मृत्यु संस्कार अवधिको बहस

-  |   डमरू पौडेल

मृत्यु संस्कार अवधिको बहस

संस्कार परिवर्तन हुनुभन्दा पहिला बहस हुनु स्वभाविक छ । तर बहस कति सार्थक र स्वभाविक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले हाम्रो समाजमा मृत्यु संस्कारको बहस केही सङ्कोच मान्दै भए पनि चलिरहेको छ ।

हिन्दू संस्कारमा गर्भाधानदेखि मृत्युसम्ममा जम्मा १६ संस्कार छन् । १५ संस्कार जसले जसरी गरोस्, कसैलाई मतलब छैन । धेरैजसोलाई त थाहा पनि छैन । तर जब मृत्यु संस्कारको कुरा उठ्छ, सबै कुरा जाने बुझेझैं परापूर्व कालदेखि चलिआएको परम्परा, आफ्नो संस्कृतिको रक्षा गर्नुपर्छ भन्दै कतिपय मानिसहरू आक्रामक भएर गाली बेइजतिको भाषामा देखा पर्छन् ।

१३ दिनको क्रिया बढी लामो भयो । अब ३ दिन, ५ दिन, ७ दिन कति दिनमा घटाउँदा राम्रो होला ? बहस, छलफल गरेर छोट्याऊँ भन्न खोज्दा धर्मै नष्ट हुनलाग्यो । बिजातीयहरूले ल्याएको बहस हो । हाम्रो संस्कृतिमाथि, हाम्रो सामाजिक परम्परामाथि सुधारका नाममा आक्रमण हो भन्ने हौवा चलाइन्छ ।

हिन्दू धर्मका नाममा, चलन र परम्पराका नाममा, संस्कृति र संस्कारका नाममा हामीले बहस गर्दा गालीगलौजका भाषामा नगरौँ, पहिले आफू र आफ्नो परिवार, समाजपट्टि फर्केर हेरौं । के–के मान्दै आएका छौँ र के–के छाड्दै आयौँ । दशैं तिहार नमान्दा कसैको टाउको दुखेन । विवाहामा जातीय विजातीय भाँडभैलो हुँदा कसैको टाउको दुखेन । जातपात केही होइन भन्दै तोड्दै हिँड्ने, फेरि त्यही बाहुन पढाएर जोखिने (?) काम गर्दा कसैलाई लाज छैन । धर्म, संस्कृति र परम्परामाथि कथित राजनीतिक दलहरूले जति आक्रमण र विनास अरू कसैले गरेको छैन । यसबारेमा कोही केही नबोल्ने । अनि धार्मिक सुधारका लागि एउटा बहस छेड्दा धर्मको आकासै खस्न लाग्यो भनेर आत्तिने किन ?

मृत्यु संस्कारमा १३ दिन मात्र घटाउने हो कि अन्य कर्म र प्रक्रिया पनि घटाउने हो । पहिलो दिन घाटमा गरेको कर्मपछि १० दिनसम्म यसै व्रत जस्तो बसिन्छ । अब ११, १२, १३ दिनका कर्मकाण्ड र दानको नाममा गरिने कार्यहरूको बारेमा अहिलेसम्मका बहसहरू मौन छन् । मरेको जीवले माथि (?) पाउँछ भन्ने बहानामा अनेक नगद जिन्सी सामानहरूको चलखेल हुन्छ । हुनेखाने र नहुने सबैका लागि मृत्यु समान हो । काम लगाएपछि ज्याला दिनुपर्छ । श्रमको मूल्य सबैको हुन्छ । तर भोजको नाममा, दानको नाममा शोकमा परेको घर फेरि लुटिन्छ । कथा पनि त्यस्तै सुनाइन्छ, दान गरे उद्धार हुने, नत्र नहुने । यदि जीव तर्छ नै भने पनि आफ्नो कर्म, आफ्नो धर्म, आफ्नो पुण्यले पो तर्ने हो त । मृत्युशोकमा डुबेका बेला आँट, ढाडस, सल्लाहा, साहारा दिनुपर्नेमा उल्टै डर, त्रास देखाएर झन् काँतर बनाइन्छ । पौराणिक कथा, कविता नै सुन्नु छ भने अब गीता, उपनिषद, रामायण, माहाभारतका भगवानका गाथाहरू सुनौँ । नत्र सरसहयोग गरेर भजन कीर्तन गरेर, ध्यान गरेर, आत्मा परमात्माका बारेमा पढेर पढाएर, जीवन र जगतका बारेमा ज्ञान, प्रवचन दिएर शोकमा डुबेको परिवारको मानसिक उद्धार गरौँ ।

आजको व्यस्त समाज र संसारमा अनेक पेसा र व्यवसायमा भएका व्यक्ति, रोजगारी गरी कमाएर परिवार पाल्नुपर्ने व्यक्तिलाई १३, १४ दिनसम्म सपरिवार थुनिनुपर्दाको समस्या र पीडा अब समाजले बुझ्नै पर्छ । नत्र धर्म र संस्कारको नाममा कथा मात्र बाँकी रहन सक्छ ।
परम्पराका कुरा गर्दा १, २, ३ गनेर भन्ने हो भने पनि २०औं ३०औं परम्परा, चालचलन र संस्कार छोड्दै, त्याग्दै आएका छौँ । भयो के त ? गर्न नहुने पनि गर्यौं, गर्न हुने पनि गरेनौँ । देश, दुनियाँ, समाज मजाले चलिरहेछ । हामीले व्यक्तिगत धर्म, पारिवारिक धर्म, सामाजिक धर्म धेरै छाडिसकेका छौँ । तर १३ दिने क्रियालाई केही सुधार्न, केही परिवर्तन गर्न सकिन्छ कि भन्दा हिन्दू धर्ममाथिको आक्रमण कसरी भयो ? के हिन्दू धर्म १३ दिने क्रियामाथि टेकेर उभिएको छ र ? कि धर्म र संस्कारका नाममा १३ दिने क्रिया मात्र बाँकी रहेको हो ?

हामी हिन्दूधर्म मान्ने जातजातिले आ आफ्ना कूलपरंपरा, चालचलन, धर्म, रीतिरिवाजहरू बिर्सिंदै, त्याग्दै, परिवर्तन गर्दै आइरहेका छौँ । आफ्नो धर्म नबुझेर, मन नपरेर त्याग्नुभन्दा सुधार र परिमार्जन गरेर समय अनुकूल बनाएर मान्नु उत्तम हो । धर्म हाम्रा लागि हो । हामी धर्मका लागि होइन । धर्मलाई मान्न सकिने गरी, समय अनुकुल, जीवन अनुकुल बनाउनु पर्छ ।

हामीले बुझ्नुपर्ने कुरा के छ भने कर्मकाण्ड, पूजापाठ आफैमा धर्म होइन । यो समाजमा चलेको चलन मात्र हो । एउटा वृत्ति हो, एउटा पेसा हो । कसैको जीवन तार्दा तारिने, रोक्दा रोकिने हुँदैन । हर्क र विस्मतमा गरिने कर्महरू सबैका समान छैनन् । तर जन्म र मृत्युका प्रकृया भने समान छन् । हठवादी र कट्टरवादी पण्डित, पुरोहित, पण्डाहरूका कारण आज देशमा विदेशी धर्मको प्रभाव बढÞिरहेछ । मानिसहरूमा सहजता र सरलतातिर जाने एउटा प्राकृतिक गुण हुन्छ । यो क्रम बढिरहेको छ । यो छेकेर छेकिने होइन ।

कतिपय रूढिवादी, हठवादीहरू भन्ने गर्छन– छाड्नेले जेसुकै छाडून्, गर्नेले गर्न पाउनुपर्छ । मन्द सोचाइ, केही गर्नै नपाउने भनेर कसले भनेको छ र ? कूसंस्कार, कूपरम्परा, अन्धविश्वासको नाममा हामीले धेरै कुरामा सुधार र परिवर्तन ल्याइसक्यौँ । अबको भनाइ के हो भने– धर्म र कर्मकाण्डका नाममा सामाजिक शोषण नहोस् भन्ने मात्र हो । हिजोआज पुराणको नाममा समेत ठूलै व्यापार हुन थालेको छ । अब ज्ञान, भक्ति, वैराग्यका कुरा त नाच्ने गाउने र पैसा बटुल्ने चटकी जस्तै हुन थाल्यो । यो कुराको बारेमा पछि बेग्लै बहस हुन सक्छ । देश, काल, परिस्थिति अनुसार हरेक कुरामा परिवर्तन आउँछ । त्यसलाई स्वीकार गरौँ ।
झापा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल