या नहिं रक्खा हे

अरुण ठकुरी

सामाजिक सञ्जालमा एउटा ट्विट भाईरल नहुँदै शहीद भयो, हालसालै । बिरगञ्जमा एउटा नवजात शिशु चोरी प्रकरण । शिशु चोरी गर्ने महिलाको नाम लालसा देवी, शिशुलाई जन्मदिने आमाको नाम थियो, आशा देवी । ट्विटेले लेखे– नाम में क्या नहिं रखा हे ?

फरक प्रसंग । बसन्तले सँधैझैं विचार र साहित्यको अप्रतिम फ्यूजन गर्दे कोरे – ‘कोक्किएको परिवेशमा बुढानीलकण्ठ जागेको छ ।’ कागले कान टिपेको हल्लामा कागका पछि कुद्ने जमातले बुझेर भ्याउने कुरो थिएन, बुढानीलकण्ठको जागरण । हरेक कुरालाई सन् सत्तरीको दशकको हिन्दी सिनेमाको कथानकसंग दाँज्न पल्केको उक्त जमातबाट बुढानीलकण्ठमाथि क्षेत्रीयताको लेबल टाँस गर्ने प्रयास हुनु न त अस्वावाभिक नै थियो न अभूतपूर्व नै ।

पश्चिमतिर धारेहात लगाएर गल्याउने पधेर्नीको बानी गोडा एक प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रले जाने कुरा थिँदै थिएन । राज्यको सदाबहार विभेदका बावजुद सच्चा नेपाली भएर आफ्नो भाषा, संस्कृति र भूगोलप्रति गर्व गर्दे आएको सुदूरले मुलुकलाई अखण्डको संजीवनी दिएकै हो । तर जात–भात, बोली, पहिरन र बेसी वा टारीखेतको अंशियारीमा डुक्रिएर टुक्रिन खोज्नेलाई सुदूरपश्चिम बढ्ता भएको लाग्नुनै थियो ।

सम्बत ३० को शुरुवात तिर कतै छापिएको थियो– यदि नेपालमा पृथक राज्यको माँग गरियो भने त्यो सुदूरपश्चिमबाट गरिनेछ । चर्चित पत्रकार पदम ठकुराठी यसको पुष्टि गर्लान् । ठकुराठीले विभेद देखे । सुदूरपश्चिमसम्म राज्यको सम्बन्धका बारेमा आँकलन गरे र शैद्धान्तिक आधारमा विश्लेषण गर्दे लेखे, सुदूरपश्चिम टुक्रिने कुरो । तर, तिनले के देख्न सकेनन् भने सिंहदरबारको विभेदलाई सुदूरका जनताले आफ्नो पुर्पुरोको नियति ठान्छन् । राजधानीका खाल्टा पुर्ने बजेट भन्दा कम रकममा ९ वटा जिल्लाले १ वर्षको खर्च धान्नुपर्ने बाध्यतामा बाँच्दै आएको सुदूरपश्चिम संयमितनै छ, अझैपनि । सुदूर भन्छ –सक्छौ विभेद नगर, सक्दैनौें सुदूरको संयमलाई चुनौती दिने काम नगर । तर, सुदूरपश्चिमले १ थान आईजीपीको आकांक्षा राख्दा केही अजासुप (असाध्यै जान्ने सुन्ने पल्टिने)हरुलाई पाच्य भएन । आफुले आकाश धानेको ठान्नेहरुलाई आफु स्वतः हुट्टिट्याउँको जुनिमा पुगेको हेक्कै भएन । हुट्टिट्याउँले आकाश धान्न खोजेको उइलै देखिनै होईन र ?

बुढानीलकण्ठ त्यसै जागेको हो र ? पुग नपुग २९ वर्ष सम्म मुलुकमा शान्ति सुरक्षा र अमन–चैन कायम गर्दे प्रहरी जर्णेल बन्न पुगेका अधिकारीहरु बीच लायक र नालायकको कित्ताकाट गर्ने हैसियत र ल्याकत आफुसंग छ कि छैन भन्ने आँकलनसम्म गर्देन राजधानीजीवी जमात । बरिष्ठ र कनिष्ठको झुसिलो डकार निकाल्दै आफ्नो तुष्टिको रक्षा गर्न चाहने यो जमात वर्तमान सरकार समक्ष परम्परा, गरिमा र सदाचारको पाठ वाचन त गर्छ । तर, बिर्सन्छ कि बर्तमान सरकारको नेतृत्व नै तेश्रो वरियताक्रममा विजयी भएको दलको प्रमुखको हातमा छ ।

सुदूरपश्चिमले पनि राजधानीजीवी जमातको अनुशरण गर्दे आईजीपी प्रकरणलाई अधिकारको मुद्दासंग जोडेर सडक प्रदर्शन गर्नुपर्ने नै थियो त ? सिंगो सुदूरले आफ्नो संयम गुमायो भने त्यसलाई धान्न सक्ने हैसियत र ल्याकत राजधानीजीवी जमातसंग छ ? सुदूरपश्चिमको अभाव र विपन्नतालाई हरिया नोटसंग साट्न पल्केको राजधानीजीवी जमातले बुढानीलकण्ठ जागेकामा विस्मात मान्नु अस्वावाभिक होईन । बिजुलीअड्डाका कुलमानको तारिफ गर्न नथाक्नेहरु किन आईजीपीमा वरिष्ठता कनिष्ठताको रडाको मच्चाई रहेका छन् भन्ने प्रश्नको जवाफ यसै परिच्छेदमा छ ।

बसन्तले भने ‘एउटा कालो कुहिनोले सपाट–सग्लो र सफेद पहाड फोर्न गरेको दुःस्साहसको चर्चा छ यतिखेर । अजंंगको वटवृक्षभित्र एउटा पातको फुर–फुर धेरै देखिएको थियो । चर्को र कर्कष साईरनको दौडधुपमा हिँड्दा उसले विर्षिएको थियो आफ्नो औकात र आयतन् ।’ विचित्र लाग्छ मान्छेले धर्म र धरातल बिर्सिएको देख्दा । भुजा–पकोडा खास्ता र कचौरीको संघर्ष भुलेर मान्छेहरु किन सत्ता–सेकुवासंग मात्रै चियर्स गर्छन् । प्रश्न नउठाउन मन मान्दै मान्दैन । बुढानीलकण्ठ जागेपछि पातहरुको फुर–फुर सेलाएको छ ।

तर, झारमा मिसिएर आफ्नो पहिचान गुमाई झारपातको औतार बनेकाहरु अझैपनि न्वरानदेखिको बल गरीनै रहेका छन् । र, एउटा सामान्य प्रतिस्पर्धा धेरैकालागि प्रतिष्ठाको विषय बनेको छ, यतिखेर । उहिले घाम अस्ताएछि प्रतिद्वन्द्वीका शिविरमा गएर सञ्चो बिसञ्चो सोध्ने गरिन्थ्यो । तर, यतिखेर निर्धारित समय घर्किसके पछि उपल्लो आदेशमा अनैतिक चलखेल शुरुहुन्छ । रातको निष्पट्ट अँध्यारोमा पदीय मर्यादालाई धोती भिराएर बैठक गरिन्छ । आशाका संवाहक दलालको परिधान धारण गरेका देखिन्छन् । अनि कतैबाट पनि न्यायोचित ठहर गर्न नसकिने कर्तुतलाई जबरजस्ती सही ठहर गर्ने षड्यन्त्रको सूत्रपात हुन्छ । अपराध प्रमाणित हुनकालागि दायाँ वा बायाँको ठहर हुनुपर्ने देश भएको छ नेपाल । भोजबहादुरहरुको निमेक खोसिने त्रासमा चुलिएको कोरस क्रन्दन भन्दा किमार्थ फरक देखिँदैन राजधानीजीवीको रोदन । के एउटा प्रहरी प्रमुखको चयनको विषयबारे सामाजिक सञ्जालको जञ्जाल बनाईनु जरुरी थियो ? किन एउटा सामान्य विषयलाई असामान्य तरिकाले अभ्यास गर्न खोजिँदैछ संवैधानिक निकायहरुमा ? किन एउटा नियमित प्रक्रियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको चासोको विषय बनाउन खोजिँदैछ ? किन गल्दैछन् संविधानका रक्षकहरु ? के यो निर्धो सुदूरपश्चिमसंग जोडिएको विषय भएकोले हो ?

धेरैको सातो बोलाउन कटवाल कराउनु पर्ने भएको छ, बुढानीलकण्ठ जागेपछि । लुकीछिपी चोरबाटो छिचोल्दै पार्टीको लेबी तिर्न जाने हनुमानहरुलाई गोर्खेलौरी ठोक्नुपर्छ भनी बुढानीलकण्ठले पाँैठेजोरी खोजेकै हो । मीटरब्याजले ह्वास्स गन्हाई रहेको राजधानीलाई सफागर्न बुढानीलकण्ठ सरेकै हो । यो फगत १९÷२० को आँकडामा राजनीतिक सहमतिले निक्यौल गर्न नसकेको विषय हो वा यसका अरुपनि निहितार्थ छन् ? भावी प्रहरी नेतृत्वलाई लिएर सरकारको समीकरणमा पर्ने प्रभावबारे बुढानीलकण्ठको जागरणलाई क्षेत्रीयताको मुद्दासंग जोड्नेहरुको बबुरोपन टीठलाग्दो छ । सत्ता र शक्तिका माथिल्ला चुचुराहरुमा के, किन र के–कालागि भईरहेको छ भन्ने कुरा भँईसम्म झर्ला वा नझर्ला त्यो प्रतीक्षाको विषय होला ।

तर, सत्यलाई अस्वीकार गर्दे विभिन्न समाजिक सञ्जाल, पत्र पत्रिका तथा सञ्भार माध्यम मार्फत सुदूरको नूर गिराउने गरी जुन किसिमको दुश्प्रचार, आक्षेप र आलोचनाको नियोजित खहरे ल्याउन खोजिएको छ यदि त्यसमा सत्यलाई बगाउन सकियो भने अन्याय र अपराधको रकमी खेलोफड्को गरी भोज गर्न चाहने भोजबहादुर हरुको लालसा थलापर्ने निश्चित छ । बुढानीलकण्ठमा शेर गर्जिएपछि सुदुरको जयलाई रोक्न खोज्नु व्यर्थ हुनेछ । ‘नाम मे क्या नहिं रक्खा हे’– भन्नेले त्यसै भनेका होईनन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल